» » भारतीय अखबारबाट गायब भएको खोजी पत्रकारिता

–जोसी जोसेफ
‘बाइलाइन’ शब्द सबैभन्दा पहिले सय वर्ष पहिले प्रकाशित अर्नेस्ट हेमिङ्ग्वेको उपन्यास ‘द सन अल्सो राइजेज्’मा देखिएको थियो ।

समयसँगै पत्रकारहरू माझ रहेका आदर्शवादीहरूको लागि बाइलाइन, पत्रकारिताको शक्तिको प्रतिनिधित्व गर्ने प्रतीक बन्न गयो । यसको पछाडिका कारण यसले दिने त्यो साहस थियो जसमार्फत एक समान्य पत्रकार शक्तिशाली मानिसहरूलाई चुनौती दिन सक्थ्यो ।

एक युवा पत्रकारको रूपमा यही ‘बाइलाइन’ नै थियो, जसको म कामना गर्थे र जसको पवित्रतामाथि म विश्वास गर्थें । त्यो समय सम्पादक आफ्नो सम्पूर्ण सामर्थले यसको संरक्षण गर्थे । यही बाइलाइनका सुस्त र हिंस्रक मृत्युलाई मैले आफ्नो करियरमा नजिकबाट देखे ।

यो हत्यामा शक्तिलम्पट राजनेता र उद्योगपतिहरूको मात्रै होइन, मिडिया मालिक र उनका सम्पादकहरूको पनि हात थियो । एक दशकभन्दा पहिले मैले आफ्नो इमेलमा ‘मुर्दा घर’ नामको एक फोल्डर बनाएको थिएँ । म यो फोल्डरमा ती स्टोरीहरू सङ्ग्रह गर्न लागेँ, जो पत्रकारिताको मानकहरूमा त खरो उत्रिएका थिए तर कतै तिनलाई मैले कतै छाप्न पाइनँ । मैले आफ्नो जागिर बदलिरहँदा पनि त्यो फोल्डको बजन बड्दै गयो ।

एक ठूलो स्टार्ट–अप पत्रिकाका लागि काम गर्नेदेखि लिएर ठूलो नाफा कमाउने भनेर प्रसिद्ध सञ्चारगृहदेखि लिएर ठूला नैतिकवान भनिएका प्रतिष्ठावान सञ्चारगृहसम्म यो फोल्डरमा सबैको स्थान छ । मृत कथाहरूको शवगृह देशका ठूला राजनेता र कर्पोरेट दिग्गजहरूमाथि गरिएको रिपोर्टिङको सङ्ग्रह हुन्, जो बलियो मिडिया भएका देशमा निक्कै ठूलो मानिन्थ्यो ।

कानुन पालना गर्ने समाज तिनले ठूला आपराधिक जाँचहरूलाई प्रेरित गर्थे । तर भारतमा यस्तो रिपोर्टिङको कुनै महत्त्व छैन । मैले कैयौँ पटक यस्ता सम्पादकहरू पनि देखेँ, जो पत्रकारिता सँगसँगै बढे तर यस्ता विरलै छन् । न्युजरुमको संस्कृति विस्तारै खराब भयो र स्व–सेन्सरसिप गर्नु युवा पत्रकारहरूको प्रकृति बन्यो ।

करियर सुरु भएको केही वर्ष्भित्रै म न्युजरुमको वास्तविकताहरूसँग परिचित भएँ । लगभग एक दशक पहिले एक साँझ मलाई आफ्नो समाचारपत्रको प्रवद्र्धकको फोन आयो । मेरो टिमका एक सदस्यले एक रहस्यमय आगोबारेमा एक सनसनी खोज कथा खोजेका थिए । आगलागीमा एक प्रमुख रियल स्टेट कम्पनीमाथि लगाइएको ठूलो जरिवानासँग सम्बन्धित आयकरका फाइलहरूलाई नष्ट भएको थियो ।

प्रवद्र्धकले मलाई उक्त कम्पनीको कोही व्यक्तिले आफ्नो कुरा राख्न चाहेकाले केही दिनलाई कथालाई रोकेर राख्नलाई भने । दुई दिनपछि पत्रिका कर छलीको आरोप लागेको घरजग्गा कम्पनीको एक ज्याकेटमा लपेटिएर आयो । त्यो खबर फेरि कहिले पनि पत्रिकामा छापिएन ।

पछिल्लो केही दशक भारतीय मिडयालाई नाफासँग मात्र मतलब रहेको देखिन्छ । सबैले लोकतन्त्रको चौथो स्तम्भका रूपमा आफ्नो भूमिका त्यागिदिएका छन् । यस्तो स्थितिमा सराहना त टाढाको कुरा उल्टो राम्रो रिपोर्टिङलाई सक्रिय रूपमा सेन्सर गरिन्छ ।

व्यावासायिकतालाई कायम राख्दै सम्पादकहरू विभिन्न स्वार्थहरूलाई सन्तुलित गर्ने कोसिस गरिरहेको दलालको काम गर्छन् । उनीहरू मालिकहरूको राजनीतिक र व्यावसायिक महत्त्वका लागि आफ्ना ब्रान्डलाई प्रयोग गर्न पनि तयार हुन्छन् । सबैभन्दा बढी र सबैभन्दा मोटो तलब वा प्याकेज ज्यादाजसो दलालहरूका लागि सुरक्षित हुन्छ । दलाल भन्नाले ती पर्छन्, जो पत्रकारका रूपमा चाप्लुसी गरिरहेका छन् ।

 तिनले मिडिया मालिकहरूका लागि नेता, कर अधिकारी र प्रहरीजस्ता अफ्ठ्याराहरूसँग सामना गर्ने र डिल गर्ने काम गर्छन् । यसको सबैभन्दा नराम्रो प्रभाव रिपोर्टसहरूमा परेको छ, जसलाई यस्तो विषम परिस्थितिहरूमा दीक्षित गरिदिइएको छ । आजको समयमा एक रिपोर्टरको काम पृष्ठहरू भर्नका लागि प्रर्याप्त सामग्रीहरू खोज्नु हो ।


हरेक कदममा आफैलाई सेन्सर गर्ने पाठ पढेका यी रिपोर्टरहरू यस्तो कुनै समाचार लेख्ने हिम्मत गर्न सक्दैनन्, जसले एक प्रतिष्ठित न्युजरुममा उसको सुरक्षित अस्तित्वलाई खतरा परिदिन्छ । यस्तोमा अधिकांश रिपोर्टर केवल न्युज वायरमा आउने खबरहरूलाई रिपोर्ट गर्छन्, जो प्रतिष्ठानको लागि सार्वजनिक सम्बन्ध सामग्रीलाई मन्थन गर्छ ।

रिपोर्टर यी खबरहरूलाई हल्का संशोधित गर्छन्, आफ्नो नाम हाल्छन् र आफ्नो खेर्सालाई दर्ता गरिदिन्छन् । बदलामा सम्पादक पनि खुशी हुन्छन्, किनकि यिनलाई सम्पादन गर्नका लागि त्यति गाह्रो हुन्न । त्यस्तै, यस्ता समाचार छापिसकेपछि न त कुनै ठूलो कर्पोरेटलाई शान्त गर्नुपर्दैन, न कुनै सरकारी धम्कीको सामना गर्नुपर्छ ।

नतिजा हामीहरूले पढ्ने हरेक पत्रिका एउटै लाग्छ । धेरैजसो पत्रिकाको पहिलो पृष्ठ सरकारी उत्सव मनाइएको कार्यक्रमहरूका सन्देशहरूले भरिएका हुन्छन् ।

जब ठूला र शक्तिशाली मानिसहरू लडिरहेका हुन्छन् (जस्तो हालै सीबीआई र आरबीआईभित्रको विवादको मामला) पत्रिकाहरूमा लिक छापिन थाल्छ । पत्रिकाका बाँकी भागमा करर्पोरेट घोषाणाहरू, केही अफ बिट मानवीय रुचिवाला कथा र केही तथ्याङ्कमा आधारित लेख हुन्छन् । त्यहाँ खोज पत्रकारिता गायब हुन्छ ।

हुन त यो प्रक्रियालाई लामो समयदेखि जारी थियो तर वर्तमान सरकारको पालामा जति मिडियाको अपमानजनक स्थिति पहिले कहिल्यै देखिएको थिएन । सामजिक सञ्जालमा ठूलो सम्भावना देख्ने नरेन्द्र मोदी पहिलो नेता थिए ।

यो प्लेटफर्ममा मोदी र उनको सरकार यस्तो जानकारी दिइरहेका छन् जो पत्रकारिताको जाँचमा खरो उत्रँदैन । त्यहाँ जो मोदीलाई प्रश्न गर्छन् वा जवाफदेहिताको माग गर्छन्, उनीहरूमाथि हनुमान सेना जाइलाग्छन् ।

खासमा मोदी सरकार आएपछि पत्रकारहरूको लागि सामजिका मिडिया सरकार बारे सूचनाको प्राथमिक स्रोत बनेको छ । धेरैजसो दिन मोदी या सरकारका मन्त्रीको ट्विट पत्रकारहरूका लागि प्रमुख खबर हुन्छ ।

सरकारको आन्तरिक कार्यहरूको जानकारीबाट विमुख गरिएका पत्रकारहरू आफ्नो धेरै समय सामाजिक सञ्जालमा खोजेर बिताउनुपर्छ । मोदीले पारम्परिक मिडियालाई पनि राम्रोसँग व्यवस्थापन गर्न जानेका छन् । सन् १९९० को दशकमा टेलिभिजन पर्दामा छाउन सुरु गरेका उनले त्यसयता फ्रेम छाड्ने नामै लिएका छैनन् ।

अधिकांश पत्रिकाहरूको राष्ट्रिय ब्युरो त्यस्ता पत्रकारहरूबाट भरिएको छ, जो पत्रकारिताको साटो पहुँचलाई आफ्नो लक्ष्य मान्छन् । यहाँसम्म कि केही पत्रकार साथीहरू जो सन् २०१४ को चुनावभन्दा अघि राम्रो फिचरको लागि मलाई बधाई दिन्थे र खोज पत्रकारिताका बारेमा जसको कुरा निक्कै राम्रो लाग्थ्यो, उनीहरू पनि सरकारको अघि झुकिरहेका छन् ।

 यो उनीहरू आफ्नो जागिर कायम रहोस् भन्नका लागि गरिरहेका छन् । हाल उनी सरकारको प्रचारकमा बदलिएका छन् । योबीच देशमा चलिरहेको घटनाक्रममा प्रश्न उठाउने केही सम्पादकहरूले जागिर गुमाए । ठूला न्युजरुमबाट विरोधको स्वर गायव भएको छ ।

आत्मसेन्सर र भयको वातावरण मिडियामा मात्र सीमित छैन । एक अनुदार लोकतन्त्रमा बदलिने प्रक्रियामा रहेको भारतका हरेक संस्थानमाथि हमला गरिँदैछ ।

 ह्विसल–ब्लोअर सधैँ राम्रो रिपोर्टिङमा एक महत्त्वपूर्ण घटक रहेको छ । तर भारतमा यो कामले तपाईंलाई जेल पुर्याउन सक्छ, तपाईंको हत्या हुन सक्छ । साथै तपाईंले अतिवादी विचारधाराको नशामा डुबेका सामाजिक मिडियाका हुनमानहरूको सेनाको हमला सामना गर्नुपर्ने हुनसक्छ । चलाख नोकरशाहीको सल्लाहपछि विगत वर्षहरूमा सरकारले ह्विसल ब्लोअरलाई जति पनि सुरक्षा प्राप्त थियो, त्यसको घाँटी रेटिएको छ ।

सरकारको उच्च स्तरमा हुने भ्रष्टाचारको जाँच गर्नका लागि बनाइएको संस्था ‘केन्द्रीय सतर्कता आयोग’को विश्वसनीयतामाथि नै शंका उत्पन्न भएको छ । भ्रष्टाचार रोकथाम अध्यादेशलाई यो वर्षको सुरुवातमा संशोधित गरियो र ‘आपराधिक दुव्र्यवहार’को परिभाषालाई कमजोर गरियो । उता सरकारी अधिकारीहरूमाथि मुद्दा चलाउनका लागि नयाँ प्रतिबन्ध लगाइयो । सरकार सूचनाको अधिकारको कानुनलाई लिएर द्वेषपूर्ण रहेको छ । सूचना आयुक्त नियुक्ति गर्न अस्वीकार गरिरहेको छ ।

यहाँसम्म कि कानुनलाई कमजोर बनाउने बाटोहरूको खोजी हुँदै छ । आजकल अघिल्लो यूपीए सरकारका घोटलाहरूसँग जोडिएका दस्तावेजहरू चुहाउन महत्त्वपूर्ण भूमिका निभाउने अधिकारीहरूलाई खोज्न मुस्किल छ ।  अझ भेटिहालेमा उनीहरूसँग कुरा गर्न झनै मुस्किल छ । सरकारको कामकाजसँग जोडिएको हरेक नसामा सत्ताको भयको सुई रोपिएको छ ।

वर्तमान सरकारको डरलाग्दो गिरोहको असर यस्तो भएको छ कि जब कोही पुरानो सम्पर्क सूत्र भेटिन्छ तब उसको व्यवहार विचित्र लाग्छ ।

आफ्नो कार्यालयको पर्खालहरूतर्फ उनीहरू यसरी हेर्छन मानौँ आसपास भूत छ । फोनमा उनीहरू इन्क्रिप्टेड म्यासेजिङ प्रणालीलाई प्राथमिकता दिन्छन् । सार्वजनिक स्थानमा उनीहरू सरकारको प्रशंसा गर्छन् । एक समय सजिलै जानकारी दिने वरिष्ठ अधिकारीहरूसँग अब गफ गर्दा बेतुकका कुरा गर्छन् । एक महासय आफ्नो आवाजमा कोरियोके गीत पठाउँछन्, अर्को अन्तर्रा्ष्ट्रिय किताबहरूमाथि चर्चा गर्ने आफ्नो शोखबारे बताउँछन् ।

जबकि तेस्रो जो अघिल्लो सरकारको पालामा दिल्लीको खान मार्केटमा पत्रकारहरूसँग गफ गर्ने गर्थे अब कतै देखाइँदैनन् । भेटिएको बेला जब उनी उनको कुरा सुन्ने कोही छैनन् भन्ने कुरामा विश्वस्त हुन्छन् तब सरकारका कैयौँ असफलताबारे कुरा गर्न थाल्छन् । 

हालैका वर्षहरूमा रिपोर्टिङ सुरु गर्ने पत्रकारहरूले रिपोर्टिङको यी पक्षबारे मात्रै जानेका छन्– नभेटिने कर्मचारी, उपलब्ध नहुने स्रोत र एकतर्फी जानकारीको प्रवाह ।

 पत्रकारहरूको एक पिढीलाई सरकार र कर्पोरेट रिपोर्टिङले कसरी काम गर्छ भन्ने कुरा जान्ने मौका नै मिलेन । चुपचाप सबै सहने पीडितहरूको सूची अन्त्यहीन छ । यसमा फ्रिलान्सरहरू पनि छन् । उनीहरूसँग मुद्दासँग लड्नका लागि कानुनी सहयोग हुँदैन । स्थानीय माफियासँग जोरी खोज्ने पत्रकारहरू मारिन्छन् । महानगरका वरिष्ठ पत्रकाहरूले मासिक तलबका लागि आफ्नो आदर्शलाई समर्पण गरिदिएका छन् ।

मेरो ‘मुर्दा घर’ फोल्डरमा रहेका कुनै पनि ‘स्टोरी’ नपढिएको भने होइनन् । निक्कै ताजा रिपोर्टिङको अतिरिक्त मेरो त्यो फोल्डरको कैयौँ स्टोरीले सन् २०१६ मा लेखिएको मेरो किताब, ‘ए फिस्ट अफ भल्चर ः द हिडन बिजनेस अफ डेमोक्रेसी इन इन्डिया’मा स्थान पाएको छ । एक ठूलो मिडिया हाउसले मेरो किताबको एक अंश छाप्न चाहना देखायो । एक महिनासम्म मेरो किताब आफूसँग रोखिसकेपछि उसले मेरो पुस्तक छाप्ने प्रकाशकसँग यसमा सामेल कुनै पनि कर्पोरेट हाउसको नाम लिन नचाहेको बतायो । मूलधार मिडियाले त यसलाई लगभग नदेखेको जस्तो गरिदिए ।

सन् २०१६ जुनमा एक प्रमुख अङ्ग्रेजी म्यागजिनले मेरो किताबको एक अंश छाप्यो, जसमा जेट एयरवेजको प्रवद्र्धक नरेश गोयलका कथित आपराधिक सम्बन्धहरूको उल्लेख गरिएको थियो । जेट एयरवेजले म्यागजिन र मविरुद्ध मानहानिको मुद्दा हालेको छ, जसमा हामीबाट १० अर्ब भारुको माग गरिएका छ । मुद्दा दर्ता भएलगतै म्यागजिनले आफ्नो सम्पादकलाई बर्खास्त गरिदियो । नयाँ सम्पादकले अदालतमा पत्रिकाको तर्फबाट जवाफ दायर गरे र मुद्दालाई फिर्ता लिँदा जेटद्वारा दिइएको कुनै पनि रिजान्डरलाई प्रकाशित गर्ने प्रस्ताव गरिरहेको छ ।

नयाँ सम्पादकले म पनि जोडिएको मुद्दामा आफूहरूले दिएको जवाफ मलाई भन्न आवश्यक ठानेनन् । उनले आफ्ना सहयोगीहरूलाई मसँग कुरा नगर्न  आदेश दिएका छन् भन्ने सुनिन्छ । मुद्दा अझै सुरु भएको छैन । पत्रकारिताको नाममा बनाइँदै गरिएको चम्चागिरी र प्रोपोगान्डाको ककटेलबाट पत्रकारहरूको नयाँ पिढीमा निक्कै आक्रोश छ । उनीहरूलाई पत्रकारितामा गहिरो इमानदारिता र असहमतिको समझबिना नै न्युजरुममा लाइएको छ । जब यी पत्रकारहरूको क्रोधले आफ्नो सीमा नाघ्छ तब नयाँ ‘बाइलाइन’को जन्म हुनेछ ।

(जोसी जोसेफ भारतका खोजी पत्रकार हुनुहुन्छ । टाइम्स अफ इंडिया, द हिन्दु र डीएनए जस्ता मीडियामा काम गर्नुभएको छ ।) 
स्रोतः कारवान् म्यागजिन

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..