» » मधेशमा महिनावारीको यथार्थ

मधेशका विभिन्न जिल्लाहरूबाट अध्ययन र रोजगारीका लागि काठमाडौँ आएका युवाहरूको बिचमा चिया गफ हुन्छ । चिया गफकै क्रममा कुरा उठ्छ महिलाहरूको महिनावारी बारे । ‘मधेशका विद्यालयमा महिनावारी बारे चर्चा हुँदैन । स्वास्थ्य विषयमा महिनावारी वा यौन सम्बन्धी च्याप्टर आउँदा शिक्षक शिक्षिकाले आफै पढेर आउन भन्छन् । त्यही भएर महिनावारीमा उचित सरसफाइ नहुँदा धेरैले समस्या भोग्नु परेको छ ।’ युवाहरूको बिचमा यस्ता तर्क बितर्क हुन्छ ।

‘मधेशका अधिकाँश महिलामा आङ खस्ने समस्या छ । यसको एउटा कारण महिनावारीको समयमा उचित हेर बिचार नहुनु पनि हो । त्यसैले महिनावारीका समयमा हुने समस्या समाधानका लागि काम गर्नु पर्छ ।’ लगायतका कुरा उनीहरूको बिचमा उठ्छ र सुरु हुन्छ ‘प्याड बैङ्क’ जागरण ।

नेपालमा पनि पहाडका केही स्थान र पश्चिमी मधेस–थरुहटको कैलाली, मध्यमधेशको चितवनसहितका जिल्लाहरूमा पनि महिनावारीका बेला हुने गरेका समस्या साधनका लागि काम भइरहेको छ । केही महिला र युवा समूहले काम गर्दैछ । तर पूर्वी मधेशी र अन्य भागमा भने महिनावारी बारे जागरण खासै चलेको छैन ।

त्यसैले ती युवाहरू निर्णयमा पुग्छन्, मधेशमा महिनावारीका बेला हुने गरेको समस्या समाधानका लागि जागरण गर्नु पर्छ । जसको नेतृत्व गर्नुहुन्छ प्रोमिशा मिश्रा । र, जागरणको नाम दिइन्छ ‘महिनावारी स्वच्छता अभियान ।’ अभियानसँग एकपछि अर्को गरी मधेसी युवतीहरू जोडिँदै हुनुहुन्छ । आफ्नै पकेट खर्चबाट उहाँहरू मधेशका विभिन्न जिल्लामा महिनावारीका बेला प्रयोग हुने प्याड बनाउने तालिम दिनुहुन्छ । महिनावारीका बेला हुने समस्या बारे चर्चा गर्नुहुन्छ र समाधानका उपाय पनि सिकाउनुहुन्छ ।

संयुक्त राष्ट्र सङ्घले पनि महिनावारीको विषयलाई जनस्वास्थ्यसँग जोडिएको अन्तराष्ट्रिय समस्याका रूपमा लिएको छ ।

छिमेकी मुलुक भारतमा पनि महिला तथा बालबालिका विकास मन्त्री मेनका गांधीले गत फेब्ररीमा ‘महिनावारी स्वच्छता अभियान’ सुरु गर्नुभएको छ । ‘महिनावारी स्वच्छता अभियान’ को नेतृत्व गरिरहनु भएको प्रोमिशा महोत्तरी जिल्लाको पिगौनाकी हुनुहुन्छ । हाल उहाँ नेपाल विद्युत् प्राधिकरणमा कम्प्युटर इन्जिनियरको रूपमा कार्यरत हुनुहुन्छ । उहाँलाई यस अभियानमा साथ दिनुभएको छ महोत्तरीकै प्रियंका ठाकुर । समाजशास्त्रमा एमए गरेकी प्रियंका यस अभियानमा सक्रिय रूपले लाग्नु भएको छ ।

सप्तरी जिल्ला घर भएकी कानुन संकायमा बिएएलएलबी गरिरहनु भएको सीमा यादव पनि यस अभियानमा जोडिनु भएको छ । सिराहाकी गुन्जा मण्डल इलेक्ट्रोनिक्स इन्जिनियरिङकी विद्यार्थी हुनुहुन्छ । उहाँले पनि महिनावारीका बेला अपनाउन पर्ने सावधानीका विषयमा जानकारी दिनुहुन्छ । बीएससी एग्रीकल्चर पढ्ने महोत्तरी बनौलीकी स्मृति झा र श्रिणु झा पनि यस अभियानमा जोडिनु भएको छ । सर्लाहीका स्नेहा झा पनि यस अभियानमा साथ दिनुभएको छ ।

मधेशमा सुनिएका भ्रमहरू
स्थानीय युवा क्लब र सामाजिक सञ्जालबाट सहयोग जुटाई यिनीहरूले कार्यक्रम गर्दै आएका छन् । कार्यक्रम स्थलसम्म जाने भाडा र खर्च यिनीहरू आफ्नै गोजीबाट तिर्छन् । महिनावारी स्वच्छता अभियानमा लागेका यी युवाहरूले महोत्तरी, धनुषा र सिराहालगायतका जिल्लाको विभिन्न स्थानमा कार्यक्रम गरेका छन् ।

यिनीहरूको अनुभव पनि रमाइला छन् । संयोजक प्रोमिशा अभियानका क्रममा सुनेका केही भ्रमहरूका बारे यसरी बताउनुहुन्छ, ‘हामीले प्याड बनाउन तालिम दिन जाँदा कयौँ भ्रमहरु सुन्यौँ । महिनावारीका बेला मन्दिर नजाने कुरा त सबै ठाउँमा सुनिन्छ । महिनावारीका बेला अचार छुनु हुँदैन भन्ने कुरा पनि सुन्यौँ । यती मात्रै हो र, महिनावारी भएको बेला अल्ता (नेल पोलिस) पनि लगाउनु हुँदैन रे भनेर सुन्यौँ ।’

प्रोमिशाका अनुसार यस अभियान अन्तरर्गत सुरुमा महिनावारीको प्रक्रिया बारे जानकारी दिइन्छ । त्यसपछि महिनावारीका विषयमा रहेका भ्रमहरू चिर्ने प्रयास गरिन्छ । सरसफाइ तथा महिनावारीका बेला के गर्ने, के नगर्ने विषयमा पनि जानकारी दिइन्छ । र, अन्त्यमा प्याडको प्रयोग र पुनः प्रयोग गर्न मिल्ने प्याड बनाउन सिकाइन्छ । आ–आफ्नो क्षेत्रमा यस किसिमको अभियान चलाउन चाहनेहरूले यस समूहलाई जानकारी गराएको खण्डमा यो समूह पुग्ने गरेको प्रोमिशा बताउनु हुन्छ ।

महिनावारी स्वच्छता अभियानको संयोजन गरिरहेकी प्रोमिशा कुशल नेतृ पनि हुनुहुन्छ । नेपाल तराई विद्यार्थी नव जागरण संघकी पूर्व उपाध्यक्ष पनि हुनुहुन्छ । समाजशास्त्रमा स्नातकोत्तर पनि गरेकी प्रोमिशा भूकम्पका बेला पुनर्निर्माणका लागि पनि काम गर्नुभएको छ ।

विभिन्न सामाजिक अभियानसँग पनि जोडिएकी उहाँ हाल हुन गइरहेको नेपाल इन्जिनियर एशोसिएशनको चुनावमा उम्मेदवार पनि हुनुहुन्छ । प्रदेश २ को कार्यसमिति सदस्यको उम्मेदवार उहाँ मधेसी महिलाहरूलाई इन्जिनियरिङ क्षेत्रमा प्रोत्साहन गर्ने चाहना राख्नुभएको छ ।

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..