» » प्रदेशका किसानलाई अनुदानै अनुदान

पशुपालनलाई व्यावसायिक बनाउँदै दुध, अण्डा र मासुमा आत्मनिर्भर बनाउन भूमि व्यवस्था, कृषि  तथा सहकारी मन्त्रालय प्रदेश १ ले मोरङका कृषकलाई एक करोड ३० लाख रुपियाँको अनुदान योजना अगाडि सारेको छ । मन्त्रालयको यो अनुदान  बोकादेखि कुटी काट्ने च्याप कटर खरिद गर्नका लागि उपलब्ध गराइने योजना रहेको छ ।

प्रदेश सरकारको बजेट कार्यान्वयन प्रक्रिया अन्तर्गत नै यो योजना अगाडि सारिएको पशु सेवा विज्ञ केन्द्र विराटनगरले जनाएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले उपलब्ध गराउने अनुदानको रकम  व्यावसायिक बङ्गुरपालन, अण्डा उत्पादन, गाई, भैँसी र बाख्रापालन जस्ता व्यवसायलाई लक्षित गरिएको छ ।   सरकारबाट उपलब्ध हुने अनुदानको रकम कृषकले आवश्यक उपकरण खरिद र पूर्वाधार निर्माणमा खर्च गर्नुपर्ने केन्द्रका प्रमुख डा सुशीलकुमार अधिकारीले  बताउनुभयो  ।


मन्त्रालयको योजना अनुसार व्यावसायिक रुपमा पशुपालन गरिरहेका कुनै पनि कृषक, कृषि समूह वा सहकारीलाई उन्नत जातको घाँस खेतीका लागि १२ लाख ५० हजार रुपियाँ अनुदान उपलब्ध गराउने भएको छ । २५ जना कृषक वा कृषि समूहलाई उपलब्ध गराइने यो अनुदान प्राप्त गर्ने व्यक्ति वा संस्थासँग उन्नत जातको घाँस उत्पादन हुने जग्गा अनिवार्य हुनुपर्ने पशु सेवा विज्ञ केन्द्रका प्रमुख तथा वरिष्ठ पशु चिकित्सक डा. अधिकारी बताउनु हुन्छ । 


त्यसैगरी पशुपालन गर्ने कृषकलाई आवश्यक पर्ने कुटी काट्ने उपकरण (च्यापकटर) खरिदका लागि सात लाख ५० हजार रुपियाँ अनुदान उपलब्ध गराइने भएको छ । १५ वटा कृषि फर्म वा कृषक समूहलाई उपलब्ध गराइने यो अनुदान प्राप्त गर्ने फर्म वा समूहले कम्तीमा पाँचवटा गाई भैँसी तथा २० वटा बाख्रा अनिवार्य रुपमा पालेको हुनुपर्ने छ ।

बङ्गुरको आधुनिक खोर तथा गोठ निर्माणका लागि पनि मन्त्रालयले अनुदान उपलब्ध गराउने भएको छ । बङ्गुरको खोर निर्माणका लागि मोरङमा मात्र उक्त मन्त्रालयले १२ लाख रुपियाँ विनियोजन गरेको छ । प्रति व्यक्ति वा फर्मका लागि तीन लाख रुपियाँका दरले यो अनुदान उपलब्ध गराइने छ । जसमा पाठापाठी उत्पादन गर्ने कृषक वा कृषक समूहले कम्तिमा १० वटा माउ बंगुर र मासु उत्पादनका लागि २० वटा बङ्गुर अनिवार्य हुनुपर्नेछ ।

 त्यस्तै, लेयर्स पालेर अण्डा उत्पादन गर्नेलाई पनि अनुदान दिइने भएको छ । प्रति व्यक्ति वा संस्थाका लागि पाँच लाख रुपियाँका दरले उपलब्ध गराइने यो रकम मोरङका लागि मन्त्रालयले रु १५ लाख विनियोजन गरेको छ । दुई हजार लेयर्स कुखुरा व्यावसायिक रुपमा पालिरहेको कृषक वा कृषक समूहले पाउने यो अुनदान  फार्मलाई जैविक सुरक्षा र खोर सुधारका लागि दिन लागिएको मन्त्रालयका अधिकारीहरु बताउँछन् ।
त्यस्तै व्यावसायिक रुपमा बाख्रा पाल्ने किसानले बोयर बोका खरिदका लागि मन्त्रालयले मोरङका बाख्रापालक कृषकलाई रू १५ लाख उपलब्ध गराउने भएको छ ।

यो अनुदान २५ वटा बाख्रा पाल्ने कृषक वा ५० वटा बाख्रा पाल्ने सहकारी वा संस्थाले प्राप्त गर्नेछ । व्यावसायिक रुपमा बाख्रापालन गर्ने फार्मले गोठ वा खोर निर्माण लागि पनि मन्त्रालयबाट अुनदान पाउने भएका छन् । प्रति व्यक्ति वा फार्म  दुई लाख ५० हजार रुपियाँका दरले उपलब्ध गराईने यो अनुदान प्राप्त गर्न निजी व्यवसायी भए २० वटा  र सहकारी भए २५० वटा प्रजननयोग्य बाख्रा पालेको हुनुपर्ने छ ।


त्यस्तै गाई÷भैसीको गोठ सुधारमा पनि मन्त्रालयले रु ५० लाख अनुदान उपलब्ध गराउने भएकोछ । पाँच देखि ५० वटा सम्म दुधालु गाई÷भैसी पालक कृषक वा कृषि समूहले यो अनुदान पाउने छन् । पशुको उत्पादकत्व बृद्धि गर्न आहारसँगै उसको बसोबास पनि महत्वपूर्ण हुने भएकाले खोर वा गोठ निर्माणमा सरकारको अनुदान केन्द्रित भएको पशु चिकित्सकहरु बताउँछन

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..