» » पानीको सहत कम भएपनि भोक मेटेको छैन बाढी पीडितको (फोटो फिचर)

केही दिनको अविरल वर्षाका कारण आएको बाढी कम भएपनि बाढी पीडितको पेटमा दाना गरिहेको छैन । घर आँगन खेतबारी डुवेको थियो अहिले त्यो विस्तारै विस्तारै बाहिर आएको देख्दा बाढी पीडित जनताको अनुहारमा खुशीयाली देखिएको छ तर बाढीले अन्नपानी र खानेकुरा सबै बगाएर लगेको तथा बाँकी रहेकालाई पनि भिजाएको कारण खाद्यान्नको अभावले गर्दा बाढी पीडितहरु भोकै बस्न बाध्य भएका छन् ।


आफन्त र छरछिमेक तथा केही समाजिक संघ संस्थाले गरेको सहयोगमा हातमुखे जोड्ने जाहो भएपनि त्यसले पेटको भोक मार्न सकेको छैन । अर्थात दिएका राहत र सामाग्री पर्याप्त छैन । प्राप्त चाउचाउ, च्युरा, भूजा (मुरही) दलमोठ आफू खाने कि छोराछोरीलाई खुवाउने समस्या अधिकाँश पीडितहरुमा देखिन्छ । देशभरि ७८ जनाको मृत्यु भइसकेको छ त्यसमा सबभन्दा बढी प्रदेश २ मा रहेका छन् ।

लाखौ मान्छे विस्थापित भएका छन् भने हजारौ व्यक्तिलाई उधार गरेको छ भने घाइतेहरुको सँख्या पनि सैयोको सँख्यामा रहेको छ । यस अवस्थामा बाढी पीडितलाई आश्वासन मात्र होइन, राहतको आवश्यकता छ । संघीय सरकारले भन्दैछ स्थानीय र प्रदेश सरकारले राहत वितरण र उद्धारको काम गर्नेछ । तर स्थानीय तह र प्रदेशले त्यस अनुसारको गतिशिलता दिइरहेको छैन । प्रदेश सरकार र स्थानीय जनप्रतिनिधिहरु अनुगमन र घुमफिर गरि फोटो खिचाउनैमै मस्त छन् ।


राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका संयोजक अनिलकुमार झाले भन्नुहुन्छ, संघीय सरकारको उपस्थिति नै छैन, स्थानीय सरकारले पनि पारदर्शी हिसाबले राहत वितरण गरिरहेको छैन । आआफ्ना कार्यकर्तालाई मात्र वितरण गरिरहेका छन् भने प्रदेश सरकार घुमाघामा लागेको छ ।’ यद्यपी बाढी पहिरोका पीडितले पानीको सहत घटेसँगै केही राहत महसुस गर्न थालेका छन् ।


असार २९ गतेदेखि पानी पर्न कम भएपछि पानीको सतह कम हुँदै गइरहेको छ । पानीको सतह कम भएपनि बाढी पीडितलाई खान, बस्न, लाउनलाई समस्या भएको कारण राहत सामाग्रीको आवश्यकता रहेको जनकपुरका पत्रकार एवं साहित्यका रामभरोस कापडीले बताउनुहुन्छ ।

नेताहरु अनुगमन गर्छन् तर खाली हात । अहिले घुम्ने र अनुगमन बेला होइन, उहाँले भन्नुभयो, पीडितहरुलाई अहिले राहतको आवश्यकता रहेको छ तर राहत कतैबाट गएको छैन । जनतामा तराहिमाम देखिएको छ ।’


केन्द्रीय सरकारको राहत कुनै ठाउँमा पुगेको छैन । स्थानीय तहका जनप्रतिनिधिहरुले भ्याएसम्म सहयोग गरिरहेको छ, सिरहाका पत्रकार जिवछ यादवले भन्नुभयो, पीडितको घरसम्म संघीय सरकारको पहुँच नभएपनि स्थानीय सरकारले भ्याएसम्म सहयोग गरिरहेको छ तर त्यो पर्याप्त होइन ।’

 स्थानीय सरकारले आफ्नो क्षमता अनुसार कुनै वडा विशेषमा केही राहतको व्यवस्था गरेपनि सबैको पहुँचमा छैन, अहिलेको मुख्य समस्या भनेको खानेकुरा र पानी हो त्यसको अभावमा बाढी पीडितहरु झन पिडित हुँदै गइरहेको उहाँले बताउनुभयो ।


बाढी पिडितका लागि राहत वितरण गर्न केन्द्रीय सरकारले स्थानीय तह र जिल्लालाई अधिकार दिएको छ । प्रदेश सरकारले पनि सहयोग पुर्याई रहेको छ । यदि ती निकायलाई केही अपुग भयो र माग भयो भने मात्र केन्द्रबाट पठाउने गृहमन्त्रालयका उपसचिव बेदनिधि खनालले बताउनुभयो ।

 उहाँले भन्नुभयो, अहिले स्थानीय तहमा नै पर्याप्त वजेट छ, त्यहीबाट राहत वितरण हुन्छ त्यही भएका खाद्यान्नहरु वितरण गर्न सकिरहेको छैन । जिल्लामा पनि एउटा राहत कोष छ । आवश्कय पर्यो भने त्यसबाट पनि वितरण हुन्छ ।’ यद्यपी यातायातको समस्याका कारण सबै ठाउँमा राहत नपुगेको हुनसक्छ तर राहत समाग्री पर्याप्त रहेको उहाँले दावी गर्नुभयो ।


केन्द्र तयारी अवस्थामा बसेको छ, अभाव हुनसाथ त्यो ठाउँमा हेलिकप्टरबाट वा अन्य साधनबाट सामाग्री पुर्याउने उनले बताए । हेटौडा र इटहरीबाट ठाउँ ठाउँमा वितरणका लागि त्रिपाल गएको छ भने वीरगञ्जबाट रेडक्रशले पनि राहत वितरणको काम गरिरहेको उहाँले बताउनुभयो ।

 
प्रतिनिधिसभा सदस्य प्रदीप यादवले पनि संघीय सरकारको पहुँच बाढी पिडितसम्म नरहेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, स्थानीय तहका प्रतिनिधिहरु केही सहयोग गरेपनि त्यो पर्याप्त छैन ।

बाढी पीडितहरु भोकै छन् । केही दिनदेखि भोकै रहेका उहाँहरुका लागि राहतको एकदमै आवश्यकता रहेको छ ।’

नेपाल प्रहरी र नेपाली सेना उद्धारमा खटिएपनि सरकारको तर्फबाट खद्यान्न लताकपडा नपुगेको उहाँले बताउनुभयो । उनले आफ्नो तर्फबाट पनि अलिअलि सहयोग गरेको तर त्यो पर्याप्त नरहेको बताउनुभयो ।


बाढीबाट पीडितको सँख्या धेरै छन् तर त्यसको तुलनामा राहत पुगेको छैन । यसपटक अहिलेसम्म समाजिक संघ संस्था पनि राहत लिएको पुगेको छैन । पीडितहरु छिमेकी गाउँकै सहयोगमा बाँचिरहेका छन् । धनुषा जनकपुरका किशोर गुरुले पनि स्थानीय तहबाट राहत वितरण भएपनि त्यसले नपुगेको बताउँनु हुन्छ ।

 आवश्यकता धेरै छन्, तर त्यो अनुसारको राहत सामाग्री छैन, उहाँले भन्नुभयो, जनकपुर उपमहानगरपालिकाले आफ्नो क्षमताले भ्याएसम्म सहयोग गरिरहेको छ तर सबैतिर भ्याउने अवस्था छैन ।’

 दुई दिनदेखि पर्याप्त खानेकुरा नखाएका कारण कतिपय पीडितहरु विरामी हुन लागेको बताउँदै उहाँले बाढी पीडितहरुलाई पर्याप्त खानेकुरा तथा औषधीको आवश्यकता रहेको बताउनुभयो ।

 पानी कम भइरहेको छ, त्यसले जनताको अनुहारमा खुशी देखिएको छ, तर घर आँगनमा पानी पसेको कारण सबै समान भिजेको छ । खानेकुरा पनि छैन, घरआँगनमा हिलो पनि छ, कतिपयको घरपनि बगाएको छ भने कतिपयको घर भत्केको छ, त्यही भएर उनीहरुलाई राहतको निकै नै आवश्यकता रहेको छ । 


बाढीको कारण सदरमुकाम तथा शहरबजारको सम्बन्ध विच्छेद भएको छ । जहाँ त्यही सम्पर्क सडकहरु भत्काइएको छ । एक गाउँबाट अर्को गाउँमा जाने, गाउँबाट शहर बजार जाने अवस्था छैन । जनकपुरको सात किलोमिटर वरिपरी कुनै इमारेन्जी भयो भने कही निस्कने अवस्था छैन ।

 पानीमा पौडी खेलेर वा हिडेर जाने बाहेक अरु कुनै उपाय छैन । पानीको सतह घटनथाले पनि पर्याप्त निकास नभएको कारण केही समस्या भइरहेको छ । धनुषाकै विक्रम यादव भन्नुहुन्छ, कमला नदीमा पानीको अवस्था अहिले पनि जस्ताको त्यस्तै छ ।

 पानीको तुफानी हेर्दा जनता अझै क्रासमा रहेको बताउँदै उहाँले धनुषाको मलहनिया नजिक कमला नदीको बाँध टुट्दा जनकनन्दनी नगरपालिका ६ वटा वडा निकै प्रभावित भएको छ । त्यहाँ बढी क्षति भएको कारण हेलिकप्टरबाट उद्धारका लागि सिडियो पुगेका थिए ।


त्यहाँ बाढीबाट पीडितलाई केही खानेकुरा पनि वितरण गरेको विक्रम यादव बताउँनु हुन्छ । उहाँ भन्नुहुन्छ, बाढीबाट क्षति भएको ठाउँमा खानेकुरा, पानी, त्रिपाल, मेडिसिनको आवश्यकता रहेको छ जो कहीबाट पुगेको छैन । राहत पुर्याउनमा ढिलाई भइरहेको छ ।’ मोरगं विराटनगरका राकेश रोशन यादवले पनि राहतका लागि पीडित जनता छटपटाई रहेको बताउनुभयो ।

पानीको सतह विस्तारै घटदै गएपनि खान, लाउन बस्ने व्यवस्था नभएको कारण बाढी पीडितहरु तनावमा रहेको उहाँले बताउनुभयो । स्थानीय सरकारले केहीलाई खानेकुरा व्यवस्था गरेपनि सबै ठाउँमा पुगेको छैन । मोरगंको दक्षिणको केसरिया र पूर्वको सिङ्याही नदीले सबभन्दा बढी क्षति गरेको छ । केसरिया नदीबाट ६, ४, १२ र १६ वटा वडा निकै प्रभावित भएका छन् । ६ नम्बर वडा मुसहर, मुस्लिमहरुको बस्ती रहेको छ ।

कतिपयको घर ढलिसकेको छ भने कतिपयको घर समेत बगाई सकेको छ यस अवस्थामा उनीहरुलाई राहतको एकदमै आवश्यक रहेको राकेश यादव बताउँनु हुन्छ ।

कही कही स्थानीय सरकारले आफ्नो तरिकाले सहयोग गरेपनि त्यो प्रयाप्त छैन । माग अनुसार राहत पुगेको छैन । विराटनगर बजार अझै जलमग्न छ । पानी नपरेको कारण पानीको चाप कम हुँदै गएपनि कपितयको घरआँगनमा अझै पनि पानी रहेको उहाँ बताउँछन् ।

दुई दिनदेखि चाउचाउ र विस्कुट खाएर बाँचेका उनीहरुसँग अब त्यो पनि खाने अवस्था नरहेको उहाँ बताउँनु हुन्छ । मोरगंमा हालसम्म कुनै मानवीय क्षति नभएपनि झापा, सुनसरी र केही पहाडी जिल्लामा अत्याधिक जनधनको क्षति भएको छ । प्रदेश १ का प्रदेशसभा सांसद जयराम यादवले पनि बाढी पीडितलाई राहतको आवश्यकता रहेको बताउनुभयो ।

बाढीले गर्दा हरेक कुरा नष्ट भएको छ, त्यसैले हरेक कुराको आवश्यकता बाढी पीडितलाई रहेको बताउँदै उहाँले चाउचाउ र पानीले मात्र दिन काट्न गाह्रो भइरहेको उहाँले बताउनुभयो । केन्द्रीय स्तरबाट जबसम्म राहतका लागि केही नगरेसम्म राहत पुरा हुँदैन ।


महोत्तरीका मन्दिपकुमार ठाकुरले पनि त्यहाँ राहतको आवश्यकता रहेको बताउनुभयो । स्थानीय सरकारले अलिअलि वितरण गरेपनि सबै पीडितसम्म नपुगेको कारण केन्द्रीय तहबाट त्यसका लागि पहल हुनुपर्ने बताउनुभयो ।

 पानीको सतह कम हुँदै गएको कारण जनताले केही राहत महसुस गरेपनि खाद्यान, लत्ता कपडाको आवश्यकता रहेको उहाँले बताउनुभयो । पीडितसम्म केन्द्र र प्रदेश सरकारको पहुँच नरहेको बताउँदै उहाँले छरछिमेक, स्थानीय संघ संस्थाले अलिअलि सहयोग गरिरहेको छ तर राहतको अझै आवश्यकता रहेको बताउनुभयो । बाढीका कारण चारैतिरका सडक बाटोहरु भत्केका कारण राहतका लागि ओहर दोहेर गर्न पनि समस्या भइरहेको उहाँले सुनाउनुभयो ।

अहिले यस्तो अवस्था भएको छ कि एक गाउँबाट अर्को गाउँमा जान सक्ने अवस्था छैन, जाँदा पौडेर जानुपर्छ, गाडी वा वाइकमा जाने अवस्था नरहेको उहाँले बताउनुभयो ।

यसपालीको बाढीले सबभन्दा बढी क्षति रौतहटमा गरेको छ । पानीको चाप कम भइरहेको हुनाले जनतामा खुशी छाएको छ तर खान, बस्न लाउन नभएर चिन्तित देखिएको रौतहट गौरका सितान्सु सिंहले बताउनुभयो ।

अहिले पनि गौर भन्सार र नगरपालिका डुबेको छ तर विस्तारै विस्तारै पानी कम भइरहेको उनले बताउनुभयो । रौतहटमा स्थानीय सरकारले केही गरेपनि त्यहाँ न प्रदेश न संघीय सरकारको पहुँच पुगेको छ ।


मानवीय हिसाबले छरछिमेका गाउँले केही खानपिनमा सहयोग गरेपनि त्यो पर्याप्त देखिएको छैन । त्यहाँ खद्यान्नका साथै खानेपानी, टेन्ट, त्रिपाल, लुगाफाटा, औषधीहरुको आवश्यकता देखिएको छ ।




भारतको बाँध फुटेको कारण पानी कम भएको हल्ला मात्रै हो, भारतको बाँध टुटेको छैन । भारत पक्षले आफ्नो बाँधलाई सुरक्षा दिएर राखेको छ । लालबकैयाको लक्ष्मीपुरस्थित रहेको बाँध टुटेको कारण पानीको सतह कम भएको उहाँले बताउनुभयो । भारतले आफ्नो सीमामा बाँध बाँधेको कारण नेपालतर्फ पानीको चाप बढेको हो तर त्यसमा नेपालले गुनासो गर्ने ठाउँ नरहेको उहाँको दावी छ ।

उहाँ भन्नुहुन्छ, जुन देशले पनि पहिला आफ्नो देशको जनताको सुरक्षा हेर्छ, भारतले आफ्नो देशबाट नेपालतिर पानी पठाएको होइन नि । नेपालबाट आफ्नो देशका पानी आएर क्षति नगरोस् भनेर सतर्कताका लागि बाँध बाँधेको हो त्यो काम नेपाल सरकारले गर्दा पनि हुन्छ तर नेपाल सरकार हेरर बस्छ र भारतले गरेर देखाउँछ ।’

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..