» » मलेठ घटनाको तीन वर्षः अझै दुख्दैछ मेलठका घाउहरु

तत्कालिन एमालेको हठीका कारण पाँचजना मधेशी युवाको ज्यान जाने गरी सप्तरीको मलेठमा घटना भएको फागुन २३ गते ३ वर्ष पुगेको छ । तत्कालिन एमाले पार्टीले मलेठमा गरेको आमसभा विरुद्धमा भएको आन्दोलनको क्रममा प्रहरीले चलाएको गोली लागेर पाँचजना मधेशी युवाको ज्यान गएको थियो । त्यो दिनको सम्झनामा संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले त्यहाँ श्रद्धाञ्जलीसभाको आयोजना गरेको थियो ।

२०७३ फागुन २३ गते तत्कालिन एमालेले ‘मेची–काली अभियान’ अन्तर्गत सप्तरीको मलेठस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रभित्र सभाको आयोजना गरेको थियो ।

एमालेलाई मधेशमा निषेध गरेको अवस्थामा त्यहाँ कार्यक्रम हुनु भनेको मधेशवादी दलका लागि प्रतिष्ठाको विषय बनेको थियो भने उता तत्कालिन एमालेले पनि त्यहाँ जसरी पनि कार्यक्रम गर्ने भनि आफ्नो प्रतिष्ठाको विषय बनाएको थियो ।

तत्कालिन मधेशी मोर्चाका जिल्ला संयोजक दिनेश यादव जसरी पनि एमालेको कार्यक्रम बिथोल्ने पक्षमा थिए भने एमाले जसरी पनि राजविराजमै कार्यक्रम गर्ने अडानमा थियो । २०७३ फागुन २० गते त्यहाँका सुरक्षा निकायले तत्कालिन एमाले र मोर्चा दुवै पक्षलाई राखेर बैठक गराएका थिए । सुरक्षा निकायले तत्कालिन एमालेलाई कन्चनपुरमा कार्यक्रम सुझाव दिएको थियो । तर एमालेले राजविराजमै कार्यक्रम गर्ने अडान लिएको थियो । 

यसरी भएको थियो झडप
हुन त माहोल हेरेर एमाले एककदम पछाडि हटेको थियो । राजविराज बजारमा नै आमसभा गर्ने एमालेको तयारी थियो तर अवस्था राम्रो नरहेको रिर्पोटिङ भएपछि कार्यक्रम औद्योगिक क्षेत्रमा सरेको थियो । कार्यक्रम भइरहेको ठाउँभन्दा करीब ३०० मिटर दक्षिणको मलेठ चोकमा मधेशी दलका नेता तथा कार्यकर्ताहरुले विरोध प्रदर्शन गरिरहेको थियो । दिउँसोको करीब ४.४५ बजेतिर तत्कालिन एमाले अध्यक्ष केपी शर्मा ओलीको मन्तव्य सकिने वित्तिकै आन्दोलनकारी र प्रहरीबीच झडप शुरु भएको थियो ।


त्यतिबेला नै झडपको क्रममा सुरक्षा निकायले चलाएको गोलीबाट सञ्जन मेहताको घटनास्थलमै मृत्यु भयोको थियो भने गोली लागेर सख्त घाइते भएका पीताम्बरलाल मण्डल र आनन्द साहको पनि सोही दिन उपचारका क्रममा मृत्यु भएको थियो । घाइतेमध्ये वीरेन्द्र महतो र इनरदेव यादवको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकै क्रममा मृत्यु भएको थियो । झडपको क्रममा ३१ जना प्रहरी पनि घाइते भएका थिए ।

गृहमन्त्रीको आलोचना
घटनापछि सरकारको निकै आलोचना भयो । त्यतिबेला काँग्रेसका नेता विमलेन्द्र निधि गृहमन्त्री हुनुहुन्थ्यो । मधेशी गृहमन्त्री भएर मधेशमै यस्तो प्रकारको घटना भयो भनेर त्यतिबेला उहाँको व्यापक आलोचना भएको थियो । आलोचना भएपछि उहाँले तत्कालीन प्रमुख जिल्ला अधिकारी उद्धव तिमल्सिना, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) दिवेश लोहनी, डीएसपी दानबहादुर कार्की र सशस्त्र प्रहरीका एसपी जयबहादुर खड्कालाई गृह मन्त्रालयले फिर्ता बोलाइको थियो ।

 उहाँहरूको ठाउँमा प्रमुख जिल्ला अधिकारी कृष्ण कटवाल, प्रहरीतर्फ एसपी अनुराग द्विवेदी र सशस्त्रतर्फ रामाधर यादवलाई पठाइएको थियो ।

कति प्रहरी, कति आन्दोलनकारी ?
त्यतिबेला गुप्तचरले एमालेलाई दिएको सूचना अनुसार कार्यक्रम शुरू हुनुअघि मलेठमा करीब ३०० को सँख्यामा मात्रै आन्दोलनकारी थिए । जब केपी शर्मा ओलीले सम्बोधन गर्न शुरु गरे अनि आन्दोलनकारीको चाप चारैतिर बढ्न थालेको थियो ।

गुप्तचरले टाउको नै गिनेर १५०० आन्दोलनकारी रहेको सूचना एमालेका नेताहरुलाई दिएको थियो । आन्दोलनकारीलाई रोक्न एमालेका कार्यकर्ता पनि प्रयोग भएको कुरा मानव अधिकार आयोगको प्रतिवेदनमा उल्लेख छ । त्यो दिन सभाको सुरक्षाका लागि घटनास्थलमा नेपाल प्रहरीका ७५० र सशस्त्र प्रहरीका ४५० गरी १२ सय सुरक्षाकर्मी परिचालित थिए ।

गृहमन्त्रालय झिकाइएका दिवेश लोहनीले त्यतिबेला पत्रकारहरुलाई दिएको प्रतिृकया अनुसार सुरक्षा निकायलाई आत्मरक्षा गर्नुपर्ने अवस्थामा मात्र गोली चलाउनु आदेश थियो ।

तर तत्कालिन गृहमन्त्री निधिले त्यतिबेला भनेका थिए, हामीले गोली चलाउन आदेश नै दिएका थिएनौ गोली कहाँबाट चल्यो ।’ आन्दोलनकारी र प्रहरीबीच झडप चलिरहँदा एकजना आन्दोलनकारीले सशस्त्रका एसपी जयबहादुर खड्काको पेस्तोल खोसिएको थियो भने एकजना प्रहरी जवानको वाकीटकी पनि खोसिएको थियो ।

सहिदको अवस्था 
मृतकमध्ये सञ्जन मेहताको नौ महीना अगाडि विवाह भएको थियो । स्नातकसम्म अध्ययन गरेका उनी जनकपुर बसेर लोकसेवा आयोगको तयारीमा थिए । उहाँ कुनै काम विशेषले घर आएको बेला यस्तो घटना भएको उहाँका दाई रञ्जन मेहता बताउँनु हुन्छ । अर्का मृतक वीरेन्द्र महतो पूर्वप्रहरी हुनुहुन्थ्यो । मलेठस्थित आफ्नो ससुरालीमा बस्दै आउनु भएको थियो ।

उहाँ आफ्ना छोरीका लागि समान किन्न बजार निस्केका थिए त्यही क्रममा गोली चल्दा उहाँको मृत्यु भएको थियो । आनन्द साह वरिष्ठ अहेब हुनुहुन्थ्यो । पोलियो थोपा खुवाउने अभियान सकेर घर फर्कंदै गर्दा उहाँलाई गोली लागेको थियो । पीताम्बर मण्डल ठेला चालक हुनुहुन्थ्यो, उहाँ पनि आन्दोलनमा सहभागि हुनुहुन्थ्यो । धेरै टाढाबाट उभिएर प्रहरी र आन्दोलनकारीबीच झडप भइरहेको दृश्य हेरिरहनु भएको थियो तर अचानक उहाँलाई गोली लाग्यो ।

इनरदेव यादव साधारण किसान हुनुहुन्थ्यो । उहाँका बुवाको मृत्यु भएको केही दिन मात्र पुगेको थियो । त्यही मृत्यु संस्कारको तयारीका लागि बाहिर निस्किनु भएको थियो तर उहाँलाई पनि प्रहरीको गोली लागेको थियो । स्थानीयका अनुसार सञ्जन र विरेन्द्रका परिवार एमाले पृष्ठभूमीको छ भने आनन्दका परिवार काँग्रेस पृष्ठभूमीको थियो ।

घटना स्थलमै गएर अनुसन्धान अनुगमन गरी फर्केकी राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य मोहना अन्सारीले त्यतिबेला भनेकी थिइन, सुरक्षा निकायले संयमता अपनाएको थिएन । आन्दोलनकारीको हत्या भएको हो त्यसको जवाफ दिनुपर्छ ।’ यो अभिव्यक्ति पछि उनको आलोचना पनि भएको थियो ।

पोस्मार्टर रिर्पोर्ट बाहिर आएन
प्रहरीले त्यतिबेला गृहमन्त्रालयलाई दिएको रिपोर्ट अनुसार प्रहरीले ९० थान रबर बुलेट लगेको थियो, त्यसमध्ये ९ वटा मात्र प्रयोग भएको थियो ।

१२७ वटा अश्रुग्याँसको प्रयोग अत्याधिक मात्रामा भएको थियो भने डमी बुलेट २ वटा प्रयोग भएको छ तर आन्दोलनकारीलाई लागेको गोली कसको हो त्यो हालसम्म खुलेको छैन ।

जुन प्रतिवेदनमा पनि सुरक्षाकर्मीले चलाएको गोलीबाट मृत्यु भएको भनेको छ तर सुरक्षाकर्मीले कति गोली लगेको थियो कति खपत भयो त्यो खुल्न सकेको छैन । पोस्टमार्टमको रिर्पोर्ट मात्र त्यो कस्तो पेस्तोलबाट चलेको गोली थियो त्यो भन्न सकिन्थ्यो तर त्यो कुरा हालसम्म बाहिर आएको छैन ।

यस्तो छ आयोगको प्रतिवेदन
राष्ट्रिय मानव अधिकार आयोगले छानविन गरी त्यसको प्रतिवेदन सार्वजनिक गरेको छ । २०७३ चैत्र ३१ गते पूर्व न्यायधिश ताहिर अलि अन्सारीको संयोजकत्वमा गठन भएको थियो । त्यसमा फरेन्सीक विशेषज्ञ डा.हरीहर वस्ती, राष्ट्रिय मानव अधिकार आयोगका मानव अधिकार अधिकृतद्वय मन्जु खतिवडा र जीवन न्यौपाने सदस्य हुनुहुन्थ्यो । समितिले पाँचजनाको ज्यान जाने गरि भएको सो घटनाको मुख्य दोषी तत्कालीन एमाले र मधेशी मोर्चा रहेको ठहर गरेको छ ।

तत्कालिन मधेशी मोर्चा आन्दोलित रहेका बेला तत्कालीन नेकपा एमालेले पनि कार्यक्रम गर्नु हुँदैन्थ्यो र कार्यक्रम गरेपनि मधेशी मोर्चाले पनि यो कार्यक्रम हुन नदिने हठ लिनु हुँदैन्थ्यो । स्थानीय प्रशासन र सुरक्षा निकायको सुझाव विपरित कार्यक्रम भएको थियो ।

यी दुवै पक्षबाट सुरक्षा निकाय, प्रशासनलाई निरीह बनाइएको समितिले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ । ‘मलेठ घटनालाई एउटा विशेष घटनाको रुपमा लिन सकिन्छ किनभने त्यहाँ कुनै स्थानीय वा राष्ट्रिय विवादित बिषयमा एकतर्फी वा दुई पक्षीय जुलुस छैन ।


प्रदर्शनकारीहरुले राज्य वा सरकारसँग कुनै माग राखेको र त्यो पूरा नभएबाट जुलुस निस्केको पनि छैन । अर्थात् मधेशी मोर्चाको प्रदर्शन राज्य वा सरकारको विरोधमा वा स्थानीय प्रशासनको विरोधमा वा नेपाल सरकारले नेपालको कुनै भागमा कुनै कारवाही गरेको वा कुनै नीति वा कार्यक्रमको बिरोधमा छैन । त्यो प्रदर्शन शुद्ध र स्पष्ट रुपले एउटा राजनीतिक दल विरुद्धको प्रदर्शन मात्र हो ।’ भनि समितिको प्रतिवेदनमा उल्लेख छ ।

प्रदेश सरकारको प्रतिवेदन
मलेठ घटनाको बारेमा मानव अधिकार आयोगले प्रतिवेदन सार्वजनिक गरेपछि त्यसबाट असन्तुष्ट हुँदै प्रदेश २ सरकारले पनि आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो । गत साउन २१ गते गठन भएको सो समितिले तत्कालै आफ्नो काम शुरु गरी प्रतिवेदन पनि तयार गरिसकेको छ तर हालसम्म त्यसलाई सार्वजनिक गरेको छैन ।

गोली चलाउने प्रहरी पनि असली प्रहरी थिए कि थिएन भनि पनि प्रदेश सरकारका समितिले आशंका गरेको छ । प्रहरीको पोशाकमा एमाले पार्टीले ल्याएका गुण्डाहरु परिचालित भएको कुरा पनि समितिले दावी गरेको छ । प्रहरीले जनताको घरघरमा पसेर कसरी कुटपिट गरेको समेत अध्ययनबाट ठहर गरेको छ । तर त्यसको प्रतिवेदन हालसम्म सार्वजनिक गरेको छैन ।

मन्त्री यादवले भन्नुभयो, न्याधिवक्ता कार्यालयका उपन्यायधिवक्ताले हस्ताक्षर नगरेको कारण सार्वजनिक गरिएको छैन । प्रतिवेदन तयार भइसकेको छ तर उपन्याधिवक्ताको सरुवा भएको कारण हस्ताक्षरमा ढिलाई भएको हो । हस्ताक्षर हुने वित्तिकै सार्वजनक गर्छौ ।’

मानव अधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदन कपोकल्पित रहेको बताउँदै मन्त्री यादवले त्यसलाई मधेशवादी दलले स्वीकार नगर्ने बताउनुभयो । आफूहरुको प्रतिवेदन छिट्टै सार्वजनिक हुँदैछ, त्यस अनुसार दोषीमाथि कारवाहीको माग गर्ने उहाँले बताउनुभयो ।

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..