» » पटक पटक किन सर्छ समाजवादी पार्टीको महाधिवेशन ?

मधेशी जनअधिकार फोरम नेपालबाट संघीय समाजवादी फोरम नेपाल हुँदै समाजवादी पार्टी, नेपाल बनेको महाधिवेशन पटक पटक सर्दै गएको छ । यसो हिसाब गर्दा समाजवादी पार्टीका जन्म २२ वर्ष भएको हो र सो अवधिमा दुईपटक मात्र महाधिवेशन भएको छ ।

एकपटक समाजिक संस्था मधेशी जनअधिकार फोरम नेपाल रहेकै बेलामा र अर्को पटक मधेशी जनअधिकार फोरम नेपाल पार्टीमा दर्ता भइसकेपछि मात्र महाधिवेशन भएको छ । अर्थात पार्टी भएदेखि यता एकपटक मात्र महाधिवेशन भएको छ ।

२०७२ पछि विभिन्न पार्टीसँग एकीकरण भएपछि सो पार्टीको दुई पटक नाम फेरिएको छ । एकीकरण भएकै कारणले महाधिवेशनमा ढिलाई भएको बताइएको छ । नाम परिवर्तन पनि यस्तो भयो कि जसले यो पाटीलाई स्थापित गर्यो त्यो नाम पनि विस्तारै विस्तारै विस्थापित भयो ।

 अशोक राइले नेतृत्व गर्नुभएको संघीय समाजवादी पार्टी, नेपालसँग एकीकरण गर्दा मधेश शब्द विस्थापित भएको थियो र अहिले डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीसँग एकीकरण गरेपछि फोरम शब्द पनि विस्थापित भयो ।

अर्थात यो पार्टीलाई मधेश र फोरम शब्दले नै परिचय गराएको थियो तर अब यी दुई शब्दमध्ये कुनै बाँकी छैन ।


अहिले तत्कालिन संघीय समाजवादी पार्टी नेपाल र नयाँ शक्ति नेपालबीच भएको एकीकरण पछि दुई पार्टीको अन्य संगठनलाई समायोजन गर्न समय लाग्ने भएकाले महाधिवेशन सर्ने भएको छ  । २०५४ सालमा मधेशी जनअधिकार फोरम नेपाल एउटा समाजिक संस्थाको रुपमा गठन भएको थियो ।

त्यसको पहिलो महधिवेशन २०६० साउन १०–११ गते विराटनगरमा भएको थियो । २०६३÷०६४ को मधेश आन्दोलनपछि पार्टीको रुपमा भएको पहिलो महाधिवेशन २०६५ माघ ४ गतेदेखि वीरगञ्जमा भएको थियो ।

त्यसपछि पटक पटक महाधिवेशनको मिति तय गरेपनि त्यो सर्दै गइरहेको छ । अगामी असोज ६–७ गते हुने भनिएको महाधिवेशन पनि सर्ने पार्टी स्रोतले जनाएको छ ।

 तत्कालिन फोरम नेपाल र नयाँ शक्ति नेपालबीच एकीकरण भएपछि बसेको पहिलो बैठकले असोज ६ र ७ गते जनकपुरमा एकताको महाधिवेशन गर्ने निर्णय गरेको थियो । तर दुई पार्टीबीच समायोजन सम्पन्न नभएको भन्दै महाधिवेशन सार्ने तयारी भइरहेको बताइएको छ । अर्को महाधिवेशन २०७७ माघमा हुने सम्भावना बढ्दै गइरहेको छ ।

बैशाख २३ गते एकीकरण भएपछि हालसम्म प्रदेशको समायोजन मात्र सम्पन्न भएको छैन । जिल्ला, स्थानीय तह, जनवर्गीय संगठन, विभाग तथा प्रवास कमिटीहरुको समायोजन बाँकी रहेकाले असोजमा महाधिवेशन सम्पन्न गर्न नसकिने उहाँले बताउनुभयो ।

२०७२ जेठ ३२ गते अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टी, नेपालसँग तत्कालिन मधेशी जनअधिकार फोरम नेपालले एकीकरण गरेर संघीय समाजवादी फोरम नेपाल बनेको थियो । २०७५ वैशाख २१ गते बसेको केन्द्रीय समितिको बैठकले २०७५ माघ २८ गतेदेखि जनकपुरमा महाधिवेशन गर्ने निर्णय गरेको थियो । तर तयारी नपुगेको भन्दै भन्दै २०७५ मंसिर २१ गते बसेको राजनीतिक समितिको बैठकले एकता महाधिवेशनलाई २०७६ वैशाख २७, २९ र ३० गतेका लागि सारेको थियो । वैशाख २३ गते एकीकरण भएपछि असोजका लागि सारिएको थियो ।

पहिलो महाधिवेशन भएको ११ वर्ष भइसकेको छ । विधान अनुसार प्रत्येक पाँच वर्षमा महाधिवेशन गराउनु पर्ने हुन्छ । त्यस अनुसार पहिलो महाधिवेशनपछि २०७० मा दोस्रो महाधिवेशन हुनुपर्ने थियो । तर आन्दोलनको बहाना देखाउँदै महाधिवेशन गराइएन । त्यसपछि २०७२ जेठ ३२ गते अशोक राई नेतृत्वको दलसँग एकीकरण गरेपछि पार्टी नयाँ संगठनको रुपमा स्थापना भयो । २०६४ साउन ११ मा पार्टीको रुपमा दर्ता भएको तत्कालिन मधेशी जनअधिकार फोरम नेपालको कुनै पनि दस्तावेज, विचार र सिद्धान्त समाजवादी पार्टी, नेपालमा छैन । नयाँ पार्टीको रुपमा एकताको पहिलो महाधिवेशन २०७५ माघ गर्ने निर्णय गरेको थियो ।

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..