» » सरकारले जनतालाई ढाँट्यो

–डा.रामकेवल साह
लामो लडाई पछि देशमा परिवर्तन आएपछि देश समृद्धिको यात्रा शुरु गरेको छ । एकतन्त्रीय व्यवस्थाबाट गणतन्त्रीय व्यवस्थामा जानु नै सबभन्दा ठूलो परिवर्तन हो । १२ वर्षको यो अवधिमा सबभन्दा ठूलो उपलब्धी यसैलाई मान्न सकिन्छ । तर जनताले परिवर्तनको अनुभूति गरेको छैन ।

गणतन्त्र आयो तर त्यसको पूर्वाधार र संरचना पूर्ण रुपमा तयार नभएको कारणले जनताले त्यसको अनुभूति गरेको छैन । गणतन्त्र ल्याउनका लागि जनतासँग जुन प्रकारको प्रतिवद्धता गरेको थियो त्यो प्रतिवद्धताहरु पुरा नभइरहेको अवस्था छ ।

त्यसले गर्दा जनता असन्तुष्ट देखिन्छ । दलका नेताहरुले गणतन्त्र चाहेकै हो, त्यही ल्याउनका लागि यत्रो लडाई लडे तर आइसकेपछि त्यसलाई व्यवस्थित गर्न सकेको छैन । र, यस्तो हुनुको मुख्यकारण हो भागबण्डा । नेपालको राजनीतिक भागबण्डामा चलेको कारणले जनताको चाहना अनुसार काम भइरहेको छैन । नेताहरुले हरेक कुरा आपसमा भागबण्डा गर्छन् जनताका लागि केही बाँकी राख्दैनन् ।

देश समृद्ध भयो भने गणतन्त्र र संघीयता पनि स्थापित हुने भन्दै देश पनि त्यही मार्गमा हिडिरहेका छ । तर जुन मार्गमा गइरहेको छ त्यो मार्गबाट गणतन्त्र स्थापित हुने हो कि होइन, त्यो कुरामा आशंका भइरहेको छ । यो पुरै नकारात्मक दिशामा गइरहेको छ भनि भन्दिन तर सकारात्मक दिशामा पनि गइरहेको छैन भनि लागेको छ ।

जुन ठोस दिशामा जानुपर्ने त्यो दिशामा नगएर जनताले आशंका गरेको छ । र, यस्तो हुनुको कारण के भने, अहिलेका राजनीतिक दलहरुले स्टेकहोल्डरलाई कन्भिन्स गर्न सकेको छैन । जसले बलिदानी दिएर यो गणतन्त्र ल्याए, त्यसलाई कन्भिन्स गर्न सकिरहेको छैन ।

जनताले शासकीय प्रणाली फेरेपछि अनुहार फेरिन्छ, शासन व्यवस्था फेरिन्छ जुन आशा गरेका थिए, त्यो पुरा नहुने जस्तो देखिएको छ । शासकीय प्रणालीमा परिर्वन आएपनि शासन शैली उही छ । त्यो शासनमा अनुहार पनि पुरानै छन् त्यसलै जनतामा आशंका र अविश्वास देखिएको छ । आमजनताले के बुझिरहेका छन् भने ‘घुमीफिरी रुम्जाटार’ ।

यतिका परिवर्तन भएपनि फेरि त्यही ठाउँमा पुग्ने हो कि जनतामा आशंका देखिएको छ । सविधानमा जे जस्तो व्यवस्था उल्लेख भएपनि नेताहरुमा उही सर्वसत्तावाद देखिन्छ । यो सुधारिएको संसदीय व्यवस्था हो । थोत्रो भइसकेको व्यवस्थालाई केही नयाँ रुप दिएर ल्याउने व्यवस्था हो सुधारिएको संसदीय व्यवस्था । भारतको चुनाव हेर्ने हो भने त्यहाँ संसदको लागि चुनाव भएको हो तर त्यहाँ एउटा व्यक्तिको नाममा चुनाव भएको हो मानौ राष्ट्रपतिका लागि चुनाव भएको हो ।

संसदीय व्यवस्था नमानेको जस्तो देखियो । नेपालमा पनि गणतन्त्रलाई सही मार्गमा लैजानका लागि राष्ट्रपति शासन व्यवस्था हुन आवश्यक छ ।

यो गणतान्त्रिक व्यवस्थालाई संसदीय व्यवस्थाले थेग्न सक्दैन । भारतको चुनावले देखायो कि एउटा व्यक्तिले देश सञ्चालन गर्न सक्छ । एउटा व्यक्तिको वरिपरी राजनीतिक घुमेको छ भने संसदीय व्यवस्थाको के काम । त्यसलाई संसदीय व्यवस्था भन्ने कि राष्ट्रपतिय व्यवस्था भन्ने जनतामा अन्योल देखिन्छ । तर संसदले गर्न सक्छ । संसद भनेको सार्वभौमसत्ता सम्पन्न हो ।

यसले जे पनि गर्न सक्छ । संसदको दुई तिहाई मतले यो सविधानलाई पनि फेर्न सक्छ । भएन भने जनमतसंग्रहमा जानसक्छ । राष्ट्रपति प्रणाली कि संसदीय प्रणाली भनि पहिला पनि बहस चलेकै हो । एउटा पार्टी विशेषले गर्दा यो सुधारिएको संसदीय व्यवस्था स्वीकार गर्न बाध्य पार्यो । राष्ट्रपतीय प्रणालीका लागि देशमा ठूलो बहस चलेको थियो ।


राष्ट्रपति प्रणाली धेरै ठाउँमा सफल भएको पनि प्रमाण छ । राष्ट्रपति प्रणाली आफैमा खराब होइन तर व्यक्ति कस्तो आउँछ त्यसमा भर पर्छ । हामीले पनि लामो समयदेखि संसदीय व्यवस्थाको अभ्यास गरेका हौं तर त्यो व्यवस्थाले के गर्यो त ? त्यसबाट केही प्राप्त हुनसकेन, संसदीय व्यवस्थाले देश उभो लाग्दैन भने कुरा पुष्टि भएको छ । सांसदहरु गणतीय खेलमा लागेर व्यवस्थालाई नै दुर्गन्धित बनायो । अहिले पनि एउटा सांसदले ६–६ करोड रुपियाँ माग गरेको छ । लगभग दिने निश्चित भइसक्यो ।

एउटा सांसदलाई किन चाहियो ६ करोड रुपियाँ । सरकारले विकास गरिरहेका छन्, विभिन्न निकाय मार्फत संसदको क्षेत्रमा काम भइ नै रहेको छ भने किन चाहियो सांसदलाई ६ लाख रुपियाँ । यी कारणले पनि संसदीय व्यवस्था राम्रो छैन, राष्ट्रपति प्रणालीमा जानुपर्छ भनि कुरा उठ्न थालेको छ ।

राष्ट्रपति प्रणाली निरकुँश हुन्छ भन्छन्, तर एउटा राष्ट्रपति इमान्दार पनि हुनसक्छ । जसरी भारतमा नरेन्द्र मोदी इमान्दार भएर आए । त्यसरी नेपालमा पनि राष्ट्रपतिको रुपमा कोही आउनसक्त आउनसक्छ, नेपाल बनाउनका लागि कुनै नयाँ मान्छेले आँट गर्न सक्छ ।

११५ वर्षको शाही शासन परिवर्तन हुनसक्छ भने यो किन परिवर्तन हुनसक्दैन । जनता सर्वोपरि हुन्छ, जनताले चाहियो भने आजैको आज परिवर्तन गर्नसक्छ । अहिले संसदीय व्यवस्थामा जनता दिगभ्रमित भएको छ, जुनदिन भ्रम टुट्छ अनि राष्ट्रपति प्रणालीका लागि आवाज उठ्छ । यो संसदीय व्यवस्थाले गर्दा सरकारले लिएको आर्थिक समृद्धिको उद्देश्य पुरा हुनसक्दैन । यो देशको जुन कार्यप्रणाली छ, जुन क्षमता छ त्यसले आर्थिक समृद्धि सम्भव नै छैन । अलिकति १९–२० होला तर सरकारले अहिले भनेको जस्तो समृद्धि सम्भव छैन ।

सरकारले वजेट ल्याएपनि खर्च गर्न सकिरहेको छैन कारण देशसँग क्षमता छैन । भएका वजेटलाई कसरी खर्च गर्ने त्यसको क्षमता नभएको कारण वार्षिक वजेट खर्च गर्न सकिरहेको छैन । नेपालमा भ्रष्टाचारको युग शुरु भयो जस्तो अनुभूति हुन्छ अनि विकास गरेर समृद्ध मुलुक बनाउने भनि कसरी सम्भव हुन्छ । जताततै भ्रष्टाचार भइरहेको छ । जति गयो त्यता त्यही कुरा सुन्न पाइन्छ ।

कही सडक भत्कियो, कही पुल भत्कियो भन्नि कुरा सुन्न पाइन्छ । दिनदिनै अख्तियारले मान्छे फेला पारेको पारैछ । मानौ भ्रष्टाचारको युग चलिरहेको छ । यसरी देश समृद्ध हुनसक्दैन ।

राष्ट्रपति प्रणाली लागु भयो भने कोही कोही इमान्दार व्यक्ति यसैबाट निस्किन्छन् । नयाँ पनि आउनसक्छ अथवा पुरानैमध्ये कोही सुध्रिएर आउनसक्छ । म इमान्दार बन्छु, अब अन्तिममा यो देशका लागि केही गरेर देखाउँछु भनेर लाग्नसक्छ । त्यही व्यक्ति संसदीय व्यवस्थामा काम गर्न सक्दैन भने उ राष्ट्रपति प्रणालीमा राम्रो गर्नसक्छ । किनभने संसदीय व्यवस्थामा पार्टीलाई बचाउनुपर्छ । नेताहरुलाई खुस पार्नुपर्छ । कसैलाई मन्त्री बनाउनुपर्छ भने कसैलाई के के पद बाँड्नुपर्छ यी समस्याहरुले गर्दा नेता भ्रष्ट हुँदैजान्छ तर राष्ट्रपति प्रणालीमा त्यस्तो हुँदैन ।

सरकारको दावी गलत
सरकारले अहिले आफ्नो तथ्यांक प्रस्तुत गर्दा आर्थिक वृद्धि तथा उत्पादनको क्षमतमा वृद्धि भएको छ भनि दावी गरिरहेको छ तर खास त्यस्तो केही भएको छैन जनतालाई झुक्याउने काम गरिरहेको छ । केही नकेही परिवर्तन भएको छ । उत्पादनमा पनि वृद्धि भएको पक्कै छ तर केमा उत्पादन भएको छ कसरी भएको छ त्यो पनि सरकारले भन्नुपर्छ । दुई तिहाईको स्थायी सरकार यो देशमा आएको छ । एक वर्षभन्दा बढी भइसकेको सरकार परिवर्तन भएको छैन त्यही कारणले अलिकति अलिकति केही भएको जस्तो देखिन्छ तर त्यसबाट जनतालाई कुनै लाभ भएको छैन ।

उत्पादन र आर्थिक वृद्धि तब हुन्छ जब जनताले रोजगार पाउँछन्, विदेश जाने अवस्था रहँदैन । हातमुख जोड्नका लागि अरुको मुख ताक्नुपर्दैन, आयातमा कमी हुन्छ अन मात्र आर्थिक वृद्धि र उत्पादनमा वृद्धि भएको मान्न सकिन्छ । उत्पादन वृद्धि भएको भन्छन् तर दिनदिनै आयातमा वृद्धि भइरहेको छ । नेपालले आफै उत्पादन गरेको वस्तु के छ भन्नुस् ।

एउटा पनि यस्तो वस्तु छैन जो नेपालमै उत्पादन भएको हो भनि गर्वले त्यसलाई उपभोग गरिरहेको होस् । सबै कुरा आयातित छन् अनि देशमा विकास भयो, उत्पादनमा वृद्धि भयो भनि कसरी भन्ने । यो त जनतालाई ढाँटेको जस्तो हो । राणा र पंचायतकालमा खुलेका उद्योगहरु बन्द भएका छन् तर गणतान्त्रिक सरकारले कुनै नयाँ उद्योग खुलेको छैन अनि देशमा आर्थिक समृद्धि भएको कसरी भयो भन्न सकिन्छ । सरकारको दावीले जनतामा झन भ्रम सृजना गरेको छ ।

(लेखक साहसँग सहारा टाइम्सका लागि गरिएको कुराकानी । लेखक साह हाडजोर्नी विशेषज्ञ हुनुहुन्छ)

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..