» » तराई मधेशमा मधुश्रावणीको रौनक

तराई मधेशका विभिन्न क्षेत्रमा लोकपर्वको रुपमा मनाइने मधुश्रवाणीले रौनक नै छाएको छ । यो पर्व खासगरी नवविवाहिता महिलाले माइतीमा गएर मनाउने गर्छन् । जसअन्तर्गत बेहुली र उनका सखीहरु सहभागी हुन्छन् । पर्वमा माता गौरी, महादेव र नागदेवता (विषहरा) को पूजाअर्चना र अनुष्ठान गर्ने गरिन्छ ।

१३ दिनसम्म मनाइने यस महान लोकपर्व मधुश्रावणी पर्वमा प्रत्येक दिन विभिन्न कथाहरु सुनाइने गरिन्छ । जसमा मैना पञ्चमी, विषहरी, बिहुला, मनसा, मङ्गला गौरी, पृथ्वी जन्म, समुद्र मन्थन, सतीको कथा व्रती महिलाहरुलाई सुनाइने गरिन्छ ।

लोककथा अनुसार नागलाई नारीको पतिका रूपमा वंशलाई समाप्त पार्ने रूपमा लिइन्छ भने गौरीलाई दाम्पत्य जीवनको संरक्षिकाका रूपमा लिइने गरिएकाले यस पर्वमा गौरीको गाथा र नाग नागिनको पूजाअर्चनाको विशेष महत्व दिइने गरेको देखिन्छ ।

गौरी दाम्पत्य जीवनलाई सुखी बनाउने मात्र नभई मनोकमना पूरा गर्ने देवीका रूपमा पनि लिइने गरेको छ । मिथिला नरेश जनककी छोरी सीताद्वारा गौरी पूजन गरिएकाले नै भगवान् श्रीरामजस्ता पति पाइन् भन्ने धार्मिक विश्वास रहेको पाइन्छ । वाल्मीकि रामायणअनुसार गौरी पूजनका लागि सीताले फूल टिप्ने क्रममा रामसँग पहिलो भेट भएको थियो ।

पर्वमा कतिपय कथा शिवपार्वतीको वैवाहिक, रोमाञ्चक प्रसङ्ग एवं ठट्यौली भरिएका कारण नारी जीवनमा पतिप्रतिको स्नेह, सौहार्दतालाई प्रगाढ बनाउन प्रेरित गर्छ भने सर्पकी आमा विषहरा र उनको वंशका बारेमा चर्चित लोक गाथाहरूले नागको पूजा गर्ने भावनालाई अभिप्रेरित गर्ने जस्ता विश्वास अहिले पनि समाजमा व्याप्त पाइन्छ ।

पर्वको शुरुवात
भनिन्छ यो पर्वको सुरुवात शिव पुराणको प्रसङ्ग अनुसार मधुश्रावणी नामक नवविवाहिताले  शिव पार्वतीलाई आफ्नो पतिलाई कुष्ठरोग भएको व्यथा सुनाउँदा शिवले तिनलाई यस प्रकारको व्रत गर्न सुझाएका थिए । सुझावअनुसार उनले व्रत गरेपछि पति निको भए । यस पर्वको सुरुवात त्यहीँबाट भएको मानिन्छ ।

यस पर्वलाई मधुमासका रूपमा पनि लिने गरेको पाइन्छ । नवविवाहित पतिपत्नीको आगाध र मधुर प्रेमलीलाका रूपमा समेत यसलाई लिने गरेकाले विवाहित महिला र पुरुषका लागि श्रावण महिनाभरी विशेष रूपमा शिव र पार्वतीका विभिन्न गाथाहरुलाई गाइन्छ । यसैले नवविवाहिता नारीका लागि यो विशेष महिनाका रूपमा लिने गरिएको छ ।

यसको कथा 
कथाअनुसार भगवान शिवपार्वती सँगै जलक्रीडा गरिरहेका बेला शिवको वीर्य स्खलन भयो । भगवान शिवले सो वीर्यलाई एउटा रुखको पातमा राखे । सोही वीर्यबाट पछि पाँच कन्याहरुको जन्म भयो । ती पाँच कन्याहरुको नाम जया, विषहर, शामिलबारी, देव र दोतली राखियो ।

यी कन्याहरुको जन्मपछि भगवान शिव त्यहाँबाट गएपनि समय समयमा आफ्ना छोरीहरुलाई भेट्नका लागि आइरहन्थे । यो क्रम धेरै दिनसम्म चलेपछि पार्वतीलाई शङ्का लाग्न थाल्यो । उनले एक दिन भगवान शिवको पिछा गरे । भगवान शिव फेरि सोही तलाउमा आफ्ना छोरीहरुलाई भेट्न आए ।

शिवजी तलाउमा सर्परूपी आफ्ना छोरीहरुसँग खेलिरहेका थिए । भगवान शिवलाई उनीहरुसँग खेलिरहेको देखेर पार्वती क्रोधित भइन् । उनले ती सर्पहरुलाई मार्ने प्रयास पनि गरिन् । त्यसपछि शिवले पार्वतीलाई ती सर्पहरुको कथा सुनाए । उनीहरुको कथा सुनेपछि पार्वती हाँस्न थालिन् ।

 शिवको यो कथा सुनेर माता पार्वती सर्प रूपी छोरीहरुलाई मारिनन् । त्यसपछि महादेवले भने ‘साउन महिनामा जसले सर्पको पूजा गर्छ, उसलाई सर्पबाट भय हुँदैन ।’ त्यही कारणले लोकगाथा अनुसार अहिले पनि मिथिलाञ्चल समाजमा मधुश्रावणी पर्वको बखत विषहरको पूजा गर्ने चलन सदियौँदेखि चल्दै आइरहेको छ ।
कसरी मानाइन्छ पर्व ?

मिथिलामा गौरीलाई अटल सौभाग्य प्रदान गर्ने देवीका रूपमा पूजा गर्ने परम्परा छ ।  मधुश्रावणी पर्वका लागि नवविवाहिता व्रतालु श्रावण कृष्ण चतुर्थीको दिन स्नान गरी चोखो हुने गर्छिन् ।

दिउँसोको समयमा नवविवाहिता महिलाहरु मिथिलाका विभिन्न लोक गीतहरु गाउँदै, हँसी ठट्टा गर्दै फूल टिप्न जाने गर्छिन् । यसलाई मिथिलामा फूललोढी भनिन्छ । विभिन्न प्रकारका फूल तथा बेलपत्रहरु अर्को दिन गौरी र महादेवलाई चढाउने गर्छन् । यस पर्वमा माता गौरी र महादेवलाई बासी फूल र बेलपत्र चढाउने चलन छ ।


पूजाका क्रममा साँझमा माता गौरीका लागि नैवेद्य तयार गरिन्छ ।  बेसारलाई गौरीको प्रतीक प्रतिमास्वरूप बनाएर पानको पातमा राखिन्छ, जसलाई गौर भन्ने चलन छ ।

यस पर्वमा मिथिलामा प्रचलित गोसाउनी गीत, गौरीगीत, शिवनचारी, महेशवाणी, कोहबरगीत आदि गाइने परम्परा छ । मधुश्रावणीमा गौरी र महादेवको पूजा गर्ने भएकाले शिव–पार्वतीको पारिवारिक परिवेशसम्बन्धी आख्यानहरुको चर्चा गरिन्छ । जसले गर्दा पूजाको समयमा मनोरञ्जनात्मक परिवेशको निर्माणसमेत हुने गर्दछ । गौरी नैवेद्य र गौरीको प्रतिमा नवविवाहिता महिलाको माइती र ससुराली दुवै ठाउँ बनाइने गरिन्छ ।

यो पर्व खास गरी माइतीमै मनाइने भएकाले ससुरालीमा बनाइएको गौरीको प्रतीक र गौरीको नैवेद्य पूजाको दिन पूजास्थानमा राखिने गरिन्छ । यस अवसरमा नवविवाहिताको ससुरालीबाटै साड़ी, शृङ्गारका सम्पूर्ण सामग्रीका साथै पर्व अवधिका लागि अन्नसमेत पठाउने चलन रहेको मधुश्रावणीको कथा वाचन गर्ने अरुण देवीले बताइन् । 

यसरी १३ दिनसम्म गरिएको पूजामा एकत्रित गरिएको फूल अर्थात निर्माललाई अन्त्यमा विसर्जन गरिने प्रावधान रहेको छ । साउन शुक्लपक्षको तृतीया तिथिका दिन मधश्रुावणी पर्व समापन गरिन्छ । तृतीयाभन्दा एक दिनपहिले व्रतालुले नुहाएखाए गरेपछि सोही दिन साँझ फेरि गौरी नैवेद्य पकाउँछिन् ।

 सोही दिन नवविवाहिताहरु टेमी विधिमा सम्लग्न हुन्छन् । टेमी विधिमा दियोको टुप्पाले नवविवाहितालाई गोडामा पोलिन्छ । बेहुलीको देब्रे गोडामा टुप्पीले स्पर्ष गराइन्छ । स्पर्ष गराइएको स्थानमा चन्दनको लेप लगाइन्छ ।

ब्रतालुलाई सम्मान
मिथिलाञ्चल क्षेत्रमा मधुश्रावनी मनाइ रहेकी महिलाहरुलाई साउन १३ गते सम्मान गरिएको छ । सोमबार जानकी मन्दिरको प्राङ्गनमा आयोजित सम्मान समारोहमा ८३ जना व्रतालुहरुलाई मैथिल ब्राह्मण महासभाले सम्मान गरेको हो ।

सम्मानको अवसरमा जनकपुरधाम उपमहानगरपालिकाको उपप्रमुख रिता कुमारी मिश्रले सम्पूर्ण ब्रतालुहरुलाई चुनरी ओडाएर सम्मान गरेकी थिईन् । सम्मान सम्मारोहको अवसरमा नवविहिताहरुको उल्लेख्य रुपमा सहभागिता रहेको थियो।साउन महिनाको कृष्णपक्षको पञ्चमी तिथिबाट प्रारम्भ भएको मधुश्रावणी पर्व शुक्लपक्षको तृतीया तिथिका दिन सम्पन्न हुने गर्छ ।

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..