» » यसरी अस्ताए बहुप्रतिभाशाली व्यक्ति

फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका स्वर्गीय रवीन्द्र अधिकारी २०७४ साल चैत्र २ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बन्नु भएको थियो । नयाँ पुस्ताको प्रतिनिधित्व गर्दै नेपाली राजनीतिमा उदाउनु भएका नेकपाका प्रतिभाशाली युवा नेता तथा कास्कीबाट प्रत्यक्ष निर्वाचित सांसद रवीन्द्र अधिकारी छोटो समयमा लोकप्रिय नेता बन्नुभएको थियो ।

देशमा भएको विभिन्न सर्वेक्षणमा १० उत्कृष्ट सभासद् चयन अनलाइन भोटिङबाट रवीन्द्र अधिकारी उत्कृष्ट सभासद्का रुपमा चुनिनु भएको थियो । उहाँ २०७० सालको सविधानसभामा सभासद् हुनु हुन्थयो । उहाँलाई विगतमा गण्डकी प्रदेशको मुख्यमन्त्रीको रुपमा पनि हेरिएको थियो । राजनीतिक विश्लेषकहरुले उहाँलाई भविष्यका नेकपा पार्टी अध्यक्ष र नेपालको प्रधानमन्त्री हुनसक्ने प्रतिभाशाली नेताको रुपमा पनि चर्चा गर्न थालेका थिए । तर पछिल्लो समय भएको वाइडबडी भ्रष्टाचार काण्डमा भने उहाँको नाम जोडिँदा निकै टिका टिप्पणी भएको थियो । त्यसले गर्दा उहाँको प्रतिष्ठा र नैतिकतामा माथि पनि प्रश्न उठेको थियो ।

२०२६ बैशाख २२ गते आइतबार कास्की जिल्लाको भरतपोखरी गाविस जामुनाबोटमा आमा लक्ष्मी अधिकारी र पिता इन्द्र प्रसाद अधिकारीका जेष्ठ सुपुत्रको रुपमा जन्मिनु भएका अधिकारी, आफ्नो गाउँकै श्री ब्रह्म ज्योति प्रा.वि शान्ति पंधेरा गैरागाँउबाट प्राथमिक शिक्षा र शान्ति उदय मावि बरपाण्डेथुमबाट माध्यामिक शिक्षा हासिल गर्नु भएको थियो । सानै उमेरदेखि राजनीतिक गतिविधिमा चासो राख्ने अधिकारी विद्यालयमा अनेरास्ववियु, रेडक्रस, र क्लबहरुमा संलग्न हुनुहुन्थ्यो ।

प्रवेशिका उतिर्ण गर्ने वित्तिकै वन विज्ञान अध्ययन संस्थानमा भर्ना भएपनि केही समयपछि २०४२ सालमा पृथ्वीनारायण क्याम्पस पोखरामा अध्ययन शुरू गर्नु भएकोे थियो । विद्यालयदेखि नै राजनितिमा चासो राख्ने हुनाले क्याम्पस पुगेपछि विद्यार्थी राजनैतिक गतिविधिमा सक्रिय रहनु मात्र भएन, २०४४ सालमा अनेरास्ववियु पृथ्वीनारायण क्याम्पस कमिटीको अध्यक्ष, २०४५ सालमा स्ववियु पृथ्वीनारायण क्याम्पस सदस्य ,२०४५ सालमा नै अनेरास्वबियु कास्की जिल्ला कमिटी अध्यक्ष, २०४७ सालमा गण्डकी अञ्चल अध्यक्ष तथा अनेरास्ववियु केन्द्रीय सदस्य र २०४९ सालमा पृथ्वीनारायण क्याम्पस पोखरा र २०५३ सालमा त्रिभुवन बिश्वबिद्यालय केन्द्रीय क्याम्पस किर्तिपुरमा स्ववियु सभापति निर्वाचित हुनु भएको थियो ।

२०५६ सालमा अनेरास्वबियुका केन्द्रीय अध्यक्ष बन्नु भएका अधिकारी २०५३ सालमा नै स्ववियु काउन्सिल नेपालका संयोजक निर्वाचित हुनु भएको थियो । त्रिबिबाट व्यवस्थापनमा स्नातकोत्तर गर्नु भएका उहाँले संविधानसभा लोकतन्त्र र पुनर्संरचना पुस्तक २०६३ मा प्रकाशित गर्नु भयो । विगत दुई दशकदेखि उहाँका सयौ अनुसन्धान र राजनितिक लेखहरु छापिएका छन् ।

आन्दोलन र जेल यात्रा
पंचायतकालमा बिद्यार्थी आन्दोलन स्वतन्त्रता, प्रजातन्त्र, प्राज्ञिक स्वतन्त्रताको पक्षमा क्रियाशील रहेका थिए । ०४६ को जनआन्दोलनमा क्रियाशिल रवीन्द्र पञ्चायतकालमा पटक–पटक गरी छ महिना भन्दा बढी जेल जीवन बिताउनुभयो । ०४६को परिवर्तनपछि विद्यार्थी आन्दोलन रचनात्मक र बढ्ता शैक्षिक मुद्दामा केन्द्रित हुनुपर्छ भन्ने बिचार राख्ने अधिकारीले पृथ्वीनारायण क्याम्पसमा त्यसलाई सफल प्रयोग र कार्यान्वयन गर्नुभएको थियो ।

२०४५ सालमा पार्टीको संगठित सदस्यता प्राप्त गर्नु भएका अधिकारी २०३९ सालमा पार्टीको रेडगार्ड अर्गनाइजेसनमा संगठित हुनु भएको थियो । २०४० मा इलाका पार्टी कमिटीमा, २०४६ र ४७ मा पोखरा नगर कमिटी र २०४८ मा पार्टी जिल्ला कमिटीमा र त्यसपछि लगातार जिल्ला कमिटीमा सक्रिय रहनु भएको थियो । २०६० मा पार्टीको कास्की जिल्ला कमिटीको सचिव र ०६३ मा पनि पुनः सचिवमा निर्वाचित हुनुभयो । ०६२ र ६३ को अन्दोलन र त्यस अगाडिको प्रतिगमन बिरुद्धको आन्दोलनमा पटक पटक गरी पाँच महिना जेल बस्नुभयो ।

सांसद र संविधानसभा
२०६४ र २०७० सालको संविधानसभा सदस्यमा प्रत्यक्षतर्फ कास्की क्षेत्र नं ३ बाट निर्वाचित भएपछि संसदमा खेल्नुभएको भूमिका सबैले प्रशंसा गरेका छन् । सार्वजनिक लेखा समितिमा रहेर जलबिद्युत, फ्रिक्योंसी, सार्वजनिक संस्थान,बैंक, उद्योग, सेना, बिकास खर्च, मेसिन रीडएबल पासर्पोट आदि विषयमा विभिन्न उपसमितिमा रहेर त्यसको नेतृत्व गरी काम गर्नु भएको थियो ।

संविधानसभामा राष्ट्रिय हितको संरक्षण समिति र युवाहरुको दवाव समिति निर्माण गरी संविधानसभा निर्माणमा निरन्तर खवरदारी गर्नु भएको थियो । संबिधानसभा निर्माणमा सुरक्षा र अन्तराष्ट्रिय सीमाका विषयमा उपसमितिको नेतृत्व गर्नु भएको थियो । २०७० को चुनावपछि संसदको विकास समितिमा सभापति रहनु भयो ।

संसद्को विकास समितिमा रहँदा नेपालमा विकासको बहसलाई नयाँ उच्चाई दिन सफल अधिकारीले राष्ट्रिय गौरवका योजनाहरु र अन्य विकास निर्माणका योजनालाई सफल बनाउन क्रियाशिल रहनुभएको थियो । २०७४ सालको संघीय संसदमा कास्की क्षेत्र नं. २ बाट निर्वाचित हुनु भएको थियो । लगातार तेश्रो पटक निर्वाचित अधिकारी हाल नेपाल सरकारको संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री हुनुहुन्थ्यो ।

विकास प्रेमी
राजनीति र विकास एक अर्काका अन्तरसम्बधित हुन भन्ने ठान्ने रबिन्द्र अधिकारी संविधानसभा र संसदमा रहँदा कास्की जिल्लाको विकासमा महत्वपूर्ण भूमिका खेल्नु भएको थियो । उहाँले पोखराको पर्यटन विकास, ग्रामीण बाटो, फेवा बेगनास, रूपा लगायत ताल तलैयाको संरक्षणको क्षेत्रमा उलेख्य भूमिका खेल्नु भएको थियो ।

पोखरालाई विश्वकै उत्कृष्ट शहर बनाउने अभिष्ट बोक्नु भएका अधिकारी पोखरामा अन्तराष्ट्रिय विमानस्थल, चक्रपथ, काठमाण्डौँ पोखरा लुम्बिनी फाष्ट ट्र्याक, काठमाडौँ पोखरा रेल वे, मध्यपहाड़ी राजमार्ग, जस्ता पूर्वाधार निर्माणको दवाव सृजना गर्ने काम गर्न महत्वपूर्ण भूमिका खेल्नु भएको थियो । शब्दचित्रमा अधिकारी

नाम–रवीन्द्रप्रसाद अधिकारी
बुवा–इन्द्रप्रसाद अधिकारी
आमा–लक्ष्मीदेवी अधिकारी
जन्म–बि.सं. २०२६ बैशाख २२ गते
जन्मस्थल–कास्की भरतपोखरी गाबिस–९ जामुनाबोट
श्रीमती–बिद्या भट्टराई (तत्कालीन विद्यार्थी नेतृ, हाल त्रिभुवन विश्वविद्यालय अन्तर्गत आरआर क्याम्पसका प्राध्यापक)
अध्ययन–व्यवस्थापनमा स्नातकोत्तर
सन्तानः दुई छोरा

विद्यार्थी राजनीतिः
१. २०३७ सालमा विद्यार्थी राजनीति मार्फत राजनीतिमा प्रवेश ।
२. प्रवेशिका उतीर्ण गर्ने वित्तिकै बन बिज्ञान अध्ययन संस्थानमा भर्ना भएपनि केही समयपछि २०४२ सालमा पृथ्वीनारायण क्याम्पस पोखरामा अध्ययन शुरू ।
३. विद्यालयदेखि नै राजनितिमा चासो राख्ने हुनाले क्याम्पस पुगेपछि बिद्यार्थी राजनैतिक गतिबिधिमा सक्रिय ।
४. २०४४ सालमा अनेरास्ववियु पृथ्वीनारायण क्याम्पस कमिटीको अध्यक्ष ।
५. २०४५ मा १ वर्ष माध्यमिक विद्यालयमा अध्यापन ।
६. २०४५ सालमा स्ववियु पृथ्वीनारायण क्याम्पस सदस्य ।
७. २०४५ सालमा नै अनेरास्ववियु कास्की जिल्ला कमिटी अध्यक्ष ।
८. २०४७ सालमा गण्डकी अन्चल अध्यक्ष तथा अनेरास्वबियु केन्द्रीय सदस्य ।
९. २०४९ सालमा पृथ्वीनारायण क्याम्पस पोखरामा स्ववियु सभापति निर्वाचित ।
१०. २०५३ सालमा त्रिवि केन्द्रीय क्याम्पस किर्तिपुरमा स्ववियु सभापति निर्वाचित ।
११. २०५३ सालमा नै स्ववियु काउन्सिल नेपालका संयोजकमा निर्वाचित ।
१२. २०५६ सालमा अनेरास्वबियुका केन्द्रीय अध्यक्ष

विद्यार्थी आन्दोलन
–शिक्षामा भएको निजीकरण र व्यापारिकरण विरुद्ध लामो संघर्ष
–प्रविधिक शिक्षाको विस्तार र गुणस्तरियता, सबैकालाई गुणस्तरीय शिक्षा जस्ता आन्दोलनको अगुवाइ
–वहुचर्चित कालापानी मार्चको नेतृत्व
–सीमा सुरक्षा अभियान, नेपाली भू–भाग डूबाउने लक्ष्मणपुर बाँंधको विरोध
–शाहज्यादा पारस शाहको ज्यादती बिरुद्ध आन्दोलन, हत्यारा बस्ने दरबारमा हैंन जेलखानमा हो भन्दै ५ लाख २३ हजार हस्ताक्षर दरबारमा बुझाउने आन्दोलनको नेतृत्व
–यातायात लगायत सार्वजनिक क्षेत्रमा ३३ प्रतिशत विद्यार्थी सहुलियतको आन्दोलनको प्रमुख अगुवाई ।


राजनीतिक यात्रा
१. २०४६ सालदेखि राजनीतिमा विशेष सक्रिय ।
२. पञ्चायत विरोधी आन्दोलनमा लागेका कारण २०४६ सालमा ८ महिना जेल जीवन ।
३. प्रतिगमन विरोधी आन्दोलनमा ४ पटक पक्राउ परी हिरासत ।
४. बिगतमा एमाले कास्की जिल्ला कमिटीका सदस्य ।
५. बिगतमा एमाले कास्की जिल्ला कमिटीका सचिव ।
६. बिगतमा एमाले कास्की जिल्ला कमिटीका अध्यक्षमा निर्वा्चित ।
७. संविधानसभा २०६४ को सभासद ।
८. सविधानसभा २०७० को सभासद् ।
९. रुपान्तरित व्यबस्थापिका संसदको सदस्य ।
१०.२०७४ को आमनिर्वाचनमा पुनः  तेस्रोपटक कास्कीवाट प्रतिनिधि सभामा निर्वाचित
११.नेकपाका केन्द्रीय सदस्य
१२.वर्तमान सरकारका संस्कृति ,पर्यटन तथा नागरिक उड्डयन मन्त्री

कृति
१. संविधानसभाः लोकतन्त्र र पुनर्संरचना
२. समृद्ध नेपाल
३. बिगत दुई दशकदेखि राजनीति एवं विकाससम्बन्धी  सयौ अनुसन्धान र राजनीतिक लेखहरु प्रकाशित  भएका छन् ।

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..