» » ओली सरकारको एक वर्षः मधेशले के पायो, के पायो के गुमायो ?

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको एक वर्ष पुगेको छ । नेकपा निर्माणाधिन अवस्थामा रहेकै अवस्थामा फागुन ३ गते ओली नेतृत्वमा सरकार गठन भयो । यो समाचार तयार पर्दासम्म सरकार गठन भएको समय एकवर्ष भन्दा थोरै बढी भएको छ ।

यस अवधिमा सरकारले के के गर्यो भन्ने बारेमा सरकारीस्तरदेखि गैर सरकारी तथा सञ्चारमध्यमहरुले त्यसको विश्लेषण गरिरहेको छ । यद्यपी ओली नेतृत्वको सरकारले यो अवधिलाई उपलब्धी मुलक भनिरहेको छ ।


ओली प्रधानमन्त्रीको रुपमा सफल भयो कि भएन त्यो विश्लेषण हुँदै गर्छन् तर उहाँ मधेशको राजनीतिमा सफल हुनुभयो कि असफल त्यसको बारेमा विश्लेषण हुनु पनि आवश्यक छ । तेस्रो मधेश आन्दोलन शुरु भए लगतै लगातार चार वर्षसम्म मधेशमा पाइला टेक्न नसक्नु भएका प्रधामन्त्री ओली दोस्रो पटक प्रधानमन्त्री भएपछि हालसम्म चारपटक मधेश छिरिसक्नु भएको छ । जब कि मधेशमा उहाँलाई निषेध गरिएको थियो । तर आज परस्थिति यस्तो भएको कि त्यही दलका नेताहरु मधेशमा प्रधानमन्त्री ओलीलाई स्वागत गर्नुहुन्छ, यो उहाँका लागि ठूलो सफलता हो । 

जे कारणले प्रधानमन्त्री ओलीलाई मधेशमा निषेध गरिएको थियो, त्यो त पुरा भएन तर उहाँका लागि मधेश खुल्ला भयो । सविधान संशोधनका लागि आन्दोलन गरेको मधेशवादी दलले ओलीकै कारणले सफलता हात पार्न सकेन भन्ने कुरा राजपा नेपालका महासचिव मनिष सुमन बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, मधेशको यो एउटा विडम्बना हो कि मधेशले आफ्ना पीडा चाँडै विर्सन्छ ।’

सविधान संशोधनको विपक्षमा ओली उभिएको कारण मधशेमा उहाँलाई निषेध गरिएको थियो । तर सविधान संशोधनको कुरा जस्ताको त्यस्तै छ, यता ओलीका लागि मधेश खुल्ला भयो ।


प्रधानमन्त्री ओली मधेशको नजिक हुँदै गइरहनु भएको छ भने मधेशवादी दल र मधेशका दुरी बढि रहेको छ । लामो समयसम्म आन्दोलन गर्दा पनि मधेशको माग पुरा हुन सकेन । सय भन्दा बढीले आफ्नो ज्यान दिए, हजारौ मधेशी घाइते भए तर मधेशको माग पुरा भएको छैन तर मधेशवादी दल सरकारमा सहभागी भएको भन्दै मधेशी जनता आक्रोशित भएको छ ।

फोरम नेपालले प्रदेश २ मा आफ्नै नेतृत्वमा सरकारमा सहभागी भएको छ भने त्यसलाई राजपा नेपालले सहयोग गरेको छ । यता, संघीय सरकारमा फोरम नेपाल सहभागी भएको छ भने राजपा नेपालले बाहिरबाट समर्थन गरेको छ ।


तर सोचनीय कुरा के भने ओली नेतृत्वको नेकपाले प्रदेश २ सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । यता, फोरम र राजपा संघमा सरकारलाई समर्थन दिइरहेको कारणले मधेशी जनतामा आक्रोश बढेको छ । मधेशमा ओली जाँदा हजारौंको उपस्थिति हुन्छ तर त्यही मधेशवादी दलले कार्यक्रम गर्दा न्युनमात्रामा मधेशीको उपस्थिति हुन्छ । त्यसको पछिल्लो उदाहरण प्रधानमन्त्री ओली र नेकपाका अध्यक्ष प्रचण्ड सहभागी भएको जनकपुर र रौतहटको कार्यक्रमलाई लिन सकिन्छ ।

ओलीको मधेश प्रवेश 
माघ १९ गते सिरहाका तत्कालिन एमाले नेता हेमनारायण यादवको स्मृतिसभामा भाग लिन सिरहा पुग्नुभएको थियो । सिरहा सदरमुकाममै आयोजना भएको कार्यक्रममा भाग लिन जाँदा काँग्रेसले त्यसको विरोध गरेपनि मधेशवादी दलले त्यसमा कुनै प्रतिकृया देखाएन । मधेश आन्दोलनको समयमा सिरहा एमालेले ओली उपस्थित हुने गरी तीनपटक कार्यक्रम बनाएको थियो तर मधेशवादी दलको विरोधका कारण उहाँ उपस्थित हुनसक्नु भएको थिएन ।


तर यसपटक उनी निर्धक्क रुपमा त्यहाँ गएर भाषण ठोकेर फर्किनुभयो ।
त्यसअघि उहाँ भदौं २ गते प्रदेश २ को प्रदेशसभामा गएर सम्बोधन नै गर्नुभयो । प्रदेशसभामा सम्बोधन गर्दा राजपा नेपालका केही सांसदले विरोध गरेपनि फोरम नेपाल र राजपा नेपालले औपचारिक रुपमा स्वागत नै गरेका थिए ।


प्रदेशसभामा सम्बोधन गर्दा उहाँले सविधान संशोधन गर्ने प्रतिवद्धता जनाउँदा दुवै दलका नेताहरु खुशी थिए । फोरम नेपालबाट मुख्यमन्त्री बनेका लालबाबु राउतले सञ्चारकर्मीलाई प्रतिकृया दिँदै त्यतिबेला भन्नुभएको थियो, ‘प्रधानमन्त्री ओलीले सविधान संशोधन गर्ने कुरामा आफू विश्वस्त छु ।’


त्यो दिन रामवृक्ष यादवको स्मृतिसभामा भाग लिन उनलाई बरमझिया जाने कार्यक्रम थियो । त्यही मौकामा उहाँ प्रदेशसभामा सम्बोधन गर्नुभयो । प्रदेशसभामा सम्बोधन गरेर उनी स्मृतिसभामा भाग लिन गएका थिएन । कतै उहाँको विरोध भएन । बरु हजारौंको सँख्यामा मधेशी जनता उपस्थित भएर उहाँको स्वागत गरेको थियो । त्यसअघि उहाँ सिरहाको कल्याणपुरमा गएर डोम समुदायका दुईजना बालबालिकाको अभिभावकत्व ग्रहण गरिसक्नु भएको थियो ।


बैशाख ५ गते सिरहाको कल्याणपुर नगरपालिका ११ स्थित डोम समुदायका बालबालिकाको अभिभावकत्व ग्रहण गर्नुभएको थियो । सो कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउत स्वयं उपस्थित हुनुभएको थियो । मधेशी जनताको बाक्लो उपस्थिति थियो ।

त्यो दिन न फोरम नेपालले विरोध जनायो न राजपा नेपालले नै । बरु उल्टै मधेशी जनताको उपस्थितिमा ती दलका नेताहरुलाई दनक दिनुभएको थियो ।


‘सबैले मलाई मधेश विरोधी भन्छन् तर मधेशको जिल्लाबाट सबैभन्दा बढी मत मैले नै ल्याएको छु । जनताले साथ दिए कसैले विरोध गरेर पनि केही हुँदैन’ उहाँले भन्नुभएको थियो, यहाँ (मधेश) का नेताले राजनीतिभन्दा विकास र शिक्षामा मेहेनेत गरे जनताको पक्षमा बढी फाइदा हुन्छ, तर ती नेताहरुले त्यस्तो गर्नुहुन्न ।’


 जुन ठाउँमा ६१ जनाले पनि अक्षर चिन्दैनन्, त्यो ठाउँमा राजनीति दलका नेताहरु चिप्ला कुरा गर्ने गरेको टिप्पणी गर्दै उहाँले ती चिप्ला कुरा गर्ने नेतालाई जनताले कसरी बुझ्ने भनि मधेशी जनतासँग प्रश्न पनि गर्नुभएको थियो । गरेका थिए ।


सिरहामा अनेकौं किसिमका कुसंस्कारहरु छन् जसले सिरहाको पछ्यौटेपनलाई यहाँका नेताहरुले हटाउन नसकेको टिप्पणी गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘हिमाल देखिने विकट जिल्लामा ९६÷९७ प्रतिशत साक्षरता छन् तर मधेशमा जहाँ बाटोघाटो र सहज रुपले विद्यालय पुग्न सक्ने अवस्था छ त्यहाँ १०० जनामा ६१ जनाले अक्षर नचिन्ने कहालीलाग्दो अवस्था छ, यसको दोष कसले लिने ?’ यसरी मधेशका नेताहरुमाथि टिप्पणी गरिरहँदा मधेशी जनताले ताली बजाई रहेका थिए ।


त्यसपछि उहाँ बैशाख २८ गते जनकपुर पुग्नु भएको थियो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर भ्रमणमा आउनु भएको बेला उहाँ स्वागत गर्नका लागि जनकपुर पुग्नु भएको थियो । जनकपुरमा ओलीको विरोध हुने आशंका गरिएको थियो तर मधेशवादी दलका एकजना पनि नेताले उहाँको विरोधमा बोलेका थिएनन् बरु त्यहाँका स्थानीय युवाहरुले कालो झण्डा देखाएका थिए । जानकी मन्दिरमा मोदीसँग कार्यक्रममा सहभागी भएर उहाँ काठमाडौ फर्किनु भएको थियो । 

ओली र मधेशमा मतभेद 
२०७१ पुस २१ गते बालुवाटारमा सरकार र तत्कालीन मधेसी मोर्चाको वार्ता चलिरहेको थियो । संविधान निर्माणको विषयमा सीमाङ्कनलाई लिएर सरकार र मधेसी मोर्चाबीच वार्ता चलिरहेको थियो त्यतिबेला काँग्रेसका तत्कालीन सभापति सुशील कोइराला प्रधानमन्त्री हुनुहुन्थ्यो ।

त्यो दिनको वार्तामा तत्कालीन एमालेका अध्यक्ष केपी शर्मा ओली र तत्कालीन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पनि बोलाइएको थियो । तत्कालीन प्रधानमन्त्री कोइरालाले वार्ता सकारात्मकतर्फ गइरहेको र अब यसलाई सहमतिमा टुङ्ग्याउनुपर्छ भनि प्रस्ताव बैठकमा राख्नु भएको थियो ।


त्यसको जवाफमा तत्कालीन सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेस प्रदेशमा झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुरलाई पनि राख्नुपर्ने धारणा राख्नु भएको थियो । अध्यक्ष महतोको कुरा सुनेर एमालेका अध्यक्ष केपी शर्मा ओलीले तपाईंहरूले समथर भूभाग हेर्नै नहुने । यदि समथर भूभाग राख्ने हो भने भारतको यूपी र विहारलाई पनि मधेसमा मिलानुउस् भनी प्रतिवाद गर्नुभएको थियो । यी कुराहरू भइरहँदा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड हिँडिसक्नु भएको थियो ।


ओलीले यो कुरा राख्ने वित्तिकै फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव रिसाएर बैठकबाट निस्किनु भएको थियो । ओली र महतोबीच एकछिन चर्काचर्की भएको थियो ।


बालुवाटारको कुरा एकछिनमै मधेसभरी फैलियो ।


काठमाडौँलगायत मधेसभरी तत्कालिन सद्भावना पार्टीका कार्यकर्ताहरुले ओलीको पुतला दहन गरेका थिए । त्यसको भोलिपल्ट बसेको मधेसी मोर्चाको बैठकले ओलीले माफी नमागेसम्म उहाँको उपस्थितिमा हुने कुनै पनि बैठकमा सहभागी नहुने निर्णय गरेको थियो । भनेको जस्तो ओलीले माफी नमागे पनि मोर्चाका नेताहरु विस्तारै विस्तारै बैठकमा जान थाल्नुभयो । तर त्यही बेलादेखि मधेस र ओली बीचको दूरी बढ्न थालेको थियो ।


ओलीका लागि मधेस निषेधित क्षेत्र नै भयो । ओलीका लागि मात्र नभएर मधेसमा एमालेका नेता र उसका पार्टी कार्यालयहरू पनि मधेसी नेता तथा कार्यकर्ताका ‘टार्गेट’मा परे । तर ओली पनि के कम । ओलीले पनि मधेसको बारेमा आफ्नो उखान टुक्कामार्फत जिस्क्याइरहनुभयो । ओलीले २०७२ असोज १७ गते अर्का अभिव्यक्ति दिए ‘माखे साङ्लो’ ।



 आन्दोलनका क्रममा मधेसी मोर्चाले पूर्वपश्चिम राजमार्गमा मानवसाङ्लो बनाएर प्रदर्शन गरेपछि ओलीले त्यसलाई ‘माखे साङ्लो’ को संज्ञा दिनु भएको थियो । मधेस आन्दोलनका क्रममा ५४ जनाभन्दा बढीको मृत्यु हुँदा ओलीले ‘दुई चारवटा आँप झरेर केही हँुदैन’ भन्ने अभिव्यक्ति दिनुभएको थियो । यो अभिव्यक्ति त्यो बेला दिनुभएको थियो जुनबेला मधेसमा प्रहरीको गोलीबाट मान्छे मारिरहेका थिए । ओलीको त्यो अभिव्यक्तिले गर्दा मधेश झन आक्रोशित भयो ।


ओलीले मात्र होइन, सो पार्टीका अन्य नेताहरूले पनि मधेसका बारेमा नराम्रा टिप्पणीहरू गर्न थालेका थिए । तत्कालीन एमालेका नेता र अहिलेका प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले आफ्नो ट्विटमा ‘जस्ता काला मान्छे, त्यस्तै कालो दिवस मनाउँदै छन्’ भनी लेख्नु भएको थियो ।

यस ट्विटले उहाँको निकै आलोचना भएको थियो । शङ्कर पोखरेलको पुतला जलाउनेसम्मको काम भएको थियो ।

 पछि पोखरेलले आफ्नो ट्विट डिलिट गर्नुभएको थियो । तत्कालीन एमालेका वरिष्ठ नेता झलनाथ खनालले पनि ‘आफूले लगाउने धोती जस्तै प्रदेश मागेको’ भनी अभिव्यक्ति दिनुभएको थियो । त्यसको पनि निकै आलोचना भएको थियो ।


यसरी तत्कालीन एमालेका नेताहरूबाट मधेसको बारेमा एकपछि अर्को अभिव्यक्ति आउन थालेपछि मधेस झन् उत्तेजित भएको थियो । ओलीको बोलीले मधेस आन्दोलनमा घीउ थप्ने काम भएको थियो । केन्द्रमा संविधान निर्माणको काम भइरहेको थियो भने मधेसमा आन्दोलन चर्किरहेको थियो । ओली विरोधी नारा लागिरहेको थियो ।

 त्यस अवस्थामा पनि ओलीले मधेसी नेताहरूलाई ‘कन्भिन्स’ गरेर बालकोटसम्म आउन बाध्य पार्नुभएको थियो । सुशील कोइराला प्रधानमन्त्री भएको बेला आफू कसरी चाँडो प्रधानमन्त्री बन्न सकिन्छ भन्दै ओलीले मधेसी नेतालाई गुहार्नु भएको थियो । यसको सूत्रधार हुनुभयो तत्कालीन मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार ।

गच्छदारले उक्त सूत्र प्रयोग गरेपछि फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तत्कालीन सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, तत्कालीन तराई मधेस सद्भावना पार्टीका उपाध्यक्ष रानी शर्मा, तत्कालीन तमलोपाका उपाध्यक्ष हृदयश त्रिपाठी ओलीको घर बालकोटसम्म पुग्नुभएको थियो ।


संविधान निर्माणमा सहमतिका लागि ओलीले छलफल गर्न चाहेको भन्दै गच्छदारले सबैलाई बालकोटसम्म पुर्याउने काम गर्नुभएको थियो ।

संविधान निर्माणका विषयमा कुराकानी कम र अन्य कुराहरू बढी गरेर ओलीले मधेसी नेताहरूलाई तीन दिनसम्म अल्झाएर राख्नुभयो । तीन दिनसम्म त्यही खानपिन गरेका मधेसी नेताहरू समक्ष ओलीले जब सरकार निर्माणमा सहयोग गर्न प्रस्ताव गर्नुभयो ।

त्यसपछि सबैभन्दा पहिले उपेन्द्र यादव त्यहाँबाट उम्किनुभयो । राजेन्द्र महतोलगायतका नेताहरू त्यसपछि पनि दुई दिनसम्म धाइरहनुभयो तर अन्त्यमा राजेन्द्र महतोले संविधान निर्माणमा कुरा नमिलेसम्म सरकार बनाउन सहयोग नगर्ने जवाफ दिएपछि ओलीले मधेसी नेतालाई महत्व दिन छाड्नु भएको थियो र उहाँहरूको बारेमा नकारात्मक टिप्पणी गर्न थाल्नुभएको थियो ।

त्यसपछि ओली मधेसी दल र मधेस आन्दोलनप्रति झन आक्रामक हुनुभयो । जे कुरामा पनि ओलीले अडान लिन थाल्नुभयो । त्यति बेलासम्म माओवादी दल मधेसवादी दलको साथमा नै थियो । मधेसी दलले साथ नदिएसम्म प्रधानमन्त्री बन्न नसक्ने निष्कर्षमा ओली पुग्नुभएको थियो । उता, काँग्रेसले पनि सरकार छाड्न आलटाल गरिरहेका थिए । त्यसपछि झन उहाँ चिढिनु भएको थियो । मधेस आन्दोलन ‘मधेस भर्सेज ओली’ भएको थियो ।

सम्बन्ध सुधार
राजपा नेपालले माग गरे बमोजिम प्रदेश २ का सामाजिक व्यवस्था राज्यमन्त्री अभिराम शर्मालाई अदालतबाट साधारण तोरखमा रिहाय गर्न लगाउनु भएको थियो प्रधानमन्त्री ओलीले । त्यसअघि काठमाडौमा एक कार्यक्रम गरी जनकपुरका केही उद्योगी व्यवसायीलाई पार्टीमा प्रवेश गराए थिए ।

यति गरिसकेपछि मधेश जान तयार भएपछि राजपा नेपालले ओलीको विरोध नगर्ने सहमतिमा पुगेको थियो । पछिल्लो समय पनि उनी मधेश जाने कार्यक्रम तय भएपछि उहाँले रेशम चौधरीलाई सपथ ग्रहण गराएर मधेशमा वतावरण बनाउनु भएको थियो । चौधरीको सपथ गराए पछि राजपा नेपाल चुप लागेको थियो । त्यसपछि मधेशका लागि ओलीको बाटो खुल्ला भयो । उहाँ त्यसपछि पटक पटक गइरहनु हुन्छ ।

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..