» » म फस्र्ट डिभिजनमा पास नभएको भए....

म मध्यम परिवारमा जन्मेका व्यक्ति हुँ । मेरो बुवा सानोतिनो व्यवसाय गर्नुहुन्थ्यो । मोरगं रंगेलीमा हाम्रो सानो किराना पसल थियो । मैले पढाईका साथ साथै बुवालाई किराना पसलमा पनि सघाउँथे ।

म स्कूलबाट आएपछि दिनभरि किराना पसलमै हुन्थे । स्कुलमा म राम्रो विद्यार्थीका रुपमा गिनिन्थे । मेरो पढाई राम्रै थियो । राम्रो विद्यार्थी भएको कारणले विद्यालयले नै मलाई एक कक्षाबाट एकैचोटी तीन कक्षामा सारेको थियो । म स्कूलमा जहिले पनि पहिलो पोजिसनमै हुन्थे ।

 २०२९ सालमा मैले एसएलसी पास गरे । फस्र्ट डिभिजनमा एसएलसी पास गरेपछि गाउँमा खुशीयाली छायो । किनभने त्यतिबेला फस्र्ट डिभिजनमा यसरी पास हुने धेरै नै कम हुन्थ्यो । गाउँमा जताततै मेरै चर्चा हुन्थ्यो । लड्डु बाँड्ने काम पनि भयो । मेरा घरमा त सानोतिनो भोज नै भएको थियो । 

मेरो बुवालाई कसैले डाक्टर पढाउनुपर्छ भन्नुहुन्थ्यो भने कसैले इन्जिनियर पढाउनु पर्छ भन्नुहुन्थ्यो भने कसैले के, कसैले के के सल्लाह दिनुभएको थियो । मेरो बुवाले पनि, मेरो तर्फबाट पढ्नमा कुनै रोकटोक हुनेछैन । उनलाई जे जे, जहाँ जहाँ पढ्न मन लाग्छ पढोस् । पढ्यो भने ठिकै छ नभए यो पसल त छदैछ भनि भन्नुभएको थियो । फस्र्ट डिभिजनमा पास हुनु नै मेरो पढाईको कारकतत्व बन्यो । म फस्र्ट डिभिजनमा पास नभएको भए सायद यहाँसम्म आइपुग्ने थिएन होला । म डाक्टर बन्न सक्दैन्थे होला । म रंगेलीकै किराना पसलमै हुन्थे कि भनि बेलाबेलामा मनमा कुराहरु उठिरहन्छन् ।

म फस्र्ट डिभिजनमा पास गर्छु र डाक्टर पढ्छु वा यो पढ्छु त्यो पढ्छु भनि मेरो मनमा त्यस्तो केही थिएन । मैले पढेर आफ्नो कर्तव्य पुरा गरेको जस्तो लागेको थियो । तर फस्र्ट डिभजनमा पास भएपछि गाउँमा यति चर्चा भयो कि सबैले छोरालाई पढाउनु पर्छ, ठूलो मान्छे बनाउनुपर्छ । डाक्टर नै पढाउनु पर्छ भनि चारैतिरबाट सुझाव आयो र म त्यतातिर लागे ।

अध्ययनका लागि भारत
एसएलसी पास गरेपछि फलानो ठाउँभमा पढ्न जानुपर्छ या यो विषय लिएर पढ्नु पर्छ भनि सोच वा सुझाव दिने त्यतिबेला कोही थिएन । बुवालाई पनि त्यति ज्ञान थिएन त्यो विषयमा । गाउँका केटाहरु भारतको पुर्निया पढ्न गएको थाह पाएर म पनि उतै गए । त्यहाँ गएर आइएससीमा नाम लेखाएर पढ्न थाले । आइएससी पास गरे । तर मैले सोचे अनुसार राम्रो गर्न सकिन ।

त्यसबेला त्यहाँ जयप्रकाश नारायणको आन्दोलन चलिरहेको थियो । आन्दोलनका कारण कलेजका अध्ययन अध्यापन प्रभावित भएको थियो । त्यसैले मैले परिक्षामा राम्रो गर्न सकिन । राम्रो मार्कस नआएको कारण म डाक्टरी पढ्नेतिर जान सकिन । तर मैले हिम्मत पनि हारिनन् । भारतबाट फर्केर बीएससी अध्ययनका लागि काठमाडौको अस्कल क्याम्पसमा नाम लेखाए । होस्टलमा बसेर अस्कलमा पढाईलाई निरन्तरता दिए । बीएससीको पढाईमा म राम्रोसँग ध्यान दिए । २०३५ सालमा बीएससी पास गरे । त्यतिबेला उमादेवी महर्जन पहिलो हुनुभएको थियो र म दोस्रो ।

मलाई भारतको पढाई भन्दा नेपालकै पढाई राम्रो लागेको थियो । त्यहाँको भन्दा यहाँ वतावरण पनि राम्रो पाए । एसएलसीपछि कहाँ पढ्न जाने, के पढ्ने भनि त्यो बेला गाइड गर्ने कोही व्यक्ति हुँदैन्थ्यो । गाउँका साथीहरु जहाँ जान्छन् त्यतै गएर पढ्ने चलन थियो । साथीहरुको साथमा म पनि भारतमै गएर आइएससी पढे । तर पछि नेपालको पढाईको महत्व थाह पाएपछि पढ्नका लागि काठमाडौ आएका थिए ।

यसरी बन्नुभयो डाक्टर
नियमले त बीएससीबाट पनि डाक्टर पढ्नका लागि स्कलरसीपको सीट आउँथ्यो । त्यतिबेला दुईटा सीट थियो । एउटा सीत म पाउँछु भनि मलाई पूर्ण विश्वास थियो । जसको जति नम्बर हुँन्थ्यो त्यो हिसाबले शिक्षा मन्त्रालयले छात्रवृतिमा छनौट गथ्र्यो । तैपनि बीएससी सकेपछि मैले ज्युलोजी लिएर एमएससीमा नाम लेखाए । एमएससीको फस्ट सेमेस्टर पुरा गरेर राष्ट्रिय विकास सेवामा गए । एमएससीमा पढ्दा एकपटक गाउँमा गएर पढाउनु पर्ने नियम थियो ।

 एकवर्षसम्म नवलपरासीको सुनवल गाउँको सरस्वती निमावीमा पढाएकोे थिए । हुन त विकट पहाडतिरको स्कूलमा पनि पढाउनका लागि पठाइन्थ्यो तर म जानी जानी सुगम क्षेत्र नै रोजे । म यता डाक्टरी पढाईका लागि स्कलरसीपको प्रतिक्षमा पनि थिए । यदि स्कलरसीपका लागि विज्ञापन निस्कियो भने विकट पहाडबाट चाँडो आउन सकिदैन भनि सोचेर नै मैले नवलपरासी रोजेको थिए ।  गाउँका शिक्षकहरु भन्दा हामीले राम्रोसँग पढाउथ्यौं ।

विद्यार्थीहरुले अग्रवाल सर नै चाहिन्छ भन्थे । वास्तमा भन्नु हुन्छ भने त्यो हाम्रो लागि गोल्डेन प्रियड थियो । राष्ट्रिय विकास सेवाको नीति धेरै राम्रो थियो, मेरो विचारमा अहिले पनि त्यो नीति लागु गर्नुपर्छ । गाउँलाई, समाजलाई बुझ्नका लागि त्यो धेरै नै राम्रो नीति थियो । त्यहाँ पढाई रहेको बेलामा नै छात्रवृतिका लागि विज्ञापन निस्कियो । मैले पनि विज्ञापन भरे । र त्यसमा सेलेक्सन पनि भए । पढ्नका लागि भारत जाने मौका पाए । भारतको एसएमएस मेडिकल कलेज जयपुरमा सन् १९७९ मा भर्ना भए । त्यहाँबाट मैले सन् १९८५–८६ मा एमबीबीएस पढाई सकाए । त्यतिबेला राजस्थानको हरेक मेडिकल कलेजमा एकजना विदेशीलाई पढ्नका लागि छात्रवृति दिइन्थ्यो । संयोगले त्यसमा म सेलेक्शन भए । एमबीबीएस सकाएसँगै पोष्टग्रेजुएशन पढ्ने मौका पनि त्यही प्राप्त भयो ।

यसरी पाउनुभयो जागिर
भारतबाट पढाई सकाएर फर्केपछि २०४६ सालमा सहायक प्रध्यापक (करार) को रुपमा महाराजगञ्ज क्याम्पस, त्रिवि शिक्षण अस्पतालमा काम शुरु गरे । पछि उप प्रध्यापक भए । त्यसपछि २०४७÷४८ सालमा स्थायी उपप्रध्यापकमा सेलेक्सन भए । जसरी जसरी बढुवा हुँदै गयो, त्यसरी नै अगाडि बढ्दै गए । म स्थायी उपप्रध्यापक भएपछि एउटा अवसर पनि प्राप्त गरे । न्युरोलोजीमा तालिम लिनका लागि जपान गए । त्यहाँ एकवर्षसम्म अध्ययन गरे ।

शिक्षाको महत्व मैले थाह पाइसकेको छु । त्यतिबेला मेरो बुवालाई शिक्षाको महत्व थाहा थिएन होला  । तैपनि संयोगले म पढ्दै गए र आज यहाँसम्म आइपुगेको छु । बुवालाई शिक्षाको महत्व थाह नभएपनि उहाँले पढाई लेखाइका लागि कहिले रोक्नुभएन । जे पढ्ने इच्छा भयो त्यही पढाउनु भयो । कहिल्यै पनि यो पढ वा त्यो पढ पनि भन्नुभएन । म अग्रवाल समुदाय भएपनि कसैले यो विजनेशम्यान हो भनि भनेनन् । म पनि आइएससी अध्ययन गरिसकेपछि पसलमा फर्केर कहिले गइनन् । पढाईमै व्यस्त रहे । मारवारीहरुलाई विजनेशम्यानको रुपमा मात्र हेर्ने गरेको छ तर अब त्यस्तो रहेन । मारवाहीहरु पनि सरकारी जागिरमा छन् । डाक्टर, ओभरसियर, इन्जिनियर पनि भएका छन् । मैले पढाईलाई निरन्तरता दिन थालेपछि कहिल्यै विजनेशतिर ध्यान गएन ।

यसरी बन्नुभयो डिन
चिकित्सा शास्त्र अध्ययन संस्थान (आइएओम) को अहिले डिन छु । तर म डिन बन्नका लागि ललाइत थिइनन् र भागबण्डाको कुसंस्कार भएको ठाउँमा त्यसको आश राख्नु पनि गलत थियो । मलाई १५ वर्ष पहिले नै अस्पतालको निर्देशक बनाउन चाहेको थियो तर मैले हात जोडेर भने कि मलाई चाहिदैन । म जहाँ छु ठिक छु । सुनिन्छ कि कही कुनै पद खुल्यो भने त्यसका लागि दौडधुप हुन्छ । डाक्टरहरु मन्त्रीदेखि सचिव, पधाधिकारी तथा नेताहरुको घरघर कुदेका हुन्छन् । जो मलाई मन पर्दैन ।

गोविन्दको आलोचना
डिन बन्ने मेरो चाहना थिएनन् । मेडिकल एजुकेशनको डाइरेक्टरको रुपमा नै म ठिक थिए । त्यहाँ कुनै स्ट्रेस पनि थिएन । त्यहाँ पढ्ने र पढाउने बाहेक अरु केही थिएन । त्यही भएर मेरो लागि त्यही ठिक थियो । मेरो सबै बढुवाहरु समयमै भयो । बढुवाका लागि मैले आजसम्म कसैलाई केही भनेको थिएन । प्रकृया अनुसार आफै बढुवा भयो । र म सिनियर डाक्टर भए । सिनियर हुनका लागि मैले रोक्ने कुरा पनि थिएन । प्रकृयाले नै मलाई सिनियर बनायो । त्यही बेला डा.गोविन्द के.सी. अनसन बस्नुभयो । र, उहाँले सिनियरबाट डिन हुनुपर्यो भन्न थाल्नुभयो । उहाँले सिनियर तथा इमान्दर व्यक्ति खोज्दै हुनुहुन्थ्यो होला  । डा.गोविन्द केसीले सिनियरबाट डिन हुनुपर्ने अडान लिनुभयो । त्यसपछि सबैले सिनियर को त भनि उहाँलाई सोध्न थाले । उहाँले मेरो नाम लिनुभयो होला । त्यसले गर्दा डा. गोविन्द केसीको अलि आलोचना पनि भयो कि व्यक्ति विशेषका लागि आन्दोलन बस्नु भएको छ । त्यसबेला मलाई पनि अलिकति नमिठो लागेको थियो । 

तर डा.गोविन्द केसीले सिनियरलाई मात्र ल्याउनु खोज्नु भएको थियो । त्यो बेला म मात्रै सिनियर थिए, सायद त्यसैले होला उहाँले मेरो नाम लिनुभएको । र, म त्यसका लागि उपयुक्त थिए, त्यतिबेला म मेडिकल एजुकेशनको डाइरेक्टर पनि थिए । डा. गोविन्द केसीले पनि यो व्यक्ति डिनका लायक छन्, सारा देशले यो व्यक्ति ठिक छ भनिराख्या छ, त्यसबेला म डिन बन्दिन भन्न पनि उपयुक्त थिएन होला । सायद त्यतिबेला मैले डिन बन्न इन्कार गरेको भए डा.गोविन्द केसीदेखि लिएर धेरैलाई चित्त दुख्न सक्थ्यो । र म बाध्य भएर डिन बन्न तयार भए । म जुन अवस्थामा डिन भए त्यस अवस्थाको आधारमा इमान्दारीपूर्वक काम गर्नु मेरो कर्तव्य बन्यो र आजसम्म म त्यसमा प्रतिवद्ध छु ।।


परिवार
जेठी छोरी अदिती अग्रवाल एमबीबीएस सकाएकी छिन् । उनी ए लेभलमा एक विषयमा विश्वमै टप गरेकी थिइन् । अहिले उनी पोस्ट ग्रेजुएशनको तयारी गरिरहेकी छिन् । अर्को छोरी दिव्या अग्रवाल भारतबाट बीइ (आइटी) गरेकी छिन् । उनी पनि पोस्टग्रेजुएशनकी तयारी गरिरहेकी छिन् । कान्छो छोरा देवान्स अग्रवाल प्लस टुमामा पढी रहेका छन् । बुवा वनवारीलाल अग्रवाल र आमा सावत्री देवी अग्रवालको स्वर्गवास हुनु भएको छ । मेरा सबै दाजुहरु व्यवसायी गर्दै हुनुहुन्छ ।

विज्ञापनबाट प्राप्त ज्योती
म एमबीबीएस अध्ययनका लागि राजस्थानमा थिए । त्यहाँबाट राजस्थान दैनिक पत्रिका निस्किन्थ्यो । म नियमित त्यो पत्रिका पढ्थे । विज्ञापनहरु पनि हेरिरहन्थे । त्यसमा विवाहको पनि विज्ञापन हुन्थ्यो । म अविवाहित थिए । त्यही भएर मेरो नजर त्यसखालको विज्ञापनमा गइ रहन्थ्यो । मेरो नजर एउटा विज्ञापनमा गयो । मलाई लाग्यो यो मेरो लागि ठिक रहन्छ । गर्ग गोत्रकी डा.ज्योती अग्रवालका लागि डाक्टर वरको खोजी गर्न दरखास्त आह्वान गरिएको थियो । त्यतिवेला डा. ज्योति भारतको उदयपुरमा डिप्लोमा इन गाइनो अब्स (डिजिओ) गर्दै हुनुहुनथ्यो । मलाई लाग्यो जातपात सबै मिलेको छ र मेरो लागि फिट हुन्छ । र, म त्यसका लागि कुरा अगाडि बढाए । विज्ञापनमा उल्लेख भएको शर्तका आधारमा मेरो दाजुको नामबाट त्यहाँ उल्लेखित ठेगानमा पत्र पठाए ।

चिठीले मात्र चित्त नबुझेपछि मैले साथी भाइबाट ज्योतिको बारेमा पत्ता लगाउँदै उहाँले इन्टर्नसीप गरिरहनु भएको अस्पतालसम्म पुगे तर म त्यहाँ पुग्दासम्म उहाँ घर पुगिसक्नु भएको थियो । म उहाँको घर खोज्दै त्यहाँसम्म पुगे । त्यहाँ पुग्दा त अर्को व्यक्ति (डाक्टर) उहाँको हात माग्न पुगिसक्नु भएको रहेछ । तर उहाँहरुले दाइँजो माग्नु भएको कारणले ज्योतिका बुवाले आफ्नो छोरी उहाँहरुलाई दिनुभएन । मसँग ज्योतिको परिवारसँग कुरा भयो । मेरो दाईले पठाउनु भएको पत्रमा नै दाइजो नलिने कुरा भनिसक्नुभएको थियो । त्यही भएर कुरा गर्न मलाई सजिलो भएको थियो । ज्योतिका बुवा मोरगं आएर मेरा दाजुहरुसँग कुराकानी भयो । त्यसपछि मोरगंकै धर्मशालामा २ डिसेम्बर १९९८ मा हाम्रो विहे भयो । 

त्यतिबेला बुवा हुनुहुन्थेन । मेरो दाजुले सबै कुरा अगाडि बढाउनु भएको थियो । हामी दुवै डाक्टर छौं । आआफ्नो काममा हामी व्यस्त रहन्छौ । इमान्दारीले हामी दुवैजनाले यति कमाउँछौ कि हामी खुशी छौं । यतिका वर्षसम्म मैले काम गरे, आजसम्म धेरै पैसा कमाउनु पर्छ । यहाँ जानुपर्छ, त्यहाँ जानुपर्छ भनि इच्छा कहिल्यै जागेन । त्यही भएर होला म शिक्षण अस्पतालबाहेक आजसम्म काम गर्न कही गएको छैन । मैले आजसम्म आफ्नो प्राइभेट क्लिनिक खोलेको छैन । न अरुको अस्पतालमा काम गर्न गएको छु । किनभने मलाई यहीको कामले दाल, रोटी पुगेको छ । श्रीमती ज्योती अग्रवालको आफ्नो नीजि क्लिनिक छ । उहाँ कहिले पनि अस्पतालमा काम गर्न जानु भएन, सधै आफ्नो क्लिनिकमा व्यस्त रहनुभयो । स्त्री रोग विशेषज्ञको रुपमा उहाँ राम्रो अनुभवी हुनुहुन्छ ।

लोभ लालच, भ्रष्टाचारी, बेमइमान कहिले पनि मेरो मनमा आएनन् ।
म जुन पोस्टमाा छु । त्यहाँ विभिन्न लोभ, प्रलोभन तथा दवाव आइरहेका हुन्छन् तर आजसम्म म त्यसमा कहिले परिनन् । इमान्दारीका साथ म आफ्नो कर्तव्य पूरा गरिरहेको छु । जसले गर्दा म यो उमेरमा पनि सुखी र तन्दरुस्त छु ।

भ्रष्टाचार र बेइमानीले पनि रोगी     
मान्छे खानपान, हावापानी, फोहरमैला, रहन सहनले मात्र रोगी हुँदैनन् । बेइमानी र भ्रष्टाचारले पनि रोगी हुन्छन् । एउटा घटना सुनाउँछु, सन् २०१८ अक्टुवर २७ मा भारतको बीएचयुमा भएको लाइफ स्टाइल डिसअर्डर म्यानेजमेन्ट बारे फस्ट इन्टरनेशनल कन्फरेन्समा भाग लिन म त्यहाँ पुगेको थिए । सो कार्यक्रममा म मुख्य अथितिको रुपमा आमन्त्रित थिए । त्यहाँ लाइफ स्टाइल डिसओर्डरको बारे मैले अलि फरक विचार प्रस्तुत गरेका थिए । मोवाइल हेरेपछि आइ डिसअर्डर हुन्छ ।

दिनभरि अफिसमा बसेर काम गरिरहेका हुन्छन्, घामपानीसँग पनि दर्शन हुँदैन, ए.सी. मा दिनभरि बसेर काम गरिरहेका हुन्छन् त्यो पनि लाइफ स्टाइल डिसोर्डरमा पर्छ । त्यस खालको डिसअर्डरमा डाइबीटीज, प्रेसर, मुटु सम्बन्धी रोग लगायतका हुन्छन् ।

त्यहाँ मैले अलि फरक धारणा राखेंपछि सबैजना आश्चर्यमा परेका थिए । मैले भ्रष्टाचार र बेइमानीका कारणले पनि लाइफ स्टाइल डिसअर्डर हुन्छ भनेको थिएँ, जो कसैले सोचेका पनि थिएनन् । यदि मान्छेले योगा गर्छन् भने त्यसको कोरटीजोल हार्मन डिक्रिज हुन्छ । कोरटिजोल लेभल बढ्नाले डाइबीटिज बढ्छ, प्रेसर बढ्छ, अर्थात विभिन्न प्रकारका रोगहरु लाग्न सक्छ ।

भ्रष्टाचार वा कुनै बेइमानी गरेपछि मनमा एउटा डर रही रहन्छन् कि कहि पक्राइ नहालौं । कसैको पैसा लिएर कुनै गलत काम गरेको छ भने मनमा एउटा भय रही रहन्छ कि उसको काम हुन्छ कि हुँदैन ।  भ्रष्टाचार गरेपछि जसले जस्तोसुकै गफ दिएपनि, आफूलाई जसरी बचाए पनि मनमा कही नकही एउटा डर र घबराहट हुन्छ नै । त्यसले शरीरमा बिभिन्न न्यूरोट्रान्समिटर उत्पन भएका हुन्छन र, त्यसले उसको दिनचर्या बिग्रे्रको हुन्छ । उसलाई निद्रा लागि रहेको हुँदैन । मान्छेको स्वस्थ्य जीवनका लागि सबभन्दा महत्वपूर्ण कुरा निद्रा हो । यदि निद्रा आएन भने शरिरका विभिन्न अंगमा असर गर्छ र मान्छे अस्वस्थ्य हुन्छ ।

मान्छेले बेइमानीले घर बनाउँछन्, सम्पत्ति जोड्छन् । र उसले कुतर्क दिन्छन् कि यो त मेरो भाग्यमा लेख्या थियो र भयो । यी कुराहरु लाइफ स्टाइल डिसओर्डरका महत्वपूर्ण पक्ष हुन् । पुरानो जमानामा उपचारको जो वैदिक पद्धति थियो त्यस्ता वैदिक पद्धति भन्दा राम्रो पद्धती हालसम्म पनि आएको छैन । अहिले पनि जति पनि उपचार पद्धतिहरु छन् ती सबै वैदिक पद्धतिको आधारमा नै भइरहेको छ । वैदिककालमा विहान उठ्नुस्, व्ययाम गर्नुस्, घुमफिर गर्नुस् जस्ता कुरा भनिन्थ्यो । अहिलेपनि त्यसमा कुनै परिवर्तन आएको छैन । बेइमानी र भ्रष्टाचारबाट एकजना व्यक्ति मात्र होइन, घरपरिवार, समाज पनि अस्वस्थ्य हुन्छ । बेइमानी र भ्रष्टाचारबाट व्यक्ति, परिवार, समाज हुँदै राष्ट्र अस्वस्थ्य हुनजान्छ । अर्थात बेइमानी र भ्रष्टाचारलाई लाइफ स्टाइल डिसअर्डर भन्न सकिन्छ् जो डाइविटिज, सुगर, प्रेसर भन्दा खतरनाक हुन्छ ।
(डिन एवं प्रध्यापक डा.जीपी अग्रवालसँग सहारा टाइम्सका लागि गरिएको कुराकानीमा आधारित)

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..