» » हामी भन्छौं, पार्टीको लाइन के हो त्यो त बताई दिनुस् (अन्तरवार्ता)

–डा.रिना यादव
–प्रदेशसभा सदस्य (प्रदेश २) एवं राष्ट्रिय जनता पार्टी नेपाल, केन्द्रीय सदस्य
भारतबाट नेपाली केटासँग विहे गरेपछि उहाँले सोच्नु भएको थिएन कि ‘होलटाइमर’ राजनीतिककर्मी हुन्छु । सानोतिनो जागिर गरेर घर सम्हाल्ने सोच थियो उहाँको । तर एउटा घटनाले उहाँलाई राजनीतिकमा आकर्षण गर्यो र मधेश आन्दोलनदेखि मधेश राजनीतिकमा सक्रिय हुँदै आज प्रदेश २ का प्रदेशसभा सदस्यसम्म बन्नुभयो । हो , उहाँ हुनुुहुन्छ डा.रिना यादव । राष्ट्रिय जनता पार्टी नेपालका केन्द्रीय सदस्य डा.यादव पछिल्लो समय मधेश राजनीतिमा निकै सम्भावना भएर आउनु भएको महिला हुनुहुन्छ । प्रदेश २ को संसदमा उहाँको प्रस्तुती र अडानलाई लिएर सर्वत्र चर्चा हुने गर्छ । आर्ट (कला) मा पिएचडी गर्नुभएका डा.यादव भारत वणारसका हुनुहुन्छ र उहाँको विहे नेपालको महोत्तरीमा भएको छ । प्रस्तुत छ, प्रदेश २ प्रदेशसभा र सरकारको कामकारवाही, अगामी योजना तथा राजपा नेपालको महाधिवेशन लगायतका विषयमा डा.रिना यादवसँग सहारा टाइम्सका लागि गरिएको संक्षिप्त कुराकानीः 

प्रदेश २ मा तेस्रो वजेट आइसकेको छ । त्यो कार्यान्वयन कसरी हुन्छ जस्तो लाग्छ तपाईलाई ?
–तेस्रो वजेट आउनु अघि प्रदेश सरकारको नीति तथा कार्यक्रम आयो । त्यसमा केही कुराहरु नमिल्दा हामीले आफ्नो अडान लिएर संशोधन प्रस्ताव दर्ता गराएका थियौं । हामीले पहिलो र दोस्रो वजेट हेर्यौं त्यसले हामीलाई लागेको थियो कि प्रदेश २ ले जुन सपना देखेको छ त्यो यसले पूरा हुन सक्दैन । त्यसैल आउने अगामी वजेट यो भन्दा अग्रगामी हुनैपर्छ । त्यही कारणले हामीले नीति तथा कार्यक्रममा त्रुटी देख्दा त्यसलाई सुधार गर्न भन्दै संशोनध प्रस्ताव दर्ता गराएका थियौं । प्रदेश २ बनाउन जुन सपना हेरेर हामी आएका थियौै, जनतालाई जुन आश्वासन र प्रतिवद्धता दिएर आएका थियौं त्यो अनुसार नीति तथा कार्यक्रम आएको थिएन । यदि नीति तथा कार्यक्रम नै यस्तो छ भने वजेट कस्तो आउँला भनि हामी सहजै अनुमान गरेका थियौं र हामीले आफ्ना कुरा जवर्जस्त रुपमा राख्यौं । नीति तथा कार्यक्रम हेरेपछि हामीलाई लागेको थियो कि हामी काँग्रेसकै शासनमा छौ । मुख्यमन्त्री र मन्त्रीहरु हामीमाथि शासन गरेको जस्तो लागेको थियो । मुख्यमन्त्री र मन्त्रीहरुमा यति घमण्ड आइसकेको थियो कि कसैसँग कुनै कुरा सोधपुछ पनि गरिरहनु भएको थिएन । आफ्नो स्वार्थ अनुकुल अगाडि बढी रहनु भएको थियो ।
मुख्यमन्त्रीको शुरुवात राम्रो थियो यहाँसम्म कि उहाँले अमेरिकालाई समेत हलाई दिनुभएको थियो । केन्द्र सरकारमाथि उहाँको दवाव थियो । र हामीले उहाँको प्रस्तुतमा गर्व गर्थियौं । कमसे कम हाम्रो मुख्यमन्त्री यस्तो हुनुहुन्छ, जसले मधेशी जनताको हक अधिकारका लागि केन्द्रीय सरकारसँग सिधै पैठेजोरी खेलिरहनु भएको छ । तर विस्तारै ती सबै कुराहरु हराउँदै जान थाल्यो । साना साना कुरामा उहाँ फँस्दै जानुभयो । र त्यही लाइनमा प्रदेश सरकारका अन्य मन्त्रीहरु पनि जान थाल्नुभयो । प्राप्त वजेटमध्ये १० प्रतिशत वजेट मात्र खर्च गर्न सक्यो प्रदेश सरकारले । एकातिर हामी भन्छौं कि संघीय सरकारले हामीमाथि विभेद गरेको छ ।
 हामीले बुझाउने राजस्वको थोरै मात्रा संघीय सरकारले हामीलाई दिन्छ भनि हामीले दावी गर्छौ तर प्रदेश २ का सरकारले पनि त्यही गरिरहेको छ जो संघीय सरकारले गरिरहेको छ । हामीले जति वजेट पाएका छौं त्यो पनि हामीले खर्च गर्न सकिरहेका छैनौ भने दोष कसको केन्द्रको या प्रदेशको ? यसको जवाफ प्रदेश सरकारले दिनुपर्छ । यो सब हेर्दा हामीलाई निकै निराशा लाग्छ । राजपा नेपाल र दुई नम्बरको सरकार कुनै व्यक्ति विशेषको होइन, त्यो सरकार र राजपा बनाउन मधेशी जनताका खुन पसिना बगेको छ । र, ती जनताको बारेमा यो तेस्रो वजेटले केही सोचेको छैन ।

तपाई जुन कुरा उठाउनु भएको छ, त्यसको आधारमा यो वजेट कार्यान्वयन सम्भावना कतिको देख्नुहुन्छ ?
–हामी पाँचजना प्रदेश सांसदले नीति तथा कार्यक्रममा संशोधन प्रस्ताव राखेका थियौं । त्यसमा मनिष सुमन र प्रमेश्वर साहले पहिलो दिनमै फिर्ता लिनुभएको थियो । नेत्र विक्रम साह, विक्की यादव र म, हामी तीनजनाले भन्यौं कि हामी यो तरिकाले आफ्नो समर्थन फिर्ता लिने छैनौं । जबसम्म हामीलाई ठोस कुनै प्रतिवद्धता प्राप्त हुँदैन तबसम्म हामीले फिर्ता लिँदैनौं । त्यसपछि पार्टीले एउटा समिति बनायो र त्यो समितिले हामीलसँग कुरा गर्यो । त्यो समितिले हामीलाई कन्भिन्स गर्न नसकेपछि त्यसलाई पनि हामीले इगनोर गर्यौं । हामीले उठाएको कुरालाई पार्टीका अध्यक्षमण्डलले अनुमोदन नगरेसम्म हामी यसबाट दयाँबायाँ हुनेछैनौं ।
त्यतिबेला अध्यक्षमण्डलका संयोजक अनिल झा हुनुहुनुहुन्थ्यो उहाँले तपाईहरुले उठाउनुभएको कुरा सही छ । तपाईहरु आफ्नो कुरा ठिकसँग राख्नुस् त्यसलाई हामी इन्डोर्स गर्छौ । अध्यक्षमण्डलका अन्य सदस्यहरुले पनि हाम्रो संशोधन प्रस्तावमाथि समर्थन जनाउनु भयो । तर, जब बजेट आयो त्यसमा ती कुराहरु समेटिएन । जब वजेटमा छलफल शुरु भयो अनि मैले त्यहाँ पनि आफ्नो कुरा राखेका थिए कि यो अल्टिमेटम नै हो । यदि यसलाई (वजेट) सच्याउनु भएन भने अगामी दिनमा कुनै नकुनै कदम चाल्न हामी बाध्य हुन्छौं । अहिले सदन चलेको छैन । अगामी दिनमा केही परिवर्तन गर्नुहुन्छ कि गर्नुहुन्न भनि हेर्न बाँकी नै छ । यदि गरेन भने हामी एकजुट भएर फेरि अवाज उठाउँछौं ।

तपाईहरु अवाज उठाउँदा उठाउँदै पनि त्यहाँका सरकारले गम्भीर्यता देखाएन भन्नुहुन्छ भने आउने दिन त्यो प्रदेशका लागि त्यति फलदायी देखिदैन, होइन ? 
–हो ठिक भन्नुभयो । शुरुवात नै यस्तो छ भने आउने दिन कस्तो हुन्छ सहजै अनुमान लगाउन सकिन्छ । त्यसमा उहाँहरुले राम्रो गर्नुहुन्छ भने मलाई विश्वास लाग्दैन । मुख्यमन्त्रीले आफ्नो लागि किन यति कार्यक्रम राख्नुभएको छ मलाई थाह छैन । मुख्यमन्त्री भनेको सबैका लागि हो । उहाँले सबैलाई काम गर्न लगाउने हो । आफ्नै कार्यक्रम र वजेट लिएर जाँदैनन् । मुख्यमन्त्रीलाई यो कुरामा अल्झनु हुँदैन । मुख्यमन्त्री नै आफ्नो स्वार्थमा अल्झेपछि अन्य मन्त्रीले के गरुन् त । सबै मन्त्रीहरु आआफ्नो ट्रयाकबाट अलग हुनुभएको छ । मुख्यमन्त्रीले फस्ट वजेट राम्रो चलाउनु भएको थियो, सकेण्डमा अलि कम भयो र थर्डमा त गायबै नै हुनुभयो । मुख्यमन्त्रीमाथि कामको लोड ज्यादै भयो या उहाँलाई यो समझ छैन कि सबभन्दा पहिले के गर्नुपर्यो । मुख्यमन्त्री एउटा कलेजको प्रिन्सिपल जस्तो हो ।
उहाँले आफै पढाउने होइन, उहाँले डाइरेक्सन दिने हो । नीति नियम बनाएर त्यसलाई कार्यान्वयन गराउने हो अनि मात्र सही शिक्षाको कार्यान्वयन हुन्छ । र, रिजल्ट राम्रो आउँछ । मुख्यमन्त्रीलाई यो कुराहरु थाह छ किनभने फस्ट राउण्डमा उहाँले राम्रो गर्नुभएको थियो । भौतिक मन्त्रालयको अवस्था पनि त्यस्तै छ । प्रदेश २ कृषि प्रधान प्रदेश हो तर त्यहाँ सिँचाईको केही कुरा गरेको छैन । त्यसमा खासै मतलब राखेको देखिदैन । दुखको कुरा यो हो कि भौतिकका वजेट पनि फ्रिज हुन्छ । यदि त्यो वजेट जिल्ला जिल्लामा समान किसिमले वितरण गरेको भए सायद कुनै समस्या आउने थिएन तर त्यस्तो पाइएको छैन ।

तपाईले उठाएका यी कुराहरु हामीले पनि त्यहाँका मुख्यमन्त्री र मन्त्रीहरुसँग प्रश्न गर्दा उहाँहरुले संघीय सरकारलाई दोष देखाउनुहुन्छ कि हामीलाई काम गर्न दिइरहेको छैन । नीति निर्माण गर्न दिएको छैन, चाहिने जति कर्मचारी दिएको छैन अनि प्रदेश सरकारले कसरी काम गरुन् भनि उहाँहरुको भनाई हुन्छन्, के यो साँच्चै हो ?
–उहाँहरुको आफ्नो क्षेत्रमा काम गर्नुपर्ने हुन्छ, काम दिनुपर्ने हुन्छ भने त्यही कर्मचारीले सहयोग गर्छन् । र, अरुको क्षेत्रमा काम दिनुपर्यो भने त्यही कर्मचारीले असहयोग गर्छन् भने कसले पत्याउँछन् । संघलाई देखाएर प्रदेशका जनतालाई ठग्ने उहाँहरुको बहाना मात्र हो । हामीले यही भन्छौं कि तपाई काम गराउनमा सक्षम हुनुहुन्न भने ठाउँ खाली गरिदिनुस् । जो मन्त्री संघको कर्मचारीबाट काम लिनमा सक्षम हुन्छ त्यही मन्त्री त्यहाँ बसेर काम गर्छन् । हामीले भन्यौं, तपाईको एक्सक्युज सुन्नका लागि हामी यहाँ बसेका होइनौं । संघले मधेशलाई ढाँट्ने काम गर्यो, गर्यो । अब तपाईहरु पनि ढाँट्ने काम गर्न थाल्नु भएको छ ।’ अहिले त हामी ‘करना है या मरना है’ को पोजिशनमा छौं । यदि हामीले यतिबेला पनि मधेशका लागि केही गर्न सकेनौं भने हामीलाई धिक्कार छ ।

तपाईको विचारमा प्रदेश सरकारले लगाउँदै आएको आरोप जस्तो संघको कुनै दोष छैन ?
–हो मैले पनि देखेको छु कि संघबाट पठाएका कर्मचारी यहाँ टिक्दैनन् । आउँछन् अनि केही दिनमै भाग्छन् । त्यसको पनि एउटा उपाय छ । एउटा कुनै प्रकृयामा बाँधिसकेपछि त्यो सधैका लागि हुन्छ । संघले कर्मचारी पठाएपछि प्रदेश सरकारले आन्तरिक रुपमा एउटा कुनै नियम बनाउनुपर्छ जसले उहाँहरु आएपछि त्यसमा बाँधियोस् । तर त्यस्तो गर्दैनन्, खाली केन्द्रलाई दोष देखाएर बसेका हुन्छन् । त्यसैलाई बहाना बनाएर जनतालाई ठग्न पाइदैन । त्यसका समाधान खोज्नुपर्छ । मुख्यमन्त्री र मन्त्रीको आफ्नो कामका लागि त्यही सचिव तथा कर्मचारी साथ दिन तयार हुन्छन् तर अरुको कामका लागि त्यही सचिव र कर्मचारी बहाना बन्छ कसरी ?ः आजसम्म मुख्यमन्त्री र मन्त्रीको आफ्नो कुनै काम कर्मचारीका कारण रुकेको छ भने देखायइ दियोस् हामी त्यसका लागि पनि बोल्छौं । तर अब बहाना चल्दैन ।

तपाई सत्तापक्षका सांसद हुनुहुन्छ तर प्रतिपक्षि जस्तो व्यवहार गर्नुहुन्छ । पार्टीको पनि ‘रुल रेगुलेशन’ हुन्छ सरकारले गरेको कामलाई सघाउने काम नेताको पनि हो तर तपाईबाट त्यस्तो भइरहेको देखिदैन । पार्टीले यसको बारेमा तपाईलाई केही भन्छ कि भन्दैन ?
–हाम्रो पार्टीले भन्छ, ‘पुरै इमान्दारीका साथ जनताका लागि काम गर्नुस् ।’ हामीले कुनै पर्टिकुलर मन्त्रीका लागि सपथग्रहण गरेको छैनौ त्यहाँ, कि उहाँहरुले जेजे भनुन् र हामीले त्यसमा हँ मा हँ मिलाउँदै जाउँ । मैले त्यहाँ जनता र पार्टीका लागि सपथ लिएको छु । पार्टी अहिले पुरै सिस्टममा आएको छैन त्यही भएर केही समस्या देखिएको छ । पार्टी ठिक ढंगले अगाडि बढ्यो भने यी समस्याहरु देखिदैन । बरु प्रदेश संसदीय दलका नेताबाट हामीलाई थ्रेट भइरहेको हुन्छ कि तपाईहरु पार्टीको लाइनभन्दा अलग गइरहनु भएको छ ।’ तर हामी भन्छौं कि पार्टीको लाइन के हो त्यो त बताई दिनुस् । हामीलाई पार्टीले जे लाइन दिएको छ त्यो अनुसार चलिरहेका छौं । जनताका लागि काम गर्न भनेको छ जनताका लागि हामी गरिरहेका छौं । यदि पार्टीको लाइनभन्दा बाहिर गएको छु भने पार्टीले भनोस् म सुधार गर्न तयार छु तर जहाँ पार्टीका नेता, मन्त्री, सांसदले यदि गल्ती गर्छन् भने त्यहाँ म अवाज उठाउँछु ।

हामीले थाह पाए अनुसार त्यहाँ समानुपातिक र प्रत्यक्ष सांसदको बीचमा विभेद गरिएको छ, तपाई समानुपातिक सांसद हुनुहुन्छ तपाईको अनुभव कस्तो रह्यो ?
–हो त्यहाँ विभेद भएको छ । मैले नै भोगेको छु । पहिले समानुपातिक र सांसदमा कुनै विभेद थिएन तर अहिले प्रदेशमा सिधै विभेद भइरहेको छ । समानुपातिकबाट आएको होस् या प्रत्यक्षबाट आएको होस् सबैको काम कर्तव्य र अधिकार एउटै हुन्छ तर प्रदेशका सरकारले विभेद गरिरहेका छन् । प्रत्यक्ष सांसदलाई यस्तो लाग्छ कि आफू अरेञ्ज म्यारेज गरेको दुल्हा जस्तो हुँ । र, समानुपातिक संसद भागेर लभ म्यारेज गरेको जस्तो । प्रत्यक्ष सांसदलाई लाग्छ कि म यति सुपेरियर छु, मसँग यति भोट छ, म जनताबाट चुनिएर आएको छु ।’ समानुपातिक सांसदसँग त्यस्तो केही छैन । उ त भागेर विहे गरेको दुल्हा जस्तो । जनताबाट चुनिएर आएको छैन । जनताले पत्याएको छैन भनेर त्यसखालको व्यवहार हामीसँग गरेका हुन्छन् । म आफूमा हरेक कुरामा प्रफेक्ट छु । जनताप्रति जिम्मेवार छु । जनताका लागि बोल्छु ।
जनताका लागि काम गर्छु । संसदमा अवाज उठाउँछु । विकासका योजना पनि बनाउँछु । अर्थात म प्रत्यक्षभन्दा कुनै कुरामा कम छैन अनि विभेद किन ? प्रत्यक्ष सांसद मतदानामार्फत आउनुहुन्छ भने समानुपातिक पनि मतदानकै मार्फत आएका हुन्छन् । प्रत्यक्षबाला त एउटा चुनाव क्षेत्रको मतबाट जितेका हुन्छन् तर समानुपातिकबालासँग देशभरको मत हुन्छ । समानुपातिक सांसद पनि मत माग्नका लागि गाउँ गाउँ घुमेका हुन्छन् । प्रत्यक्षलाई जिताउनका लागि पुरै मेहनत लगाएका हुन्छन् । प्रत्यक्ष सांसदलाई जिताउन समानुपातिक सांसदको पनि योगदान हुन्छ अनि विभेद किन ? ९० प्रतिशत वजेट फ्रिज हुन्छ भने त्यही रकम प्रत्यक्ष र समानुपातिक सांसदमा विभेद नगरि सबैलाई बराबर गरि बाँडेको भए, समानुपातिक बाला पनि आफ्नो क्षेत्रमा विकास गर्न सक्छ । तर प्रत्यक्ष सांसदलाई रकम बाँडेको हुन्छ र त्यही समानुपातिक सांसदमाथि विभेद गरेको हुन्छ । समानुपातिक सांसदले पनि आफ्नै क्षेत्रमा खर्च गर्छन् नि आफ्नो घरमा त गर्दैनन् । कही गर्छन् आफ्नै जनताकै लागि गर्छन् ।

तपाईको विचारमा दुई नम्बर प्रदेशमा के के गर्नुपर्छ ?
–प्रदेश २ लाई नमुना प्रदेश बनाउनुपर्छ । त्यो असम्भव पनि छैन । अहिले सबभन्दा ठूलो समस्या भनेको स्थानीय सरकार हो । स्थानीय सरकारलाई आफ्नो कर्तव्य अहिलेसम्म थाह भएको छैन । स्थानीय सरकारको एउटै ध्येय हुन्छ कि प्रदेश सरकारलाई तल देखाउ । प्रदेश सरकार र स्थानीय सरकारले मिलेर काम गर्यो भने प्रदेश निर्माणमा समय लाग्ने छैन तर त्यहाँ समन्वयको अभाव देखिएको छ । स्थानीय सरकारले एक्लै विकास गर्न सक्दैन । प्रदेश सरकारसँग मिलेर काम गर्यो भने विकास राम्रो हुन्छ । शिक्षामा बढी जोड दिनुपर्छ । पहिलाको मधेश शिक्षित मधेश थियो । मधेशले पहाडलाई पढाएको थियो । तर अहिले उल्टा भएको छ । अहिले पहाड शिक्षित भएको छ तर मधेश अशिक्षित हुँदै गइरहेको छ । स्वास्थ्यमा पनि त्यस्तै समस्या छ । प्रदेश २ को स्वास्थ्य अवस्था कर्णाली भन्दा कमजोर छ । त्यसलाई सुधार गर्नुपर्ने आवश्यकता छ । सबभन्दा बढी सम्भावना भएको क्षेत्र कृषि हो । कृषिमा सबभन्दा बढी जोड दिनुपर्छ । आर्थिक समृद्धिका लागि कृषि भन्दा अरु कुनै उपाय नै हुन सक्दैन । कृषिका यस्ता धेरै कुरा छन् जो जनताको पहुँचमा छैन । सरकारले अनुदान दिएको हुन्छ तर जनतालाई थाह हुँदैन । नेता तथा ठूला व्यक्तिले नै त्यसको फाइदा उठाउँछ । त्यसमा ध्यान दिनुपर्छ । तर प्रदेश २ का सरकारले यस्ता कुरामा ध्यान दिएको छैन ।

राजपा नेपाल बनेको दुई वर्ष भयो तर अहिलेसम्म व्यवस्थित हुनसकेको छैन त्यसको कारण के हुनसक्छ ?
–यसमा मेरो व्यक्तिगत धारणा के हो भने शुरुमा अध्यक्षमण्डलका सदस्यहरुले महन्थ ठाकुरलाई सर्वसम्मतीले संयोजक बनाउनुभयो । र, उहाँले लामो समयसम्म संयोजक बनेर काम गर्नुभयो । त्यतिबेला देखि नै राजपा नेपाल बिग्रेको हो । उहाँले आफ्नो कार्यकालमा जथाभावी निर्णय गरेको कारण पार्टी व्यवस्थित हुन सकेको छैन । अहिले दुई–दुई महिनामा संयोजक फेरिदैछ । अलि अलि व्यवस्थित हुने देखिएको छ तर यो दुई–दुई महिनामा संयोजक फेरिनु पनि राम्रो होइन । कुनै संयोजकले काम गर्न खोज्नुहुन्छ । त्यसको तयारी शुरु हुन्छ, जब काम प्रकृयामा जान्छ अनि संयोजक फेरिन्छ । अर्को संयोजक आएपछि फेरि नयाँ ढंगबाट अगाडि बढ्नुहुन्छ । त्यसले पनि कतै नकतै पार्टी व्यवस्थापनमा समस्या गरेको छ ।

राजपा नेपालमा यति नेता छन्, यति कार्यकर्ता छन्, यति ठूलो दल बनेको छ तर दुई नम्बरमा मात्र किन सिमित भएको छ ?
–हो एउटा समस्या छ । यो समस्या समाधानका लागि जबसम्म महाधिवेशन हुँदैन तबसम्म समाधान हुँदैन । एकता महाधिवेशन सम्पन्न भएपछि पार्टीले एकखालको लाइन लिन्छ र देशभरि अभियानकै रुपमा संगठन विस्तार गर्न सजिलो हुन्छ । हामी मधेशमा मात्र सिमित रहन चाहदैनौं । हामीले पहाडलाई पनि जोड्न चाहन्छौं । हिमाल, पहाडका जनता पनि यसमा जोडिएका छन् । विभिन्न साना दलहरुसँग एकीकरण पनि भइरहेको छ । समाजवादी पार्टी, नेपालसँग पनि एकीकरणको कुरा भइरहेको छ । मधेशी जनताको चाहना पनि यी दुई दलको बीचमा एकीकरण होस् । तर पदाधिकारी अर्थात अध्यक्ष कसरी कसलाई राख्ने विषयमा कुरा मिलेको छैन । चाँडै नै कुरा मिल्छ जस्तो लाग्छ । त्यसैले महाधिवेशनपछि हामी राष्ट्रिय रुपमा जान्छौं भनि विश्वास छ ।       

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..