» » नेपालमा आतङ्कारी खोज्दैछ भारत

भारतमा हुने आतङ्ककारी गतिविधिको कनेक्सन कतै न कतै नेपालसँग जोडिएको त्यहाँको विभिन्न अनुसन्धानले देखाएको छ । र त्यही अनुसन्धानका आधारमा भारतले नेपालसँग आफ्नो देशको सुरक्षाको बारेमा चासो देखाइरहेको हुन्छ ।

जसरी नेपालमा तिब्बतियनको गतिविधि प्रति चीन सचेत देखिन्छ, त्यसरी भारत पनि नेपालमा पाकिस्तानको गतिविधिप्रति सचेत देखिन्छ तर नेपाल एक चीनप्रति प्रतिवद्ध भए जस्तै भारतका लागि नेपाल पाकिस्तान प्रति त्यति सचेत नरहेको भारत पक्षको आरोप छ ।


पाकिस्तानले नेपाललाई ट्रान्जिट बनाएको कुरा भारतले नेपाल सरकारलाई पटक पटक लिखित र मौखिक रुपमा भन्दै आएको छ । तर जति भनेपनि नेपालको तर्फबाट विश्वासिलो आधारको बाटो पहिल्याउने काम नभएको भारतको गुनासो रहेको छ । गत फागुन २ गते भारतको काश्मिरमा ४० जना प्रहरीको ज्यान जाने गरि भएको हमलाको कनेक्सन नेपालसँग रहेको कुरा भन्दै आएको छ ।

खुल्ला सीमाका कारण विभिन्न नामले नेपालमा प्रवेश गरि भारत पस्ने गरेको भारतीय पक्षको दावी छ । र पाकिस्तानीलाई भारत पस्न दिनमा नेपालका मुसलमान तथा अन्य अरु समुदायका नेपालीहरु पनि सघाइरहेको नेपाल भारतबीच भएको विभिन्न घटनाक्रमले देखाएको छ ।


काश्मिर हमलाको योजना नेपालमै बनेको थियो तर कही कसरी बनेको थियो तर नेपालमा उनीहरुलाई ककसले सघाएको थियो त्यस विषयमा नेपालस्थित भारतीय दुतावासले खोजविन गरिरहेको छ । तर अहिलेसम्म त्यस्तो केही सुराकी भारतले पाएका छैन । भारतीय खुफिया एजेन्सीको रिर्पोट अनुसार त्यहाँका सञ्चारमाध्यमले काश्मिर आक्रमणको योजना नेपालमै बनेको समाचार प्रशारित गरिरहेका छन् ।

 त्यति मात्र होइन, काश्मिरमा हमला गरेर केही आतकंकारीहरु नेपाल फर्केको दावी पनि भारतीय पक्षको रहेको छ । काश्मिरमा घटना गराएर नेपाल कुन बाटोबाट कसरी फर्केका थिए त्यसको  विषयमा पनि खोज्ने काम भइरहेको छ ।
भारतले यसरी खोजखबर गरेको यो पहिलो घटना होइन । जब जब भारतको कुनै घटना हुन्छ, अनि भारतको दृष्टि नेपालतर्फ दौडिन्छ । कुनै हमलाकारी, कुनै ठूलो अपराधी यदि भारतबाट भाग्न सफल भयो भने भारतलाई सबभन्दा पहिलो ध्यान नेपालमाथि नै जान्छ ।

र विभिन्न बाटोबाट ती व्यक्तिको खोजी हुन थाल्छ । कतिपय विषयको बारेमा भारतले नेपाललाई औपचारिक जानकारी गराएको हुन्छ भने कतिपयमा कुराको जानाकरी नगराइकन सिधै नेपालमा पसेर खोजविन गरेका पनि हुन्छन् । त्यसका थुप्रै उदाहरणहरु छन् ।

खोजविन गरेर उनहरुलाई गोली हानेर मारेको नेपाल सरकारले गरेको विभिन्न अनुसन्धानबाट खुलेको छ । मिर्जादिल सादवेग, जमिम शाह, मजिद मनिहार, शौकत वेग, खुर्सिद अन्सारीको हत्यालाई त्यही रुपमा लिएको छ । उहाँहरु सबैजनाको हत्यामा भारतको हात रहेको नेपाल सरकारले गठन गरेको विभिन्न कार्यदल तथा समितिको प्रतिवेदनबाट स्पष्ट हुन्छ ।

युनिस अन्सारीमाथि जेलमै गोली चलाउनुमा भारतको हात रहेको कुरा पनि सरकारी प्रतिवेदनमा उल्लेख छ । गोली चलाउनमा संलग्न एकजना भारतीय अझै पनि जेलमा रहेका छन् । उनले अन्सारीमाथि गोली चलाएको कुरा आफैले स्वीकार गरेका छन् । नेपालमा उहाँहरुले भारत विरोधी गतिविधि गरिरहेको कुरा भारतले सरकारले पटक पटक नेपाल सरकारलाई जानकारी गराएको भारतीय पक्षको दावी छ । जानकारी गराएकोमध्ये कतिपय केसमा नेपालले भारतलाई सहयोग गरेको छ भने कतिपयमा कानुन झन्झटका कारण गर्न नसक्दा उहाँहरुको हत्या हुने गरेको छ । जस्तै नेपालले पाकिस्तानी मुजाहिदिन यासिन भटकललाई समातेर भारतलाई सुपुर्दगी गरेको थियो ।

सन् २०१५ मा अमेरिकाले सार्वजनिक गरेको एक रिर्पोर्टमा पनि नेपाल आतकंकारीहरुका लागि ट्रान्जिट हुन लागेको उल्लेख गरेको छ । तर यसको बारेमा नेपाल सरकारले कुनै गम्भीर्यता देखाएको छैन । त्यही गम्भीर्यता नदेखाएको कारण नेपालमा हुने भारत विरोधी आतंकवादी गतिविधिमा संलग्न रहेको आरोपामा भारतको तर्फबाट थुप्रै नेपालीहरु मारिएका छन् । त्यसमा पनि नेपाल मौन देखिएको छ । गोली हानेर हत्या हुन्छ । त्यसको बारेमा सरकारको तर्फबाट छानविन पनि हुन्छ तर त्यसको सुनुवाई केही हुँदैन आखिर किन त्यस्तो ? 
पूर्व डिआइजी हेमन्त मल्ल ठकुरीले भारतमा आतंकवादी गतिविधि गरेर नेपालमा लुक्ने गरेको थुप्रै तथ्यहरु फेला परेको बताउँनु हुन्छ ।

तर नेपालबाट नै आतंककारी गतिविधिमा संलग्न रहेको कुरा कहीबाट पुष्टी नभएको बताउँदै उहाँले भारतमा हुने हमलाको योजना नेपालमा बनेको वा बनिरहेको कुरा आफूले कहिले फेला नपारेको बताउनुभयो । भारतमा अपराधी गतिविधि गरेर खुल्ला सीमाका कारण नेपालमा आएर लुक्ने गरेको कुरा सत्य हो । नेपालमा लुक्नेहरुले नै नेपालीहरुलाई विभिन्न प्रलोभनमा पारेर कतिपय अपराधी गतिविधिमा संलग्न गराउने गरेको भेटिएको उहाँले बताउनुभयो ।

त्यस्तो अवस्थामा नेपालका सुरक्षाकर्मीले थाह पायो वा फेला पार्यो भने त्यसलाई कारवाही गर्नुको साथै एकअर्काका देशलाई बुझाउने काम पनि गरेको उहाँले बताउनुभयो ।


उहाँले भन्नुभयो, गलत गतिविधि गरेर यता आएर लुकेर बसेको थाह पाएर नेपाली सुरक्षाकर्मीले पक्राउ गरी भारतलाई बुझाएको पनि छ भने उता (भारत) बाट पनि नेपाललाई बुझाउने गरेको छ । यी सबै गतिविधि खुल्ला सीमाका कारण हुने गरेको छ । भारतको तर्फबाट नेपालमा कुनै कारवाही भयो वा भारत विरोधी गतिविधिमा लागेको आरोपमा कसैलाई कारवाही गर्यो भने भने नेपालले त्यसका लागि जाँचबुझ आयोग गठन गर्ने र प्रतिवेदन तयार पारेर त्यसलाई गुपचुप राखि दिने काम मात्र भएको छ ।

मिर्जा, जमिम, मजिद, शौकत, खुर्सिद लगायतको हत्या तथा युनिसमाथि गोली प्रहार लगायतको घटनामा सरकारले जाँचबुँझ आयोग गठन गरेको छ तर आयोगले तयार पारेको प्रतिवेदनको हालसम्म कार्यन्वयन आएको छैन । यी हत्याहरुमा भारतको हात हो भनि थाह पाएर नेपाल सरकार नबोलेको हो कि भनि आशंकाहरु भइरहेको छ ।


रक्षा विज्ञ विष्णु उप्रेती भन्नुहुन्छ, मिर्जा, जमिम, मजिद, शौकत, खुर्सिद लगायतक जतिजना छन् ती सबैलाई भारतीय अपराधी समूहले नै प्रयोग गरेका हुन् । नेपालले तिमीहरु यो काम गर भनेर गरेको होइन, अपराधी गतिविधि जहाँ पनि हुन्छ, नेपाली भूमीबाट भयो भने नेपालले नै गराएको हो भन्नु भारतको सोच गलत हो ।’ तर पूर्व एआइजी राजेन्द्रसिंह भण्डारी भन्नुहुन्छ, भारतको आरोप गलत होइन, विभिन्न घटनाक्रमले त्यो आशंका जन्माएको हो । नेपाल भूमीबाट प्लेन हाइज्याक भयो ।

विभिन्न समयमा पर्याप्त मात्रामा भारतीय जाली नोट फेला परेका छन्, यी घटनाले भारतलाई संशकीत बनाउनु स्वभावित हो तर नेपाल सरकार यसमा सतर्क छ भारतलाई सहयोग नै पुर्याई रहेको छ ।’


आसिन भटकल जस्ता अपराधीलाई समातेर नेपालले नै भारतलाई बुझाएको बताउँदै उहाँले भारतले नेपालमाथि शंका गरे जस्तै नेपालले पनि भारतमाथी शंका गरिरहेको  बताउनुभयो । नेपालका अपराधीहरु भारतमा सेल्टर लिएर बसको पनि थुप्रै उदाहारणहरु छन् ।

आफू सिआइबीमा हुँदा भारत गएर विभिन्न अपराधीलाई समातेर ल्याएका सुनाउँदै उहाँले खुल्ला सीमा र भाषा, अनुहार, रहन सहन, भेषभुषा सबै मिल्ने भएका कारणले एक अर्काको देशमा लुक्न सजिलो भएको कारणले एक अर्काको देशमा आपराधी गतिविधि बढेको बताउनुभयो ।

तराई क्षेत्रमा मदरसाहरु थुप्रै खुलेका छन्, अस्वभाविक रुपमा खुलेको विभिन्न अनुसन्धानले देखाएको छ त्यसमा पनि भारतले आफ्नो सुरक्षा चासो देखाउनु स्वभाविक रहेको बताउँदै उहाँले भारतले मात्र होइन चीनले पनि नेपालमा चीन विरोध गतिविधि नहोस् भनि चासो लिएको बताउनुभयो ।

तिब्बतीयनहरु नेपाल भूमीमा चीन विरोधी गतिविधि नगरोस् भनि चाहेको हुन्छ, बंगलादेशले पनि त्यस्तै चाहेको हुन्छ तर भारतले अलि बढी चासो लिनुको कारण खुल्ला बोर्डर भएको उहाँले बताउनुभयो ।


द्धन्दकालमा माओवादीहरु भारतमा सेल्टर लिएका बसेका थिए । तराई मधेशमा भइरहको सशस्त्र समूहको गतिविधि पनि भारतमा सेल्टर लिएर भइरहेका छन्, यी कुरामा पनि नेपालको चासो रहेको बताउँदै उहाँले भारतले पनि एकतर्फी होइन, दुवैतिरको कुरा बुझ्नुपर्ने बताउनुभयो ।

यसको मतलब भारत विरोधी गतिविधि नेपाली भूमिबाट हुनुपर्छ भने होइन, यसलाई नियन्त्रण गर्न दुवै देश समन्वयकारी भूमिका खेल्नुपर्ने उहाँले सुझाउनुभयो ।

भारतीय खुफिया एजेन्सीका रिर्पोर्ट अनुसार पाकिस्तानीको लगानीमा नेपालमा नेपाल एजुकेशनल एण्ड वेलफेयर सोसाइटी नामको एउटा गैर सरकारी संस्था सञ्चालनमा आएको छ । जसले नेपालमा सञ्चालित मदरशाको व्यवस्थापनमा सहयोग पुर्याउने काम गर्दै आएको छ ।

यो रिर्पोर्टलाई भारतीय सञ्चारमाध्यमहरुले प्रमुखताका साथ उठाउँदै आएको छ । त्यो संस्थाले लश्कर–ए–तैयबाको संगठन विस्तार गर्ने गरेको भारतीय पक्षको आरोप छ । पाकिस्तानी खुफिया एजेन्सी आइएसआइको माध्यमबाट आतकंवादका नामबाट चिनिएका लश्कर–ए–तैयबाको संगठन मोरगं–सुनसरीमा बनाउन लागेको रिर्पोर्ट नेपालस्थित भारतीय दुतावासमा पनि आइसकेको छ । यस्तो रिर्पोर्ट आएको केही दिनमै सुनसरीमा दुईटा घटना भयो । त्यसपछि काश्मिरमाथि आक्रमण भयो ।

आतंकवादीलाई आफ्नो घरमा आश्रय दिएको आरोपमा गत असोज ४ गते सुनसरीका खुर्सिद अन्सारी र मंसिर ४ सुनसरीका फिदा हुसेन मारिए । दुवै हत्यामा भारतको हात रहेको प्ररहीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । फिदा हुसेनको बारेमा त्यस्तो कुनै तथ्य फेला नपारे पनि खुर्सिद भारत विरोधी गतिविधिमा लागेको प्रमाणहरु भेटिएको बताइन्छ ।

तर खुर्सिदको जसरी हत्या भयो त्यसरी नै फिदाको पनि हत्या भएको हुनाले भारतको पनि हत्यामा हात रहेको प्रहरी स्रोतको दावी छ । फिदा पनि मदरसा सञ्चालन गर्न रकमको व्यवस्थापन गर्नेदेखि लिएर मदरसामा पढाउन आउने विदेशी शिक्षकहरुसँग हिमचिम पढाएको स्थानीयहरु बताउँछन् । लश्कर–ए–तैयबाको संगठन निर्माणमा उनीहरुको सहयोग रहेको भारतीय खुफिया एजेन्सीको दावी रहेको छ ।

 फिदा मारिएको तीन महिनापछि काश्मिरमा हमला भएको कारणले पनि भारत एजेन्सीको ध्यान नेपालप्रति झन तानिएको छ । आतकंवादी गतिविधिमा संलग्न रहेको आशंकामा मारिनु र त्यस लगतै काश्मिरमा हमला हुनु तथा त्यो हमलाको कनेक्सन नेपालसँग हुनु भन्नुले विषयलाई गम्भीर बनाएको छ ।


तीन वर्षअघि नेपाल र भारतको सर्वाधिक खोजीमा रहेका चारजना पक्राउ परेका थिए । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले दुबई प्रहरीको सहयोगमा उनीहरुलाई नेपाल झिकाएर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो । बारा जिल्लाका होदाले दुबईमा बसेर भारतको विरोधमा गतिविधि गरेको आरोप भारतीय पक्षको थियो ।

र, त्यो कुरा नेपाल प्रहरीको अनुसन्धानले पनि पुष्टि गरेको थियो । पक्राउ पर्नेहरुमा होदा सहित गढीमाई नगरपालिका–८ घर भएका ‘बाबा’ भनिने बाराका बृजकिशोर गिरी, कलैया नगरपालिका–४ घर भएका आशिष सिंह र उमेशकुमार कुर्मी हुनुहुन्थ्यो । उत्तर प्रदेशमा रेलमा भएको बम विस्फोटमा उहाँहरुको संलग्न रहेको कुरा नेपाल प्रहरीको अनुसन्धानले पनि पुष्टि भएको थियो ।

 उहाँहरुले दुवईबाट भारतीय नागरिकलाई रकम दिएर विस्फोट गर्न लगाउनुभएको थियो । २०७० सालमा भएको संविधानसभाको चुनावमा होदा राष्ट्रिय मधेस समाजवादी पार्टीबाट बाराको क्षेत्र नम्बर–२ बाट उम्मेदवार बनेको प्रहरीको अनुसन्धानबाट खुलेको थियो ।

आतंकवादी गतिविधि, नक्कली नोट तथा हातहतियार बेचविखनमा संलग्न रहेको भन्दै मिर्जा दिलसाग वेगदेखि खुर्सिदसम्मलाई कारवाही भारतबाट भएको विभिन्न अनुसन्धानबाट देखिएको छ । जुनजुन व्यक्ति मारिएका छन् ती सबै व्यक्तिको बारेमा भारतले नेपाललाई जानकारी गराएको, पक्राउ गरेर सुपुर्दगी गर्न पनि भनिएको अनुसन्धानहरुबाट खुलेको छ ।

 तर सरकारको तर्फबाट कुनै सुनुवाई नभएको भारतीय पक्षको आरोप छ । गत असोज ४ गते मारिएका खुर्सिद अन्सारीलाई भारतीय सुरक्षा एजेन्सीले भारतलाई सुपुर्दगी गर्न सरकारसँग आग्रह गरिएको थियो तर तत्कालिन गृहमन्त्री वामदेव गौतमले सुपुर्दगी गर्न मान्नुभएन भनि भारत पक्षको अरोप छ । खुर्सिद तत्कालिन एमालेका कार्यकर्ता थिए ।


मिर्जा दिलसाद वेगलाई पनि सुपुर्दगी गर्न भारतले पटक पटक भनेको थियो तर तत्कालिन सरकारले मानेका थिए । सन् १९९३ मा भारतको गोरखापुरस्थित मेनका सिनेमा हलमा भएको बम विस्फोटमा मिर्जाको हात रहेको भारतको अनुसन्धानबाट खुलेको थियो त्यहीबेलादेखि भारतले सुपुर्दगी गर्न माग गरेको थियो तर सुपुर्दगी नहुँदा उहाँको हत्या भएको थियो । भारतका उत्तर प्रदेश सरकारले मिर्जालाई पक्राउ गर्नेलाई ५० हजार नगद दिने घोषण पनि गरेको थियो ।

त्यसैगरि तत्कालिन एमालेका कार्यकर्ता समेत रहेका मजिज मनिहारको पनि २०६६ सालमा हत्या भएको थियो । भारतीय पक्षबाट हत्या भएको कुरा तत्कालिन अवस्थामा सरकारले गठन गरेको जाँचबुझ आयोगबाट पुष्टि भएको छ । उहाँमाथि भारत विरोधी आतकंवादी गतिविधिमा संलग्न रहनुको साथै जालीनोटको कारोवारमा संलग्न रहेको आरोप लागेको थियो । मिर्जासँग पनि उनको सिधै सम्पर्क रहेको कारण भारतको टार्गेटमा पर्नु स्वभाविक थियो ।

मिर्जा पाकिस्तानमा रहेका दाउद इब्राहिमको एजेन्टको रुपमा नेपालमा काम गरिरहेको विभिन्न अनुसन्धानबाट देखिएको छ । कमल सिंह नेपालीको पनि त्यही कारणले हत्या भएको थियो । मलेसियामा रहेर दाउद इम्ब्राहिमसँग सिधै सम्पर्क बनाएर भारत विरोधी गतिविधिमा रहेको भन्दै उनलाई काठमाडौमा २०६३ मा भारतीय सार्वसुटर हत्या गरेको नेपालको तर्फबाट भएको जाँचबुझबाट पुष्टि भएको छ । उहाँ दाउदसँग मात्र होइन, भारत संस्थापकको संरक्षण्मा रहेको छोटा राजनसँग पनि मिलेका थिए ।


शौकत वेगका लागि त भारतले २० हजार नगद पुरस्कारको घोषणा गरेको थियो । शौकतलाई समात्नेलाई २० हजार नगद दिने घोषणा गरेको थियो तर उहाँलाई कसैले समात्न नसकेपछि भारतीय सार्पसुटर नेपाल आएर २०६६ सालमा हत्या गरेको थियो । उहाँमाथि पनि पाकिस्तानी आइएसआइसँग मिलेर भारतीय जाली नोटको कारोवारमा संलग्न रहेको आरोप थियो ।

त्यसरी नै आइएसआइ तथा दाउदसँग जमिम शाहको सम्बन्ध रहेको भन्दै उहाँ मारिनुभयो । नेपालमा बसेर उहाँ दाउदका लागि भारत विरोधी काम गरेको तथा आइएसआइको लगानीमा मिडिया सञ्चालन गरेको आरोप उहाँमाथि थियो । नेपालमा खुलेका मदरसामा लगानी भित्र्याउनुको साथै ती मदरसामार्फत भारतको विरोधमा गतिविधि गरेको विभिन्न अनुसन्धानबाट खुलेको छ ।

युनुस अन्सारीलाई त जेलमै गएर हत्या गर्ने प्रयास भएको थियो । आइएसआइसँग मिलेर भारतीय जाली नोटको कारोवारमा रहेको भन्दै उहाँलाई भारतकै तर्फबाट मार्ने प्रयास भएको थियो । तर उहाँ बच्न सफल हुनुभएको थियो ।

उहाँ जेठमा पनि पुन जाली नोटको कारोवारमा संलग्न रहेको भन्दै पक्राउ पर्नुभएको छ । उहाँ अझै असुरक्षित हुनुहुन्छ । २०६८ मा फैजान अहमद र २०७० मा अफताब आलमको हत्या पनि त्यही आरोपमा भएको थियो, जुन आरोप मिर्जा, युनुस, खुर्सिद लगायतलाई लागेको थियो ।


यसरी नेपालले यी व्यक्तिहरुलाई कारवाही नगर्दा भारतले उहाँहरुलाई हत्या गर्न लगाएको कुरा जाँचबुँझ आयोगले पुष्टि गरेको छ । र, भारत विरोधी हुने आतंकवादी गतिविधिमा नेपालको भूमी प्रयोग भइरहेको भारतले यिनै घटनाहरुले देखाएर पुष्टि गरिरहेको छ ।

 असार २८ गते एक पाकिस्तानी महिला भारतको उत्तराखण्डमा पक्राउ पर्नुभएको छ । नेपाल हुँदै भारत पस्नु भएको उहाँसँग पासपोर्ट पनि थिएन । उहाँ नेपालमा बस्न भिसा पनि समाप्त भइसकेको थियो तर नेपाल सरकारलाई विना कुनै जानकारी उहाँ भारत पस्न लाग्दा उहाँलाई भारतीय प्रहरीले पक्राउ गरी थुनामा राखिएको छ ।

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..