» » ७५ वर्षको उमेरका पनि पत्रकारितालाई नै निरन्तरता

१५ वर्षकै उमेरमा घरको जिम्मेवारी काँधमा आएपछि उहाँ भारतको कलकत्ता जानुभएको थियो । एक वर्षकै हुँदा उहाँका बुवा बलदेव झा बित्नुभयो । बुवा विते पनि उहाँको लालनपालनमा कुनै कमी आएन ।

उहाँ हुनुहुन्छ ७५ वर्षीय पत्रकार कुमरकान्त झा । उहाँका दाइ अमरकान्त झाले उहाँका लालन पालनमा कुनै कमी गर्नुभएको थिएन तर कुमरकान्त झा १५ वर्ष उमेरका हुँदा दाइ अमरकान्त झाको निधन हर्टएट्याकबाट भएको थियो ।

त्यसपछि त कुमरकान्त झा त टुहुरो जस्तो हुनुभयो । १५ वर्षकै उमेरमा उहाँमाथि घरको पुरै जिम्मेवारी आयो । नेपालमा काम गरेर घरपरिवार धान्न सकिदैन भन्दै उहाँ भारतको कलकत्ता लाग्नुभयो । पढ्ने, लेख्ने, खेल्ने उमेरका कुमरकान्त झा कलिलो हात लिएर भारतको भूमीमा श्रम गर्न बाध्य हुनुभयो । उहाँलाई पनि पढ्ने लेख्ने इच्छा नभएको होइन तर परिवार चलाउने कि पढ्ने अवस्था उहाँको सामु आएपछि उहाँ बाध्य भएर कलकत्तामा एउटा प्रेसमा काम गर्न थाल्नुभयो ।


सन् १९६३ मा कलकत्ता जानु भएका कुमरकान्त त्यहाँ प्रेसमा कम्पोजिटरको काम गर्न थाल्नुभयो । उहाँलाई शुरुमा कम्पोजिटर विषयमा केही ज्ञान थिएन । तर एकजना साथीको सहयोगमा त्यस्तै काम पाउनुभयो । त्यहाँ काम गर्दा गर्दै सिक्नुभयो ।

आज त्यही काम उहाँको लागि बरदान सावित भएको छ । प्रेसमै काम गरेको कारणले उहाँ पत्रकार हुनुभयो । जसलाई प्रेसम्यानको नामले होइन पत्रकारको नामले सारा नेपालीले सम्मान पूर्वक चिन्दछ । उहाँले २०४० देखि लगायत पत्रिकार प्रकाशन गर्दै आउनुभएको छ ।

यसरी हुनुभयो पत्रकार
पढाईमा अब्बल कुमरकान्त झा बाध्यताबश कलकत्तातिर लागेपनि उनी आफ्नो लगनशिलता र अनुशासित जीवनका कारण जीवनमा सफल हुनुभयो । कलकत्ताबाट विदामा घर आउनुभएका कुमरकान्त जनकपुरको हिमाली प्रेसमा काम गर्न थाल्नुभयो ।

त्यही काम गर्छु भनेर कुमरकान्त त्यहाँ जानुभएको होइन । यसो छुट्टीमा आएको बेला केही गरिहालौं भनेर सहयोगीको रुपमा हिमाली प्रेसमा काम शुरु गर्नुभएको थियो । उहाँको काम राम्रो देखेर प्रेसका मालिक श्याम गिरीले अब कलकत्ता जानुपर्दैन यी काम गरेर सहयोग गर्नुस्. भनेर आग्रह गरेपछि कुमरकान्तले २०२४ देखि सो हिमाली प्रेसमा काम गर्न थाल्नु भएको थियो ।


हिमाली प्रेसबाट नै जानकी साप्ताहिक पत्रिका प्रकाशन हुन्थ्यो । त्यो सप्ताहिकका सम्पादक चन्देश्वर गिरी हुनुहुन्थ्यो । पत्रिकामा समाचार कसरी लेख्ने त्यो ज्ञान नभएपनि पत्रिका कसरी प्रकाशन हुन्छ, त्यसलाई कम्पोज गरिन्छ त्यो ज्ञान उहाँलाई कलकत्ताबाट नै प्राप्त भएको थियो ।

कलकत्ताको प्रेसमा काम गर्दा नेपाली काँग्रेसका नेताहरु त्यहीबाट ‘नेपाल आह्वान’ पत्रिका प्रकाशन गर्नुहुन्थ्यो । त्यो पत्रिका कुमरकान्त झाले काम गर्ने प्रेसमा नै छापिन्थ्यो । त्यहाँ नेपाली कामदार भएको कारणले ती काँग्रेसी नेताहरुलाई पनि पत्रिका प्रकाशन गर्न सजिलो थियो । भाषा बुझ्ने भएर होला कुमरकान्तले कहिले काही कुनै त्रुटी देख्दा आफै मिलाई दिनुहुन्थ्यो त्यसले गर्दा नेपाली काँग्रेसका नेताहरुलाई सजिलो भएको थियो ।


कुमरकान्त झाले पत्रिका कसरी निस्किन्छ, कसरी छापिन्छ, त्यसमा के के हुन्छ ती आधारभूत ज्ञान कलकत्तामा नै प्राप्त गर्नुभएको थियो । र, त्यही ज्ञान उहाँलाई जनकपुरमा काम लाग्यो । हिमाली प्रेसबाट प्रकाशन हुने जानकी साप्ताहिक पनि विस्तारै विस्तारै हेर्न थाल्नुभएको थियो । त्यसले गर्दा त्यसका सम्पादक चन्देश्वर गिरीलाई पनि सजिलो भएको थियो । तुलसी गिरी प्रधानमन्त्री भएपछि प्रेस झन राम्रो हुँदै गयो । कामको चाप पनि बढ्यो ।


भोजराज घिमिरे गृहमन्त्री हुँदा श्याम गिरीले जानकी साप्ताहिकमा आफ्नो अनुसार समाचार छपाउन चाहनुहुन्थ्यो । तर त्यसका प्रकाशक रमेश घिमिरेले मानिरहनु भएको थिएन । श्यामकै प्रेसमा छापिने पत्रिकामा उहाँको अनुसार समाचार नछापिएपछि खटपट शुरु भएको थियो । त्यसपछि रमेशले आफ्नै प्रेस खोल्ने निधोमा पुग्नुभयो ।

कुमरकान्त झाको भरमा रमेशले प्रेस खेल्नुभयो । हिमाली प्रेसमा कुमरकान्तले ५ वर्ष काम गर्नुभएको थियो । तर प्रकाशक र प्रेस मालिक बीच कुरा नमिल्दा अर्को प्रेस नै खुल्यो ।


रमेश घिमिरेले प्रेस खोल्नु अघि कुमरकान्तसँग सल्लाह माग्नुभएको थियो । कुमरकान्तले पनि सहयोग गर्ने भनि प्रतिवद्ध भएपछि रमेशले जनकपुरमै प्रेस खोल्नुभयो । त्यही प्रेसबाट जानकी साप्ताहिक पनि प्रकाशन हुन थालेको थियो । कुमरकान्तलाई प्रेस र पत्रिका प्रकाशन गर्ने आइडिया पहिलादेखि नै भएको हुनाले रमेशलाई पनि सजिलो भएको थियो ।

प्रेस र पत्रिका कुमरकान्तकै भरमा सञ्चालन भइरहेको थियो । पछि अरु पत्रिकाहरु पनि त्यहाँबाट प्रकाशन हुन थालेको थियो । सबै काम कुमरकान्त नै गर्नुहुन्थ्यो । त्यहाँबाट चारवटा पत्रिका निस्किन्थ्यो । प्रेस राम्रै चलिरहेको थियो ।

१० वर्षपछि कुमरकान्तले त्यहाँबाट काम छाड्नुभयो । लक्ष्मण खरेलले कुमरकान्त झालाई भेटेर प्रेस सञ्चालन गर्ने सल्लाह गर्नुभयो । गुँरास प्रिन्टिङ प्रेस सञ्चालन भयो । त्यहीबाट आज दैनिक र जनक साप्ताहिक पनि प्रकाशन हुन्थ्यो । त्यहाँ पनि कुमरकान्तमाथि सम्पूर्ण जिम्मेवारी आइलाग्यो । जनकपुरमा १५ वर्ष काम गर्नुभएका कुमरकान्तसँग राम्रो अनुभव थियो ।

 प्रेस चलाउनुदेखि लिएर मार्केटको पनि राम्रो अनुभव थियो । अर्डर लिनुदेखि लिएर पत्रिका प्रकाशनसम्मको कामहरु मज्जाले उहाँ गर्नुहुन्थ्यो । थोरैदिनमा गुँरास प्रेस पनि राम्रैसँग चल्न थालेको थियो । प्रेसलाइनमा कुमरकान्त झा परिचित नाम भयो । त्यो क्षेत्रका सबैले उहाँलाई चिन्न थालेको थियो । काम ल्याउन उहाँलाई गाह्रो थिएन ।

आफ्नै पत्रिका
कलकत्तादेखि जनकपुरसम्म प्रेस र पत्रिकारको २५ वर्षको अनुभवले उहाँलाई पत्रकार बनाउन उक्सायो । जनकपुरबाट पत्रपत्रिका प्रकाशन भएपनि महोत्तरीबाट एउटा पनि पत्रिका प्रकाशन भइरहेको थिएन । एकदिन अञ्चलाधिश लालकाजी गुरुङ्ले कुमरकान्तलाई बोलाएर भन्नुभयो, कुमर तिमीलाई यो क्षेत्रमा राम्रो अनुभव छ, आफै एउटा प्रकाशन गर्दा कस्तो हुन्छ अलिअलि सहयोग म पनि गर्दिन्छु ।’

यो कुरा कुमरकान्तका लागि गाह्रो थिएन । प्रेसमा आफै हर्ताकर्ता भएका कारणले पत्रिका प्रकाशन गर्न उहाँलाई गाह्रो थिएन ।  पत्रिका कसरी प्रकाशन हुन्छ भनि थाह थियो तर कन्टेन्टको विषयमा खासै ज्ञान थिएन उहाँलाई । त्यतिबेला पत्रिका प्रकाशन गर्नका लागि ५० हजार धरौटी राख्नुपथ्र्यो । र, उहाँले आफ्नो जमिनका लालपूर्जा धरौटी राखेर युगपुकार साप्ताहिक पत्रिका दर्ता गराउनुभयो ।

रामस्वरुप वि.ए.लाई सम्पादकमा राख्नुभएको थियो । लाली गुँरासमै पत्रिका छापिन्थ्यो । राम्र्रै चलिरहेको थियो । पछि २०४३ सालमा रामस्वरुपले पत्रिका छाडेपछि कुमरकान्त आफै सम्पादक बन्नुभयो । उहाँलाई सम्पादकीय र केही लेखहरुमा समस्या हुन्थ्यो ।

त्यसमा त्यतिबेला राससमा काम गर्ने लिला सिंहले सहयोग गर्नुहुन्थ्यो । लिलाको सहयोगमा कुमरकान्त पत्रिकालाई निरन्तरता दिनुभयो । पछि लिलाले पनि सहयोग गर्न छाडेपछि आफै सबै थोक गर्न थाल्नुभयो । त्यतिबेलासम्म उहाँ लाली गुँरासमा काम गर्दै हुनुहुन्थ्यो ।

कुमरकान्त लिलाकै प्रेरणाले पत्रकारितामा आउनुभएको थियो ।

 उहाँलाई प्रेसमा काम गर्न नै ठिक थियो तर लिलाले पत्रिकासम्म यतिका ज्ञान छ भने आफ्नै पत्रिका निकाल्ने आफू नै मालिक बन्ने उक्साउनु भएको थियो । जनकपुरमा यतिसम्मको अवस्था भएको थियो कि कुमरकान्त जुनजुन प्रेसमा जानुहुन्थ्यो । पत्रिकाहरु त्यही प्रेसमा छाप्नका लागि जान्थ्यो ।

 त्यसको कारण थियो प्रकाशकहरुलाई त्यसको लागि खासै मेहनत गर्नुपरेको थिएन । त्यसले गर्दा उहाँलाई आफ्नो पत्रिका प्रकशन गर्नमा सजिलो बनाएको थियो ।

पारिवारीक पत्रिका
कुमरकान्त युगपुकार सप्ताहिकको सम्पादक हुनुहुन्छ भने छोरा सह–सम्पादक । बुहारीले कम्प्युटरमा डिजाइन गर्नुहुन्छ । ७५ वर्षका कुमरकान्त अहिले पनि आफ्नो साप्ताहिका लागि नियमित रिर्पोटिङ्ग गर्नुहुन्छ । रिर्पोटिङ् गरेर ल्याउनु भएको कुरा बुहारीलाई दिनुहुन्छ ।

 र, बुहारीले पत्रिकामा राख्नुहुन्छ । छोरा प्लसटु का शिक्षक पनि हुनुहुन्छ । कुमरकान्त अहिले पनि नियमित चारघण्टा अध्ययन गर्नुहुन्छ ।

सधै विहान २ वजे उठ्नुहुन्छ र पाँचवजेसम्म पढ्नुहुन्छ । दिनमा पढ्न नसकेका सबै पत्रिका पढ्नुहुन्छ । पाँच वजेदेखि सातवजेसम्म रेडियोमा समाचार सुनुहुन्छ । अनि सात वजे चिया खाएर बारीमा नौ वजेसम्म काम गर्नुहुन्छ । त्यसपछि नुहाई धुवाई गरी खाना खाएर दुईघण्टा सुत्नुहुन्छ ।

त्यसपछि २ वजे उठेर नेपाल पत्रकार महासंघको कार्यालयतिर लाग्नुहुन्छ । अहिले पनि उहाँ साइकल नै चढ्नुहुन्छ । साइकल चढेर नै रिर्पोटिङमा जानुहुन्छ । महासंघमा पुगेर साथी भाइसँग सरसल्लाह गर्ने । कार्यक्रमको बारेमा बुझ्ने, छलफल गर्ने पत्रपत्रिका पढ्ने गर्नुहुन्छ । कही प्रोग्राम वा कुनै भेटघाट छ भने महासंघबाट त्यहाँ जाने नभए महासंघमै बसिरहनु हुन्छ ।


पाँचवजे वृधाआश्रम जलेश्वर जानुहुन्छ । त्यहाँ उहाँले आफ्ना उमेरका साथीहरुसँग बसेर रमाइलो गर्नुहुन्छ । त्यहाँ बौद्धिक छलफल हुन्छ । समाजको बारेमा बहस हुन्छ । राजनीतिक गफगाफ हुन्छ । अनि त्यहाँबाट सातवजे घर फर्किनुहुन्छ । घरफर्केपछि नौ वजेसम्म दिनभरिको समाचार सुन्नुहुन्छ अनि खाना खाएर राती १० वजे सुत्नुहुन्छ । यसरी नै उहाँको दिनचार्या चलिरहेको छ ।

आम्दानीको स्रोत
कुमरकान्तसँग खासै खेतीपाती छैन । भएका खेतीपाती बटैया लगाइएको छ । बटिदारले जे दिन्छन् त्यही लिएर चित्त बुझाउँछन् । चार कठ्ठामा फुलवारी छन् । त्यसमा विभिन्न बोटहरु लगाउनु भएको छ । त्यसलाई बेलाबेलामा कुमरकान्तले स्यहारसुसार गर्नुहुन्छ ।

खेतीपातीबात यसो खानलाई गुजारा चले पनि धान्न गाह्रो छ उहाँलाई । छोरा शिक्षक हुनुहुन्छ । उहाँले नै घर व्यवहार चलाउनुहुन्छ । कहिले काही पत्रिकाबाट पनि आम्दानी हुन्छ । उहाँका बुहारी पत्रिकामै नै पुरा समय दिनुहुन्छ । छोराछोरीलाई पनि राम्रो शिक्षा दिनुभएको छ उहाँले ममता कुमारी झा आइएडसम्म पढ्नुभएको छ भने अर्का छोरी अर्चना झा एमएसम्म पढेर पोखरामा शिक्षिका हुनुहुन्छ । अर्की छोरी चेतना झा पनि बीएड अध्ययन गरिरहनु भएको छ ।

छोरा विवेकानन्द झा नेपालमा एमएड गरेर प्लस टुमा पढाउनु हुन्छ र युगपुकारको सह सम्पादक पनि हुनुहुन्छ । शुरुमा रेडियो नेपालमा काम गर्नुहुन्थ्यो पछि उहाँ शिक्षक भएपछि रेडियोको जागिर छाड्नुभयो ।
जनकपुर चुरोट कारखाना सञ्चालन हुँदा पत्रिका सञ्चालन गर्न त्यति गाह्रो थिएन कुमरकान्त झालाई । तर कारखाना बन्द भएपछि निकै गाह्रो भयो ।

कारखाना बन्द भएपछि उहाँले ३६ हजारको सिसोको रुख बेचेर पत्रिकामा लगानी गर्नुभयो र दुईवर्षसम्म पत्रिका प्रकाशन गर्नुभयो । पछि सरकारले सुविधा दिन थालेपछि केही सहज भयो र अहिलेसम्म निरन्तर पत्रिका प्रकाशन भइरहेको छ । त्यतिबेला कारखानाले एउटा विज्ञापनको ६ रुपियाँ दिन्थ्यो र पत्रिका प्रकाशन गर्न २५ रुपियाँ मात्र खर्च हुन्थ्यो । त्यसैले त्यतिबेला कुमरकान्तलाई पैसाको अभाव थिएन ।

पैसा फालाफाल हुन्थ्यो । तर अहिले गाह्रो छ । पत्रिका निकाल्न गाह्रो मात्र होइन निकै गाह्रो छ ।


एक त पत्रिका किनेर पढ्दैन । अलि अलि विक्रि भएपनि त्यसले खासै केही हुँदैन । विज्ञान त बाघको मुखबाट निवाला (खाना) खोसे जस्तै हो । एउटा विज्ञापन कसैले दियो भने पाँच महिनासम्म कुदाउँछन् । त्यो पनि कसैले दिन्छ कसैले दिँदैन । विज्ञापनमा यति प्रतिस्पर्धा हुन्छ कि विज्ञापनदाताहरु पत्रकारलाई देखेपछि भाग्छ कि विज्ञापन नमागि हालोस् । यद्यपी सरकारले दिने गरेको लोकल्याणकारी विज्ञापन वापतको रकम र अलि अलि विक्रिबाट र अलिअलि आउने विज्ञापनबाट जसोतसो पत्रिका सञ्चालन भइरहेको कुमरकान्त बताउनुहुन्छ ।

राजनीति
कुमरकान्त कुनै राजनीतिक दलमा आवद्ध हुनुहुन्न तर उहाँलाई नेपाली काँग्रेसले आफ्नो पार्टीमा ल्याउन कम्ती प्रयास नगरेको होइन । कम्युनिस्ट पार्टीका सितानन्दन राय यादवले पनि उहाँलाई पार्टीमा आउन निकै दवाव दिनुभएको थियो तर राससका लिलाले पार्टीमा नजान सल्लाह दिनुभएको थियो ।

पार्टीमा जानुभयो भने दुईचार वर्षका लागि कुनै पदमा वा नियुक्तिमा जानुहुन्छ तर तपाई पत्रकारितामा रहनुभयो भने सधैका लागि रहनुहुन्छ भनि लिलाले भनेपछि कुमरकान्त पार्टीमा जानुभएको थिएन ।

यद्यपी महोत्तरी जिल्लाका काँग्रेस जिल्ला समितिले कुमरकान्तलाई सक्रिय सदस्यता दिनुपर्छ भनि निर्णय नै गरेको थियो । उहाँले पत्रकारितामार्फत नै राजनीतिक दल तथा आन्दोलनलाई सहयोग गरेको कारण हरेक पार्टीले उहाँलाई आआफ्नो पार्टीमा आउन आग्रह गरिरहेको थियो ।

गणेश नेपाली, तरुण मिश्रालगायतका साथीको दवावमा काँग्रेस पार्टीको सदस्यता लिएपनि उहाँ कहिले पनि पार्टीमा सक्रिय हुनुभएन । तर आन्दोलनहरुमा पत्रकारितामार्फत जहिले पनि सक्रिय सहयोग भइरहेको हुन्छ ।

विवाह
कुमरकान्तको विवाह २०२६ सालमा भएको थियो । उहाँले विवाह गरेपछि कलकत्ता फर्केर जानुभएन । उहाँको विहे भारतमा भएको हो । उहाँका श्रीमती पनि सात कक्षासम्म पढ्नुभएको छ । उहाँ आफै १० कक्षासम्म अध्ययन गरेका छन् । १० कक्षामा अध्ययन गरिरहँदा उहाँको दाईको निधन भएको थियो । दाइको निधनले उहाँमाथि परिवारको पुरै जिम्मेवारी आएको थियो ।

र कमाउनका लागि कलकत्ता जानुभएको थियो । आफू पढ्न नपाएपनि छोराछोरीको शिक्षा दिक्षामा कुनै कमी राख्नुभएन । छोरीलाई पनि पढाउन थालेपछि गाउँका मान्छेले कुमरकान्तलाई भन्थे, छोरीलाई पनि पढाउने हो र ।’ तर उहाँले कुनै कुराको प्रवाह नगरि छोरीलाई पनि पढाउन थाल्नुभयो ।

 छोरीले शिक्षा लिने गाउँमै पहिलो भएको थियो । त्यसअघि यसरी कोही पनि पढेका थिएनन् । उहाँको छोरीको पढाई देखेर अरु अरुले पनि पढाउन शुरु गरेको थियो । उहाँका तीन छोरी र एउटा छोरा हुनुहुन्छ ।

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..