» » पत्रकार महासंघमै महिलामाथि विभेद (फरकमत)

–सुनैनाकुमारी यादव
धनकुट्टाको पाख्रीवासमा नेपाल पत्रकार महासंघ प्रदेश १ को महिला भेला थियो । त्यो भेलाको अध्यक्षता महासंघ प्रदेश १ का अध्यक्ष विक्रम लुइटेल (पुरुष) ले गरेका थिए । महिलाको कार्यक्रममा पुरुष हावी भएपछि महिला पत्रकारहरुले कार्यक्रम नै वहिष्कार गरेका थिए ।

करिब १५० महिला पत्रकारहरुको सहभागिता रहेको सो कार्यक्रमको सञ्चालन, अध्यक्षता तथा स्वागत मन्तव्य महिला पत्रकारले गर्ने भनि निर्णय भएको थियो तर कार्यक्रमको दिन प्रदेशका अध्यक्ष विक्रम लुँईटेल र महासचिव विवेक गौतमले कार्यक्रममा हस्तक्षेप गरी नेतृत्वमा रहेका महिला पत्रकारहरुलाई बाइपास गरेपछि उनीहरु वहिष्कार गरेर निस्केका थिए । भेला संयोजक भएको नाताले प्रदेशका उपाध्यक्ष स्मिता निरौलाले अध्यक्षता गर्नुपर्ने थियो तर पुरुषहरु हावी भएपछि कसैको केही लागेन  ।


त्यति मात्र होइन, पाल्पा जिल्लामा भएको दलित भेलामा महिलालाई अध्यक्षता गर्न नदिँदा पनि हँगमा भएको थियो । नेपाल पत्रकार महासंघ अन्तर्गतको दलित समितिमा मधु शाही संयोजक रहनु भएको छ तर कार्यक्रममा केन्द्रबाट गएका रेम विश्वकर्मालाई अध्यक्ष बनाएपछि त्यहाँ पनि विवाद उत्पन्न भएको थियो । समितिको संयोजक जो हुन्छ, त्यो नै कार्यक्रमको अध्यक्षता गर्ने चलन रहँदै आएको छ ।

तर महिला भएको कारण उनलाई अध्यक्षता गर्न नदिइ त्यहाँ पनि पुरुष नै हावी भयो । दलितलाई भेदभाव गरेको भनि सुनेको थिए तर यहाँ दलितले नै दलित मात्र विभेद गरेको देखिएको छ ।

यी दुईटा प्रतिनिधि उदाहरणहरु मात्र हुन् । महिलालाई हेप्ने, महिलामाथि भेदभाव गर्ने यस्ता दर्जनौ घटना आँखा सामुने हुन्छन् तर निरिह महिला केही गर्न सकिरहेको हुँदैन । देशमा राष्ट्रपति महिला भयो त के भयो अहिले पनि नेपाली महिलाको अवस्था १८ औं शताव्दीको जस्तो छ ।

नेपाल पत्रकार महासंघ जस्तो संस्थामा नै यस्तो भेदभाव हुने गरेको कुरा कल्पना नै गर्न सकिदैन । हामीले बुझेको नेपाल पत्रकार महासंघ समावेशी समानुपातिक तथा विभेदका लागि लड्ने संस्था हो । कोही विभेदमा परेको छ भने त्यसलाई न्याय दिने संस्था हो तर त्यही संस्थामाथि विभेद भएको छ भने न्याय माग्नका लागि जाने कहाँ ?

कान्तिपुरकी पत्रकार मधु शाही विभेदमा परेको विरुद्ध कलम चलाउने जुझारु महिला पत्रकार हुन् । उनका थुप्रै समाचार तथा फिचर लेख, रचना पाठकले पढी सकेका छन् । त्यस्ता महिलामाथि विभेद भएको छ र महासंघका पदाधिकारीहरु चुप्पी लागेर बसेका छन् भने अरु महिला पत्रकारहरुले न्याय माग्नका लागि कहाँ जाने ? ५० जनाको कार्यसमितिमा ६ जना मात्र महिला पत्रकार छन् ।

त्यो पनि समावेशी कोटामा मात्र । के नेपालका महिला पत्रकारहरु खुल्लामा जित्ने हैसियत राख्दैनन् । अवश्य राख्छन् तर उनीहरुलाई पार्टीले विश्वास नै गर्दैनन् र पुरुषलाई मात्र टिकट बाँड्छन् । र, महिलालाई पठाई दिन्छन् समावेशी कोटामा । अनि ती महिलालाई आफ्नै संस्थामा हेप्दैनन्, भने कहाँ हेप्छन् ।

नेपाल पत्रकार महासंघका चुनावमा समावेशी समानुपातिका ठूला ठूला नारा लेखिएका ब्यानरहरु झुण्डिएका देखिन्छन् । नेताहरुले भोट माग्नका लागि आश्वासनका पुलिन्दा थमाइ रहेका हुन्छन् । आश्वासनका पोका बाँडिरहेका हुन्छन् तर चुनाव जितेपछि उनीहरु नै निरकुँश हुन्छन् ।

 महिला पत्रकारलाई पत्रकारलाई हेर्ने नजर नै बदलिएको हुन्छ । त्यत्रो महासंघमा केन्द्रमा ६ जना महिला मात्र छन् । लाज लाग्नुपर्ने हो नेतृत्व पंक्तिलाई जसले आफूलाई आदर्शवादी भन्दै ठूला ठूला भाषण दिइरहेका हुन्छन् । बेलाबेलामा सुनिन्छ कि महासंघमा रहेका महिला पत्रकारमाथि दुरव्यवहार पनि हुने गरेको छ । हो, आशा नै के गर्न सकिन्छ र । खुल्ला रुपमा हुने औपचारिक कार्यक्रममा यदि पुरुषहरु यसरी भेदभाव गर्छन् भने भित्र हुने मिटिङ्मा उनीहरुमाथि कस्तो भेदभाव गर्दो होला सहजै कल्पना गर्न सकिन्छ ।

नेपाल पत्रकार महासंघकै आयोजनामा गत माघ १६ र १७ गते महिला पत्रकारहरुको भेला चितवनमा भएको थियो । त्यहाँ पनि महिला पत्रकारमाथि भेदभाव भएको कुरा समाचारमै आएको थियो । त्यहाँ पनि पुरुषहरु हावी हुन खोज्दा महिलाहरुबाट प्रतिकार भएको थियो । यद्यपी त्यहाँ महिलाहरुको बीचमा पनि विवाद भएको पनि सुनियो । सम्मेलनमा देशभरबाट झण्डै तीन सय महिला पत्रकारको सहभागी थिए ।

भेलामा देशभरका पत्रकार महिलाको वर्तमान अवस्था, समस्या र समाधानका विषयमा घनिभूत छलफल गरेको पनि सुनिएको थियो । तर, त्यो छलफलले के महिलाको समस्या समाधान भयो त ? यदि समाधान भएको भए धनकुटा र पाल्पामा यस्तो घटना हुने थिएन ।

महिला पत्रकारहरुको साझा संगठन सञ्चारिका समूहले सन् २०१६ मा गरेको एक अध्ययन अनुसार उपत्यकाका विभिन्न मिडियामा २१ प्रतिशत र मोफसलमा २६.७ प्रतिशत महिला पत्रकार कार्यरत छन् । यो प्रतिशतले पनि प्रष्ट हुन्छ कि महिला पत्रकारहरुको उपस्थिति देशैभरि कस्तो रहेको छ । देशभरि ९०७ सञ्चारगृहमा अध्ययन गरेको थियो । समूहको प्रतिवेदन अनुसार, महिला पत्रकारहरु रेडियोमा ४७.८ प्रतिशत, छापामा ४०.५ प्रतिशत, टिभीमा १० प्रतिशत र अनलाइनमा १.७ प्रतिशत कार्यरत महिला पत्रकारहरु कार्यरत रहेको पाइन्छ ।

मुलुकभरिको अवस्था हेर्दा कुल ४१ प्रधान सम्पादकमध्ये २.४ प्रतिशत मात्रै महिला देखिएका छन् । यस्तै, प्रबन्ध÷कार्यकारी सम्पादक ४७ जनामध्ये महिला ४.३ प्रतिशत र ७ सय ७७ सम्पादकमध्ये ११.१ प्रतिशत महिला छन् । अधिकांश सञ्चारगृहसँग स्पष्ट रूपमा लैंगिक नीति छैन । ६१.८ प्रतिशतले आपूmसँग लैंगिक नीति नभएको बताएका छन् । सर्वेक्षणमा भाग लिएका १४.७ प्रतिशत सञ्चारगृहले मात्रै छुट्टै लैंगिक नीति रहेको बताए भने २३.५ प्रतिशतले त्यसबारे बताउन चाहेनन् ।

सञ्चारिका समूहले गरेको अध्ययनअनुसार,जातीय रुपमा हेर्दा कुल १ हजार ८६२ महिला पत्रकारमध्ये ब्राह्मण÷क्षेत्री÷अन्य समुदायका ६१.४ प्रतिशत छन् । यस्तै, आदिवासी जनजाति समुदायका २५.१ प्रतिशत, मधेशी समुदायका ६.९ प्रतिशत र दलित समुदायका ६.६ प्रतिशत छन् । यो निराश गर्ने तथ्यांकलाई कसरी वृद्धि गर्न सकिन्छ, पुरुष पत्रकारहरुको पनि काम हो । अबको ६ महिनापछि नेपाल पत्रकार महासंघको चुनाव आउँदैछ । प्रत्यक्ष निर्वाचण प्रणालीमा चुनाव हुँदैछ । यदि महिला पत्रकारको बारेमा महासंघले कुनै ठोस नीति ल्याउन सकेन भने यसपटक महिलाहरु पनि सोच्न बाध्य हुनेछ ।

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..