» » नेपालमा उत्पादन हुने मकैमध्ये ७० प्रतिशत किसानले आफै प्रयोगमा ल्याउँछन्

–महेश रेग्मी
वरिष्ठ कृषि अधिकृत, मकै सुपरजोन–दाङ

नेपालमा करिब नौ लाख हेक्टरमा मकै खेती भइरहेको छ । करिब २४–२५ लाख मेट्रिकटन मकै उत्पादन हुन्छ । त्यसमध्ये ३० प्रतिशत दानामा र बाँकी सबै घरायसी प्रयोजनका लागि मात्र प्रयोग हुन्छ । दानाबाहेक नेपालमा उत्पादन हुने मकै अरुमा काम लाग्दैन । त्यसैले मकैमा नेपाल आत्मनिर्भर भइरहेको छैन । सरकारले सञ्चालन गरेको सुपरजोनमध्ये मकैको सुपरजोन दाङको देउखुरीमा रहेको छ । यहाँ सातहजार हेक्टरमा मकै खेती भइरहेको छ । वरिष्ठ कृषि अधिकृत महेश रेग्मी जो रामपुर कृषि क्याम्पसबाट मकैमा मास्टर्स गर्नुभएको छ, प्रस्तुत छ, मकैको बारेमा उहाँसँग गरिएको कुराकानीः


मकै सुपरजोनमा हुनुहुन्छ, नेपालमा मकै अवस्था के छ ?
–नेपालमा हाल नौलाख हेक्टरमा मकैखेती भइरहेकोछ जसमा २४–२५ लाख मेट्रिकटन मकै उत्पादन हुन्छ । यसको ७० प्रतिशत क्षेत्र पहाडमा र ३० प्रतिशत क्षेत्र तराईमा हुन्छ । पहाडको मकैखेती परम्परागत खालको छ । त्यसमा पनि सबभन्दा बढी वर्षे (वर्षायाममा उत्पादन हुने) मकै उत्पादन भइरहेको छ । जो उद्योगहरुलाई काम लागिरहेको छैन । खेती प्रणालीमा केही सुधार भएपछि मकैखेती पनि व्यावसायिक रुपमा कतै कतै हिउँदै (हिउँदमा उत्पादन हुने) वसन्ते मकै उत्पादन शुरु भएको छ । त्यसले उत्पादनमा पनि वृद्धि भइरहेको छ ।

तर मकैमा अझै आत्मनिर्भर हुन सकिरहेको छैन किन ?
–उत्पादन वृद्धिसँगै माग पनि बढी रहेको छ । पोल्ट्रीसँग सम्बन्धित विज्ञहरु भन्छन्, केही वर्षमा पोल्ट्री व्यावसायीको वृद्धि सिधै दोब्बर हुन्छ । त्यही अनुपातमा मकैको माग दिनदिनै बढी रहेको छ । जुन गतिमा मकैको माग बढी रहेको छ त्यो गतिमा मकै उत्पादन बढी रहेको छैन । मकै खेतीका लागि जुन प्रविधिहरु किसानले प्रयोग गर्नुपर्ने हो, त्यो प्रयोग गरिरहेको छैन । अबको केही वर्षमा मकै उत्पादन दोब्बर भन्दा बढी गर्न सकिएन भने आत्मनिर्भर हुनसक्दैन । नेपालमा मकैका ५–७ वटा हाइब्रीड जातहरु छन् । ती जातको बीउ किसानलाई सस्तो दरमा सुलभ प्राप्त हुनुपर्यो । ५–६ सय प्रति केजी विदेशी मकैका बीउ किनेर किसानले प्रयोग गरिरहेका छन् । त्यो एकदमै महँगो हो । नेपाली बीउ यही उत्पादन गरेर एकसयदेखि डेढसय प्रति केजीसम्ममा किसानलाई उपलब्ध गराउन सकियो भने त्यो धेरै राम्रो हुन्छ । र, उत्पादन बढाउन सकिन्छ । तर यहाँ नेपाली हाइब्रीड मकैको बीउ पाइरहेको छैन । सबै विदेशी बीउमा भर परेका छन् ।

मकै उत्पादनमा वृद्धि गर्नका लागि सरकारले सुपरजोन नै स्थापना भएको छ, उता, नीजि क्षेत्रबाट पनि विभिन्न परियोजनामार्फत मकैमा लगानी भएको छ तैपनि माग अनुसारको उत्पादन किन भइरहेको छैन ?
–पहाडमा ७० प्रतिशत क्षेत्रमा उत्पादन हुने मकै उद्योगमा आउने हो भने त्यति समस्या देखिने छैन । त्यहाँ उत्पादन हुने थुप्रै मकै खेर जान्छ । त्यसलाई जोगाउन आवश्यक छ । अर्को कुरा परम्परा ढंगबाट भइरहेको खेतीका कारणले पनि उद्योगको माग पुरा गर्न सकिरहेका छैनौ ।

सरकारले सञ्चालनमा ल्याएको पकै सुपरजोनको प्रमुख भएर काम गर्दै हुनुहुन्छ, तपाईले भनेको जस्तो यहाँ काम भइरहेको छ कि छैन ?
–दुई वर्ष भयो हामीले काम गर्न लागेको । यो दुई वर्षमा सोचे जस्तो व्यापक परिवर्तन ल्याउन त सकेका छैनौ । तर उत्पादन बढाउने र मकै खेतीलाई आधुनिकीकरणतिर लैजाने काम भइरहेको छ । खेती गर्नका लागि लेवर (मजदुर) चाहिदैन, एकैजनाले सबै काम गर्न सक्छ भने कुरा किसानले बुझ्न थालेका छन् । एक दुईजनाले मात्र प्रविधिको सहायताले १०–१५ विघा खेती गर्न सकिन्छ भन्ने कुराको कन्फिन्डेट किसानमा बढ्दै गएको छ । अर्थात समग्रमा भन्ने हो भने यो सुपरजोन सञ्चालनमा आएपछि मकै खेतीप्रति आकर्षण बढेको हो । मलाइ लाग्छ अबको बाँकी अवधिमा मकै क्षेत्रमा राम्रो उपलब्धी हुन्छ ।

यो सुपरजोन अन्तरर्गत तीन सिजन गरि सातहजार हेक्टर क्षेत्रफलमा मकै खेती भइरहेको छ । यसको उत्पादनले मागलाई सहयोग पुर्याइरहेको छ ?
–यहाँको सबै उत्पादन एकै ठाउँमा गयो भने एक दुईवटा उद्योग मात्र सञ्चालन हुनसक्छ । यो जिल्लामा एकघण्टामा ७–८ मेट्रिकटन मकै चाहिने उद्योग पनि छन् । त्यसैको हिसाब गर्ने हो भने वर्षभरिलाई एउटा वा दुईटा उद्योगलाई मात्र यहाँको उत्पादनले पुग्नेछ । राम्रो उत्पादन गर्न सकिन्छ भने नमूना देखाउन सकिन्छ ।
सबभन्दा विवादित बाली भनेको मकै हो । कहिले घोघा लागेन, कहिले दाना लागेन, कहिले बोट नै उम्रेन भनि

विवादहरु आइरहन्छन् यस्तो किन हुन्छ ?
–हो वास्तवमा यो विवादीत बाली हो । र, सेन्सेटिभ पनि हो । एउटै बोटमा भाले र पोथी हुन्छ । कहिले काही क्रस गराएर प्रजनन गराउँदा कही कतै मिस्टेक हुन्छ, यस्ता समस्याहरु देखिन्छन् । हाइब्रीड बीउहरु बाहिरबाट आएका हुन्छन् कतिपय अवस्था टेष्ट नभएका पनि हुन्छन् । अर्थात किसानको हातमा खराब बीउ गएको हुन्छ त्यसले गर्दा पनि उत्पादनमा कहिले काही समस्या देखाइरहेको हुन्छ । यसको सुधारका लागि प्रविधिमा नै जानु पर्छ । किसानलाई सही प्रविधि दिन सक्यौं भने यो समस्या विस्तारै आफै समाधान हुँदै जान्छ ।

मकैको प्रजननमा समस्या छ भन्नुभएको छ, यस क्षेत्रमा नार्कले काम गरिरहेका छन् कि छैन ?
–नार्कले गर्नुपर्ने काम गरिरहेको छ । प्रजननमा समस्या देखिनु भनेको मकै कहिले लगाउने समस्याले पनि फरक पर्छ । अहिलेको मौसमले पनि निकै समस्या गरेको छ । कहिले सोचेको समयमा चिसो हुँदैन, कहिले गर्मी हुनुपर्ने बेला चिसो भइरहेको हुन्छ । पानी पर्ने मौसममा पानी परिरहेको हुँदैन, विना मौसम पनि पानी परिरहेको हुन्छ । अर्थात मौसम परिवर्तनले पनि यसको प्रजननमा समस्या उत्पन्न गरेको छ । त्यसले वैज्ञानिकलाई पनि चुनौति दिइरहेको छ । तर मोटामोटी एउटा खालको सिफारिश भइरहेका हुन्छ । तराईमा असोजको अन्तिम हप्तासम्ममा मकै लगायो भने त्यति समस्या हुँदैन । हिमाल र पहाडमा पनि आफ्नै खालको मौसम छ र त्यस अनुसार खेती लगाउने सिफारिश भएको छ ।

मकैका लागि नार्कले अहिले नयाँ के गरिरहेका छन् ?
–मकै हाइब्रीडका लागि आमा–बुवा निकालि सकेका छन् । अझै राम्रो भएन भनि कुराहरु भइरहेकोछ । वैज्ञानिकहरुले हाइब्रीड बीउका लागि आमा–बुवा चयन गर्ने काम सकाएको छ । सरकारलाई बुझाई पनि सकेको छ तर त्यसलाई बीउ बनाउने काम भइरहेको छैन । बीउ बनाउने काम नीजि क्षेत्रले गर्ने गरेको छ । मैले थाह पाए अनुसार हालसम्म निजि क्षेत्रले प्रस्ताव गरेका छैन । बीउ बनाउने काम ढिलो भइरहेको छ ।

नेपालमा उत्पादन हुने मकैबाट के के बन्छ ?
–यहाँ उत्पादन हुने मकै दानाका लागि मात्र प्रयोग भइरहेको छ । उत्पादन भएकोमध्ये ३० प्रतिशत मकै मात्र दाना उद्योगमा जान्छ । ७० प्रतिशत मकै किसानले घरायसी प्रयोजनका लागि मात्र प्रयोग गरेका छन् । ७० प्रतिशतमध्ये २०–३० प्रतिशत खेर जान्छ ।

कर्नफलेक्स जस्ता खानेकुरा बनाउनका लागि चाहिने मकै हामी कहाँ उत्पादन हुँदैन ?
–हुँदैन । त्यो बाहिरबाट नै ल्याइरहेका छन् । यसका लागि पनि अनुसन्धान गर्नुपर्छ । त्यसखालका मकैहरु कसरी उत्पादन गर्न सकिन्छ त्यतातिर ध्यान दिनुपर्ने आवश्यक छ । मलाई पनि यसमा त्यति जानकारी छैन । मैले सुनेको, भैरहवामा चिजबल (खानेकुरा) उद्योग छ । उसले बाहिरबाट ल्याउँछ किनभने नेपालको उत्पादन हुने मकै त्यसमा काम लाग्दैन ।

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..