काठमाडौ वैशाख २६ गते । नव गठित समाजवादी पार्टी, नेपालले पार्टी एकताको सन्देश दिनका लागि सन्देश अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । देशको विभिन्न आठ ठाउँमा हुने सो अभियानलाई समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई र कार्यसमिति अध्यक्ष उपेन्द्र यादवले सम्बोधन गर्ने बताइएको छ ।
पार्टी एकीकरणपछि एकताको सन्देश प्रवाह गर्न केन्द्रीय स्तरबाट पहिलो पटक आयोजना हुन लागेको कार्यक्रम जेष्ठ ११ गते पूर्वको विराटनगरबाट शुरु भएर पश्चिमको धनगढी हुँदै जेष्ठ २५ गते पोखरामा समापन हुने पार्टीका सचिव प्रकाश अधिकारीले बताए ।
कार्यक्रम तालिका अनुसार आगामी जेष्ठ ११ गते विराटनगर, १२ गते जनकपुर, १३ गते विरगंज, १७ गते भैरहवा, १८ गते नेपालगंज, १९ गते सुर्खेत, २१ गते धनगढी र २५ गते पोखरामा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
सो कार्यक्रममा नगरपालिका एवं गाउपालिकाका अध्यक्षहरु, प्रदेश समितिका पदाधिकारीहरु, प्रदेशस्थित भ्रातृ संगठनका पदाधिकारी, जिल्ला समन्वय समितिका संयोजक एवं इन्चार्ज तथा पार्टी केन्द्रीय सदस्यको सहभागिता रहने बताइएको छ ।
वैशाख २३ गते संघीय समाजवादी फोरम, नेपाल र नयाँ शक्ति पार्टी, नेपालबीच पार्टी एकीकरण भई समाजवादी पार्टी नेपालले राष्ट्रिय जनता पार्टी (राजपा) सहित विचार र स मिल्ने दल एवं संगठनहरुलाई एकताको लागि अपील समेत गरेको छ । त्यसका लागि पार्टीका उपाध्यक्ष राजेन्द्र श्रेष्ठको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ । वार्ता समितिमा सदस्यमा पर्शुराम खापुगं, नवराज सुवेदी र रामसहाय यादव रहेका छन् ।
यसका साथै दुवै पार्टीको केन्द्रदेखि स्थानीय वडासम्मै एकीकरण प्रक्रिया टुंगो लगाउन पाँचदिन भित्र समायोजन निर्देशिक तयार गर्न समिति गठन गरेको छ । समितिमा हेमराज राई, रेणु यादव, गंगा श्रेष्ठ, रामसहाय यादव र डम्बर खतिवडा रहेका छन् ।
त्यस्तै कार्यालय व्यवस्थापनको जिम्मेवारी उपाध्यक्ष हिसिला यमी र सचिव प्रकाश अधिकारीलाई दिएको छ । त्यसैगरि, सञ्चार सम्पर्कका लािग प्रशासन्त सिंहको संयोजकत्वमा विश्वदीप पाण्डे, महेश चौरसिया, पूर्णबहादुर वस्नेतलाई जिम्मेवारी तोकेको छ ।
No comments: