» » मुख्य राउतले भन्नुभयो, केन्द्र सरकार र प्रदेश सरकारबीच दुरी बढेको छैन

प्रंदेश सरकारले पीडितको घर बनाई दिने
काठमाडौं, चैत २० गते । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बारा र पर्सामा हावाहुरीका कारण निधन भएका पीडित परिवारका लागि प्रदेश सरकारले घर निर्माण गर्न सहयोग गर्ने घोषणा गर्नुभएको छ ।

बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा उहाँले हावाहुरीका कारण घरबारविहीन भएका सबै परिवारको लागि घर निर्माण गर्ने बताउनु भएको छ । उहाँ भन्नुभयो, ‘प्रदेश सरकारले उहाँहरुको लागि सामूहिक पूनर्वासको लागि प्रबन्ध गर्ने सोच बनाएको छ । आन्तरिक मामिला तथा योजना मन्त्रीको संयोजकत्वमा बनेको पाँच सदस्यी समितिले पनि त्यही कुरा सिफारिश गरेको छ । हामी सहयोग गर्न तयार छौं ।’

उहाँले सिँगो पीडित परिवारलाई प्रदेश सरकारको साथ र सहयोग रहेको विश्वास दिलाउनुभयो । उहाँले भन्नुभयो, ‘प्रदेश सरकार पीडितहरुको दुःखमा साथमै छ । हामी घरदैलो गरिरहेका छौं । उहाँहरुको पीडा कम गर्न लागिरहेका छौं ।’ प्रदेश सरकार पीडितहरुको दुःख कम गर्नको लागि जिम्मेवार ढंगले लागिरहेको उहाँले स्पष्ट पार्नुभयो ।

मुख्यमन्त्री राउतले घटना भएकै दिन स्थानीय नेता तथा कार्यकर्ता, गाउँपालिका प्रमुख, प्रदेश सरकार घटनास्थल पुगेको पनि जनाउनुभयो ।
उहाँले भन्नुभयो, ‘विहान ७ बजे नै प्रदेश सरकारको मन्त्रिपरिषद बैठक बसेर उद्धार तथा राहतमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएको थियो । र, घाईतेहरुको सम्पूर्ण उपचार निःशुल्क गर्ने निर्णय गरेको थियो ।’ घाईतेहरुको उपचारको सम्पूर्ण खर्च प्रदेश सरकारले व्यहोर्ने उहाँले बताउनुभयो ।

मुख्यमन्त्री राउतले भन्नुभयो, ‘आजमात्रै पनि मेरो नेश्नल मेडिकल कलेजका सञ्चालकसँग कुराकानी भएको थियो, उपचारमा ३५ लाख लागे पनि त्यो दिन प्रदेश सरकार तयार छ भनेर मैले भनेको छु, पीडितलाई दुःख हुनुहुँदैन् । यो कुरामा हामी धेरै सचेत छौं ।’

घाईतेहरुको उपचारमा कुनै कमी हुनुहुँदैन भन्ने कुरामा प्रदेश सरकार सचेत र गम्भिर रहेको उहाँले बताउनुभयो ।

राउतले घट्नास्थलको दृश्य दर्दनाक रहेको बताउँदै त्यहाँ पुग्ने जो कोहीको पनि आँखा रसाउने बताउनुभयो । उहाँले भन्नुभयो, ‘थुप्रै सहयोगी हातहरु हामीले त्यहाँ पुगेको देखेका छौं । सबै पीडितसामू समान ढंगले राहत पुगोस भन्ने हाम्रो प्रयत्न छ । सकेसम्म राहत एकद्धार प्रणालीमा वितरण गर्नुपर्छ भनेर नै हामी लागिरहेका छौं ।’

सो घटनामा संघीय सरकारले खासगरी प्रधानमन्त्री केपी शर्मा ओली, सुरक्षा निकायका प्रमुखहरु, मन्त्रीहरु, मुख्य सचिवलगायतका जिम्मेवार निकायका व्यक्तिहरुले विशेष चासो देखाएको र उद्धार र राहतमा कुनै कमी आउन नदिनेगरि काम गरेको उहाँले सुनाउनुभयो ।

प्रधानमन्त्री ओली र उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले घाईतेहरुको उद्धार र स्वास्थ्योपचारमा कुनै कमी नहोस भनेर आफूलाई फोन गरेको पनि मुख्यमन्त्री राउतले स्मरण गराउनुभयो ।

उहाँले भन्नुभयो, ‘संघीय सरकार हर प्रकारको सहयोग गर्न तयार छ भनेर प्रधानमन्त्रीले भन्नुभयो । घाईतेहरुको उपचारको लागि काठमाडौं ल्याउनुपरे जहाज तयारी अवस्थामा छ भन्नुभयो ।’

उहाँले पीडितहरुको लागि राहत कोष स्थापना भइसकेको र कोषमा देश तथा विदेशबाट ठूलो सहयोग भइरहेको पनि बताउनुभयो । पीडित हुनेमा अधिकाँश गरिब, मुस्लिम तथा दलितहरु रहेका पनि उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘आर्थिक रुपमा बढी विपन्न भएकाहरु नै प्रभावित भएका छन् । उहाँहरुको लागि सामूहिक घर बनाउने हाम्रो योजना छ । प्रहरी तथा सेनासँग आधिकारिक डाटा लिएर हामी सोहीअनुसार सहयोग गर्छौं ।’

राहत तथा उद्धारको नाममा रमिता हेर्नेहरुको बढी भिड लाग्ने गरेको छ नि भनेर सोधिएको प्रश्नमा मुख्यमन्त्री राउतले ठाडै अस्विकार गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘त्यहाँ कोहीपनि रमिता हेर्न गएका छैनन् । मैले उहाँहरु सबैलाई सहयोग गर्न गएको पाएको छु । सहयोगी हातहरु नै त्यहाँ पुग्नुभएको छ । बरु, हामीले दृष्टिकोण बदल्न जरुरी छ, उहाँहरुको प्रशंसा गर्नुपर्छ । १८ गते विहान घटनास्थल पुग्दा मैल धेरै भोलेनटियर्सहरु त्यहाँ पुगेको देखें । खाद्यान्न, औषधीलगायतका सामाग्रीहरु लिएर जानुभएको थियो ।’

पीडित परिवारलाई राहत जाने काम भइरहेको र अहिले टोल टोलमा टेन्ट लगाईएको पनि उहाँले स्पष्ट पार्नुभयो । राहतको कुनै समस्या नरहेको उहाँको दावी छ ।
फरक प्रसङगमा उहाँले संघीय सरकार र प्रदेश सरकारबीच दुरी नबढेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘व्यवस्था परिवर्तन भएको छ, अब हामीले सोचपनि परिवर्तन गर्नुपर्छ । हिजोको एकात्मक शासन जस्तो व्यवहार देखाउनु हुँदैन् ।’

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..