काठमाडौं वैशाख १५ गते । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले पार्टी एकीकरणको विषयमा संघीय समाजवादी फोरम नेपालमाथि शंका गरेको छ ।
पाँच दिनसम्म चलेको राजपा नेपालको पदाधिकारी बैठकमा बोल्ने अधिकाँश नेताहरुले एकीकरणको विषयमा फोरम नेपालमाथि शंका गरेको बताइएको छ ।
बैठकमा पार्टीको महाधिवेशन, देशको समसामयिक राजनीतिक अवस्था, प्रदेश तथा स्थानीय सरकारको समीक्षा, पार्टी एकीकरणलगायतका विषयमा छलफल भएको छ ।
फोरम नेपालले राजपा नेपालसँग एकीकरण गर्न नचाहेको बरु राजनीतिक ‘स्टन्ट’ को रुपमा प्रयोग गरेको उहाँहरुको भनाई थियो ।
बैठकमा पार्टीका महासचिव रामलाल सुतियारले त फोरम नेपालसँग एकीकरण गर्नै नहुने धारणा राख्नु भएको थियो । उहाँले फोरम नेपाल ‘मधेशवाद’ लाई नमानेको दाबी गर्दै त्यस्तो पार्टीसँग कसरी एकीकरण हुन्छ हुन सक्छ भन्दै प्रश्न गर्नुभएको थियो ।
यस्तै तमलोपा पृष्ठभूमिका नेताहरुले पनि फोरम नेपालसँगको एकीकरणप्रति आशंका व्यक्त गरेका थिए । फोरमले राजपा नेपाललाई सक्याउनका लागि एकीकरणको नाटक रचेको भन्दै सो पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग सचेत रहनु पर्ने उहाँहरुको धारणा थियो ।
राजपा सहमहासचिव अनिल सिंहले फोरम नेपालसँग एकीकरण गर्न नहुने धारणा राखेका थिए । आफूलाई मधेशवादी दल नभन्ने तथा सत्ता पनि नछाड्ने दलसँग एकीकरण सम्भव नरहेको र यसमा पुनः विचार गर्न उनले नेतृत्वको ध्यानाकर्षण गराउनु भएको थियो ।
१३१ जना पदाधिकारीमध्ये एक सयजनाले फोरम नेपाल र राजपा नेपालको एकीकरणप्रति आशंका व्यक्त गरेका गरेको बैठक स्रोतले जनाएको छ । १० प्रतिशतले भने एकीकरण हुन नहुने धारणा राखेका थिए ।
छजना अध्यक्षमण्डलमध्ये महेन्द्रराय यादवले एकीकरणको पक्षमा खुलेर कुरा राखेका थिए भने अन्य नेताहरुले घुमाउरो तरिकाले फोरम नेपालप्रति आशंका व्यक्त गर्नुभएको थियो ।
बोल्ने क्रममा अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले फोरम नेपालसँग एकीकरणको विषयमा चिठी अदान प्रदान मात्र भएको र त्यसबाहेक अरु केही नभएको धारणा राख्नु भएको थियो । यद्यपि, फोरम नेपालसँगै नयाँ शक्तिसँग एकीकरणका लागि अनौपचारिक छलफल भने भएको उनले बैठकलाई जानकारी गराउनु भएको थियो ।
त्यसपछि अन्य पदाधिकारीहरुले पनि फोरम नेपालसँग एकीकरण नभएपनि नयाँ शक्तिसँग एकीकरण हुनुपर्ने कुरामा जोड दिनु भएको थियो । पार्टीका प्रवक्ता सन्तोष मेहताले आफ्नो धारणा राख्ने क्रममा फोरम नेपाल र नयाँ शक्तिसँग एकीकरण गर्नुपर्ने जोड दिनु भएको थियो ।
No comments: