» » फोरम र नयाँ शक्तिको एकीकरणको प्रभाव (फरकमत)

–सुरेशकुमार यादव
नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकीकरण भएको ठिक एक वर्षपछि संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति नेपालबीच एकीकरण भएको छ । नेपालको राजनीतिकमा एमाले र माओवादी केन्द्रबीच भएको एकीकरणले जुन तरङ्ग ल्याएको थियो, त्यस्तै तरङ्ग यी दलको एकीकरणले ल्याएको छ ।


कम्युनिस्ट पृष्ठभूमीका दुवै दल एकीकरण हुँदा वर्तमान सरकारमाथि त्यसको के प्रभाव पर्छ वा पर्दैन त्यो अगामी दिनको राजनीतिक गतिविधिले पुष्टि गर्छ तर यसले देशको राजनीतिमा खासै असर नपार्ने देखिएको छ । तत्कालिन माओवादीमा सँगै काम गर्नुभएका डा.बाबुराम भट्टराई र उपेन्द्र यादवको मिलनले हिमाल र पहाडभन्दा मधेशमा विशेष प्रभाव पार्ने देखिन्छ । वैशाख २३ गते पार्टी एकीकरण घोषणा कार्यक्रममा तत्कालिन नयाँ शक्ति नेपालका अध्यक्ष डा.बाबुराम भट्टराईले समाजवादी पार्टी, नेपालको तराई मधेशमा विशेष केन्द्रीत रहने धारणा राख्नुभएको थियो ।


घोषणा कार्यक्रममा आफ्नो मन्तव्यलाई उहाँले मधेश केन्द्रीत राख्नुभएको थियो । त्यसले पनि बुझ्न गाह्रो छैन कि समाजवादी पार्टी, नेपाल देशैभरि सङ्गठन बनाएपनि त्यसको प्रभाव र गतिविधि तराई मधेश वरिपरी घुम्ने पक्का छ । किनभने यसअघिको भएको तीन तहको चुनावले यो कुराको पुष्टि गरेको छ । दुईटै दलले एउटै चुनाव चिन्हबाट निर्वाचनमा भाग लिएपनि हिमाल र पहाडमा खासै प्रभाव देखाउन सकेको छैन ।

 जेजति प्रभाव छ त्यो मधेशमा नै देखिएको छ । नयाँ शक्ति नेपालले गोरखामा मात्र आफ्नो प्रभाव देखाउन सक्यो जो डा.बाबुराम भट्टराईको गृह जिल्ला हो । त्यहाँबाट एउटा प्रतिनिधिसभा र दुईटा प्रदेशसभा सदस्य हात पारेको छ ।

फोरम नेपालको देशभरि संगठन भएपनि प्रदेश २ मै केन्द्रीत भएको छ । प्रतिनिधिसभादेखि लिएर प्रदेशसभासम्मका सदस्यहरु प्रदेश २ बाट आएका छन् । प्रदेश २ मा फोरम नेपालको नेतृत्वमा सरकार नै गठन भएको छ । अशोक राइको संघीय समाजवादी पार्टी नेपाललगायत अन्य विभिन्न दलसँग एकीकरण गरेपछि हिमाल, पहाडमा समेत आफ्नो संगठन विस्तार गर्यो तर त्यहाँबाट खासै उपलब्धी हात लागेन । अशोक राईको संघीय समाजवादी पार्टी, नेपाल जतिको संगठन नयाँ शक्तिको छैन ।

अशोक राईले पार्टी गठन गरको पहिलो चुनाव (दोस्रोसविधानसभा) मा नै देशभरिबाट पाँचवटा सीट ल्याउन सफल हुनु भएको थियो । चुनावका मत हेर्दा अशोक राईको तत्कालिन पार्टी संघीय समाजवादी पार्टी, नेपालभन्दा नयाँ शक्ति कमजोर देखिन्छ ।

त्यस हिसाबले समाजवादी पार्टी, नेपाल हिमाल, पहाडमा सोचे जस्तो राम्रो गर्न सक्ने सम्भावना निकै कम छ । समाजवादी पार्टी, नेपालको आधार क्षेत्र भनेकै मधेश हो । तर, मधेशमा समाजवादी पार्टीको मात्र होइन, सबै पार्टीको तिखो नजर रहेको छ । नेकपाले मधेशको मत तान्नका लागि आफ्नो सम्पूर्ण शक्ति लगाएको छ भने नेपाली काँग्रेसको पुरानो गठ मधेश नै रहेको छ । त्यस्तै राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल आफ्नो सम्पूर्ण ध्यान मधेश (प्रदेश २) मा नै दिएको छ ।

हालै पृथकतावादी आन्दोलन छाडेर मुलधारको राजनीतिमा आएको सिके राउत नतृत्वको जनमत पार्टी पनि मधेशबाहेक अरुतिर ध्यान नै दिएको छैन । अर्थात मधेशमा शक्ति केन्द्रीत हुने सम्भावना देखिएको छ । गत चुनावमा नयाँ शक्ति पार्टीलाई जति मत आएको थियो, त्यति मत समाजवादी पार्टी, नेपाललाई जाने छैन किनभने यसअघि पनि अशोक राईको पार्टी संघीय समाजवादी पार्टीले जति मत ल्याएको थियो त्यो मत एकीकरण भएपछि संघीय समाजवादी फोरम नेपाललाई प्राप्त हुन सकेन ।

त्यसको एउटै कारण हो मधेश । उपेन्द्र यादवले आफ्नो पार्टीलाई जति राष्ट्रिय पार्टी बनाए पनि त्यसका लागि जति प्रयास गरेपनि उहाँलाई मधेशको छाप हट्ने छैन । उहाँ मधेश आन्दोलन गरेर स्थापित भएका नेता हुनुहुन्छ ।

एक मधेश, एक स्वायत्त प्रदेशको माग राखेर आन्दोलन गरेर आउनु भएको नेता हुनुहुन्छ । यो कुरा त्यति छिट्टै हिमाल र पहाडले विर्सिने छैन । उपेन्द्र यादवले अहिले आफूलाई क्षेत्रीय नेता भन्दा राष्ट्रिय नेताको रुपमा पुरै ढालिसक्नु भएको छ । उहाँले समग्र मधेशको मात्र होइन, पुरै देशको कुरा गर्नुहुन्छ । उहाँले मधेशीको मात्र होइन, आदिवासी जनजाति, दलित र सिल्पीको कुरा त्यतिकै महत्वका साथ उठाउनु हुन्छ तर हिमाल र पहाडको जनताले मधेश आन्दोलनलाई विर्सेको छैन ।

२०६४ देखि हालसम्म जेजति मधेश आन्दोलन भयो, त्यसलाई हेर्ने हिमाल र पहाडको नजर फरक रहेको छ । उपेन्द्र यादवले बुझ्नु भएको मधेश आन्दोलन र हिमाल र पहाडका जनताले बुझेको मधेश आन्दोलनमा धेरै फरक छ । उपेन्द्र यादवले मधेश आन्दोलनलाई समग्र उत्पीडित समुदायको आन्दोलन हो भन्नुहुन्छ तर हिमाल र पहाडका जनताले त्यो मधेशीको आन्दोलन हो बुझेका छन् ।

र, त्यो ह्याङ्ग ओभर अहिले पनि छ । नयाँ शक्ति पार्टीसँग एकीकरण गरेपछि हिमाल र पहाडमा त्यो सन्देश गइसकेको छ कि नयाँ शक्ति पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले एउटा मधेश केन्द्रीत दल जो विगत १२ वर्षदेखि मधेशमा आन्दोलन गर्दै आएको छ । नाकाबन्दी पनि सोही दलको नेतृत्वमा भएको थियो ।

यो मनोविज्ञानलाई चिर्न नसकेसम्म उपेन्द्र यादवले हिमाल र पहाडमा जस्तो सुकै संगठन बनाए पनि निर्वाचनमा त्यो काम लाग्नेछैन । चाहे नयाँ शक्ति पार्टीसँग होस या अन्य कुनै दलसँग होस् मधेश आन्दोलनको बारे हिमाल र पहाडमा रहेका भ्रमलाई चिर्न नसकेसम्म निर्वाचनमा सीटसँख्या बढाउन मुस्किल छ ।
उपेन्द्र यादसँग रहेको यो समस्या जस्तै डा.बाबुराम भट्टराईसँग पनि छ । डा.बाबुराम भट्टराईले जति प्रयास गरेपनि मधेशमा आफ्नो प्रभाव देखाउन सक्नुभएन । उहाँले पटक पटक प्रयास गर्नुभएको थियो तर जनताले रुचाइ दिएनन् । उहाँले कहिले करिश्मा मानन्धरलाई मधेशमा डुलाउनु भयो भने कहिले आफै मधेश भ्रमण गर्नुभयो तर उहाँको संगठन १९ बाट २० हुन सकेन । जनकपुरमा त एकपटक कार्यक्रम गर्दा झडप नै भएको थियो । त्यसका साथै मधेशमा अलिकति प्रभाव भएको, अलिकति कुरा बिक्ने भएको रामरिझन यादव बाहेक अरु कोही नेता छैनन् । भएका नेताहरु पनि छाडेर निस्कि सकेका छन् ।

डा.बाबुराम भट्टराईको मधेशमा मात्र होइन, पहाडमा पनि राम्रो संगठन छैन । उहाँले एक डेढ महिना अघि हिमाली क्षेत्रमा एक महिने अभियान चलाउनु भएको थियो ।

त्यो अभियानमा स्वयं डा.बाबुराम भट्टराई उपस्थित भएको कार्यक्रम चलाउनुभयो । कोणसभाहरु गरेर भाषण दिनुभयो । तर जनतालाई आकर्षित गर्न सक्नु भएको थिएन । अभियानका लागि केन्द्रबाट गएका नेताहरु सहितका नेता तथा कार्यकर्ताहरु कोणसभामा उपस्थित हुँदा २०–२५ जना पुग्थ्यो ।

यो अभियानले डा.बाबुराम भट्टराईले पनि आफ्नो पार्टीको धरातल थाह पाउनुभयो । संगठनको अवस्थाा थाह पाएर सेफल्याण्डिङ्गका लागि फोरम नेपालसँग एकीकरण गर्नुभयो । डा.बाबुराम भट्टराईमा विद्धता, क्षमता, ज्ञानको अभाव छैन । उहाँले संगठन परिचालन गर्न सक्नुहुन्छ । एउटा विचारको प्रवाह गर्न सक्नुहुन्छ, दस्तावेज बनाउनसक्नु हुन्छ, राम्रो बोल्नसक्नु हुन्छ तर संगठन बनाउन सक्नुहुन्न । एउटै व्यक्तिमा हरेक क्षमता हुनसक्दैन । त्यो कुरा माओवादी पार्टीमा रहेर पुष्टि गर्नुभएको छ ।

फेरि उपेन्द्र यादव असल संगठनकर्ता हुनुहुन्छ । उहाँ संगठनका लागि रातदिन एक गरिदिनुहुन्छ । संगठनको अगाडि उहाँलाई दुनियाँमा अरु केही राम्रो लाग्दैन । संगठनबाहेक अरु केही सोच्नु हुन्न । त्यही बानीका कारण पार्टीका नेता तथा कार्यकर्ता उहाँको सामु जान्नुहुन्न ।

सामुमा जाने वित्तिकै संगठनको कुरा गरि हाल्नुहुन्छ । के के काम भयो सबै हिसाब किताब मागि हाल्नुहुन्छ । आफ्नो क्षेत्रमा जान निर्देशन दिइहाल्नुहुन्छ । त्यही भएर कतिपय नेता तथा कार्यकर्ताहरु उहाँको सामुनेमा पर्न चाहनु हुन्न । तर, डा.बाबुराम भट्टराई जतिको वैचारिक क्षमता, वौद्धिकता, अध्ययन उहाँमा छैन । हुन त उहाँले पनि विभिन्न किताव तथा दस्तावेजहरु आफै लेख्नु भएको छ । वैचारिक तथा सैद्धान्तिक वहसमा रुची पनि राख्नुहुन्छ तर डा.बाबुराम भट्टराईको हाराहारीमा हुनुहुन्न ।

त्यही भएर यी दुई व्यक्ति मिलेपछि पार्टीलाई व्यवस्थित र योजनावद्ध तरिकाबाट अगाडि बढाउन सक्नुहुन्छ । एउटा जहाजका दुई पाइलट भएपनि दुवैजनाको क्षमता फरक फरक छन् । र, ती फरक फरक क्षमतालाई उहाँहरुले एकै ठाउँमा समायोजन गरेपछि पक्कै पनि अन्य ठूला दलका लागि चुनौति बन्नसक्छ ।

पार्टी एकता घोषणाका दिन उहाँहरुले घोषणा गर्नुभएको छ कि देशको वैकल्पिक शक्ति मात्र होइन, एक नम्बरको शक्ति (पार्टी) बनाउने । यहाँसम्म कि देशकै नेतृत्व गर्ने घोषणा समेत उहाँले गर्नुभयो । अब डा.बाबुराम भट्टराईको दिमाग र उपेन्द्र यादवको मेहनतले यो पार्टी कहाँसम्म पुग्छ त्यो हेर्न अगामी चुनावसम्म पर्खनै पर्छ ।   

(लेखक यादव गोरखापत्रका पत्रकार हुनुहुन्छ)

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..