» » यसरी मनाइन्छ चौठीचाँद अर्थात चौरचन

तराई मधेशको मिथिला क्षेत्रमा मनाईने चौरचन पर्वलाई महत्वपूर्ण पर्वको रुपमा हेरिन्छ । भदौ शुक्लपक्षको चौथीका दिन मनाईने यो पर्व खासगरि मिथिला क्षेत्रका मधेशी समुदायहरु मनाउने गरेका छन् । यो पर्वलाई विशेष महत्वका साथ विधिपूर्वक व्रत बसि मनाउने गरिएको छ । यो पर्वलाई चौठीचाँद पर्व पनि भनिन्छ । चौरचनमा पूजामा सहभागी परिवारका एक सदस्य खासगरी महिलाले दिनभर उपवासमा बसेर साँझपख गणेश र चन्द्रमालाई पूजा गरेर विधिवत रूपमा पर्व सम्पन्न गर्छन् ।


भदौ शुक्ल चौथीका दिन मनाइने चौरचन पर्वमा सूर्यास्तपछि गाईको गोबरले लिपेर बनाइएको आँगन माझको चतुष्कोण यज्ञस्थलमा दीप प्रज्वलन गर्दै ब्रतालु महिलाले फलफूल र मिष्टान लगायत घरमा पकाएका खीर पुरी पनि चन्द्रमालाई देखाएर चौरचन ब्रत समापन गर्ने मैथिल परम्परा छ ।


पूजाको सामाग्रीमा नयाँ माटोको भाँडोमा जमाइएका दही, मिठाइ, नरिवल, केरा, पुरी, खीर लगायतका सामग्री राखेर पूजा गरिन्छ । चौंठचनको पूजामा मुख्य भूमिका निर्वाह गर्ने व्यक्ति उपवासमा बस्छन् । खासगरी खीर, पुरी, दही र गच्छेअनुसारका अन्य मिष्टान्न परिकार तथा केरा र मौसमअनुसारका सबै फलफूल चन्द्रमालाई देखाएर इष्टजनसहित परिवारजनलाई चतुष्कोण वेदीस्थलमै बसाएर प्रसाद खुवाएपछि यो पर्व सम्पन्न हुनेछ ।


चन्द्रमाको आराधना गरिने चौरचन पर्वमा दाल र चामलको पिठोबाट बनाइने पुरी, मिष्टान परिकार खाजा (पिरुकिया) र खीर, माटोको छ्याँचीमा जमाइएको दही, पाकेको केराको घरीसहित अन्य फलफूल र वस्त्र आभूषण चढाइने परम्परा छ । भगवान गणेशको श्रापबाट मुक्त हुन चन्द्रमाको पूजा गर्न थालिएको धार्मिक जनविश्वास रहिआएको छ ।


यस पर्वमा चामल र गहुँको पीठोका विभिन्न पकवान बनाउनुका साथै पिरुकिया, पुरी, खाजा, फलफूल, खिर, र दहीसहितका पूजा सामाग्रीको रूपमा प्रयोग गरिन्छ । यस पर्वमा हरेक परिवारले आफ्नै तरीकाले उदाउँदो चन्द्रमालाई अर्घ दिने गर्छन् । माटोको भाडोमा राखेर तयार पारिएको दही यो पर्वको लागि उपयुक्त मानिन्छ ।

चौठचन्द्र अर्थात् चौरचनमा आ–आफ्ना मित्रहरूलाई घरमा बोलाएर भोजन गराउने परम्परा अझैं पनि यथावत छ । चौठीचाँद बाबाको प्रतिकको रुपमा चन्द्रमालाई अर्घ दिनका लागि ब्रतालु महिलाले पुरी तथा खीर बनाउनका लागि प्रयोग गरिने चामल निक्कै सावधानीपूर्वक राखिने चलन रहेको छ ।


परिवारका सम्पूर्ण सदस्यहरू घरमा भेला भई यो पर्व मनाउने गर्दछन् । भाद्र शुक्ल चतुर्दशीको साँझ मनाइने यस पर्वमा गणेश पूजनोत्सवको आयोजना गर्ने गरिन्छ ।


 चन्द्रमामा कलंक लागेको धार्मिक मान्यताका साथ मिथिला क्षेत्रमा मिथिला नरेश हेमाङ्गद ठाकुरद्वारा यस पर्वको शुरुवात गरिएको पौराणिक मान्यता छ । दही, खीर, पुरी, मिठाई फलफूललगायतका नैवैद्यसहित साँझ चन्द्रमालाई अर्घ दिई पूजा गर्ने गरिन्छ । दिनभर उपवास बसेकाहरूले साँझ अर्घ दिएपछि सम्पूर्ण परिवारजनले प्रसाद ग्रहण गर्दा कल्याण एवं धनधान्यको प्राप्ती हुने जनविश्वास रहेको छ । भाद्र शुक्ल चतुर्दशीको साझ चन्द्रमाको पूजा गर्दा धनधान्यको प्राप्ती, पुत्रलाभ र प्रसन्नता मिल्ने गरेको चौठचन्द्रको कथामा उल्लेख रहेको पाइन्छ ।


प्रसाद ग्रहणका लागि आफन्तजन, इष्टमित्रलगायतलाई पनि बोलाइने गरिएको हुँदा यस पर्वलाई प्रेम एवं सद्भावको प्रतिकको रूपमा पनि लिइन्छ । भगवान कृष्णलाई द्वापर युगमा लोभमा परी साथीको हत्या गरेको भन्ने झुठो आरोप लाग्दा नारद ऋषिले उनलाई भाद्र शुक्ल चतुर्दशीको ब्रत बस्न सल्लाह दिएको चौठचन्द्रको कथामा उल्लेख छ । त्यसैअनुसार यो पर्व क्रमिक रूपमा अगाडि बढ्दै गएको जनविश्वास रहेको छ । गत वर्ष चौरचनमा प्रदेश २ सरकारले सार्वजनिक बिदा दिइएको थियो । जनकपुरधाम उपमहानगरपालिकाले क्षेत्रभित्र सार्वजनिक सूचना जारी गर्दै महिलाको तीज तथा मिथिलाको महत्वपूर्ण पर्वमध्ये चौठचनको अवसरमा सार्वजनिक बिदा दिएको हो ।

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..