» » व्यापारीक संस्थाको रुपमा राजनीतिक दलको विकास हुँदैछ (अन्तरवार्ता)

–देवेन्द्र यादव

देवेन्द्र यादव एक समयका नाम चलेका एक्सपोर्ट–इम्पोर्ट गर्ने व्यपारीमा पर्नुहुन्थ्यो । उहाँले काठमाडौंमा होटलको व्यवसायी पनि गर्नुभयो । र, त्यसका साथ साथै मधेशको राजनीति पनि । नेपाल सद्भावना पार्टीबाट राजनीति गर्नुभएका देवेन्द्र यादव केही दिन तत्कालिन मधेशी जनअधिकार फोरम नेपालमा रहेर पनि काम गर्नुभयो । राजेन्द्र महतो, अनिल झा लगायतसँग काम गर्नुभएका देवेन्द्र यादव राजपा नेपाल गठनमा पनि भूमिका खेल्नुभएको थियो । मधेश आन्दोलनको समयमा अमेरिकामा गएर आन्दोलनको कुरा उठाउने देवेन्द्र यादव अहिल राजनीतिक परित्याग गरेर व्यावसायीमा लाग्नु भएको छ । माछा पालन, कृषि फर्म, इट्टा भठ्ठा लगायतका व्यावसायी शुरु गर्नुभएका देवेन्द्र यादवले राजपा नेपालबाट टिकट नपाउँदा महोत्तरीबाट स्वतन्त्र रुपमा चुनाव लड्नु भएको थियो तर उहाँ पराजित हुनुभयो । प्रस्तुत छ, राजनीतिक त्याग गर्नुको कारण, अगामी योजना र मधेशको राजनीति बारे सहारा टाइम्सले देवेन्द्र यादवसँग गरिएको कुराकानीः

अचेल तपाई राजनीतिक गतिविधिमा देखिनु हुन्न किन ?
–मेरो विचारमा राजनीतिक समाजिक सेवा हो । समाजमा देखिएको समस्यालाई उस (राजनीतिक गर्ने व्यक्ति) ले समाधान गर्नुपर्छ । जनतालाई आइपर्ने समस्यालाई समाधान गर्नतिर ध्यान दिनुपर्छ । अर्थात राजनीति जनताका लागि हुनुपर्छ । म जुन उद्देश्यका साथ राजनीतिकमा आएको थिए, त्यो उद्देश्य पुरा हुने देखिएन । अहिलेको राजनीतिक दल एउटा कम्पनी चलाएको जस्तो देखिएको छ । जहाँ नाफा नोक्सानको हिसाब किताब हुन्छ । मैले यति लगानी गरे र त्यसवापत मैले यति पाए वा यति पाउनु पथ्र्यो जस्ता हिसाब किताबहरु भइरहेका हुन्छन् । राजनीतिलाई व्यपारीकरण गर्दा मेरो मन दुख्यो । यदि राजनीतिलाई व्यपारीकरण गर्नु नै छ भने कुनै व्यपार गर्दा नै राम्रो । व्यपारका थुप्रै अपशनहरु छन् । राजनीतिलाई व्यपारीकरण गरेको देख्दा दिक्कदार लागेर नै मैले राजनीतिक छाडेको हुँ । अब सायद म राजनीतिमा फर्किन्न् । यदि राजनीतिमा व्यपार गर्नुपर्छ भने म राजनीतिक छाडेर आफ्नै व्यपार किन नगर्ने भनेर नै छाडेको हुँ ।

तपाई मधेश राजनीतिमा लामो समयमसम्म रहनु भयो, तर एकाएक अहिले आएर यस्तो वितृष्णा किन ?
–मैले सोचेको, मैले बुझेको कुरालाई लिएर नै पोल्टिक्समा आएको थिए । मैले कसैको विचारबाट, कसैको धारणाबाट प्रभावित भएर होइन, मधेशी समाजका लागि केही गर्नुपर्छ भनि उद्देश्यका साथ म राजनीतिकमा आएको हुँ । मधेशमा विभेद छ र मधेशमा जबसम्म विभेद रहिरहन्छ तबसम्म देश समृद्धिको तर्फ अगाडि बढ्न सक्दैन भनि उद्देश्यका साथ मैले राजनीतिमा लागेको थिए  । विभेदको अन्त्य गर्न सकिएन भने त्यसलाई न्युनिकरण गर्न सकिन्छ भनि पूर्ण विश्वास थियो । हामी जुन समाजवाट आएका छौं त्यो समुदाय निकै दुख भोगिसकेको छ । समाजमा विभेद छ भनि थाह पाएर हामी जस्ता व्यक्ति पनि चुप लागेर बस्यो भने समाजको विकास कहिले हुन्छ भनि त्यही थाह पाएर म त्यसतर्फ लागेको थिए । १५ वर्षसम्म मैले पूर्णकालिन राजनीतिक गरे । मैले धेरै कुरा गुमाएर, त्यागेर राजनीतिमा लागेको थिए । तर बीचमा जुन किसिमको राजनीतिक गतिविधि भयो, मधेशी जनताले त्यो अपेक्षा गरेको थिएन । त्यो हेरेर मलाई लाग्यो कि राजनीतिक छाड्नु नै उचित हुन्छ ।

तपाईले राजनीतिलाई व्यपार भन्नुभयो । तपाईले पनि १५ वर्षसम्म राजनीतिमा रहनुभयो । १५ वर्षसम्म तपाईको राजनीतिक व्यपार नफस्टाएपछि छाडेर हिड्नु भएको भनि भन्न सकिन्छ नि त के भन्नुहुन्छ ?
–तपाई भन्न सक्नु हुन्छ, त्यो तपाईको स्वतन्त्रता हो । तर कुनै कुरा भन्नु भन्दा पहिले त्यो व्यक्तिको बारेमा पत्ता लगाउनु पर्छ, यथार्थ बुझ्नुपर्छ अनि मात्र केही आरोप लगाउनुुपर्छ । मधेशमा केही प्रोफेशनल राजनीतिकर्मी छन्, जसको लागि राजनीतिक व्यपार भएको छ । एउटा पार्टी खोल्छन्, सरकारसँग बार्गेनिङ्ग गरेर सरकारमा सहभाी हुन्छन् । अनैतिकबाट पैसा कमाउँछन् । छोरीछोरीलाई विदेश पढाउँछन्, देश विदेशको बैंकमा रकम जम्मा गर्छन । अर्थात त्यो राजनीतिक दललाई एउटा व्यपारीक संस्थाको रुपमा प्रस्तुत गरिरहेका हुन्छन्  । यो कुरा कसैबाट लुकेको छैन । यी कुरा म तथ्यको आधारमा भनिरहेको छु । मेरो बारेमा पनि कसैले तथ्य ल्याउनुपर्छ । खासगरि मधेश आन्दोलन जो निष्कर्ष विहिन रुपमा समाप्त भयो । त्यो समाप्त किन भयो, त्यो थाह छैन । आन्दोलन किन भयो त्यो पनि थाह छैन । के एजेण्डामा आन्दोलनमा भएको त्यो पनि थाह छैन, आठ बुँदे सम्झौत किन भयो, त्यो किन कार्यान्वयन भए त्यो पनि थाह छैन । अहिले दुई बुँदे सम्झौता गरेर सरकारमा किन सहभागी भयो त्यो पनि थाह छैन भन्छन् । त्यसको भए किन राजनीतिक गरेको त ? कुनै कुरा थाह छैन भने राजनीति किन गरेको त भन्दा त्यो पनि थाह छैन भन्छन् । अर्थात यी नेताहरुले मधेशको राजनीतिकलाई अन्योलनमा राखेका छन् । मधेशी जनतालाई भ्रमित गरेर राजनीतिकलाई व्यपारको रुपमा प्रयोग गरिरहेको छ ।

यो कुरा थाह पाउन तपाईलाई १५ वर्ष किन लाग्यो त । १५ वर्ष धेरै लामो समय हो, त्यतिबेलासम्म के हेरेर बस्नुभयो ?
–मैले ठूलो विश्वासका साथ त्यसमा लागेको थिए । मलाई विश्वास थियो कि जनताले नराम्रो व्यक्तिलाई विस्तारै साइड लगाउँछन् र राम्रो व्यक्तिलाई आत्मसात गर्छन् तर जनता पनि उनीहरुको जालमा फँसे । राजनीतिका मेरा धेरै यस्ता सहकर्मीहरु छन् जोसँग मैले काम गरे । उनीहरुले राजनीतिलाई पैसासँग तुलना गरे । हरहमेशा राजनीतिलाई व्यपारको रुमपा हिसाब किताब गरे । मेरै आँखाले देखेको भोगेको कुरा हो । तर भित्र कतै नकतै यो पनि लाग्थ्यो आज उनीहरु यस्तो गरे, भोली सुध्रिएर आउला । पर्सी सुध्रिएर आउला भनि मलाई लागेको थियो तर त्यो छाँटकाँट मैले देखिन । ठिक छ राजनीतिमा लागेपछि गुजारा गर्नका लागि केही गरेको होला तर पुराका पुरा समय त्यसैमा लगाउनु कहाँसम्मको जायज हो । मधेशी जनताको लागि, मधेशी समाजका लागि सोच्ने फूर्सद पनि उनीहरुमा थिएन । जेलाई पनि व्यपारीको दृष्टिले हेर्ने । पार्टी गठनको कुरा होस् त्यहाँ पैसा माग्छन् । कसैलाई कुनै पदाधिकारी वा पद दिनुपर्यो भने पैसा माग्छन् । कसैलाई कही पठाउनु पर्यो भने पैसा माग्छन् । चुनावमा टिकट दिनुपर्यो, त्यसमा पैसा माग्छन् । चुनाव जितेपछि सांसद बन्न लाग्दा, त्यसमा पैसा माग्छन् । मन्त्री बनाउनु पर्यो, त्यसमा पैसा माग्छन् । मन्त्रीबाट हटाउनु पर्यो, त्यसमा पैसा खान्छन् । कसैलाई सरुवा गर्नुपर्यो पैसा माग्छन् । कसैलाई जागिर दिनुपर्यो, त्यसमा पैसा माग्छन् अर्थात एभ्री स्टेपमा उनीहरुले पैसाको मात्र डिमाण्ड गरेको आफ्नै आँखाले देखेको हो । यहाँसम्म कि आन्दोलनमा पनि पैसाको बार्गेनिङ् गरेर उनीहरु खाए । यतिसम्म लज्जित हुने काम गरे कि आन्दोलन गर्नका लागि पनि उनीहरुले पैसा खाए । १५ वर्षसम्म मैले यो कुरा हेर्दा हेर्दै आजित भइसेका मान्छे हुँ । खासगरि मधेश आन्दोलनपछि त उनीहरुले घिनाइ दिए । अब त अति भयो । जनताले यसैका लागि बलिदानी दिएको होइन । जनताले त्यसैका लागि घाइते भएका थिएनन् । आज सैयकडो मधेशी घरवार विहिन भएका छन् । कसैको छोरा मरेका छन्, कसैको बुवा मरेका छन्, कसैको श्रीमान मरेका छन् । अर्थात कसै कसैको एउटा पुस्ता नै समाप्त भएको छ । र, यी सब यिनै नेताको व्यपारीकरणले गर्दा भएको हो । यहाँसम्म कि आउने नयाँ जेनरेशन पनि त्यही लाइनमा गइरहेको थियो । अन्त्यमा यो सहन नसकेर म त्यो सञ्जालबाट मुक्ति लिएको हुँ ।   

राजपा बनाउने सोच कसरी बनाउनुभयो ?
–राजपा नेपाल छवटा पार्टी मिलेर बनेको हो । यो पार्टी बनाउनका लागि दलका नेताहरुलाई कम्ती कन्भिन्स गर्नुपरेन । यो पार्टी यसरी बन्छ भनि कुरा सुनाउन जाँदा उहाँहरु आधा कहानी सुनेर अतालिनुभयो, पुरै सुन्ने धैर्यता नै राख्नुभएन । राजपा नेपालमा उपेन्द्र यादवको पार्टीलाई पनि सामेल गर्ने योजना थियो तर उहाँले मान्नुभएन । लिम्बुवान, खुम्बुवान र थारुवानलाई मिलाएर राजपा नेपाल बनाउने योजना थियो मेरो तर नेताहरुमा पर्खेने धैर्यता थिएन । यहाँसम्मको अवस्था सृजना भयो कि अनिल झा पार्टीमा सहभागी हुने त्यसका लागि छलफल गरौं भन्दा पनि नेताहरुलाई कुरा गर्ने फुर्सद थिएन । केही दिन अझै पर्खेर उपेन्द्र यादवसँग कुरा गरेको भए, लिम्बुवान, खुम्बुवानसँग कुरा गरेको भए सबै एक ठाउँमा आउथे र आज राजपा नेपालको अर्कै रुतवा हुन्थ्यो । यदि सबै एकै ठाउँमा आएर एउटै चुनावमा लडेको भए ठूलो शक्ति बन्थ्यो । सरकार निर्माण लगायत कानुन निर्माणका लागि ठूलो शक्ति निर्माण हुन्थ्यो । यो पिक्चर मैले देखाएको थिए तर उहाँहरुले पुरा कहानी सुन्ने धैर्य नै गर्नुभएन । हाफ स्टोरी सुनेर हिमालयन होटेलमा हतार हतारमा हस्ताक्षर गर्नुभयो । उहाँहरुले त्यतिबेला यो पनि सोच्नु भएन यो कन्सेप्ट कसले ल्याए । राजनीतिमा इच्छा आकाँक्षा सबैमा हुन्छन् । मेरो पनि केही अपेक्षा थियो । मैले पनि जनतालाई सेवा गरेको थिए, मलाई पनि जिताउनेछ भनि आशा थियो । पार्टीको महामन्त्री जस्तो पोष्टमा बसेको कारण मलाई पनि पार्टीले टिकट देलाका कि आशा गरेर बसेका थिए । मलाई यो थाह थिएन कि यी छजना नेताले बन्द कोठामा सीट बाँडफाँड गर्नुभएको छ । राजनीति गर्ने क्रममा मेरो कुराबाट धेरै नेताहरुलाई चित्त नबुझेको हुन्छ त्यही कुराको बदला सबैले मिलेर अहिले लिइरहेको जस्तो लाग्छ ।

तपाईलाई टिकट दिएन, त्यही भएर स्वतन्त्र चुनाव लड्नु भयो र त्यहाँ पनि जित्नु भएन त्यही भएर तपाई राजनीति छोड्नु भएको हो ?
–नो नो दयाट्स् इज नोट अ रिजन । यो मात्र कारण होइन । मलाई टिकट दिएन त्यही भएर मैले विद्रोह गरेको थिए त्यो सही हो तर राजनीति त्यो कारणले छाडेको होइन । मेरो नामको टिकट अरुलाई बेचेकै हो उनीहरुले । जुन क्षेत्रमा जसको जनाधार नै छैन । जुन पार्टीलाई त्यो सीट दिएको थियो, त्यो लिन चाहेको थिएन तर राजपाका नेताहरुले मेरो राजनीतिक हत्या गर्नका लागि यी सब षड्यन्त्र गर्यो त्यही भनेर मैले विद्रोह गरेको हुँ । राजनीतिक हत्या गर्नु उनीहरुको लागि मामुली कुरा हो । यो त उनीहरुको चरित्र नै हो । यो त उनीहरुको व्यपार हो । यस्तो गर्नुमा मलाई कुनै आश्चर्य लागेन किनभने उनीहरुको चरित्र मलाई थाह थियो ।

यदि तपाई स्वतन्त्रबाट जितेको भए तपाईको राजनीति जारी रहन्थ्यो होइन ? 
–हो, म जितेको भए राजनीतिलाई निरन्तरता दिन्थे । राजनीति भनेको ‘वन वे’ हो, त्यसमा तपाई जान सक्नुहुन्छ । तर छाड्न गाह्रो हुन्छ । छोड्न त्यति सजिला होइन । मैले विद्रोह गरेर स्वतन्त्रमा जानुको कारण पनि त्यही थियो । तर जुन जनताका लागि आफ्नो ज्यान हथेलीमा राखेर यो शासकसँग लडे, त्यो जनताले पनि साथ दिएन अनि राजनीति छाड्नु भन्दा अरु कुनै विकल्प रहेन मसँग ।

पोल्टिक्सबाट ब्याक हुनका लागि कतिको गाह्रो छ ?
–निकै गाह्रो छ । एक चोटी लाइम लाइट बसेर काम गरि सकेपछि फेरि फर्किन निकै गाह्रो हुन्छ । राजनीतिमा जनतामा मिसिसक्नु हुन्छ । जनताको सेवा गर्न थाल्नु हुन्छ । राजनीतिको उतार चढावमा रमाउन थाल्नु हुन्छ भने त्यहाँबाट फेरि समान्य जीवनमा फर्किन गाह्रो हुँदो रहेछ । तपाई राजनीतिक गर्नुहुन्छ भने तपाईबाट जनताको अपेक्षा हुन्छ, समाजको अपेक्षा हुन्छ, परिवारले अपेक्षा गरेको हुन्छ र यो अपेक्षा हामीले नै क्रिएशन गरेका छौं । वास्तवमा त्यो सही होइन । यसले सबैलाई असर गर्छ । त्यसले गर्दा अचानक राजनीतिक छाड्नु पर्यो भने निकै गाह्रो हुन्छ । मैले जुन रफ्तारमा राजनीति गरे, त्यो रफ्तारलाई छाडेर अहिले नर्मल जीवन बिताइ रहेको छु । त्यसका कारणले मलाई अहिले सुरक्षा थ्रेट रहेको छ । मान्छेले अहिले यही सोचिरहेका छन् कि यही मौका हो यसलाई सिध्याई दिनुपर्छ । राजनीतिबाट सिध्याई हाले अब यसको नर्मल जीवनबाट पनि सिध्याई दिनुपर्छ । मैले विजनेश शुरु गरेको छु । त्यसलाई असर गर्ने गतिविधिहरु भइरहेका छन् । मैले जुन काम गरिरहेको छु, त्यो समाजलाई फाइदा नै गर्छ तर त्यहाँ विभिन्न बाधा उत्पन्न गरिरहेको छ । मलाई यो कुराले निकै पीडा दिएको छ । समाज कहाँ गइरहेको छ । समाजको सोच कस्तो भइरहेको छ, यो सोचेर मलाई चिन्ता लागि रहेको छ । मैले जुन सोचका कारण त्यहाँ काम गरिरहेको छु पक्कै पनि त्यहाँका जनतालाई फाइदा भइरहेको छ । म कृषिमा केही गर्न खोजेको छु । तर काम गर्ने वतावरण नै छैन त्यहाँ ।

तपाई कृषिलाई व्यवसायी बनाउनु भएको छ त्यसका अवस्था कस्तो छ ?
–अघि नै भने कि मैले कृषिमा केही गर्न चाहेको छु तर विभिन्न प्रकारका बाधा अवरोधहरु भइरहेको छ । तैपनि मेरो प्रयास जारी नै छ । समाजमा केही गरौं भने सोच धेरैबाट हराउँदै गइरहेको छ । सबैलाई सबै कुरा सित्तैमा चाहिएको जस्तो भएको छ । नयाँ केही गरौं, नयाँ केही उत्पादन गरौं भनि सोचाई कसैमा देखिएको छैन । अहिले गाउँगाउँमा सरकार छन् । युवाहरु त्यही सरकारको वरिपरी झुमिएका हुन्छन् । एक एकछाक खान, एक क्वाटर रक्सीका लागि सरकारको पछि पछि लागेका हुन्छन् । कृषिको अवस्था यस्तो भएका छ कि उत्पादनबाट छ महिना राम्रोसँग खान पुगिरहेको छैन । कृषि भन्दा अन्य अन्य कुरामा सबैको ध्यान गएको छ । सरकारले कृषि र सिँचाई भन्दा सडक, मन्दिर निर्माणमा ध्यान दिएको छ । किसानले मल पाएन, बीउ पाएन, सिँचाइ पाएन ती कुरा प्रति कसैको ध्यान छैन । समाज बजारमाथि आश्रित भएको देखिन्छ । पहिलाका मधेशी स्वभिमान थिए, हक्की थिए । त्यसको कारण थियो सबै आफैमा डिपेन्डेन्ट थिए । कुनै कुराको अभाव थिएन । अहिले सबै बजारमा आश्रित भएको छ । 

अब राजनीतिमा फर्किने सम्भावना कतिको छ ?
–त्यो ग्यारेण्टी भन्न सकिदैन । म पनि समाजिक प्राणी हुँ । यद्यपी मेरो जीवन जति बाँकी छ त्यसमा रमाईलोसँग बाँच्न चाहन्छु । बाँकीको जीवनमा केही नयाँ गर्न चाहन्छु । शुरुका अमूल्य समय त्यतिकै खेर फाले अबको बाँकी जीवनमा केही गरौं भने मेरो सोच हो हेरौं के हुन्छ । राजनीतिक जति गर्नु थियो त्यति दिल खुलेर गरे । सक्नेजति गरे । मैले जति गरे त्यसमा म गर्व गर्छु । देशदेखि विदेशसम्म मधेशी जनताका लागि काम गरेको छु । मैले राजनीतिमा तन, मन, धन सबै लगाएको छु । आफ्नो जीवनकालमा जति कमाए सबै राजनीतिमा नै लगाएको छु । यद्यपी मलाई त्यसमा कुनै पश्चाताप छैन । जेजति गरे जनताका लागि इमान्दारीका साथ गरे । जे लगानी गरे जनताका लागि गरे । जुन दिन मलाई राजनीतिक गर्न फिल भयो त्यो दिन पुनः राजनीतिमा आउँछु तर अहिले फर्किने मेरो कुनै सोच छैन । समाजमाथि अन्याय भयो भने त्यसका लागि कुरा उठाउनेछु । तर मनमा एउटा मात्र चिन्ता रहने भयो कि जुन उद्देश्यका लागि पोल्टिक्समा थिए त्यो उद्देश्य पुरा भएन ।

विजनेश फेरि शुरु गर्नुभएको छ, अब फेरि कमाउनु हुन्छ कमाएपछि फेरि राजनीतिमा लगाउनु हुन्छ कि अब सचेत भएर काम गर्नुहुन्छ ?
–म विजनेश गर्छु, व्यपार गर्छु । मलाई विश्वास छ कि म राम्रै गर्छु । जे गर्छु मेहनतबाट गर्छु । म मेहनतमा विश्वास गर्छु । यदि मैले कमाएको सम्पत्ति समाजको राम्रो काममा प्रयोग हुन्छ भने दिन तयार छु । मेरा बाबा पुर्खाले यही सिकाउनु भएको छ । गलत गर्न मलाई मेरो अभिभावकले सिकाउनु भएको छैन ।

तपाई राजनीतिक जीवनकालमा अहिलेका सबै मधेशी नेताका साथमा काम गरिसक्नु भएको छ । तपाई अहिले राजनीति छाड्नु भएको छ, यदि स्वतन्त्र रुपमा यी नेताहरुको बारेमा मूल्यांकन गर्न भन्यो भने तपाई कसरी गर्नुहुन्छ ?
–म त्यसरी मूल्यांकन गर्ने हैसियत राख्दिन तर म उहाँहरुसँग काम गरेको अनुभवमा भन्नसक्छु बेचाराहरु धेरै गरिब छन् ।  एक समय थियो ती नेताहरुलाई खान पनि पैसा थिएन । बडो गरिबीको जिन्दगी बाँचेर आउनु भएको छ । उहाँहरुलाई बाँच्ने आधार केही थिएन । उहाँहरुले राजनीतिलाई आफ्नो व्यावसायी बनाउनुभयो । उहाँहरुसँग यो पेशा बाहेक अरु कुनै पेशा थिएन । उहाँहरु नराम्रो व्यक्ति होइन, कम से कम इमान्दारीपूर्वक त्यो व्यावसायीमा लाग्नु भएको छ । उहाँहरुले समाज बनाउनु भएन तर आफू बन्नुभयो । उहाँहरुको उद्देश्य नै त्यही थियो । उहाँहरु आफ्ने उद्देश्यमा नै हिडिरहनु भएको छ । म कसरी बाँच्ने, म आफ्नो बालबच्चालाई कसरी पाल्ने, जीवनको गुजारा कसरी गर्ने त्यो सोचाई उहाँहरुको थियो र आज त्यसमा सफल हुनुभएको छ ।

तपाई पनि विजेनेश म्यान उहाँहरु पनि विजनेश म्यान दुवैजनाको विजनेश म्यानमा के फरक छ ?
–मेरो विजनेश भनेको आर्थिक समृद्धिलाई कन्ट्रिब्युट गर्ने हो । मैले गर्ने विजनेशबाट समाजलाई फाइदा हुन्छ । देशलाई फाइदा हुन्छ । तर उहाँहरुले गरिरहनु भएको विजनेशले उहाँ र उहाँका परिवारलाई मात्र फाइदा हुन्छ । हामी काम गर्छौ, हामी मेहनत गर्छौ सरकारलाई कर बुझाउँछौं । तर उहाँहरु कर पनि बुझाउनु पर्दैन । यस्तो गर्नु उहाँहरुको बाध्यता हो । जनता पनि त्यति जागरुक छैन कि उहाँहरुमाथि प्रश्न खडा गरोस् । उहाँहरुलाई जनतालाई पनि भ्रममा राखिरहनु भएको छ ।

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..