» » प्राधिकरण गठन गर (सम्पादकीय)

तराई मधेश लगायत देशैभरि प्रत्येक वर्ष बाढी आउँछ । त्यो बाढीले सबभन्दा बढी क्षति मधेशलाई गरेको हुन्छ । प्रत्येक वर्ष ठूलो मात्रामा धनजनको क्षति गरेको हुन्छ । तर सरकारले त्यसको वैकल्पिक उपाय सोचेको हुँदैन ।

बाढी आएपछि दुई चार दिन राहत वितरण गर्ने, हो हल्ला गर्ने काम बाहेक सरकारले दीर्घकालिन उपायको बारेमा सोचेको छैन । प्रत्येक वर्ष बाढी आउँछ ।  धनजनको क्षति गरेर जान्छ । त्यसमो पुनःस्थापन नहुँदै पुन अर्को वर्ष बाढी आउँछ, धनजनको क्षति गरेर जान्छ । अर्थात प्रत्येक वर्ष पीडितको सँख्या थपिदै गइरहेका छन् । तर त्यसको निकास कसैले सोचेको छैन ।

के यस्तै खालको बाढी हिमाल तथा पहाडमा आएको भए सरकार यसरी चुप लागेर बस्थ्यो त ? यो आमजनताको प्रश्न हो । पहाडमा भुकम्प जाँदा धनजनको क्षति भयो । त्यहाँ देश विदेशबाट सहयोग आयो । यहाँसम्म कि सरकारले लगानी सम्मेलन पनि गर्यो ।

सरकारले सम्पूर्ण कुराको व्यवस्थापन गर्यो । भूकम्प पीडितको पुनःस्थापनाका लागि प्राधिकरण पनि गठन गर्यो । भूकम्प भन्दा बढी क्षति गर्ने बाढी प्रत्येक वर्ष तराई मधेशमा आउने गरेको छ । करौडो क्षति हुने गरेका छन् तर सरकारले आजसम्म त्यसप्रति कुनै ध्यान दिएको छैन ।

हिमाल र पहाडमा भूकम्प आयो, त्यसमा सहयोग गर्नुहुँदैन भने होइन । पहाडमा बाढी आउँदा त्यहाँ सहयोग गर्नुहुँदैन भने होइन । देशैभरि हुने यसप्रकारको विपदमा सरकारले समान सहयोग गर्नुपर्छ । कसैलाई काँखा कसैलाई पाखा गर्नुहुँदैन ।

यदि सरकारका लागि देशैभरिका जनता समान हो भने तराई मधेशका जनतामाथि किन यस्तो विभेद ? असारको अन्तिम साता आएको बाढी पहिरोले सबभन्दा बढी क्षति तराई मधेशमा गरेको छ । तराई मधेशमा मात्र ८० जना भन्दा बढी मान्छेको मृत्यु भए । करौडोको धनजनको क्षति भयो तर संघीय सरकारले हालसम्म त्यहाँका लागि केही गरेको छैन । उद्धार, राहत वितरणको काम प्रदेश तथा स्थानीय सरकारलाई दिएको छ तर त्यो त्यति प्रभावकारी भएन ।


प्रदेश तथा स्थानीय सरकारले आफ्नो अनुकुल जहाँ जहाँ राहत वितरण गर्न मन लाग्यो, त्यहाँ त्यहाँ गर्यो । आफ्नो चुनावी क्षेत्र जसले आफूलाई मत दिएको थियो, त्यसलाई राहत वितरण गर्यो । तर ती राहत र उद्धारबाट जनता सन्तुष्ट भएन ।

अवस्था जस्ताको त्यस्तै छ । प्रदेश २ सरकारले संघीय सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीलगायत अन्य सरोकारबालालाई भेटेर सहयोग गर्न आग्रह गर्यो । यहाँसम्म कि नेकपाका प्रदेश २ का सांसदहरुले पनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर मधेशमा राहतमा सहयोग गर्न आग्रह गर्नु भएको थियो । यी दुईटै भेटमा प्रधानमन्त्री आश्वासन मात्र दिनुभयो । त्यो आश्वासन अनुसार कति काम भयो भएन त्यो हेर्न नै बाँकी छ तर जबसम्म सरकारले मधेशको बारेमा दीर्घकालिन सोच बनाइ अगाडि बढेन भने यो समस्या कहिले समाधान हुँदैन ।


मधेश केन्द्रीत राजनीतिक गर्ने दलहरुले पनि दीर्घकालिन समाधानका लागि प्राधिकरण नै गठन गर्नुपर्ने माग गर्दै आइरहेको छ । प्राधिकारण भयो भने अन्तराष्ट्रिय जगतबाट पनि सहयोग आउनेछ र सोचे अनुसारको काम पनि हुनेछ । तत्कालिन गर्नुपर्ने काम त सरकारले गर्दै आइरहेको छ । तर अल्पकालिन र दीर्घकालिन कामका लागि एउटा गुरु योजना तयार गरी प्राधिकरण गठन गरेर बाढी पीडितको क्षेत्रमा काम गर्नुपर्दछ र त्यो बाहेक अरु कुनै विकल्प नै छैन । 


तराई मधेशमा आउने वर्षेनी बाढीका कारण हुने धनजनको क्षतिलाई रोक्न सरकारले नीतिगत निर्णय नै गर्नुपर्छ । कानुन नै बनाएर त्यसको समाधानका लागि अघि बढिएन भने वर्षेनी यसैगरि मान्छेको निधन हुन्छ । त्यहाँका पूर्वाधारमा क्षति हुन्छ । सडक बाटो, पुल पुलेसा, खोला नाला भत्केर जान्छ र मधेश कमजोर हुन्छ । र, आन्तरिक रुपमै कमजोर हुनजान्छ ।

अनि त्यसपछि उसले देशको प्रतिस्पर्धामा जान सक्दैन अनि मधेशमाथि दोष लाग्छ कि मधेशी जनता नै यस्तै हो । विपदको व्यवस्थान गर्न सकिएन त्यहाँका समाज दिनदिनै कमजोर हुँदै जान्छ । त्यहाँका शिक्षा, स्वास्थ्य र आर्थिक अवस्था दिनदिनै कमजोर हुँदै जान्छ । त्यसको उदाहरण हेर्नुछ भने धेरै टाढा जानै पर्दैन । सप्तरीको गोबरगाढा र कोशी किनारको वस्तीमा गए हुन्छ ।


वर्षेनीको बाढीबाट पीडित ती ठाउँका जनता कहिले माथी उठ्न सकेन । त्यस्तै अवस्था छ बाँकेका नैनापुरको पनि । त्यहाँका जनता शिक्षा, स्वास्थ्य र अन्य विकासको पूर्वाधारबाट जहिले पनि बञ्चित हुँदै आइरहेको छ । यदि सरकारले समयमा ध्यान दिएन भने पुरै मधेश गोबरगाढा जस्तै हुन्छ ।   

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..