» » प्रधामन्त्री ओली र रेशमको कनेक्सन

कैलाली टीकापुर घटनाको मुख्य दोषीको आरोपमा रेशम चौधरी अहिले थुनामा हुनुहुन्छ । पुस १६ गते उहाँको सपथ भयो । कैलाली १ बाट प्रतिनिधिसभा चुनाव जित्नु भएका चौधरीलाई चुनाव जितेको प्रमाणपत्र समेत दिएको थिएन । भूमीगत अवस्थामा उहाँले चुनाव जित्नुभएको थियो । प्रहरीका मोस्टवान्टेडमा रहनु भएका उहाँ भागी भागी हिडि रहनु भएको थियो ।

पछि अदालतमा हाजिर भएपछि पुर्पक्षका लागि उहाँलाई थुनामा राखेको थियो । त्यसपछि राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले उहाँको रिहाय र सपथग्रहणको माग राख्दै आन्दोलन गरिरहेको छ । उहाँको सपथ भएपछि हाल उहाँ थुनामा नै हुनुहुन्छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको योजना अनुसार नै चौधरीलाई अदालतमा आत्मसर्पण गराएर काठमाडौको डिल्लीबजार सदरखोरसम्म ल्याएको खुलेको छ । प्रधानमन्त्री बन्न स्पष्ट बहुमत हुँदा हुँदै प्रतिपक्षमा पनि काँग्रेसलाई एक्ल्याउन उहाँले रेशम चौधरीलाई शपथग्रहण गराउनुदेखि लिएर रिहायसम्मको योजना बनाउनु भएको थियो ।

 २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको घटनामा एकबालक सहित आठजनाको निधन भएको थियो । सो घटनामा मुख्य दोषी रेशम चौधरीलाई देखाएपछि उहाँ फरार भएका थिए । प्रहरीले उहाँलाई मोस्ट वान्टेडमा राखेर खोजी गरिरहेको थियो ।

भारतको विभिन्न ठाउँमा लुक्दै बस्दै आएका रेशम चौधरीले भारत भ्रमणमा रहेका तत्कालिन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई २०७३ भदौ ३१ गते दिल्लीको ताज होटेलमा भेटेपछि उहाँको मुद्दा कमजोर हुँदै गइरहेको थियो ।

 त्यसपछि चौधरीलाई नेपाल फर्काएर मुद्दा फिर्ता लिन लगाउने योजना शुरु भएको थियो । तर, रेशम चौधरीमाथि लागेको मुद्दा फिर्ता लिन तत्कालिन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मात्र नसक्ने भएपछि उहाँले तत्कालिन एमालेका अध्यक्ष ओलीसँग कुरा गर्नुभएको थियो । रेशम चौधरीको मुद्दा फिर्ता लिने प्रधानमन्त्री ओली तत्कालिन अवस्थामा सहमत भएका थिएन ।

२०७४ मंसिर प्रिितनिधिसभाको चुनाव सम्पन्न भएपछि दुई तिहाई बहुमत भएको सरकारको नेतृत्व गर्ने भएपछि मात्र ओली राजपा नेपालको माग रेशम चौधरीप्रति सकारात्मक भएका थिए । २०७४ फागुन ३ गते प्रधानमन्त्री भएका ओलीले फोरम र राजपा नेपाललाई पनि सरकारमा सहभागी गराउन प्रयास शुरु गर्नुभएको थियो ।

फोरम नेपाल त सरकारमा सहभागी भए तर राजपा नेपालले रेशम चौधरीको रिहाय र शपथग्रहणलाई मुख्य मुद्दा बनाए । रेशम चौधरीलाई शपथ ग्रहण गराई रिहाय नगरेसम्म आफूहरु सरकारमा सहभागी नहुने स्पष्ट पारेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २७ गते संसदमा विश्वासको मत हासिल गर्नुभयो । त्यसअघि राजपा नेपालसँग प्रधानमन्त्री ओलीले पटक पटक छलफल गरेर सरकार ल्याउन प्रयास गर्नुभएको थियो । राजपा नेपालले विश्वासको मत दिने भएपछि रेशम चौधरी फागुन १४ गते कैलाली जिल्ला अदालतमा उपस्थित हुनुभएको थियो ।

जिल्ला आदलतमा उपस्थित भएका उनलाई पूर्पक्षका लागि थुनामा राखेपछि राजपा नेपालका अध्यक्षमण्डलका तत्कालिन संयोजक महन्थ ठाकुर प्रधानमन्त्री केपी ओलीलाई फागुन १९ गते प्रधानमन्त्री निवास बालुवाटारमा गएर भेट्नु भएको थियो ।

अदालतमा हाजिर भएपछि रेशम चौधरीलाई केही हुँदैन, उहाँको मुद्दा फिर्ता हुन्छ भन्नुभएको थियो तर तपाईको सरकारले उहाँलाई थुनेर राख्यो त भनि ठाकुरले प्रधानमन्त्री अ‍ोलीलाई भनेको राजपा नेपालका एक नेताले बताउनुभयो । त्यसपछि अ‍ोलीले उहाँ थुना भएपनि उहाँलाई बाहिर ल्याउने आफ्नो जिम्मा र त्यसका लागि सरकारमा र पार्टीमा वतावरण बनाउन केही समय दिन माग गर्नुभएको थियो ।

यी दुईजनामा यस्तो वार्ता भएपछि रेशम चौधरीले त्यसको भोलीपल्ट अर्थात फागुन २० गतेदेखि जेलमै अनसन शुरु गर्नुभएको थियो । अनसन बसेको भोलीपल्ट अर्थात फागनु २१ गते प्रधानमन्त्री ओलीले राजपा नेपालका नेताहरुलाई बालुवाटारमा बोलाएर लामो छलफल गर्नुभएको थियो ।

 छलफलमा रेशम चौधरीको विषयमा छलफल भएको थियो । तर, ओलीले राजपा नेपालका नेताहरुलाई सरकारमा सहभागी हुनका लागि छलफलमा बोलाउनु भएको थियो ।

राजपा नेपालका नेताहरुले आफ्नो नेता जो सांसद पनि हुनुहुन्छ, उहाँ जेलमा बस्ने र पार्टी सरकारमा जाने हुँदै हुँदैन भनि सरकारमा जान मान्नुभएको थिएन ।

त्यहाँ पनि प्रधानमन्त्री अ‍ोलीले रेशम चौधरीलाई शपथग्रहण गराउने र मुद्दा फिर्ता लिने जिम्मा आफ्नो भएको त्यसमा राजपा नेपालका नेताहरुलाई कुनै चिन्ता नलिन आग्रह गर्नुभएको थियो । प्रधानमन्त्री ओलीले रेशम चौधरीको बारेमा गृहमन्त्री रामबहादुर थापा र केही अधिवक्ताहरुसँग छलफल पनि गर्नुभएको थियो ।

राजपा नेपालका नेताहरुले गृहमन्त्री रामबहादुर थापालाई फागुन २६ गते उहाँकै मन्त्रालयमा गएर भेट्नु भएको थियो । गृहमन्त्री थापाले पनि रेशम चौधरीको मुद्दा फिर्ता हुनेमा विश्वास दिलाएको त्यो बैठकमा सहभागी राजपा नेपालका महासचिव केशव झाले बताउनुभयो । मुद्दा फिर्ता लिने लगायतका विषयमा कानुन प्रकृयाहरु के के छन् त्यसको बारेमा सल्लाह गरेर अगाडि बढ्ने गृहमन्त्री थापाले त्यसबेला आश्वासन दिएको झाले बताउनुभयो ।

गृहमन्त्रीको आश्वासन
गृहमन्त्री थापाले त्यो दिन मुद्दा फिर्ता हुने आश्वासन मात्र दिएनन्, कैलालीको जेलमा अनसन बसेका रेशम चौधरीलाई त्यही दिन काठमाडौ ल्याउन निर्देशन पनि दिनुभएको थियो र साँझ पाँच बजे बुद्धएयरबाट काठमाडौ ल्याएर वीर अस्पतालमा भर्ना गर्यो ।

गृहमन्त्री थापालाई भटेको र रेशम चौधरी हवाई जहाजबाट काठमाडौ आइसकेको भोलीपल्ट अर्थात फागनु २७ गते राजपा नेपालले पनि प्रधानमन्त्री अ‍ोलीलाई विश्वासको मत दियो । रेशम चौधरीको रिहाय, मुद्दा फिर्ता र शपथको वतावरण बन्दै गएको सन्देश दिननका लागि प्रधानमन्त्री ओलीलाई समर्थन गरेकै दिन राजपा नेपालअध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले रेशम चौधरीलाई भेट्न वीर अस्पताल पुग्नुभएको थियो ।


त्यहाँ रेशम चौधरीलाई उहाँले सरकारसँग भइरहेको वार्ताको बारेमा जानकारी दिएका थिए । चाँडै रिहाय हुने आश्वासन पनि दिएको थियो तर चौधरीलाई जन्जीरमा बाँधेर उपचार गरिरहेको विषय राजपा नेपालका नेताहरुलाई असहय भयो । भोलीपल्ट अर्थात फागनु २८ गते राजपा नेपालका नेताहरु महन्थ ठाकुर र राजेन्द्र महतो रेशम चौधरीलाई भेट्न अस्पताल पुग्नु भएको थियो ।

 त्यहाँ अनसनरत चौधरीको अवस्था देखेर महन्थ ठाकुरले त्यहीबाट प्रधानमन्त्री ओलीलाई फोन गर्नुभएकोरेका थिए । राजनीतिक बन्दीलाई व्यवहार गर्ने यो कस्तो तरिका हो, विरामी व्यक्तिलाई यसरी जन्जिरमा बाँधेर उपचार गरिन्छ त यस्तो संवेदनशिल सरकार हो भनि प्रधानमन्त्री ओलीप्रति कड्किएपछि प्रधानमन्त्री ओलीले तत्कालै सो जन्जिर खोल्न लगाउनु भएको थियो

तर प्रधानमन्त्री ओली र गृहमन्त्री थापाले दिएको आश्वासन पुरा भइरहेको थिएन । ओलीलाई समर्थन गरेको कारणले मधेशमा राजपा नेपालको आलोचना भइरहेको थियो । त्यो आलोचनालाई कम गर्नका लागि रेशम चौधरीको रिहाय र शपथग्रहण जसरी पनि गराउनु थियो ।

किनभने राजप नेपालले प्रधानमन्त्री ओलीलाई विना कुनै लिखित सहमतिका आधारमा विश्वासका मत दिएको थियो । सोही कारणले राजपा नेपालको आलोचना भइरहेको थियो । फोरम नेपाल दुई बुँदे सम्झौता गरेर सरकारमा गएको थियो । तर राजपा नेपाल विना सहमति समर्थन गरेको थियो ।

महन्थ ठाकुर र राजेन्द्र महतो चैत १ पनि रेशम चौधरीलाई भेट्न वीर अस्पताल पुग्नुभएको थियो । रेशम चौधरीको अवस्था विग्रिदै गइरहेको थियो । उहाँ आमरण अनसनमा भएको कारणले उहाँको स्वास्थ्य विग्रिदै गइरहेको थियो । यी दुई नेता त्यहाँ गएपछि रेशम चौधरीले भन्नुभएको थियो, यही दुख दिनका लागि मलाई अदालतमा आत्मसम्र्पण गर्न लगाउनु भएको थियो । बरु म भगौडा नै ठिक थिए ।’

उहाँका श्रीमतीले पनि रुँदै महन्थ ठाकुर र राजेन्द्र महतोको आलोचना गर्नुभएको थियो । त्यसपछि महन्थ ठाकुरले रेशम चौधरीलाई चित्त बुझाउनका लागि त्यहीबाट प्रधानमन्त्री ओलीलाई फोन गर्नुभएको  थियो । ‘तपाईले गर्नुभएको प्रतिवद्धता कहिले पुरा हुन्छ, एक दुई दिनमा केही भएन भने हामी सरकारको विरुद्धमा जान बाध्य हुन्छौ, महन्थ ठाकुरले प्रधानमन्त्री ओलीलाई चेतावनी दिँदै भन्नुभएको थियो ।

त्यसको भोलीपल्ट अर्थात चैत २ गते गृहमन्त्री थापा वीर अस्पताल पुगेर रेशम चौधरीलाई जुश खुवाएर १८ दिनदेखि बसेको अनसन तोडाउनु भएको थियो । र, थापाले त्यहाँ तीन दिनभित्र शपथग्रहण गराउने प्रतिवद्धता पनि जनाउनु भएको थियो ।

 तबसम्म चौधरीको स्वास्थ्यमा पनि सुधार आउनेछ उहाँले भन्नुभएको थियो । ठीक तीन दिनपछि अर्थात चैत ४ गते राजपा नेपालका अध्यक्षमण्डलका सदस्यले सभामुख कृष्णबहादुर महरालाई फोन गर्न रेशम चौधरीलाई सपथ ग्रहण गराउन भन्नुभएको थियो ।

तर, महराले प्रधानमन्त्री अ‍ोलीले आफूलाई भनेपछि शपथग्रहण गराई दिने जवाफ दिनुभएको थियो । उहाँले भन्नुभएको थियो, म शपथग्रहण गराउन तयार छु, तर प्रधानमन्त्रीज्युबाट यसको निर्देशन हुनुपर्यो ।’ त्यसपछि राजपा नेपालको दवाव सोझियो प्रधानमन्त्री ओलीतिर ।

प्रधानमन्त्री ओलीका भारत भ्रमण र एमाले–माओवादी एकताका लागि व्यस्त भएका कारण राजपा नेपालसँग छलफल भइरहेको थिएन । त्यही बीचमा राजेन्द्र महतोले बैशाख १० गते प्रधानमन्त्री ओलीलाई उहाँकै निवासमा गएर भेट्नु भएको थियो । भेटमा रेशम चौधरीको रिहाय र शपथग्रहणको बारेमा कुरा गर्नुभएको थियो ।

त्यसको जवाफमा उनले आफ्नो पार्टी एकीकरणको प्रकृयामा रहेको र यस विषयमा पार्टीभित्र छलफल नभएको तथा सरकारमा पनि छलफल हुन नसकिरहेकाले केही दिनमै यसको टुगों लगाउने भनि महतोलाई पठाउनु भएको थियो । प्रधानमन्त्री ओली पुनः पार्टी एकीकरणमै व्यस्त हुनुभयो । त्यही बीचमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण पनि भयो ।

त्यही भएर राजपा नेपालले पनि यो विषयमा खासै दवाव बढाउन सकिरहेको थिएन । जेठ ३ गते पार्टी एकता पनि घोषणा भयो । त्यसको लगतै राजपा नेपालले जेठ ८ गते प्रधानमन्त्री ओलीलाई रेशम चौधरीको रिहाय तथा अगामी वजेटको बारेमा ध्यानाकर्षण गराउन ज्ञापनपत्र बुझायो ।

प्रधानमन्त्री ओलीले राजपा नेपालसँग वार्ताको विषयलाई प्राथमिकता नदिएर फोरम नेपालतिर ढल्किनु भएको थियो । राजपा नेपालभन्दा उहाँले फोरम नेपाललाई प्राथमिकता दिएपछि जेठ १४ गते दुई बुँदे सम्झौता गरेर सरकारमा भित्र्यायो । राजपाले सरकारलाई समर्थन दिएकै छन् ।

समर्थन गरेपनि सरकारमा सहभागी नहुने भनिरहेका छन् । राजपा नेपाल सरकारमा आएपनि नआएपनि केही फरक नपर्ने भएपछि प्रधानमन्त्री ओली र नेकपाका अध्यक्ष प्रचण्डले राजपालाई महत्व दिन छाड्नु भएको थियो । उता, फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि राजपा नेपाल सरकारमा नआओस् भनि भूमिका खेलिरहेका थिए । राजपा नेपालले जेठ १६ गते बैठक बसेर फोरम नेपाल सरकारमा गएको विरोध मात्र जनाएन अब फोरम नेपालसँग कुनै सम्बन्ध नै नरहेको घोषणा पनि गर्यो ।

त्यसपछि राजपा नेपाल सरकारप्रति कडा रुपमा प्रस्तुत हुन थाले । सरकारले ल्याउने बजेट स्वीकार नगर्ने निर्णय गर्यो र सरकारबाट समर्थन फिर्ता लिने चेतवानी पनि दियो । राजपा नेपालको राजनीतिक समितिको बैठक चल्यो । त्यो बैठकमा पार्टी नेतृत्वको खुबै आलोचना भएको थियो । सरकारले माग पुरा गरिरहेको छैन भने समर्थन दिइरहनुको कुनै अर्थ नरहेको धारणा राखेको थियो ।

 राजपा राजनीतिक समितिको बैठक असार २३ गते सकेको थियो । त्यसपछि बसेको अध्यक्षमण्डलको बैठकले प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाउने निर्णय गर्यो । र, साउन ३ गते प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझायो । माग पुरा नभए सरकारबाट समर्थन फिर्ता लिने चेतावनी पनि दियो ।

त्यो चेतावनीको सुनुवाई नभएपछि साउन २७ गते राजपा नेपालका नेताहरु पुनः प्रधानमन्त्री ओलीलाई उनकै सरकारी निवासमा गएर भेट्नु भएको थियो । सो भेटमा पनि रेशम चौधरीको मुद्दालाई प्राथमिकतका साथ उठाउनु भएको थियो । प्रधानमन्त्री ओलीले सरकार र पार्टीमा यस विषयमा कुराकानी गरी चाँडै यसको समाधान गर्ने आवश्वासन दिएर उहाँहरुलाई पठाउनु भएको थियो ।

 त्यस्तो आश्वासन पाएपछि राजपा नेपालका नेताहरु खुशी हुनुहुन्थ्यो । र, सोही खुशीको मौकामा प्रधानमन्त्री ओलीले भदौं २ गते प्रदेश २ को प्रदेशसभामा गएर सम्बोधन गर्नुभयो । प्रधानमन्त्री ओलीका लागि त्यो ठूलो उपलब्धी थियो ।

तीन चार वर्षपछि उहाँ यसरी कोर मधेशमा पसेका थिए । राजपा नेपाल र फोरम नेपालको विरोधका कारण ओलीलाई मधेशमा पस्न गाह्रो भइरहेको थियो । तर, फोरम नेपाललाई सरकारमा भित्र्याएर र राजपा नेपाललाई आश्वासन बाँडेर उहाँ मधेश पस्न सफल हुनुभयो । सरकारद्धारा गठन गरिएको सरकारी वार्ता टोलीले राजपा नेपालका पार्टी कार्यालयमा गएर भदौ २५ गते गएर छलफल गरेका थिए ।

तर त्यहाँ राजपा नेपालका नेताहरुले आफूहरुको मागको बारेमा सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल भइरहेको छ । रेशम चौधरीको शपथ र उसको रिहाय नभएसम्म कुनै पनि कुरामा छलफल नहुने भनेर वार्ता टोलीलाई फर्काउनुभएको थियो ।

 असोज ६ गते पनि राजपा नेपालका नेताहरुले प्रधानमन्त्री ओलीलाई भेटेर रेशम चौधरीको बारेमा छलफल गर्नुभएको थियो । त्यो दिनको छलफलमा प्रधानमन्त्री ओली विगतको भन्दा सकारात्मक रुपमा प्रस्तुत हुनुभएको थियो ।

उहाँले दशैं अघि नै यसलाई टुगों लगाउने भन्नुभएको थियो । उहाँले यो बीचमा आफूले सरकार र पार्टीसँग छलफल गरेर चाँडै नै टुगों लगाउने, अब यसलाई धेरै लामो समयसम्म लग्न नहुने भन्नुभएको थियो । तर राजपा नेपालका नेताहरुले दशैंसम्म गर्दिनुहुन्छ भने झन राम्रो नत्र हामीलाई छठसम्म भएपनि हुन्छ भन्नुभएको थियो ।

त्यसपछि ओलीले के के गर्नुपर्छ प्राविधिक कुराहरु दशैं अघि नै टुग्याँउ र छठपछि त्यसलाई पूर्णता दिने भन्नुभएको थियो । त्यो दिनको बैठकमा सात दिनपछि पुनः राजपा नेपालसँग छलफल गर्नका लागि बोलाउने भनि प्रधानमन्त्री ओलीले भन्नुभएको थियो ।

तर, तीन महिना बितिसक्दा पनि प्रधानमन्त्री ओलीले राजपा नेपालसँग छलफल गर्ने नाम नै लिइरहनु भएको थिएन । राजपा नेपाल बाटो पर्खेर बसेको थियो तर प्रधानमन्त्री ओलीले न छलफलमा बोलाइरनु भएको थियो न भेट्नका लागि समय नै उपलब्ध गराई रहनु भएको थिएन ।

 त्यसपछि राजपा नेपालका नेताहरुले सरकारबाट समर्थन फिर्ता लिने चेतावनी सहितको अभिव्यक्ति सार्वजनिक गर्न थालेपछि प्रधानमन्त्री ओलीले पुस १० गते बल्ल उहाँहरुलाई बालुवाटार बोलाउनु भएको थियो । छलफलमा राजपा नेपालका नेताहरुले सरकारबाट समर्थन फिर्ता लिने कुरा त्यहाँ पनि निकाल्नुभएको थियो ।

त्यसपछि प्रधानमन्त्री ओलीले विपक्षीको बेन्च भारी बनाउने काम तपाईहरुबाट नहोस् भन्दै सात दिनभित्र यसलाई टुगों लगाउने आश्वासन दिनुभयो । र, त्यही आश्वासनका आधारमा प्रधानमन्त्री ओलीले रेशम चौधरीलाई सपथग्रहण गराउन तयार हुनुभएको थियो ।

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..