» » सुर्यावती पानवाली र पत्रकार

–मीरा राजभण्डारी अमात्य
नेपाल पत्रकार महासंघको राष्ट्रिय सम्मेलनको लागि दुईदिने बिराटनगर बसाइमा पान खाने धोको खासै मज्जाले पुरा नभएको झोक थियो मनमा । महासंघको केन्द्रीय समितिको बैठक सकाएर धनकुटाबाट काठमाण्डौ फर्किने क्रममा इटहरी पुग्दा केही सहयात्री महासंघका केन्द्रीय सदस्यहरुलाई बिदाइ गर्न ओर्लिदा इटहरी चोकैमा रहेको पान पसल पुग्ने साइत जुर्यो ।

 साथमा सहयात्री केन्द्रीय सदस्यहरु पनि बग्रेल्ती हान्निदै पुगे पान खान । एक केन्द्रीय सदस्यले मतिर औँला सोझ्याउदै प्वाक्क बोली हाले “ल ल उहाँलाई स्पेशल ‘जनाना’ पान दिनुस् त । पहिले मलाई र त्यसपछि बोल्ने केन्द्रीय सदस्यलाई क्रमश पुलुक्क हेर्दै ति पानवालीले झोक्किदै भनि हालिन् के हो सर, पान पनि जनाना र मर्दाना हुन्छ ?? महिलाको पान र पुरुषको पान छुट्टै हुन्छ ? महिला भन्दैमा जे कुरामा नि हेप्ने ?? एकै साँसमा बोलिन् पानवालीले र म छक्क परे । मधेशमा महिलाहरुमा आएको जागरण र आत्मविश्वासको पारो चढेको देख्दा मेरो मन प्रफुल्ल बन्यो । तर मेरा सहयात्री केन्द्रीय सदस्य पुरुष मित्र भने छक्क पर्दै के बोलुम् के भनुम् एकछिन रणभुल्लमा परे ।

पुष महिनाको कठयांिग्रने जाडोमा सिरकभित्र गुटमुटिएर चिया पिउने उमेर हो सुर्यावती यादवको यानी पानवालीको । उमेरले ६५ वर्ष पार गरेकी सुर्यावतीलाई आफु कति उमेर पुगें भन्ने सम्म हेक्का थिएन सायद । कर्मलाई प्राथमिकता दिने यादवलाई यति मात्र थाहा छ महिलाहरुले काम गर्नुपर्दछ ।

२०४४ सालदेखि पानको पसल चलाउँदै, तीन सन्तानलाई इज्जतका साथ हुर्काएकी यी आर्दश पानवलीकी सन्तानको नाममा दुई छोरा, एक छोरी छन् । कहिले मतिर हेर्दै त कहिले पुरुष मित्रहरु तिर हेर्दै सुर्यावती थप्छिन्, “कैले सरकारको कैले अरुको मुख किन ताक्नु, महिलाहरु आफै सक्षम छन्, काम गरेर खानुपर्छ । यी मैले गरिन र ? यहि पान पसल थापेर तीन छोरा छोरी हुर्काए, पढायें ।

अहिले एउटा छोरा विदेशमा राम्रो कमाइ गर्छ । आर्को छोरा गाडी लिएर चाइनाको व्यपारमा गएको छ । छोरी मास्टर्स डिग्री पास नेपाल बैंकमा जागिरे छे । भर्खर मात्र उनलाई राम्रो केटो खोजेर बिहे समेत गरी दिए । बडो गर्वका साथ भनिन् पानवालीले । अघिल्लो वर्ष मात्र श्रीमान् गुमाएकी सुर्यावती महिलाहरु आफै सक्षम हुन्छन भन्नेमा विश्वास छ । सुर्यावतीले पढेकी छैनन ।
सुर्यावती यादव

तर भन्छिन् “महिलालाई आफ्नो आत्म सम्मान जोगाउने अधिकार छ । महिलाको आफ्नै पहिचान र गौरव छ । महिलाहरु यी कुराहरु बिर्सनु हुँदैन” । काला अक्षर भैँसी बराबर भएकी सुर्यावतीको राजनैतिक र सामाजिक जगारण देख्दा अचम्म लाग्यो ।


सोधे “तपाईंलाई कसरी थाहा भो महिलाहरुको आत्मसम्मानको कदर हुनुपर्छ ? उनको जवाफ थियो, ‘अरे बहिन हमरा सबकुछ थाहा छ, हामी रेडियो बाट सुन्छौ (ए वहिनी मलाई सबै थाह छन्, हामी रेडियोबाट सबै कुरा सुन्छौ) । मेरो थप जिज्ञासा, “एह हो र कुन रेडियो सुन्नु हुन्छ त ? उनको जवाफ थियो, कान्तिपुर सुन्छु । हाम्रो इटहरीमा पनि छ रेडियो ।’ बडो गौरवका साथ भनिन उनले ।


विगतमा विकासका लागि सञ्चारको नारासँगै प्रजातन्त्र पुर्नस्थापना पश्चात सुरु भएको आम सञ्चारको विकाससँगै पत्रकारिता क्षेत्रभित्र भने विकास पत्रकारिताको माग खासै नभए पनि आम जनमानसमा भने स्वस्फुर्त रुपमा विकास पत्रकारिताकोे बजार र माग बढ्यो । त्यसको प्रत्यक्ष प्रभाव सुर्यावतीहरु जस्ता जाँगरिला महिलाहरुलाई आत्म सम्मान जोगाउन पाठ सिकाउने माध्ययम बन्यो ।

 आफ्ना अधिकार र आत्म सम्मानका रक्षार्थ ती महिला आमाको जागरुकता र साहसका लागि मैले मनमनै एकपटक स्यालुट गरें । नेपालका सातवटै प्रदेश र ७७ जिल्लामा रहेका वरियतामा रहेका पाँचतारे लगायतका होटलमा महिला अधिकार र महिला सशक्तिकरण विषयमा अन्र्तराष्ट्रिय स्तरका ठुलाठुला बहस हुने हाम्रो देशमा सुर्यावती जस्ता महिलालाई त्यसको भेउसम्म हुँदैन ।

 राजनैतिक, शैक्षिक र आर्थिक रुपले समेत पछाडि पारिएका र परेका सुर्यावतिहरुको पहुँच त्यहाँसम्म पुग्दैन । तर आमसंचार त्यो पनि कम पढे लेखेका महिलाका पहुँचमा रहने सहज र सरल माध्ययम रेडियो पत्रकारिता सुर्यावतीहरुका लागि सहजकर्ता बनेको छ ।

मधेसमा त्यसमाथि पनि जातिय र सांस्कृतिक आधारमा समेत सामाजिक र आर्थिक रुपले विपन्न महिलाको वर्गमा दरिएको उनको जमातका नेपाली महिलाहरुका  लागि अहिले सुर्यावती उदाहरणीय पात्र हुन् मेरो बुझाईमा । विहान ६ बजे आफनो सानो पान पसलमा कर्म गर्न पुग्ने सुर्यावती अहिलेसम्म पनि घर धन्दा समेत आफै गर्छिन् । विगतमा घर पसल र नानीहरुका स्याहारमा आर्थिक रुपले समेत गा¥हो बनेका उनका दिनहरु इतिहास बनेको छ । विगतमा जस्तो काम गर्नै पर्ने दवाब वा अभाव भने अब छैन ।


विगत ३१ वर्षदेखि निरन्तर पान बेच्दै आएकी कथित पानवालीको कथा जति मार्मिक छ, त्यसको उल्टो उनको प्रस्तुति भने फरक छ ।

सरकारले अब महिलाका लागि के गर्नु पर्छ भन्ने मेरो जिज्ञासमा उनी भन्छिन्, “सरकारले के गर्नु प¥यो र ?, भगवानले दिएको हात खुट्टा छैन र ?” यो उनको प्रति प्रश्न थियो मसँग । नेपालमा सशस्त्र द्धन्द पछि नेपाललाई स्वर्ग बनाउँछु भन्दै आमजनताको भोट लिएर नीतिनिर्माण तहमा पुगेका नेतृत्ववर्ग प्रति भने सुर्यावती निराश छिन्, “सरकार आफै एक आपसमा झगडा गरी रन्छन्, खोई हामी महिलाको बारेमा सोच्ने बिचार्ने फुर्सद कहाँ छ र बहिन ।”


महिलाले काम गरेर खानुपर्छ भने दरिलो विश्वासमा खाँदिएकी सुर्यावतीको विश्वास छ, महिला हरेक काममा सक्षम छन् । विदेशको त के कुरा नेपालमै अहिले महिला राष्ट्रपति रहेको र स्थानीय निकायमाको उपल्लो तहमा (उपमेयर) महिला रहेने अवस्था राज्यको नीतिले खुल्ला गरि दिएकोमा उनी गौरव गर्छिन र भन्छिन् “महिलाहरु के कुरामा कम छन् र ?” नेपालको फेमिनिजमले महिला समानता र समताको मुद्दा उठाउँदै आएको दशकौं विति सकेको छ । यस क्षेत्रमा काम गर्ने सरकारी र गैरसरकारी संस्थाको सँख्या आंकलन गर्दा पनि तीनसय पुगी सकेको विज्ञहरु बताउँछन् ।

तर नेपालमा जे जस्तो रुपमा फेमिनिजमका मुद्दा ती संगठनबाट उठेका छन्, ती मुद्दाहरुमा सिमान्तकृत वर्गका सुर्यावतीहरु जस्ता तहसम्ममा पुग्न सकेको छैन ।


उनी सँगको छोटो कुराकानी पछि बस तिर लागें । उनले बनाएको मिठा पान खाँदै । तर खोइ किन हो उनीसँग कुरा गर्न पुगेको महसुस भएन । इटहरीबाट बाठमाडौ लाग्नु अघि ती आदर्श महिलालाई केही धन्यवादका शब्द उनको आफनै भाषामा दिन मन लाग्यो । मैथिली भाषा बुझे पनि बोल्न भनें मलाई कम आउँछ । त्यसैले केन्द्री सचिव शीतल महतो दाइसँग सहयोग माग्दै भने “दाई म तपाईंलाई बिर्सन्नलाई मैथिलीमा कसरी भन्ने ? “हम आहाके नइ भुलव” दाइले हौसिदै सिकाइ दिनु भोे । म हान्निदै बसबाट ओर्ले र ती पानवाली दिज्यु समक्ष गएर भने “हम आहाके नइ भुलब”.. पहिले छक्क पर्दै अनि पछि गलल हाँसिन् सुर्यावती ।

 म हात हल्लाउँदै हाँस्दै फर्किएें । मेरो मन अत्यन्त प्रफुल्ल बन्यो । उनको पानले मुखमा मिठास त बनाएको थियो नै थप मेरो मैथिली भाषा बैंकमा एउटा वाक्य थपिएको थियो । यस मानेमा म दङ थिए । बस गुड्नै लागेको थियो । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्यहरु हतार हतार गाडी चढ्ने क्रममा थिए । अचानक  “रुको रुको” भन्दै ति पानवाली महासय  आइन् र मलाई बोलाइन् ।


 तर हेर्छु त अरे वाह उनको हातमा फेरी एउटा मिठा पान, मेरो लागि फ्री मा । उनको प्रेम र स्नेहको स्वाद मिसिएको मिठा पान । म दगैं । बसमा अन्य साथीहरु लोभ लाग्दो नजरले हेर्दै हाँस्दै थिए । बधाईको ओइरो पनि आयो । मन पुल्लकित बन्यो । मनमनै भने जय मधेस, जय पानवाली दि । वास्तवमा नै मधेश र मधेसीको सँस्कारमा मिठास अझै मरेको छैन, उही मिठा पान जस्तै, अनि कहिले नमिटिने उही पानको गाढा हरियो रंग जस्तै । फेरी पनि भन्न मन लाग्यो, जय पानवाली, जय मधेस जय नेपाल ।

(लेखिका नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य हुनुहुन्छ) 
amatyameera@gmail.com

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..