» » मधेशको राजनीति र मधेशी पत्रकार (फरकमत)

–राजकिशोर यादव
पत्रकारीता क्षेत्रमा पनि चिँची पनि र पापा पनि हुनुहुँदैन । पत्रकारले हामीसँग जुन अपेक्षा राख्छन्, त्यस्तै अपेक्षा हामी पोल्टिसियनले पनि पत्रकारसँग राख्छौं । सैद्धान्तिक हिसाबले पत्रकारीता पार्सियल हुँदैन तर मानवीयताको हिसाबले केही न केही हुन्छ ।

 मानवताको हिसाबले त्यसमा केही व्यवहारिक पनि हेरिन्छ । मधेशमा अहिले पनि सैद्धान्तिक पत्रकारिता भन्दा मिसन पत्रकारिता गर्नुपर्ने आवश्यकता छ । 


मधेशमा कुनै पनि समस्या हुँदा त्यसमा मधेशवादी दलले ने बोल्नुपर्छ भने अपेक्षा सबैले गरेका हुन्छन् चाहे त्यो काँग्रेससँग सम्बन्धित होस् या नेकपासँग सम्बन्धित होस् वा अन्य जोसुकैसँग सम्बन्धित होस् ।

मधेशको कुरा आउने वित्तिकै मधेशवादी दलका नेताले नै बोल्नुपर्छ भनि चाहेका हुन्छन् । देशमा मधेशसँग सम्बिन्धित केही घटना भयो भने यसमा मधेशवादी दलले किन बोलेन ? मधेशी नेताले किन बोल्नु भएन ? जस्ता प्रश्न तेर्सिन्छ तर के साँच्चै हो मधेशका सबै कुरा मधेशी दलका नेताले नै बोल्नुपर्छ त ? के पुरै मधेश मधेशवादी दलकै हो त ? त्यस्तो होइन ।

अहिले पनि मधेशमा सबभन्दा बढी मत नेकपा र काँग्रेसले नै ल्याएको छ । मधेशी जनताले अहिले पनि मधेशवादी दलभन्दा बढी नकेपा र काँग्रेसलाई मन पराएको छ तर त्यही जनताले मधेशवादी दलसँग अपेक्षा गरेका हुन्छन् । मधेशका खाँटी काँग्रेस, खाँटी नेकपाका नेता तथा कार्यकर्ताले पनि मधेशको कुरा आयो भने यो राजपा नेपालले बोल्नुपर्छ भनि भन्छन् । मधेशको यो अवस्था हो । र, यो कुरा पत्रकारमा पनि देखिएको छ । मधेशको कुनै कुरा आउनै वित्तिकै मधेशी दलले बोलेनन् भन्ने प्रश्न उठाउने काम पत्रकारहरुले पनि गर्नुभएको छ । 

र, मलाई यो स्वभाविक लाग्छ । किनभने मधेशवादी दलको आफ्नो विचार र सिद्धान्त त छदैछ । तर समग्र मधेशको पहिचान उसले बोकेका हुन्छन् । मधेशको समस्यालाई आफ्नो समस्या बुझेका हुन्छन्, मधेशको भावनालाई आफ्नो भावना बुझेका हुन्छन्, मधेशले अधिकार पाएन भने आन्दोलन गरेका हुन्छन् । यसकारणले पनि मधेशसँग सम्बन्ध कसिएको हुन्छ, र अपेक्षा पनि त्यही अनुसार हुन्छ । यस्तो अपेक्षा मधेशी बुद्धिजीवी, मधेशी पत्रकारलगायतसँग पनि गरेका हुन्छन् ।

 एक्काइसौं शताब्दीमा सबैको स्वतन्त्रता हुन्छ । सबैलाई आफ्नो पेशा, मार्यादा, विचारलाई रक्षा गर्ने अधिकार पनि छ । हामी पहिला मधेशी हौं, त्यसपछि पत्रकार, त्यसपछि नेता, त्यसपछि बुद्धिजीवी हौं भनि कुरा मनन गर्नुपर्छ । हामीले मधेशको कुरा गर्दा त्यहाँ को काँग्रेस, को कम्युनिस्ट कहिले सोचेनौ । पुरै मधेशलाई एउटा परिवारको जस्तो बुझियौं । जो जहाँ भएपनि सबै मधेशी हुन् र सबै मधेशबीच एकता हुनु जरुरी छ । र यो कुरा पत्रकार र नेता दुवै पक्षमा त्यतिकै लागु हुन्छ ।

नेपालमा मधेशी पत्रकार पीडित छन्, यसमा कुनै दुईमत छैन । यो देशको सोचलाई विचार गरियो भने समग्र मधेश नै यो राज्यबाट पीडित रहेका छन् । मधेश पीडित भयो भने त्यहाँको नेता पीडित हुन्छ, त्यहाँको पत्रकार पिडित हुन्छन्, त्यहाँको बुद्धिजिवी पिडित हुन्छन्, त्यहाँका कर्मचारी पिडित हुन्छन् । अर्थात हामीले आफूलाई दमित सोसाइटी मान्छौं । राज्यको नजरमा हामी मधेशी हौं चाहे जुनसुकै पदमा किन नहोस्, जो सुकै किन नहोस् त्यो मधेशी नै हुन्छ ।

एकीकरण
पत्रकारको आफ्नो भ्यु हुनु हुँदैन, पत्रकारको समाचार हुन्छ । यसले समाचार लेख्छन् । पत्रकार भएपछि जुनसुकै समाचार लेख्नुपर्छ । चाहे त्यो प्रचण्डको समाचार होस् या केपी शर्मा ओलीको समाचार होस् या राजकिशोर यादवको समाचार किन नहोस् सबैको बारेमा समाचार लेख्नुपर्छ । उसले कसैको बारेमा भ्यु बनाउन सक्दैन । उसले तथ्यको आधारमा समाचार लेख्नुपर्छ ।

 र, त्यो काम प्रोफेशनल पत्रकारको हो । तर मधेशी पत्रकारको एउटा भावना कस्तो पाइयो भने राजपा नेपाल कसरी बलियो हुन्छ, के गर्दा बलियो हुन्छ भनि चिन्ता जाहेर गरेका हुन्छन् । यो राम्रो कुरा हो ।


तर एकीकरण पनि एउटा राजनीति त्यो कुरा बुझ्न जरुरी छ । र, यसलाई सिधा नजरले हेर्नु हुँदैन । म एकीकरण विरोधी होइन । कसैलाई लागेको होला कि समाजवादी पार्टीसँग भइरहेको एकीकरणको विरोधी राजकिशोर हुन् भने त्यो गलत बुझाई हुनसक्छ । यो एकीकरणको बारेमा राजपा नेपालका छजना अध्यक्षमध्ये पाँचजना अध्यक्षले जति बोध गर्नुभएको छ त्यो भन्दा बढी बोध मैले पनि गरेको छु । तर फरक मात्र यति हो कि यो एकीकरणको वृहत उद्देश्य एउटा वैकल्पिक शक्ति निर्माण गर्ने हो ।


एकदुई नेताको स्वार्थका कारण पुनः राजपा जस्तै छजनामा खिचातानी भइरहेको छ फेरि सात वा आठजनामा पनि खिचातानी होस् भनेर एकीकरण नहोस् । भूँईको टिप्दा, गोजीको पनि झर्ने अवस्था नहोस् । सबभन्दा बढी एकीकरणको पक्षमा रहेको व्यक्ति म हुँ । राजपा नेपालको गठनको सुत्रधारमध्येको म पनि हुँ । एकीकरणको सुत्रपात मैले नै गरेको थिएँ । मलेठमा भएको श्रद्धाञ्जली कार्यक्रममा मैले मञ्चबाटै भनेको थिए, यदि ओलीलाई जवाफ दिनुछ भने त्यही अनुसारको शक्ति निर्माण गर्नुपर्छ ।’ राजनीति सबभन्दा निर्मम कुरा हो । हामीले छवटा पार्टी मिलाएर राजपा नेपाल बनायौं भने फोरम नेपालले पनि तीन चारवटा पार्टी मिलाएर समाजवादी पार्टी बनाएको छ ।


एकीकरण पनि एउटा राजनीति हो । इट इज पियोर साइन्स । स्टेट विल्डिङ निर्माणको जस्तो प्रोसेस हुन्छ, त्यस्तै प्रोसेस यसको पनि हुन्छ । पार्टीमा एउटा भिड जम्मा हुन्छ र त्यसले पार्टी बन्छ भने होइन । त्यसका लागि रणनीति र ठोस लक्ष्य हुनुपर्छ । तर मधेशवादी दल त्यस्तो पार्टी किन बन्न सकेन त ? हामीबीच एउटा भावना हुन्छ कि मधेशी मधेशीको बीचमा एकता हुनुपर्छ । त्यो भावनात्मक कुरा हो तर पोल्टिकल साइन्स अथवा राजनीतिक सिद्धान्तको आधारमा काम भइरहेको हुँदैन ।

२०४७ पछिको कुरा गर्ने भने मधेश एउटा भावनात्मक शक्तिको रुपमा मात्र रह्यो । रणनीतिका हिसाबले जस्तो शक्ति बन्नुपर्ने थियो त्यस्तो बनेनन् ।


मेरो कन्सर्नको कुरा के हो भने बढी दौडधुप र उछलकुदको चक्करमा शक्ति निर्माणका लागि जुन गुरु योजना बनेको छ त्यो डिस्टर्ब नहोस् । यो शक्ति दुईचार जना नेता मिल्दैमा निर्माण हुँदैन । पराजित मनोविज्ञानले युद्ध जित्न सक्दैन । युद्ध जित्नका लागि सबभन्दा महत्वपूर्ण कुरा हो त्यो मनोवैज्ञानिक ढंगबाट सबल हुनुपर्छ । यो त महाभारतको युद्ध जस्तो हुन्छ ।

महाभारथमा राजा विराट (सेल) पाण्डवको मामा हुनुहुन्थ्यो । तर कौरव पक्षले आदरभाव गर्दा त्यसको सेनापति बन्नुभयो । अर्जुनभन्दा करण कुनै पनि हिसाबले कमजोर थिएन । तर अर्जुनका सारथी कृष्ण हुनुहुन्थ्यो र करणको सार्थी सेल हुनुहुन्थ्यो । कृष्णले अर्जुनको मनोबल बढाउने काम गर्नुहुन्थ्यो भने सेलले शुद्रको पुत्रले के गर्न सक्छ, अर्जुन धुरन्धर विद्धान र बलवान हुनुहुन्छ भन्दै करण पक्षको मनोबल गिराउने काम गर्नुहुन्थ्यो । कौरवले आधा लडाई त मनोवैज्ञानिक ढंगले नै हारिसकेका थिए । जुन व्यक्ति मनोवैज्ञानिक ढंगबाट पराजित हुन्छ, उसले युद्ध किन जित्छ ? जित्दैन ।

किनभने उ शुरुमै मनोवैज्ञानिक ढंगबाट युद्ध हारिसकेका हुन्छन् ।

त्यसैले मधेशका नेता, मधेशका पत्रकारहरु पनि उच्च मनोवलका साथ काम गर्नुपर्छ । जबसम्म उच्च मनोबल राखिदैन तबसम्म युद्ध जित्न सकिदैन तर यहाँ कतिपयले हारको मानसिकता, कमजोरको मानसिकता लिएर राजनीतिमा आएका छन् । जो कहिले सफल हुनसक्दैन । जसरी पछिल्लो समय मधेशी पत्रकारहरु सक्षम हुँदैछन्, त्यसरी नै मधेशी दलका नेताहरु पनि सक्षम भएका छन् । कसैसँग कुनै कुरामा कमजोर छैन । मधेशी नेता हरेक कुरामा सक्षम छन् भन्ने कुराको सन्देश दिनुपर्छ ।

र, समय आएपछि त्यो कुराको पुष्टि हुन्छ । हिजोसम्म हामीलाई तपाईको आइडोलोजी के हो, मार्ग निर्देशन के हो भनि सोधिन्थ्यो भने अवाक्क हुनुपर्ने अवस्था थियो । जवाफ दिन सकिदैन्थ्यो तर अब मधेशी नेतामा त्यो आँट आइसक्यो कि उसले आफ्नो राजनीतिक दस्तावेज अरुको दस्तावेज भन्दा निकै नै राम्रो लेख्न सक्छन् । अरु दलभन्दा राम्रा राम्रा विचारको उत्पादन गर्न सक्छन् ।

मधेशप्रतिको गलत सोच 
मधेशीलाई कमजोर देखाउने पहाडी (खस मानसिकता भएका) हरु विभिन्न प्रपञ्चहरु रचेका हुन्छन् । बेलाबेलामा उनीहरुले मधेशमा दहेज प्रथाको कुरा उठाई दिन्छन् । हो, दहेज प्रथा राम्रो होइन, त्यसलाई निरुत्साहित गर्नुपर्छ तर मधेशको चेलीबेटी भारतको कोठीमा विक्रि हुन जाँदैनन् । त्यहाँ कोठीमा गएर हेर्नुभयो भने एउटा समुदाय विशेषको केटीहरु हुन्छन् । उनीहरु भन्दा हाम्रो मधेशका चेलिबेटी कति इज्जतदार छन् कति । मधेशमा धेरै गरिबी छन् तर कुनै पनि मधेशीले आफ्ना चेलीबेटीलाई कतार, दुवई, मलेशिया पठाउँदैनन् । 


मधेशी दल फुट्न मात्रै जानेका छन्, उनीहरु भ्रष्ट छन् । उनीहरु गलत काम गर्छन् भनि आरोप जहिले पनि लगाई रहेका हुन्छन् । मधेशका साथीहरुले पनि त्यही कुरा बोकेर हिडिरहेका हुन्छन् । तर म दवाका साथ भन्छु, पहाडी नेता भन्दा मधेशका नेता एक प्रतिशत पनि गलत छैनन् । यो देशमा शेरबहादुर देउवा, खुमबहादुर खड्का, केपी शर्मा अ‍ोली, प्रचण्ड, इश्वर पोखरेल लगायतका नेताहरुले जति गलत काम गर्नुभयो त्यसको १० प्रतिशत पनि मधेशी नेताले गरेका छैनन् ।


राजपा नेपालसँग छवटा अध्यक्ष छन् र नेकपासँग दुईजना अध्यक्ष छन् । तर आलोचना राजपा नेपालको मात्र हुन्छ कि राजपा नेपालमा ६–६ जना अध्यक्ष छन् । यिनीहरुका कुरा मिल्दैनन् । तर यो कुरा किन बुझ्दैन कि नेकपामा दुईजना मात्र नेता भएको कारणले दुईजना अध्यक्ष भए, राजपा नेपालका छजना नेता थिए, छजना अध्यक्ष भए । यसमा गर्व गर्नुपथ्र्यो तर पहाडीहरुले टिप्पणी गरे जस्तै मधेशीहरुले पनि त्यस्तै टिप्पणी गर्छन् ।
राजपाको चुनौती
राजपा नेपालको सबभन्दा मित्र शक्ति जो छ उही उसको लागि चुनौति बनेको छ । आजको दिनमा राजपा नेपालको सबभन्दा नजिकको मित्रशक्ति समाजवादी पार्टी हो, त्यो पार्टीसँग मिलेर आन्दोलन गर्यौं, सँगै चुनाव लड्यौं, सँगै सरकार निर्माण गर्यौं ।  तर राजपा नोपलको सबभन्दा ठूलो प्रतिस्पर्धी कोही छ भने त्यो हो समाजवादी पार्टी । राजपा नेपाल अब त्यो अनुसारको रणनीति बनाएर अगाडि बढ्न चाहन्छ ।


राजनीतिले पावरको डिसाइज गर्छ । त्यहाँ कुनै दयामाया हुँदैन, ओनली पावर डिसाइज । यदि राजपा नेपाल र समाजवादी पार्टीबीच एकीकरण भयो भने सबभन्दा बढी खुशी म हुन्छु । तर राजपा नेपालको तोहिन (अपमान) गरेर । राजपा नेपालका नेताको मानमर्दन गरेर एकीकरण हुँदैन । राजपा नेपाल समाप्त हुने शक्ति होइन । तीनदेखि छ महिना भित्र हामीले आफ्नो पोजिशन स्पष्ट गर्छौ त्यसका लागि गृहकार्य भइरहेको छ ।


हामीले रणनीति ढंगबाट हामीले आन्दोलन गरेनौं । यदि हामीले आन्दोलन गरेको भए आज प्रधानमन्त्री केपी शर्मा ओलीको जुन अवस्था छ, त्यो हुने थिएन । प्रधानमन्त्री केपी शर्मा ओली जसरी चारैतिरबाट घेरामा पर्नुभएको छ त्यसरी पर्नु हुन्थेन । हामी आन्दोलन गरेको भए साराको ध्यान हाम्रोतिर हुन्थ्यो र त्यसका फाइदा प्रधानमन्त्री अ‍ोलीलाई मात्र हुन्थ्यो । त्यसैले हामी जानी जानी आन्दोलनमा गएनौं ।


अहिले भारत किन चुप छ । यदि भारतले केही बोलेको भए, यहाँ राष्ट्रवादीहरु जागृत हुन्थे र त्यसको फाइदा प्रधानमन्त्री ओलीले लिनुहुन्थ्यो । नाकाबन्दीले यदि कसैलाई फाइदा भएको छ भने त्यो प्रधानमन्त्री अ‍ोलीलाई भएको छ । ओली पछिल्लो समय प्रधानमन्त्री भएपछि उहाँलाई चारैतिरबाट दवावमा पर्नुभएको छ । उहाँकै पार्टीमा विरोध भइरहेको छ । उहाँकै दलका नेताहरुले विरोध गरिरहनु भएको छ । अहिलेको जस्तो प्रधानमन्त्री अ‍ोलीको हालत कहिले खराब थिएन । त्यसैले भावनामा होइन, अब मधेशमा रणनीतिक हिसाबले अगाडि बढ्नुपर्छ ।
(मधेशी पत्रकारसँगको अन्तरक्रियामा राजपा नेपालका संयोजक राजकिशोर यादवले राख्नुभएको धारणाको सम्पादीत अंशः) 

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..