» » जहाँ कमल मण्डल त्यही अभियन

बउलालके घरमे जुलुम भेल, बउलालके लास महुलीमे, जामुन गाछमे भुत, छोटु चोरके राम धुलाई, पिटनावाला मास्टर, पटुवा खेतमे सटम सटा, दियादी झगडा, नाम छुतरबा काम छुतहरबा यी शीर्षक पढ्ने बित्तिकै कस्तो अच्चम लाग्छ । नाममै कमेडी । नाम सुन्दैमा हाँसो उठ्ने । हो, युट्युबमा सुनिने र देखिने नाम हुन् ।


अहिले विभिन्न क्षेत्रका विषयवस्तुलाई युट्युवमार्फत बाहिर ल्याउने ट्रेन्ड नै भइसकेको छ । विभिन्न युट्युव च्यानलको नामबाट बजार तताउने गरेको छ । कसैले इन्टर भ्यु लिएर त, कसैले समाचार बजाएर त कसैले गीत गाएर त कसैले, विभिन्न नाममा मनोरञ्जन दिएर पाठकलाई तान्ने काम भइरहेको छ । जति भ्युअर भए त्यति पैसा कमाउन पाइन्छ भनेर कतिपय युट्युबरहरुले जथाभावी कुराहरु राखेर पाठकलाई तान्ने काम गरिरहेका हुन्छन् ।

जस्तै भाउजु पिट्ने दाइलाई बहिनीको गतिलो झापड, भैसी र सर्प खाने अनौठो बालिका, अब प्रचण्ड जेल जाने दरबारबाट आयो कडा जवाफ, भाउजु नन्द भगाएर विहे गरिन्, अकेली भाभी ने शराब पिलाकर किया गलत काम यस्ता थुप्रै शीर्षक दिएर युट्युवमा शीर्षक दिएर पाठक तान्ने काम गरिरहेका हुन्छन् ।


त्यति मात्र होइन, युट्युवको विषयवस्तु एउटा हुन्छ त्यसमा देखिने फोटो अर्कै हुन्छ । अर्थात कतिपय युट्युवरले पाठकलाई भ्रमित गरेर आकर्षित गरेका हुन्छन् तर त्यो भन्दा धेरै फरक छ ‘मैथिली सिने संसार’ युट्युब च्यानल । यो बिल्कुल पारिवारीक च्यानल हो ।

यसमा तराई मधेशको ग्रामीण परिवेशमा हुने सानातिना कुरालाई ‘कमेडी’ को रुपमा प्रस्तुती हुन्छ । सिने संसार युट्युव च्यानलका सञ्चालक कमल मण्डल हुनुहुन्छ जो उहाँ आफै कलाकार हुनुहुन्छ । उहाँ जहाँ हुन्छ त्यही अभिनय हुन्छ । उहाँ आफै ग्रामीण प्रवेशमा जन्मेका हुर्केका भएका हुनाले उहाँलाई विषयवस्तु चयन गर्नमा कुनै समस्या हुँदैन ।

खेतबारीको कुरा, महिलाहरु बीचको झगडा, केटाकेटीको झगडा लिएर कसरी लिन्छ ठूलो रुप, गाउँघरमा पढाउने ट्युशन, गाउँघरमा हुने प्रेम, दहेज, वैदेशिक रोजगार लगायतका महत्वपूर्ण विषयवस्तुलाई आफ्नो युट्युवमार्फत उहाँले पस्किनु हुन्छ ।


कतिपय विषयवस्तु हेर्दा लाग्छ साँच्चिकैको घटना हो । समाजमा कतै त्यो घटना भइरहेको थियो र त्यसलाई मोबाइलबाट भिडियो बनाएर युट्युवमा राखिएको हो । किनभने कमल मण्डल जहाँ जानु हुन्छ त्यही एक दुईजना भेला पारेर शुटिङ् गरि हाल्नुहुन्छ ।

पारिवारीक च्यानल 
यो च्यानलको एउटा महत्वपूर्ण पाटो के हो भने यसका लागि जति पनि कलाकारहरुले काम गर्छन् प्रायः ती आफ्नै परिवारका छन् वा चिनजानका छन् ।


त्यसैले यो युट्युबमार्फत प्रशासरण हुने विषयवस्तु परिवारका सबै सदस्य तथा सभ्य समाजले हेर्न मिल्ने खालको हुन्छ ।

अहिले त युट्युवमा यस्ता यस्ता सर्ट फिल्महरु, भिडियो बनाएर राखिएका हुन्छन् जो परिवारसँग मात्र होइन, एक्लै हेर्न पनि लाज लागि रहेका हुन्छन् । तर मैथिली सिने संसार युट्युव च्यानलमा त्यस्तो छैन ।


च्यानलका सञ्चालक कमल मण्डलले आफ्ना श्रीमती प्रिति अधिकारी, भाउजु रञ्जना देवी, काकी चन्द्रकाला, ससुरा रामाषिस मण्डल, छिमेकी बउवालाल खङ, बसन्ति सरदारलाई अभिनय गराउनु हुन्छ  । कमल मण्डलले त्यसबाहेक अन्य कलाकार पनि स्थानीयबाट नै लिनु भएको हुन्छ । 

अभिनय गर्ने सहायक कलाकारहरु कुनै पेसागत कलाकार होइन । उनीहरु कलाकारिता कतै सिकेका होइनन् । कमल मण्डलले उनीहरुलाई त्यतिकै अभिनय गराई रहनु हुन्छ ।

 यो युट्युव च्यानलका लागि कमल मण्डललाई कलाकारको अभाव हुँदैन । कथाले जस्तोसुकै पात्र माग गरेपनि त्यसका लािग कमल मण्डलले गाउँका स्थानीय युवा तथा केटाकेटीलाई चरित्र अनुसार अभिनय गराएका हुन्छन् । अहिले त कमल मण्डललाई गाउँघरतिर डुलेको देख्दा केटीकेटी तथा युवाहरु उहाँको पछि पछि लागेका हुन्छन् ।


सुटिङ्गका लागि आएको हो, अभिनय गर्न पाइन्छ भन्दै केटीकेटी तथा युवाहरु कमल मण्डलको पछिपछि लागेको हुन्छन् । कतिपय बुढापाका एवं पाको उमेरका महिलाहरु पनि अभिनय गर्न चाहेका हुन्छन् । कमल मण्डल भन्नुहुन्छ, मैले तयार पार्ने कथावस्तुका मुख्यपात्र कहिलेकाही बाहिरबाट ल्याएपनि अरु सहायक पात्रहरु गाउँघरकै हुन्छन् । अलिकति कथावस्तु सम्झाई दिन्छु अभिनय गर्न तयार हुन्छन् । कतिपयले त यसरी अभिनय गरेका हुन्छन् त्यो अभिनय साँच्चै यथार्थपरक अर्थात रियल जस्तो देखिएका हुन्छन् ।’

तालीसँगै तालीपनि
कमल मण्डलले राम्रो काम गरेको भन्दै धेरैले ताली बजाएका छन् भने कतिपयले गाली पनि गरिरहेका हुन्छन् । गाउँघरमा देखिएका विकृति, विसङ्गतीलाई नाटकमार्फत जस्ताको त्यस्तै देखाएको कारण धेरैले कमल मण्डलको प्रसंशा नै गरेका हुन्छन् । तर, कपितयले गाउँघरमा हुने घटनाहरु, विकृतिहरुलाई देखाएको भन्दै गाली पनि गरेका हुन्छन् । कमल मण्डले गाउँमा जे देखियो त्यो भिडियो बनाएर देखाइ दिनु हुन्छ भन्दै आफूलाई गाली गर्नेहरु पनि रहेको कमल मण्डलले बताउनुभयो ।


सुटिङ्का लागि गाउँतिर गयो भने कतिपय व्यक्तिले सुनाएर नै भन्छन्, ‘आयो गाउँलाई विगार्ने मान्छे’ । गाउँका केटाकेटीलाई विगारी रहेका छन् भनि आरोप लगाई रहेका हुन्छन् । कमल मण्डल भन्छन्, मान्छेले मलाई गाली गरेकोसँग मतलब छैन, म आफ्नो कर्तव्य गरिरहेको छु । गाउँमा रहेका अन्धविश्वास, विसङगती, विकृतिहरु , गलत प्रथा हटाउनका लागि नै मैले यो अभियान शुरु गरेको हुँ ।’

 युट्युबबाट नै पैसा कमाउनु पर्यो भने अनेक उपायहरु छन्, त्यसको भ्युअर बढाउनका लागि धेरै फण्डाहरु छन् तर मैले ती फण्डाहरुतिर गएको छैन, गाउँघरका वास्तविक कुरालाई मैले कमेडीको रुपमा प्रस्तुत गरिरहेको हुन्छु, उहाँले भन्नुभयो, सेक्स, हत्या, बलात्कारका विषयलाई सनसनीपूर्ण बनाएर भ्युअर बढाई पैसा कमाउने युट्युबरहरु पनि छन्, कलाकारलाई छोटो लुगा लगाई दिएर अभिनय गर्न लगाउने र भ्युअर तानेर पैसा कमाउने युट्युबरहरु पनि छन् तर म त्यस्तो होइन, मैले विशुद्ध रुपमा गाउँघरको परिवेशलाई अभिनयमार्फत दर्शकमाझ दिने गरेको छु । मैले बनाएका छोटो फिल्महरु जसले पनि हेर्न मिल्ने खालको बनाउने गरेको छु ।’

यसरी जन्मियो युट्युब च्यानेल
कमल मण्डल सानैदेखि कलाकार क्षेत्रमा लाग्नु भएको छ । उहाँ सङ्गीतकार हुनुहुन्छ । सङ्गीतका क्षेत्रमा धेरै पहिलादेखि नै लग्नुभएको छ । उहाँले मेमोरी सङ्गीत कला केन्द्र स्थापना गर्नुभएको थियो । त्यसबाट उहाँले थुप्रै कलाकार जन्माउनुभयो । थुप्रैले त्यहाँबाट शिक्षा लिएर ठूला ठूला कलाकार भएका छन् तर कमल मण्डल अहिले त्यहाँको त्यही छ । उहाँले केही समय दाहोरी रेष्टुरेन्ट पनि चलाउनु भयो त्यति मात्र कहाँ हो र, उहाँले ठमेलमा गाइडको काम गर्नुको साथै नेटवर्किङको काम पनि गर्नुभयो । जसले जे भन्थे उहाँले त्यही गर्नुहुन्थ्यो । त्यसैको नतिजा हो उहाँ कुनै काममा सफल हुनुभएन ।


उहाँसँग अद्भुत क्षमता छ । सङ्गीतकार त छदै हुनुहुन्छ, । उहाँले अभिनय पनि गर्नुहुन्छ । निर्देशन गर्नुको साथै स्क्रिप्ट पनि आफै लेख्नु हुन्छ । यति क्षमता हुँदा हुँदै किन यो क्षेत्रमा जम्नु भएन भनि जिज्ञासा राख्दा उहाँले भन्नुभयो, ‘यो क्षेत्रमा पनि क्षेत्र, भूगोल, जातपात, समुदाय अनुसार काम हुन्छ ।’ यो क्षेत्रमा चाप्लुसी, दलाली हुन्छ तर आफू त्यो कहिले गर्न जानिएन भन्दै मण्डलले यही क्षेत्रमा संघर्ष गरेर आजसम्म बाचिरहेको बताउनुभयो । मधेशी पुत्र, छिन्नमस्ता सखडेश्वरी लगायतका फिल्ममा अभियन गर्नुभएका मण्डल विभिन्न टेलिसिरियलमा समेत अभियन गर्नुभएको छ ।


तीन दर्जनभन्दा बढी एल्बम र एकदर्जन भन्दा बढी विभिन्न भाषाका फिल्ममा सङगीत दिनुभएका कमल मण्डल सङ्गीत पढाउनु पनि हुन्छ । युट्युवको बारेमा उहाँलाई थाह थिएन । एकदिन सिरहाका जितेन्द्र सहयोगीले कमल मण्डल अभियन गरेको केही टुक्रा आफ्नो युट्युवमा राख्नु भएको थियो । त्यो कमेडी नाटक लाखौ व्यक्तिले हेरे ।

त्यसपछि जितेन्द्र सहयोगीले उहाँसँग अझै माग्न थाल्नुभयो । कमल मण्डलले पनि यसरी हेर्न थालेको छ भनि राम्रो हो नि भन्दै नयाँ नयाँ सुटिङ्ग गरेर दिन थाल्नुभयो । थुप्रै मान्छेले हेर्न थालेको थियो र कमल मण्डलको प्रसंसा पनि हुन थालेको थियो ।


युट्युबबाट आम्दानी हुन थालेपछि जितेन्द्र सहयोगीले कमल मण्डललाई पनि पैसा दिन थाल्नु भएको थियो । कमल मण्डलका तीनचारवटा भिडियो मात्र हालेको थियो त्यसपछि जितेन्द्र सहयोगी अर्कै करोबारमा लाग्नु भएको थियो । युट्युबमा भिडियो अपलोड हुन बन्द भयो । जितेन्द्र सहयोगीले युट्युवमा कमल मण्डलको भिडियो राखेपछि थुप्रै मान्छेले प्रशंसा गरेको थियो तर त्यसमा उहाँको भिडियो अपलोड हुन छाडेपछि कमल मण्डलले आफ्नै च्यानल बनाउने सोच बनाउनुभयो ।


त्यसका लागि उहाँले काठमाडौमा प्रयास पनि गर्नुभयो । युट्युव च्यानल बनाउनका लागि कसैले २० हजार, कसैले ३० त कसैले ४० हजारसम्मको रकम माग गरेको थियो तर त्यति रकम तिरेर युट्युव च्यानल बनाउने हैसियत थिएन कमल मण्डलको । कमल मण्डल भन्नुहुन्छ, यदि त्यतिबेला मसँग पैसा भएको भए म पैसा तिरेर भएपनि च्यानल बनाउन लगाउँथे । नबुझ्ने मान्छेलाई बजारले कसरी ठग्दो रहेछ त्यो कुरा मैले त्यहीबेला थाह पाए ।’


पछि राजविराजमै एकजना साथीले सित्तैमा च्यानल बनाई दिनुभयो भन्दै कमल मण्डलले च्यानल बनाएर मात्र हुँदैन त्यसको सस्क्राइब र भ्युअर बढाउन पर्ने पनि थियो तर त्यसका लागि आफू निकै संघर्ष गरेको सुनाउनुभयो । त्यसमा पनि आफूलाई धेरैले ठग्न चाहेको थियो । कसैले बुस्ट गर्नु पर्छ भन्थ्यो, कसैले सस्क्राइब बढाउन यो गर्नुपर्छ, कसैले त्यो गर्नुपर्छ भन्दै पैसा ठग्ने प्रयास गरिरहेको थियो  । तर संयोग मसँग त्यतिबेला पैसा नै हुँदैन्थ्यो, यदि हुन्थ्यो भने जोशमा म ठगिन्थे होला, कमल मण्डलले भने, बजारमा ठग्नेले बजार थापेर बसेका छन्, त्यसमा जो फँस्यो त्यो गयो ।’


एकहजार सस्क्राइब र चारहजार घण्टा युट्युब च्यानल हेरेको हुनुपर्छ अनि मात्र युट्युबले पैसा दिन्छन् । तर पाँच छवटा भिडियो हालिसकेपछि पनि न भ्युअर बढी रहेको थियो न सस्क्राइब नै । कमल मण्डललाई चिन्ता लागि रहेको थियो । अनि उहाँले सस्क्राइब र भ्युअर बढाउनका लागि जुक्ति निकाल्नुभयो । चिनजान जति सबैलाई भेटेर सस्क्राइब गर्न लगाउनुभयो । घरमा आउने आफन्तदेखि पाहुनासम्म जो जहाँ भेट्थे मोबाइल खोलेर सस्क्राइब गर्न लगाउनु भएको थियो ।

 त्यति मात्र होइन, उहाँले त्यसैका लागि आफ्नो घरमा वाइफाइ लगाउनुभयो । वाइफाई चलाउनका लागि मान्छेहरु उहाँको घरमा आउन थाल्नुभएको थियो । फ्रिमा वाइफाइल चलाउन आउनेहरुलाई उहाँले युट्युव हेर्न लगाउनु भएको थियो । यहाँसम्म कि कतिपयलाई घरमै खाजा पनि खुवाउनु हुन्थ्यो, भात पनि खुवाउनु हुन्थ्यो तर युट्युब हेर्न सबैलाई आग्रह गर्नुहुन्थ्यो ।


तर उहाँले बुस्ट गर्ने तथा भर्गल भिडियोहरु राखेर भ्युअर बढाउनेतिर लाग्नुभएन । पछि उहाँको सस्क्राइब र भ्युअर बढ्दै गएपछि भिडियोहरु पनि चर्चित हुन थाल्यो ।

मान्छेले उहाँको युट्युव च्यानल मन पराउन थाल्नुभयो । उहाँ भन्नुहुन्छ, यो क्षेत्रमा पनि थुप्रै फ्रड मान्छेहरु छन्, सस्क्राइब तथा भ्युअर बढाउनका लागि जे पनि गर्न तयार हुन्छन् । काठमाडौमा त ठूला ठूला अफिस सञ्चालन गरेर नै युट्युव च्यानल सञ्चालन गरिरहेका छन् ।’ भित्र म्याटर एउटा हुन्छ बाहिर केटीको नाङ्गै फोटो राखेर भ्युअर तान्ने काम भइरहेका छन्, भाडामा केटीहरुलाई ल्याएर त्यसका लागि प्रयोग गरिरहेका छन् ।

केटीहरुबाट इन्टरभ्यु लिन लगाएर सोध्नै नहुने जस्ता प्रश्नहरु सोध्न लगाएर भ्युअर तान्ने कामहरु गरिरहेका छन् । अर्थात भ्युअर बढाउनका लागि कुनै काम बाँकी नराख्ने च्यानलहरु पनि छन् तर आफू त्यसतर्फ कहिले नगएको बताए ।

जस्तो छ त्यस्तैलाई राम्रासँग चलाउने आफ्नो उद्देश्य रहेको बताउँदै उहाँले भन्नुभयो, ‘अहिलेसम्म राम्रै चलिरहेको छ । महिनाको १२ हजारदेखि १५ हजारसम्म कमाउँछु । त्यसैबाट कलाकारलाई पनि दिन्छु ।’ गाउँघरमै त्यहीको स्थानीय कलाकार लिएर भिडियो बनाउने भएको हुनाले खासै खर्च हुँदैन भन्दै कमल मण्डलले आफ्नो युट्युब च्यानलबाट समाजमा चेतना कसरी ल्याउने, समाजमा रहेका विकृती विसंगतीलाई कसरी हटाउनु उद्देश्य रहेको बताउनुभयो ।

घरका सदस्यलाई कलाकार बनाउँदा
कमल मण्डलका श्रीमती पनि कलाकार हुनुहुन्छ । दुवैजना मिलेर त्यो च्यानल चलाई रहनु भएको छ । भाउजु कालाकार होइन तर कहिले काही अभिनय गर्न लगाउनु हुन्छ । यस्तो गर्नुस् उस्तो भन्नुस् भनेकै आधारमा उहाँका भाउजु र काकीले अभिनय गर्नुहुन्छ । कथाले त्यस्तो पात्र मागिरहेको हुन्छ तर त्यस्तो कलाकार कहाँबाट ल्याउने, त्यसका लागि बजेट चाहिन्छ तर कमल मण्डलसँग बजेट हुँदैन । त्यही भएर उहाँले आफ्नै घरका भाउजु र काकीलाई पनि अभिनय गर्न लगाउनु हुन्छ ।


उहाँका ससुरा जनकपुरका कलाकार हुनुहुन्छ । बेलाबेलामा उहाँले आफ्नो ससुराबाट पनि अभिनय गर्न लगाउनु हुन्छ । र, उहाँका ससुरलाई पनि यस्तो नाटकहरु खेल्न निकै आनन्द आउँछन् । कमल मण्डलले भन्ने वित्तिकै जनकपुरबाट गएर सप्तरीमा युट्युबका लागि अभिनय गर्नुहुन्छ । तर, कमल मण्डल युट्युव च्यानलमै आश्रित हुनुहुन्न । उहाँले सङ्गीत पढाउनुदेखि लिएर अन्य फिल्म तथा सिरियलमा पनि काम गरिरहनु हुन्छ ।



About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..