» » गुलाबी साइकल

–सुनैनाकुमारी यादव
गत आर्थिक वर्षदेखि नै प्रदेश २ मा साइकल वितरणको कार्यक्रम जारी रहेको छ । प्रदेश २ का मुख्यमन्त्री कार्यालय अन्तर्गत मुख्यमन्त्री बेटी बचाउ, बेटी पढाउ कार्यक्रम अन्तर्गत साइकल वितरण कार्यक्रमको आयोजना गरेको छ ।

माध्यमिक तहमा विशेष गरी कक्षा ८ देखि १० सम्म अध्ययनरत छोरीहरुलाई यो साइकल वितरण गर्ने कार्यक्रम सञ्चालनमा रहेको छ । आर्थिक तथा सामाजिक रुपले पिछडिएका विपन्न, गरिब, दलित, विद्यालयबाट टाढा बसोबास भएका बालबालिकहरुको पहिचान गर्ने र बालिकाहरुको विद्यालय छाड्ने प्रवृतिलाई न्युनिकरण गर्ने तथा विद्यालय जान प्रोत्साहित गर्ने उद्देश्यले मुख्यमन्त्री बेटी बचाउँ, बेटी पढाउ कार्यक्रमको आयोजना गरिएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।


प्रदेशका आठवटा जिल्लामा कक्षा ८ देखि १० कक्षासम्म अध्यनरत तथा साइकल चलाउन सक्ने बालिका छनौट गरी साइकल वितरणको काम सञ्चालनमा आएको छ । गुलावी रङको त्यो साइकल अहिले तराई मधेश (प्रदेश २) को विद्यालयहरुमा दिनहुँ जस्तो वितरण भइरहेको छ ।

छोरीहरु साइकलमा चढेर स्कूल गइरहेको देखिन्छन् । शिक्षाबाट बन्चित वा कुनै कारणले स्कूल जान नसकेका तराई मधेशका छोरीलाई स्कूलसम्म पुर्याउनका लागि यो साइकल वितरण अभियान शुरु गरेको जस्तो देखिन्छन् । प्रदेश २ का मुख्य न्यायधिवक्ता दीपेन्द्र झाले आफ्नो ट्वीटरमा लेख्नुभएको छ, ‘दाइजो पनि नियन्त्रण हुन्छ, आधा यानेकी पच्चास प्रतिशत महिला प्रहरी रहने कानुन छ ।

 प्रदेश नम्बर २ को प्रहरी र निजामतिमा  कसो नियन्त्रण नहोला ? आउने १० देखि १५ वर्षमा प्रायः प्रहरी कार्यालयको प्रमुख र प्रशासन प्रमुख यही अहिले गुलावी साइकलमा स्कूल जाने नानीहरु हुन्छिन्, प्रदेशको समाजिक रुपान्तरण ।’

उहाँको यो ट्वीटबाट पुष्टि हुन्छ कि प्रदेश सरकारले शिक्षाको स्तर वृद्धि गरी तराई मधेशका छोरीहरुलाई राज्यको मुलधारमा ल्याउनका लािग यो अभियान शुरु गरेको हो । साइकल पाइने लोभले पनि छोरी, चेलीबेटीहरु स्कूल जान थालेका छन् ।

अघिपछि स्कूल नजाने छोरी चेलीबेटीहरु स्कूल जान थालेका छन् । साइकल वितरण अभियानले गर्दा शिक्षाप्रति आकर्षण बढेको हो कि स्कूलप्रति आकर्षण बढेको हो ।

 त्यो अनुसन्धानको विषय हुनसक्छ । तर जब गुलावी साइकलमा तराई मधेशका छोरी चेलीबेटीहरु साइकलको घण्टी टिनटिन बजाउँदै घरघरबाट एकैसाथ स्कूलका लागि निस्केको देख्दा समाजिक रुपान्तरणका लागि क्रान्तिको अभास पक्कै दिइन्छ । १०० वर्षअघि अमेरिकी मानव अकिारकर्मी सुसन बी. एन्थोनीले भनेका थिए रे,‘संसारमा महिला सशक्तिकरणको लागि अरु भन्दा साइकलले ठूलो भूमिका खेलेको छ ।’

 मधेशी समाजका लागि वास्तावमा यो एउटा क्रान्ति नै हो । जहाँ छोरी, वुहारीलाई घरबाट निस्किन दिँदैनन् । बुहारीलाई घुँघटभित्र बस्नुपर्ने बाध्यता । साइकल चढ्नु त धेरै टाढाको कुरा थियो ।
तर खुल्ला समाजका कारण अहिले तराई मधेशमा पनि बुहारी, छोरीहरु बाहिर निस्किन थालेका छन् । गुलाबी साइकलमा सयर गर्न थालेका छन् ।

यो साइकल वितरण अभियानले घुँघटबाट निस्कन सहयोग पुर्याएको छ । मधेशी समाजको रुपमान्तरणमा पक्कै पनि यसले केही नकेही सहयोग पुर्याउनेछ भनि विश्वास गर्न सकिन्छ । यसले साक्षर दरमा वृद्धि पनि गर्नेछ । तर साइकल वितरणले नै गुणस्तरीय शिक्षा प्राप्त हुन्छ र त्यसले नै १० देखि १५ वर्षभित्रमा प्रहरी कार्यालय प्रमुख र प्रशासन प्रमुख यही गुलावी साइकलमा चढ्ने नानीहरु हुनेछिन् भनि पत्याउन गाह्रो छ ।

उच्च पदमा पुग्नका लागि प्राविधि र प्रतिस्पर्धा शिक्षा चाहिन्छ । त्यो अनुसारको क्षमता चाहिन्छ । जुन साइकल वितरण गरेर मात्र हुँदैन । साइकल चढेर स्कूल जाने छोरीहरु राम्रो वतावरणमा गुणस्तरीय शिक्षा लिन सकेन भने त्यो गुलावी साइकलले लिएको लक्ष्य हासिल गर्न सक्दैन ।


कुनै समय थियो तराई मधेशका मास्टरले देशैभरिका स्कूलमा पढाउँथे । हिमालसम्म स्कूलमा मधेशका मास्टरहरु पुगेका थिए । मधेशलाई अन्नको भण्डार मात्र होइन, शिक्षाको भण्डारको रुपमा पनि लिइन्थ्यो तर अहिले दुईटै छैनन् । शिक्षाको अवस्था यस्तो जर्जर भएको छ कि त्यहाँको शिक्षा कर्णाली भन्दा पछाडी परेको छ । गुलाबी साइकलको घण्टी टिनटिन बजाउँदै स्कूल पुगेपछि त्यहाँ गुणस्तरीय पढाइ भएन भने शिक्षाका लागि साइकल वितरण गरेको कुनै अर्थ रहने छैन ।

२०६८ को जनगणना अनुसार प्रदेशको शैक्षिक अवस्था हेर्ने हो भने नेपालको साक्षर दर ६५.९५ प्रतिशत रहेको छ भने प्रदेश २ मा सबभन्दा कम ४९.५४ प्रतिशत रहेको छ । महिलाको साक्षर दर नेपालभरि ५७.३९ प्रतिशत रहेको छ भने प्रदेशको मात्र ३८.८८ प्रतिशत रहेको छ ।

 जुन देशको शैक्षिक औसत भन्दा निकै कम रहेको छ । यो सँख्याको साक्षरतामा यो गुलाबी साइकलले केही टेवा पुर्याए पनि अवस्था सन्तोषजनक हुनेछैन । त्यसका लागि शैक्षिक अभियानका साथ साथै गुणस्तर शिक्षामा जोड दिनुपर्छ । २०६८ को जनगणना अनुसार देशभरि ३६.८८ प्रतिशत महिला शिक्षक रहेका छन् भने प्रदेश २ मा २४ प्रतिशत मात्र रहेका छन् जबकि कर्णाली प्रदेशमा २८.७३ प्रतिशत शिक्षक महिला रहेका छन् । 

शिक्षाविद रमाकान्त शर्माका अनुसार प्रदेश २ मा प्राथमिक तहमा विद्यालय उमेरका ४.३ प्रतिशत, कक्षा ६ देखि ८ सम्म पढ्नुपर्ने उमेरका ३७.२ प्रतिशत र कक्षा ९ र १० पढ्नुपर्ने उमेरका ४३.७ प्रतिशत बालबालिका विद्यालय बाहिर छन् । जुनसुकै तहमा पनि नेपालमा विद्यालय नगएका बालबालिकामध्ये ठूलो हिस्सा प्रदेश २ मा रहेको देखिन्छ । यसै तथ्याङ्कबाट विद्यालय तह पूरा नगर्ने दर तथा विद्यालय छाड्ने दर पनि सबैभन्दा बढी प्रदेश २ मा नै रहेका छन् ।

प्रदेश २ का शिक्षा विकास निर्देशनालयका निर्देशक समेत रहनु भएका उहाँले लेख्नुभएको छ,–‘ लैङ्गिक समता सूचक हेर्ने हो भने प्रदेश २ को अवस्था अन्य प्रदेशको भन्दा बढी असमानता देखिएको छ ।

प्राथमिक तहमा बालबालिकाको भर्ना दर तुलना गर्दा अन्य प्रदेशमा समान तथा एक रहेको छ भने प्रदेश २ को भने विद्यालयमा पढ्नेमा छात्र भन्दा छात्रा कम छन् । निमावि र मावि तहमा अन्य प्रदेशको एक तथा ९५ भन्दा माथि रहेको देखिएको छ भने प्रदेश २ को भने कर्णालीको भन्दा पनि कम ०.८७ देखिन्छ । यस तथ्यबाट विद्यालय शिक्षामा लैङ्गिक असमानता सबैभन्दा बढी प्रदेश २ मा नै देखिन्छ ।


यस्तो खतरनाक तथ्याङ्कालाई यो गुलाबी साइकलले मेटाउन सक्छ कि सक्दैन, त्यसका लागि त मुख्यन्यायधिवक्ता दीपेन्द्र झाले भने अनुसार १०–१५ वर्ष कुर्नै पर्ने हुन्छ । मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ अभियान अन्तर्गत वितरण भएको साइकलले साक्षर अभियान वृद्धि गर्छन् नै आर्थिक रुपान्तरमा पनि विकास गर्नेछ । ८–१० कक्षामा अध्ययन गर्ने विद्यार्थीलाई यो साइकल वितरण गरेको छ ।

 विपन्न वर्गका ती छोरीहरुले प्राप्त गरेको साइकललाई आआफ्नो व्यवसायी पनि लगाउँनेछन् । हाटवजार तथा समान ढुवानीका लागि पनि प्रयोगमा ल्याइनेछन् त्यसले पक्कै पनि आर्थिक समृद्धिमा सहयोग पुर्याउँनेछ । जुन वर्गका विद्यार्थीहरुले ती साइकल पाएका छन्, त्यसले शैक्षिक वृद्धि भन्दा पनि आर्थिक वृद्धिमा बढी सहयोग पुग्ने देखिन्छ । अहिले पनि स्कूल जानका लािग पाएका साइकलमा समान बोकेर हाट बजारसम्म पुगेको देखिन्छ । अर्थात यो साइकलले समग्र क्षेत्रको विकास गर्ने देखिन्छ ।
(लेखक यादव सहारा टाइम्सका सम्पादक हुनुहुन्छ)

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..