» » एकीकरणमा १० वर्षदेखि नसुल्झिएको जालझेल

नयाँ शक्तिसँग एकीकरण गरि बनेको समाजवादी पार्टी, नेपाल अर्थात तत्कालिन संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच एकीकरणका लागि विगत १० वर्षदेखि वार्ता र संवाद चलिरहेको छ ।

जुनबेलादेखि यी दलहरुको बीचमा वार्ता शुरु भएको हो, त्यो बेला सबै दलहरु छुट्टा छुट्टै थिए ।

अहिलेको समाजवादी पार्टी नेपाल मधेशी जनअधिकार फोरम नेपाल थियो । र, अहिलेको राजपा नेपाल बनाएका तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) र सद्भावना पार्टी अलग अलग थिए ।


उपेन्द्र यादव नेतृत्वको तत्कालिन मधेशी जनअधिकार फोरम नेपाल र राजेन्द्र महतो नेतृत्वको तत्कालिन सद्भावना पार्टीबीच एकीकरणका लागि वार्ता र संवाद शुरु भएको थियो । यी दुई दलको बीचमा पटक पटक छलफल भयो । धेरै कुरा अगाडि बढी सकेको थियो । त्यही बीचमा तत्कालिन तमलोपासँग पनि एकीकरण गर्ने भनि तीनटै दलको बीचमा वार्ता प्रारम्भ भयो । तीनटै दलले आआफ्नो दलबाट वार्ता समिति बनाएर संवादलाई अगाडि बढाएको थियो ।


अहिलकै जस्तै तीनटै दलको बीचमा गम्भीर रुपमा छलफल अगाडि बढी रहेको थियो । त्यतिबेला पार्टीको नाम, झण्डा, चुनाव चिन्ह, राजनीतिक दस्तावेज सबैमा कुरा मिलिसकेको थियो तर पार्टीको नेतृत्व कसले गर्ने विषयमा कुरा नमिल्दा एकीकरण अवरुद्ध भएको थियो ।

 तत्कालिन फोरमबाट उपेन्द्र यादवले नेतृत्व गर्ने दावी गरिरहनु भएको थियो भने यताबाट महन्थ ठाकुरलाई अध्यक्ष बनाउने दावी गरिएको थियो । तर, उपेन्द्र यादवले महन्थ ठाकुरलाई स्वीकार गर्ने पक्षमा हुनुहुन्थेन । बरु महन्थ ठाकुरलाई वरिष्ठ नेता वा अभिभावक रुपमा स्वीकार गर्ने र दोस्रो पोजिसन राजेन्द्र महतोलाई दिने गरि अगाडि बढ्न उपेन्द्र यादवको चाहना थियो ।


तर कुरा मिलेन । त्यो बेला कुरा नमिल्नुको खास कारण पनि थियो । तत्कालिन सद्भावना पार्टीका लक्ष्मण लाल कर्ण र तत्कालिन तमलोपाका ह्रदयश त्रिपाठीले भित्रैदेखि एकीकरणप्रति सकारात्मक थिएन । त्रिपाठीले राजेन्द्र महतोलाई नेता स्वीकार गर्ने पक्षमा हुनुहुन्थेन ।

त्यसैले त्रिपाठीले चाहनु भएको थिएन कि यी दलहरुको बीचमा एकीकरण होस् । उता लक्ष्मणलाल कर्णले पनि आफ्नो पद सुरक्षित नदेखेका कारण एकीकरणका लागि भित्रै मनदेखि लाग्नु भएको थिएन । उहाँ दुईजनाले भित्रैदेखि विरोध गरेपनि यदि नेतृत्वमा कुरा मिलेको भए एकीकरण हुन्थ्यो । त्रिपाठीलाई अलग राखेर भएपनि एकीकरण हुन्थ्यो । तर नेतृत्वमा कुरा नमिल्दा त्यो एकीकरणको प्रकृया त्यतिकै तुहिएको थियो ।
तर, छलफल र संवादको शिलशिला कहिले टुटेको थिएन । ती नेताहरुको बीचमा जतिबेला भेट हुँदा एकीकरण गर्नुपर्छ भनि कुरा हुन्थ्यो कहिले काही चिया कफीमा संवाद पनि हुन्थ्यो । त्यो शिलशिला अहिलेसम्म जारी छ ।


तत्कालिन फोरम नेपालले मधेश केन्द्रीत दलसँग एकीकरण गरेन तर एमालेबाट अलग भएर अशोक राईले गठन गर्नुभएको संघीय समाजवादी पार्टी नेपालसँग एकीकरण गर्यो । एकीकरण गरेर मधेशी जनअधिकार फोरम नेपाललाई संघीय समाजवादी फोरम नेपाल बनायो । यो एकीकरण त्यतिबेला भयो जतिबेला तत्कालिन तमलोपा र सद्भावना पार्टीसँग एकीकरणको कुरा जारी थियो । यी दुई दलसँग एकीकरण चलिरहेकै बेला उपेन्द्र यादवले अशोक राईको पार्टीसँग एकीकरण गरेपछि तत्कालिन तमलोपा र सद्भावना पार्टीका नेताहरु आश्चर्यमा परेका थिए ।


संवाद र वार्ता जारी नै थियो । सँगै मिलेर दुवै दलले आन्दोलन पनि गरे । आन्दोलन सकिएसँगै २०७४ बैशाख ७ गते तमलोपा, सद्भावना , रामसपा, फोरम गणतान्त्रिक, संघीय सद्भावना, तमसपा मिलेर राजपा नेपाल बनायो । सो एकीकरणमा ती दलका नेताहरुले उपेन्द्र यादवलाई पनि सहभागी हुन आग्रह गर्नुभएको थियो । तर उपेन्द्र यादवले भन्नुभएको थियो, ‘तपाईहरु गर्नुस् म पछि आउँछु ।’

आन्दोलनमा हुँदा सविधान संशोधन नभएसम्म चुनाव नजाने दुवै दलले अडान लिएका थिए तर उपेन्द्र यादवले भित्रभित्रै चुनावको तयारी पनि गरिरहेका थिए । राजपा नेपाल आन्दोलनको तयारी गरिरहँदा उपेन्द्र यादव चुनावको तयारीमा जुटिससक्नु भएको थियो । सबै प्रदेशमा फोरम नेपालले चुनावमा भाग लियो ।

त्यसका लागि सो दलको आलोचना भएको थियो । अन्तिममा राजपा नेपाल पनि प्रदेश २ मा चुनाव लड्ने भएपछि दुवै दलले गठबन्धन बनाएर स्थानीय, प्रदेश र प्रतिनिधिसभाको चुनावमा भाग लिएका थिए ।


संघीय समाजवादी फोरम नेपाल प्रदेश २ मा राजपा भन्दा बढी सीट ल्याएका कारण त्यहाँको सरकारको नेतृत्व गरेको छ । केन्द्रमा राजपा नेपाल तत्कालिन फोरम नेपालभन्दा एक सीट बढी ल्याएको छ । तर सरकारमा तत्कालिन फोरम नेपाल सहभागी भएको छ ।

यो शिलशिला जारी रहेको बेला राजपा नेपाल र फोरम नेपालबीच एकीकरणका लागि एकपटक पुनः वार्ताले गति लियो । बरु उपेन्द्र यादवले एक कदम अगाडि बढेर केन्द्रीय समितिबाट निर्णय नै गराएर वार्ता समिति नै बनाउनु भएको थियो । बरु राजपा नेपाल धेरैपछि वार्ता समिति बनायो । दुवै दलले वार्ता समिति बनाए पनि औपचारिक वार्ता यो समाचार तयार हुँदासम्म भएको छैन ।


यी दुई दलको बीचमा एकीकरणका लागि वार्ता चलिरहेकै बेला डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिसँग तत्कालिन फोरम नेपालले एकीकरण गर्यो । एकीकरण गर्ने बेला औपचारिकताका लागि उपेन्द्र यादवले राजपा नेपालका अध्यक्षमण्डलका सदस्य महन्थ ठाकुर र राजेन्द्र महतोलाई बोलाएर छलफल गर्नुभएको थियो ।

 राजपा नेपालका यी दुई नेताले एकीकरणलाई केही दिन रोक्नुस् हामी छलफल गरेर जवाफ दिन्छौं भन्नुभएको थियो तर उपेन्द्र यादवले राजपा नेपाल एकता भाँड्न आएको भन्दै हतार हतारमा एकीकरणको प्रकृया अगाडि बढाएर बैशाख २३ गते नयाँ शक्तिसँग एकीकरणलाई पूर्णता दिनुभयो ।


एकीकरणको पूर्णता दिए लगतै उपेन्द्र यादवले पुनः राजपा नेपालसँग एकीकरणका लागि कुरा अगाडि बढाउनुभयो । एकीकरणपछि समाजवादी पार्टी, नेपाल बनाउनु भएको छ । पहिलो बैठकबाट पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठको नेतृत्वमा वार्ता समिति गठन गर्नुभएको थियो । र, अनौपचारिक वार्तालाई तीब्रता दिनुभयो ।


यता राजपा नेपालका तर्फबाट वार्ता समितिका संयोजक राजेन्द्र महतो हुनुहुन्छ । उहाँले सिधै उपेन्द्र यादवसँग छलफल गरिरहनु भएको छ । वार्ता सकारात्मक रुपमा अगाडि बढी रहेको नेताहरु भन्नुहुन्छ तर १० वर्षदेखि भइरहेको वार्तामा के प्रगति भएको छ भनि कसैले भन्न सकिरहनु भएको छैन । अहिलेको वार्तामा पनि नेतृत्वको विवाद रहेको छ ।


 समाजवादी पार्टी र राजपा नेपाल त्यही पुरानै अडानमा छन् । समाजवादी पार्टीमा दुईजना अध्यक्ष रहेका छन्  भने राजपा नेपालमा छजना अध्यक्ष रहेका छन् । राजपा नेपालले समाजवादी पार्टीबाट दुईजना अध्यक्ष राख्ने हो भने यताबाट पनि दुईजना अध्यक्ष रहने प्रस्ताव गरेको छ तर समाजवादी पार्टी त्यसमा सकारात्मक हुन सकेको छैन ।


यदि दुई दुईजना अध्यक्ष रहने गरि कुरा मिलेपनि राजपा नेपालमा रहेका अन्य चारजना अध्यक्षको व्यवस्थापन कसरी गर्ने त्यो एउटा ठूलो समस्या रहेको छ । समाजवादी पार्टीमा उपेन्द्र यादव र डा.बाबुराम भट्टराईको व्यवस्थापन भएपनि त्यसमा रहेका अशोक राई, राजेन्द्र श्रेष्ठ लगायतका नेताहरुलाई कसरी व्यवस्थापन गर्ने त्यो पनि एउटा समस्या बनेर आएको छ ।


अर्थात १० वर्षदेखि जुन नेतृत्वको विवाद थियो त्यो विवाद यथावत रहेको छ । तैपनि नेताहरु भन्नुहुन्छ, वार्ता सकारात्मक रुपमा अगाडि बढी रहेको छ ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..