» » बाढी पहिरोबाट मृत्यु हुनेको सँख्या ४८

 काठमाडौं, असार २९ गते । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुवानबाट ४८ जनाको ज्यान गएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार आइतबार बिहानसम्म २१ महिला र २७ पुरुष गरी जम्मा ४८ जनाको मृत्यु भएको हो । यस्तै २५ जना घाइते भएकामा उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार ८ महिला र १६ पुरुष गरी जम्मा २४ जना वेपत्ता भएका छन्  भने ११०४ जनाको जिवितै उद्दार गरिएको छ ।

बाढी पहिरोमा परेका महोत्तरीमा ५ सय जना, रौतहटमा २ सय जना, काठमाडौंमा १ सय ८५ जना, सर्लाहीमा १०० जना, सिन्धुलीमा ७० जना, सप्तरीमा २५ जना, उदयपुरमा १० जना, ललितपुरमा ८ जना, सिराहमा २ जना तथा भक्तपुर, सुनसरी, मकवानपुर र खोटाङमा १–१ जना गरी जम्मा ११ सय ४ जनाको सकुशल उद्दार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

बाढी पहिरोमा परी मकवानपुरमा ४ जना, धनकुटामा ३ जना, भोजपुर, सुनसरी, काभ्रे र सिन्धुलीमा २ जना, खोटाङ्ग, धादिङ्ग, चितवन, दोलखा र रामेछापमा १–१ जना गरि २० जना घाईते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

सिन्धुली ६ जना, ईलाम र मोरंगमा ३–३ जना, पाँचथर, झापा, उदयपुर, सुनसरी, पर्सा, रौतहट, महोत्तरी, सिराहा, धनुषा, धादिङ्ग, काठमाडौं, ललितपुरमा १–१ जना गरि २४ जना बेपत्ता भएका छन् ।

पहिरो तथा बाढीको कारण बन्द भएका विभिन्न स्थानका बाटो प्रहरीले सुचारु गराएको छ । धादिङ बेनिघाटरोराङ गाउँपालिका–१० बादरेमोडस्थित पृथ्वी राजमार्ग, हेटौंडाबाट काठमाडौं आउने सम्पुर्ण बाटो, नारायणगढबाट काठमाडौं आउने बाटो, बारा जितपुर सिमरा उपमानगरपालिका–२२ स्थित महेन्द्र राजमार्ग, मकवानपुर हेटौंडादेखि भिमफेदी काठमाडौं सडकखण्ड, ईलाम सूर्योदय नगरपलिका–९ ढोडेस्थित बरबोटेदेखि नयाँबजार जाने भित्री सडकखण्ड, धादिङ नौबिसेदेखि हेटौंडा जाने त्रिभुवन राजपथ, दैलेख गुराँस गाउँपालिका(२ स्थित तल्लो डुङ्गेश्वर, सियाकोट सुर्खेत सडकखण्ड लगायतमा भएको अवरोध हटाई बाटो खुलाईएको छ ।

यसैगरी रौतहट चन्द्रनिगाहापुर–२ स्थित पुर्वपश्चिम राजमार्गमा ठूला सवारी साधन सुचारु, पाँचथर मेची राजमार्ग, ईलाम रोङ गाउँपालिका–४ स्थित मेची राजमार्ग, तेह्रथुम लालिगुँरास नगरपालिका–९ काडेस्थित म्याङलुङ बसन्तपुर सडकखण्ड लगायतका ठाउँमा अवरोध भएकोमा एकतर्फी बाटो खुलाईएको छ ।

सडक संचालनमा ल्याउन प्रयास
कतिपय स्थानमा भएको बाटो अवरोध हटाउने कार्य प्रहरीले जारी राखेको छ । जसमध्ये रामेछाप, काभ्रे, सिन्धुली, मुस्ताङ, मनाङ, उदयपुर, खोटाङ, ओखलढुङगा, मकवानपुर, महोत्तरी, रसुवा, कालिकोट, ईलाम, कपिलबस्तु, सल्यान, धनकुटा लगायत जिल्लाका विभिन्न स्थानको सडक अवरोध खुलाउने कार्य जारी छ ।

परिचालित प्रहरी संख्या
काठमाडौं उपत्यकामा ८ हजार ८ सय ५६ जना, प्रदेश नम्बर १ मा ६ हजार ३ सय ५ जना, प्रदेश नम्बर २ मा ५ हजार ७ सय २ जना, प्रदेश नम्बर ३ मा ३ हजार ४ सय ५ जना, प्रदेश नम्बर ६ मा ३ हजार १ सय १२ जना गरी प्रभावित स्थानहरुमा कूल २७ हजार ३ सय ८० जना प्रहरी कर्मचारीहरू उद्धारमा खटिएका छन् ।

साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा प्रहरीले गरिरहेको छ ।

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..