» » को हुनुहुन्छ, अजित यादव जसले हङकङमा यसरी चिनाउनु भयो नेपाललाई

काठमाडौ चैत ५ गते । हङ्‌कङमा प्रतियोगिता सुरु हुनुभन्दा दुई दिन अघिसम्म पनि अजितकुमार यादवले भिसा हात पार्नुभएका थिएन । पाँच दिनअघि किनेको हवाई टिकटको मिति पनि सारिसकिएको थियो।

पहिलो पटक विदेशमा खेल्न जाने मौका गुम्ने जोखिम बढेपछि १७ वर्षीय यादवले हताश हुँदै प्रशिक्षक धनीराम चौधरीलाई भन्नुभयो, गुरु, यस्तै रहेछ, विदेशमा खेल्नु मेरो भाग्यमा नै रहेनछ । अब छोडौँ।’

तर तिनै यादवको गलामा २४ घण्टापछि सुनको तक्मा झुन्डिएको थियो।

एशियाली जुनियर स्तरमा स्वर्ण पदक जित्ने पहिलो नेपाली धावकका रूपमा इतिहासमा उहाँको नाम अङ्कित भइसकेको थियो।

अन्योलदेखि कीर्तिमानको गौरवपूर्ण क्षणसम्म उनको यात्राको कथा साँच्चै अनौठो छ । उहाँकै शब्दमा ‘फिल्मका लागि कल्पनामा बुनिने कथाजस्तै।’

खासै नाम नसुनिएका यी धावकले अन्तर्राष्ट्रिय पदक जित्दा सामाजिक सञ्जालमा पनि राम्रै चर्चा भयो।

पहिलो अवरोध

यादवले हङ्‌कङमा सम्पन्न जुनियर खेलाडीहरू सहभागी हुने एशियाको ठूलो एथ्लेटिक्स प्रतिस्पर्धा तेस्रो एशियन एथ्लेटिक्स च्याम्पियनशिपको तीन हजार मिटर दौडमा स्वर्ण पदक जित्नुभएको हो ।

तर उहाँले मैदानको प्रतिस्पर्धा गर्दाभन्दा पनि त्यहाँसम्म पुग्न ठूलो सास्ती खेप्नु पर्यो ।

पहिलो सङ्घर्ष एथ्लेटिक्सको प्रशासकीय निकाय नेपाल एमचर एथ्लेटिक्स सङ्घसँग थियो ।

एथ्लेटिक्स सङ्घ अहिले आन्तरिक विवादमा छ । पदाधिकारीहरूबीच चरम गुटबन्दी छ । निर्वाचनको सँघारमा रहेको सङ्घलाई अब तत्कालै निर्वाचन नगरे प्रतिबन्ध लगाइनसक्ने भन्दै अन्तर्राष्ट्रिय दबाव पनि आइसकेको छ ।

यस्तोमा स्थितिमा राजीनामा दिइसकेका सङ्घका पूर्वमहासचिव सुनिल राजवंशीले यादवलाई हङ्‌कङमा हुने प्रतियोगिताको सहभागी गराउन सक्रियता देखानउुभयो ।

यादव भन्नुहुन्छ, ‘मेरो सहभागिताको सम्पूर्ण अन्तर्राष्ट्रिय पत्राचार सुनिल गुरुले गरिदिएका हुन् । नत्र सम्भव थिएन।’

दोस्रो अवरोध

प्रतियोगितामा भाग लिने निश्चित त भयो, तर भिसा प्रक्रिया र हङ्‌कङ पुग्ने बाटो त अझै टाढा नै थियो । भिसा प्राप्त गर्न उहाँका प्रशिक्षक धनीराम चौधरीले ठुलै सङ्घर्ष गर्नुपर्‍यो ।

कहिले कागजपत्रको समस्या, कहिले रकमको समस्या त कहिले होटल बुकिङ नहुँदाको समस्या ।

अनि भिसा पाउन सकेनन् । फेरि पूर्वमहासचिव राजवंशीकै पहलमा भिसा प्राप्त भयो।

हातमा भिसा आउँदा हङ्‌कङ पुग्न एक दिनको समय मात्र बाँकी थियो ।

प्रतियोगिता सोमवार (चैत्र ४ गते) थियो। उहाँले शनिवार (चैत्र २ गते ) बिहान मात्र भिसा पाएका थिए ।

धन्न, सोही दिनको राति हङ्‌कङ उड्ने व्यवस्था भयो ।

आइतवार (चैत्र ३ गते) बिहान हङ्‌कङ विमानस्थल पुग्दा आयोजकका तर्फबाट कोही पनि उपस्थित थिएनन् । निर्धारित समयभन्दा ढिलो पुग्दा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा यस्तो हुनेगर्छ ।


ट्याक्सी लिएर होटल खोज्नु, आयोजकसमक्ष हाजिर हुनु र खेलाडी दर्तामा आफ्नो नाम पक्का गर्नुजस्ता काममा आइतवारको दिन बित्यो ।

यादव भन्नुहुन्छ, ‘न राम्ररी खान पाइयो, न सुत्न नै । नाम दर्ता हुन्छ कि नाइँ भन्ने चिन्तामा नै समय बित्यो ।

सामान्यतया पदक जित्ने लक्ष्य र सम्भावना बोकेका खेलाडीहरू केही चाँडो प्रतियोगिता हुने देशमा पुग्ने गर्छन् । त्यहाँको हावापानीसँग घुलमिल हुन र अभ्यासलाई अझ तिखार्न यस्तो गरिन्छ ।

पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न देश छोडेका १७ वर्षीय यी किशोरले भन्नुभयो, नितान्त भिन्न परिस्थिति खेप्नुपर्‍यो ।

सोमवार प्रतियोगिताको दिन ट्र्याकमा हुने प्रत्येक घटना अजितको लागि नौलो थियो।

उहाँ भन्नुहुन्छ, पहिलो कल, दोस्रो कल भन्ने हुँदोरहेछ । प्राविधिकले सुरुमा मैले लगाउने लुगाहरु जाँच्न आए। तर मैले गल्ती गरिसकेको रहेछु।

खेलाडीले देशको नाम लगाएको जर्सी लगाउनुपर्छ। तर अनुभवहीन यादवलाई यो कुरा थाहा थिएन ।

प्राविधिकले देशको टीशर्ट लगाउन निर्देशन दिँदा उहाँ छक्क पर्नुभयो । आफूसँग सादा टीशर्ट मात्र भएको भन्दै उहाँले त्यही लगाएर दौडिन अनुमति माग्नुभयो ।

यादव भन्नुहुन्छ, ‘धन्न ती प्राविधिकले मेरो अनुरोध मान्नुभयो । नत्र म दौडिन नै नपाउने रहेछु।’

एकपछि अर्को तनाव, झमेला र मानसिक दबाव झेल्दै ४५ देशका प्रतियोगीहरूसँगै तीन हजार मिटर दौडिन उनी ट्रयाकमा पुगिसक्नु भएको थियो ।

उहाँ भन्नुहुन्छ,, ‘म साँच्चै डराएको थिएँ। त्यति धेरै दर्शकमाझ विदेशी भूमिमा।’

तर उहाँले तुरुन्तै थप्नुभयो, ‘जब दौडिन सुरु गरेँ डर कता भाग्यो भाग्यो । अब मेरो ध्यान कम्तीमा पदक जित्छु भन्नेमा गयो।

यादवका अनुसार उहाँले पहिलो फन्कोमा अरू प्रतिद्वन्द्वीलाई उछिनिसक्नु भएको थियो । तर गुरु धनीरामबाट एक फन्कोमा ६८ सेकेन्डभन्दा बढी नदौडिनु भन्ने निर्देशन पाएकाले गतिमा नियन्त्रण राख्नुभयो ।

तर अरूले रणनीतिक रूपमै तल र माथि गर्दै दौडिन थालेपछि उहाँले आफ्नो स्वाभाविक गति लिनुभयो ।

अजितकुमार यादवलाई हङ्‌कङ पठाउन एथ्लेटिक्स सङ्घका पूर्वमहासचिव सुनिल राजवंशीले मुख्य भूमिका निर्वाह गर्नुभएको थियो ।

उहाँ भन्नुहुन्छ, अन्तिम ल्यापअगाडि मैले सबै विपक्षीलाई पछाडि पारिसकेको रहेछु । अब डर थियो त केवल उनीहरूले मलाई उछिन्लान् भन्ने । अन्तिम ल्यापमा कसैले नभेट्नेगरी दौडिरहेँ, अन्तिम विन्दु नपुगेसम्म।

स्वर्ण पदक जितेपछिको क्षणलाई उहाँले सपना जस्तो लागेको प्रतिक्रिया दिनुभयो । उहाँको बोली अवरुद्ध भयो ।

उहाँ भन्नुहुन्छ, मलाई झोलामा नेपालको झन्डा दिएर बिदाइ गरिएको थियो । र म त्यो झोला नखोली नेपाल फर्किन चाहन्नथेँ । जब ४५ देशमाझ नेपालको झन्डा ओढेर मैले राष्ट्रिय गीत गाएँ, त्यो शब्दमा बयान गर्न सक्दिनँ।

उहाँले निर्धारित दूरी आठ मिनेट ३०.३२ सेकेन्डमा पूरा गर्नुभयो ।

को हुनुहुन्छ अजितकुमार यादव ?

अजितकुमार यादवको घर सप्तरी जिल्लाको राजविराज हो ।

उहाँ सशस्त्र प्रहरी बलको एपीएफ क्लबले हुर्काएका प्रतिभा हुनुहुन्छ ।

कीर्तिपुर मच्छेगाउँस्थित एपीएफ स्कुलमा आठ कक्षामा अध्ययनरत हुँदा उहाँ शिक्षा दिवसको अवसरमा आयोजित रोड रेसमा तेस्रो हुनुभएको थियो ।

त्यसबापत पाँच हजार रुपैयाँको पुरस्कार पाउनु भएको थियो । त्यो समाचार पत्रिकामा छापिएपछि उहाँलाई एथ्लेटिक्स मोहले छोयो ।

अरू प्रतियोगितामा पनि उहाँले राम्रो प्रदर्शन गर्नुभयो ।  विद्यालय खेलकुदको रूपमा रहेको राष्ट्रपति रनिङ शील्डमा मध्यदूरीमा उहाँ सर्वोत्कृष्ट हुनुहुन्थ्यो ।

पछिल्ला दुई वर्षमा सिनियर खेलाडीहरूसँगै खुल्ला प्रतिस्पर्धामा उहाँ देखिन थाल्नुभयो । खुल्ला काठमाण्डु म्याराथुनको पाँच किलोमिटरमा उहाँ लगातार दुई वर्ष विजेता बन्नुभयो ।


आजसम्म आइपुग्दा उहाँले केही महत्त्वपूर्ण कीर्तिमान कायम गरिसक्नु भएको छ ।

केही मुख्य खेलका उपाधि र नगद पुरस्कार पाएका उहाँमा प्रभावशाली खेलाडी बन्ने सम्भावना देखिएको छ ।

उहाँले पन्ध्र सय मिटर दौडमा चार मिनेट दुई सेकेन्डको राष्ट्रिय कीर्तिमान तथा पाँच किलोमिटर दौडमा आठ मिनेट ४४ सेकेन्डको कीर्तिमान राख्नुभएको छ ।

अबको लक्ष्य

यादव भन्नुहुन्छ, ‘नेपालमै हुन लागेको १३ औँ दक्षिण एशियाली खेलकुदमा कुनै न कुनै पदक छुने।
स्रोतः बीबीसी

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..