» » मुसहर वस्तीमा ट्युशन पढाउने पूर्वमन्त्री यादवको यस्तो छ जीवन

पूर्वमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता उमेश यादवको दिनचार्या फेरिएको छ । आफ्नो राजनीतिक क्रियाकलापसँगै उहाँले आफ्नो समय शिक्षाको विकासका लागि पनि छुट्याउनु भएको छ । बिहान ४ बजे उठेर आफ्नौ दैनिकक्रम सकाएर उहाँ आफ्नो राजविराजबाट ५ः४५ मा हिड्दै गढिया गाउँको मुसहरवस्तीमा पुग्नुहुन्छ । र, त्यहाँ दुई ठाउँमा सञ्चालन गर्नुभएको ट्युशन पढाउन शुरु गर्नुहुन्छ । ७ बजेदेखि ८ः३० बजेसम्म त्यहाँ विद्यार्थीलाई टुयुसन पढाएर १० बजे राजविराजा फर्किनु हुन्छ । अनि अन्य राजनीतिक गतिविधि शुरु गर्नुहुन्छ ।

अहिले उहाँ मन्त्री पनि हुनुहुन्न सांसद पनि हुनुहुन्न र पार्टीमा अहिले कुनै जिम्मेवारी पनि दिइएको छैन । यद्यपि उहाँले सप्तरी राजविराज–९ को गढिया गाउँका मुसहर तथ दलित बालबालिकालाई पढाउनका लागि दैनिक डेढ घण्टा समय छुट्याउनु भएको छ । राजविराजबाट तीन किलोमिटर दूरीमा रहेको गढियामा उहाँले दुई ठाउँमा मुसहर तथा दलित बालबालिकालाई निःशुल्क ट्युसन बढाइरहनु भएको छ । एक ठाउँमा उहाँ आफै पढाउँनुहुन्छ भने अर्को एक ठाउँमा एकजना स्थानीयलाई जिम्मेवारी दिनु भएको छ ।

फुर्सदको सदुपयोग होइन
अहिले यो ट्युसन फुर्सद भएर पढाएको भने होइन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेतासमेत रहेका पूर्वमन्त्री यादव भन्नुहुन्छ, ‘म अहिले कुनै सार्वजनिक पदमा छैनन् । त्यसले गर्दा फुर्सदको सदुपयोग गरेको होइन ।

यदि फुर्सदमा भएको भए खेती किसानदेखि अन्य काम पनि गर्न सक्थेँ तर म मुसहर तथा दलित बालबालिकालाई निःशुल्क पढाइरहेको छु र त्यसमा मेरो एउटै स्वार्थ छ । मुसहर तथा दलितका बालबच्चा पनि पढून् ।’ उहाँ ट्युसन पढाउने गरेको ठाउँबाट विद्यालयको दूरी आधा घण्टाको छ तर मुसहर तथा दलित बस्तीका बालबालिकाहरू विद्यालय जाँदैनथे । ती बालबालिकामध्ये उहाँले पढाइका लागि अभिभावकत्व ग्रहण गरेको विद्यार्थी पनि रहेको छ ।

त्यो थाह पाएर उहाँ आफूले अभिभावकत्व ग्रहण गरेको बच्चालाई पढाउनका लागि त्यहाँ जाँदा त्यो टोलभरीकै बच्चाहरू स्कुल जाँदैनथे । उनीहरू दुव्र्यसनी तथा कुलतमा फस्दै गइरहेको थियो । ससाना बच्चा खेलेर समय काट्ने युवाहरू दुव्र्यसनीतिर गइरहेको आफूले पाएको उहाँले बताउनुभयो । उहाँले पढाउने ठाउँमा मुसहर, डोम, चमार, खत्वे समुदायका बालबालिकाहरू ट्युसन पढ्न आउँछन् ।


उहाँले शुरुमा एक ठाउँमा पुसबाट  पढाउन सुरु गर्नुभएको थियो । त्यहाँ मुसहरका बालबच्चा मात्र छन् । केही दिन पढाउन थालेपछि विद्यार्थीको चाप बढ्दै गयो । १० जना विद्यार्थीबाट सुरु गरेका ट्युसनमा विस्तारै ४० जनासम्मको विद्यार्थी पुगे । विद्यार्थीहरू अझै आइरहेका थिए ।  जुन अभिभावकले आफ्ना बच्चालाई स्कुल पठाउँदैनथे । उसले पनि आआफ्ना बालबच्चालाई ट्युसन पढाउने ठाउँमा ल्याएर छाड्न थाले ।


विद्यार्थीको चाप बढ्न थालेपछि पूर्वमन्त्री यादवले बाध्य भएर अर्को ठाउँमा ट्युसन सुरु गर्नुभयो । माघ २ गतेबाट ४० जना विद्यार्थीबाट सुरु गरेको ट्युसनमा अहिले ६० जना पुगेका छन् । सबैलाई उहाँले एक्लै पढाउन नसकेपछि प्रत्येक दिन कसैलाई न कसैलाई आफ्नो साथमा सहयोगीका रूपमा त्यहाँ लग्छन् र उहाँको सहयोगमा सबैलाई पढाउँनुहुन्छ ।

किताबी ज्ञान मात्र होइन, व्यवहारिक ज्ञान पनि 
उहाँ त्यहाँ किताबको ज्ञान मात्र दिनुहुन्न, व्यावहारिक ज्ञान पनि दिनुहुन्छ । सफासुग्धर कसरी रहने, किन पढ्नु पर्यो, स्कुल किन जानु पर्यो, आमाबुबाको कुरा, शिक्षा तथा आफूभन्दा ठूलाको कुरा कसरी मान्ने जस्ता व्यावहारिक कुराहरू पनि उहाँले सिकाउँनु हुन्छ । सुरुको ट्युसनमा कृष्णनन्द सदायलाई जिम्मेवारी दिनु भएको छ । सदाय त्यहाँका स्थानीय विद्यार्थी हुन् । स्वयंसेवक जस्तै उनले सहयोग गरिरहेका छन् । यद्यपि मन्त्रीले उनलाई महिनाको दुई हजार रुपियाँ सहयोग स्वरूप दिने गर्नुभएको छ ।

पूर्वमन्त्री यादवले भन्नुहुन्छ, मैले कृष्णचन्दलाई तलबमा राखेको होइन, स्वयंसेवक जस्तै हो उहाँ पनि । तर विद्यार्थी भएको कारणले केही सहयोग होस् भनेर मात्र मैले केही सहयोग गरेको हुुँ ।’ विद्यार्थीलाई कापी, कलमलगायत चाहिने सामग्रीसमेत दिन्नुहुन्छ उहाँ । फ्रिमा ट्युसन पढ्न पाएपछि विद्यार्थीहरू नियमित आउने गरेका छन् ।


 विद्यार्थीहरू ट्युसनमा मात्र होइन, विद्यालय पनि नियमित जान थालेका छन् ।
पूर्वमन्त्री यादव भन्नुहुन्छ, एक हप्तामै चामत्कारिक परिवर्तन भएको मैले पाएको छु । विद्यार्थीहरू सरसफाइमा ध्यान दिनुको साथै हातमुख धुने, दिसा गरेपछि साबुन पानीले हात धुने, सधैँ नुहाउने, टाइममा स्कुल जाने जस्ता काममा निकै सुधार भएको छ । अभिभावकहरूमा चेतनाको विकास भएको छ । बालबच्चालाई पढाउनुपर्छ भन्ने सोच आएको छ । आफै आआफ्ना बालबच्चालाई स्कूल पठाउन थालेका छन् ।’
६–७ कक्षामा पढ्ने विद्यार्थीलाई क, ख, ए, बी, सी, डी पनि आउँदैनन् । एकदेखि सयसम्म गन्न पनि आउँदैन । उहाँले भने, विद्यार्थीको जस्तो हालत छ, विद्यालयको त्यस्तै हालत छ । यो ट्युसनबाट त्यसमा पनि केही सुधार हुने अपेक्षा मैले लिएको छु ।’


 पाटन क्याम्पसबाट बीएस्सीसम्म अध्ययन गर्नुभएका पूर्वमन्त्री यादव शिक्षामा सुधारका लागि गरेको प्रयास यो पहिलो होइन । २०७० मा संविधानसभा सदस्य हुँदा राजविराजको ४५ ठाउँमा यस्तो ट्युसन सुरु गराउनु भएको थियो । कतिपय ठाउँमा उहाँ आफै पढाउँनु हुन्थ्यो भने अधिकांश ठाउँमा सहयोगीहरू स्वयंसेवकको रूपमा राख्नु भएको थियो । 


तर त्यसलाई उहाँले निरन्तरता दिन सक्नु भएन । सांसद त्यसपछि मन्त्री भएपछि व्यस्तता बढ्यो । उतातिर उहाँले समय दिन सक्नु भएन । स्वयंसेवकहरूले पनि विस्तारै विस्तारै छाडे । तर मन्त्रीबाट हट्नेवित्तिकै उहाँले फेरि त्यही अभियान सुरु गर्नुभयो । उहाँ ससाना बालबालिकालाई पढाउन छाडेर एसएलसी नजिक भएको कारण १० कक्षाका विद्यार्थीहरूका लागि निःशुल्क कोचिङको व्यवस्था पनि गर्नुभएको थियो । सम्बन्धित विषयमा शिक्षक राखेर विद्यार्थीहरूलाई उहाँले कोचिङ बढाउन सुरु गर्नुभएको थियो ।


कोचिङ पढाउन सुरु गरेपछि विगतको भन्दा त्यतिबेला त्यहाँको स्कुलमा राम्रो रिजल्ट आएको उहाँको दाबी छ । उहाँ यो ट्युसनलाई निरन्तरता दिने पक्षमा हुनुहुन्छ । तर कसरी त्यसको बारेमा योजना बनाएर अघि बढ्ने बताउनुभयो । त्यति मात्र होइन, उहाँ सांसदबाट हटेपछि राजविराजको रन्जितपुरमा दलित विद्यार्थीका लागि छात्रवास बनाउन सुरु गर्नुभयो । ५० लाखको लगानी भइसकेको छ तर अझै पूर्ण भएको छैन ।’ अझै ५० लाख लगाउने अवस्था छ तर पूर्वमन्त्री यादव भन्नुहुन्छ, ‘मैले त सुरुवात गरिसकेँ । यसलाई कसैले पूर्णता दिन्छ भने आशमा बसेको छु ।’

शिक्षामा चासो लिनुको कुनै राजनीतिक स्वार्थ त छैन भन्ने जिज्ञासामा उहाँले भन्नुभयो, ‘म जहाँ पढाउँछु त्यहाँ अहिलेसम्म आफ्नो बारेमा कुनै जानकारी दिएको छैन । कतिपय अभिभावकलाई त थाह होला तर विद्यार्थीलाई थाह छैन । आजसम्म मैले न विद्यार्थीसमक्ष राजनीतिको कुरा गरेको छु, न अभिभावक समक्ष नै ।’ प्रतिनिधिसभा चुनावमा उहाँ उपेन्द्र यादवसँग तत्कालीन माओवादी केन्द्रको तर्फबाट चुनाव लड्नु भएको थियो । तर उहाँ पराजित हुनुभयो ।


एमाले र माओवादी केन्द्रबीच एकीकरण भएपछि हालसम्मको समायोजनमा उहाँ कतै पर्नुभएको छैन । माओवादी केन्द्रका पोलिटब्युरो सदस्य हुनुहुन्छ उहाँ । तर समायोजनमा उहाँ हालसम्म कतै पर्नुभएको छैन । यद्यपि तल्लो तहको समायोजन हुन अझै बाँकी नै छ ।

को हुनुहुन्छ उमेश यादव ?
बाल्यकालदेखि शोषण, दमन र अन्यायको विरुद्धमा खरो रुपमा उभिदै आउनु भएका पात्र हनुहुन्छ उहाँ । सप्तरीको लालापटी गाविस वडा नम्वर– १ निवासी यादव २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा एकिकृत नेकपा माओवादीवादीबाट उम्मेदवार भई सप्तरी क्षेत्र नम्वर– ३ बाट संविधानसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

यादवको जन्म भारदह गाविस स्थित मावली भलुवा गाउँमा वि.सं. २०२८ साल फाल्गुन ३० गते भएको हो । पिता स्व. किसुनदेव यादव र माता लक्ष्मी देवी यादवको कोखबाट जेठो सन्तानको रुपमा धर्तीमा पाईला टेक्नु भएका उहाँ बाल्यकालदेखि नै सहपाठीहरुले गल्ती गर्दा त्यसको खरो रुपमा प्रतिवाद गर्नुहुन्थ्यो ।

आफूसहित चार दाजुभाइ र एक बहिनीको अभिभावकत्वको जिम्मेवारी सम्भाल्दै आउनु भएका उहाँले गाउँकै राष्ट्रिय प्राथमिक विद्यालयमा प्राथमिक तह पुरा गरी वि.स. २०४४ सालमा राजविराज स्थित राजदेवी माध्यमिक विद्यालयबाट एसएलसी पास गर्नुभएको थियो ।


 राजनीतिसँगै भारतको मधेपुराबाट प्रविणता प्रमाणपत्र तह उतिर्ण गर्नुभएको छ । वि.सं. २०३९ सालताका काठमाण्डौको गोटीखेल ललितपुरमा शिक्षण पेशामा कार्यरत काका रामदेव यादवसँग उहाँ पढ्नका लागि काठमाण्डौ पुग्नुभयो । त्यहाँका बासिन्दाहरुले देउसी भैलो खेलेर सङ्कलन भएको रकमबाट कक्षा ३ बाट सञ्चालन भएको विद्यालय १० सम्म सञ्चालन गरेको कुराले उहाँ प्रभावित हुनुभएको थियो ।


आफ्नो गाउँ ठाउँको विकास आफैले गर्नुपर्छ भन्ने सङ्कल्पका साथ गाउँ फर्के प्रा. चन्द्रकिशोर यादव, ईन्जिनियर प्रयाग यादव, कामेश्वर यादव, हरिनारायण यादव, विष्णुदेव यादव लगायतका कर्मचारीहरु समेतको अगुवाइमा क्लव सञ्चालन गर्नुभएको थियो ।

गाउँका सरकारी कर्मचारीहरुले कमाइको केही अंश क्लवमा जम्मा गरेर गाउँमा विकासीय अभियान चलाउनु भएको थियो । यद्यपी गाउँकै केही विकास विरोधी व्यक्तिहरुका कारण भर्खर–भर्खरका किशोर उमेशको अभियानले मूर्त रुप लिन सकेन ।


राजदेवी माध्यमिक विद्यालयबाट वि.सं. २०३९ सालमा एसएलसी दिएर पुनः गाउँ फर्केर सहपाठीहरु सङ्गठित गरी विकास निर्माण लगायत सार्वजनिक कामहरुलाई उहाँले अगाडी बढाउनुभएको थियो । विन्देश्वर यादवको दलानमा बसेर सरस्वती नाट्य कला परिषद गठन गरि ‘इन्सान’ नामक हिन्दी नाटकमा नोकरको भूमिका निभाउनुभएको थियो ।


त्यतिबेला सबैले राम्रा–राम्रा पात्रको भूमिका गर्ने जिम्मेवारी सहपाठीहरुले लिए तर उमेशलाई भने कसैले पनि लिन नचाहेको नोकरको भूमिका दिईयो । उहाँले नाइँ नभनी सहर्ष स्वीकार गर्नुभएको थियो । उमेशले नोकरको भूमिकामा उत्कृष्ट अभिनय निभाउनु भएको थियो । त्यसपछि त उहाँको उक्त अभिनयले लालापट्टी, सखडा, छिन्नमस्ता लगायतका गाउँहरुमा निक्कै चर्चा पाउनु भएको थियो ।

हतियार खरिद
गाउँघरमा व्याप्त रहेको सामन्ती प्रवृति, मालिक प्रथा, धनी र गरिब बिचको असमानता, जातीय विभेद, शोषण दमनका कुराहरु उनको दिमागमा नाचिरहन्थ्यो । गाउँका धनी व्यक्तिहरु बसीबसी गरिब एवम् विपन्न व्यक्तिहरुमाथि शासन चलाउने प्रवृती तथा गरिबहरु जतिसुकै श्रम र पसिना बगाए पनि साँझ विहानको छाँक टार्न कठिन हुने दारुण अवस्थाको उहाँले त्यतिबेलादेखि नै विरोध गर्न थाल्नु भएको थियो । रामकुमार यादवसम्पैत डाक्टर, शम्भु यादव, राजकुमार यादव सहितका व्यक्तिहरु सङ्गठित भई हतियार किनेर दमनकारीहरु विरुद्ध जाई लाग्ने योजना बनाउनुभएको थियो ।

त्यतिबेला सीमापारी पाँच सय रुपैयाँमा थ्री नट पाईन्थ्यो । तर उहाँहरु भर्खर–भर्खरका युवा भएका कारण उहाँहरुसँग त्यति पैसा थिएन । समूहकै केही साथीले भने पाँच सय रुपैयाँ व्यवस्था गर्न विभिन्न योजना बनाउनु भएको थियो । यद्यपी उहाँहरुको योजनाले त्यति मूर्त रुप लिन सकेन ।

जनआन्दोलन 
वि.सं. २०४६ सालको जनआन्दोलनताका निर्दल बहुदलको आन्दोलन चलिरहेको थियो । त्यतिबेला उहाँ सरस्वती टोलमा देबु यादवको घरमा डेरा लिएर बस्नु भएको थियो । रातीको समयमा सुरक्षा निकायका व्यक्तिहरुले विभिन्न प्रलोभन दिएर ‘पञ्चायती व्यवस्था जिन्दावाद’ भनि नारा लगाउन व्यापक रुपमा दवाव दिईरहे तर उहाँले सिधै अस्वीकार गर्नुभएको थियो ।

राजदेवी मन्दिरमा आयोजित एक कार्यक्रममा आईएससीमा अध्ययनरत विद्यार्थीको तर्फबाट भाषण गरेपछि महिला नेतृ रेणुकुमारी यादव उहाँमा रहेको राजनीतिक चेतना र तर्क शैली देखेर प्रभावित हुनुभएको थियो । तत्पश्चात उमेश उहाँसँगै राजनीतिक क्षेत्रमा काम गर्न थाल्नु भएको थियो ।


बीएससी अध्ययनका लागि उनी काठमाण्डौ स्थित पाटन क्याम्पसमा भर्ना हुनुभएको थियो । मधेशबाट राजधानी छिरेका विद्यार्थीहरुसँग गरिने विभेदपूर्ण व्यवहारबाट गाउँ–देहातको सुरिलो आँटिलो ठिट्टो उमेशको मनले सहेर बस्न मानेन । काठमाण्डौमा अध्ययनरत विद्यार्थीहरुलाई भेला गरी तराई विद्यार्थी समन्वय परिषद् गठन गर्नुभयो ।

मधेशी मूलका विद्यार्थीहरु सङ्गठित भएको कुरा त्यहाँका पहाडे मूलका विद्यार्थीहरुलाई पाच्य भईरहेको थिएन । क्याम्पसमा आयोजित कार्यक्रममा तराई विद्यार्थी समन्वय परिषद्को तर्फबाट उमेशलाई बोल्न मञ्चमा बोलाइयो । उहाँले मन्तव्यका क्रममा थानकोटभन्दा बाहिर पनि नेपाल छ, यो मनोविज्ञान पनि तपाई बुझिदिनुस् भन्न नपाउँदै त्यहाँका मधेश विरोधीहरुले मञ्चमै जुत्ता चप्पल प्रहार गरे ।


त्यसपछि उहाँमा आक्रोस र पीडासँगै राजनीतिको भूत तीब्र रुपमा सवार भयो ।
स्ववियू निर्वाचन नजिकिँदै गएकोले पुल्चौकमा मिटिङ्ग बसेर तराई विद्यार्थीको तर्फबाट उम्मेदवारीको निर्णय गर्दै परिषद्को तर्फबाट शिवराम यादव(पूर्व सभासद) र उपेन्द्र ठाकुरलाई उम्मेदवारी दिन लगाउनु भएको थियो । शिवराम सर्वाधिक मत प्राप्त गरेर विजयी पनि हुनुभयो । तराई विद्यार्थी समन्वय परिषद् राजधानीमा बलियो हुँदै गयो । सोही क्रममा सद्भावना पार्टीको बीरगञ्जमा सम्पन्न सम्मेलनमा नेपाल विद्यार्थी मञ्चको उपत्यका संयोजकको हैसियतमा समेत उहाँ सहभागी हुनुभएको थियो ।

वि.सं. २०५१ सालमा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट साँसद पदमा रेणुले उम्मेदवारी दिँदै भ्याएसम्म उहाँले मदत गर्नुभयो । पार्टीको युवक सङ्गठनको जिल्ला अध्यक्ष, सगरमाथा अञ्चल ईञ्चार्ज हुँदै केन्द्रीय सदस्य समेत हुनुभयो । पार्टीका नेता राजेश्वर देवकोटा समेत उमेशको शैलीबाट प्रभावित हुँदै जानु भएको थियो । देवकोटाले उमेशलाई युवा कार्यकर्ताको रुपमा नभई छोरा भनेर बोलाउँथे भने उमेशले समेत बुवा भनेर आदर गर्नुहुन्थ्यो ।

माओवादीमा प्रवेश
वि.सं. २०५२ सालताका उमेश राजनीतिको रङ्गमा रङ्गीसकेको भए पनि घरको आर्थिक अवस्थाले साथ दिईरहेको थिएन । घरबाट चामल र पैसा ल्याएर राजनीति गर्दैआएका कारण उहाँलाई घरबाट समेत कमाउनका लागि दवाव दिन थालियो । त्यतिबेला राजनीति नै छोडिदिउँ कि जस्तो लागिरहेको थियो । उहाँलाई नेता राजेश्वर देवकोटाले अमेरिका पठाइदिन्छु भनि काठमाण्डौ बोलाए ।

अमेरिका कमाउन गईयो भने राजनीतिक यात्रा तथा समाज परिवर्तन गर्ने अभियान रोकिने हो कि भन्ने सोच बिचार गरेर अमेरिका नजाने निधोमा पुग्नुभयो । राजविराज–६ स्थित गौतम शिशु सदनमा शिक्षकको रुपमा काम गरेर तथा आइएससीका विद्यार्थीलाई टियुसन पढाउन थाल्नुभएको थियो उहाँ । यद्यपी उहाँको राजनीतिक यात्रा भने जारी रह्यो । नेपालमा माओवादी जनयुद्धले गति लिईरहेकै क्रममा माओवादी नेता मातृका यादव सप्तरी आउनु भएको थियो ।

राजविराज स्थित पब्लिक विन्देश्वरी उच्च माध्यमिक विद्यालयमा गोप्य बैठक आयोजना भएको थियो । महेन्द्र पासवान, राधेश्याम पंडित सहितका नेताहरु विद्यार्थी नेता केदारको घरमा आउँथे । सोही क्रममा उमेशको पनि माओवादी जनयुद्धका गतिविधिहरुमा सामिप्यता बढ्दै गयो ।

 राप्रपाबाट विस्तारै टाढिदै उहाँ पर्चा, पम्पलेट छर्ने, भित्ते लेखन गराउने जस्ता कार्यमा सक्रिय हुनुभयो । पार्टीको गतिविधीहरुमा सक्रिय भई ईमान्दारीपूर्वक काम गर्नथालेपछि उमेशलाई माओवादीको भातृ संगठन मधेशी राष्ट्रिय मुक्तिमोर्चाको गाउँ कमिटी अध्यक्षको जिम्मेवारी दिईयो । तत्पश्चात पार्टीको सेल कमिटि सेक्रेटरी, एसिएम, डिसिएमको जिम्मेवारी पाउनु भएको थियो ।

शम्सेरपुर धातीमा वि.सं. २०५८ सालमा सम्पन्न मधेशी राष्ट्रिय मुक्ति मोर्चाको जिल्ला सम्मेलनबाट सूर्यनाथ यादव अध्यक्ष भए भने उमेशले उपाध्यक्षको जिम्मेवारी पाउनुभयो । ०५८ मंसीर ११ गते तत्कालिन राजा ज्ञानेन्द्रले संकटकाल घोषणा गरे पछि निक्कै जोखिमपूर्ण कामहरु समेत उहाँले पार्टीको निर्देशन अनुसार गर्नुभयो ।


 ईमान्दार भई काम गर्ने क्रममा उनी एरिया हुँदै जनसरकार प्रमुख, जनमिलिसिया कमिसार, जिल्ला जनमुक्ति सेना कम्पनी हुँदै बटालियन कमिसार, वाईसिएल केन्द्रीय सदस्य एवम् धनुषा अध्यक्ष, धनुषा महोतरी, सर्लाही ईञ्चार्ज, वाइसिएल मिथिलाराज्य संयोजकको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुभयो । उहाँले पार्टीभित्र छोटो समयमै प्रभावशाली नेताको रुपमा परिचित हुनुभयो । पार्टीको जिल्ला संयोजक हुँदै वि.सं. २०६९ सालमा पार्टीको केन्द्रीय सदस्य समेत हुनुभयो ।

विवाह
वि.सं. २०५५ सालमा भारतको बेला गाउँमा सुलेखा यादवसँग वैवाहिक बन्धनमा बाँधिनु भएका उहाँलाई यहाँसम्मको यात्रा तय गर्न निक्कै संघर्ष गर्नुपर्यो । पत्नी सुलेखाले शुरुका दिनमा जनयुद्धमा नजान आग्रह गरे पनि पछि उहाँले निक्कै सहयोग गर्नुभएको थियो ।


घरको जिम्मेवारी पत्नी सुलेखाले सम्हाल्ने क्रममा कैयौ रात लालाबाला भोकै सुतेको क्षण समेत उहाँ सम्झिनुहुन्छ । ईमान्दारिता र सिद्धान्तको रट लगाउँदै आएका युवा उमेशले कहिले पनि जिन्दगीबाट हार मानेनन् । उहाँ आफू स्वयं कैयौ रात भोकै रहँदा पनि माग्ने वा धम्क्याएर व्यक्तिगत रुपमा लाभ लिने काम समेत गर्नुभयो ।

सप्तरी क्षेत्र नम्वर ३ बाट २०६४ सालमा संविधानसभा सदस्यमा चुनाव लडे पनि पराजित भए तर हिम्मत हार्नुभएन । जनताको अभिमतलाई कदर गर्दै जनताको घरदैलोमा गएर धन्यवाद दिनुभएको थियो ।


यतिमात्र होईन, उहाँले व्यापक पहल गरेर सप्तरी जिल्लामै पहिलो पटक एक दर्जनभन्दा बढी स्थानमा झोलुंङ्गे पुल निर्माण गराउनु भएको थियो । यसबाहेक जनताको सुखदुःखमा जतिबेला पनि उहाँ साथ दिनुभएको थियो । अधिकाँश समय जनताकै झुपडीमा बिताउने उमेश जनयुद्धकालमा सहादत दिनु भएका अजवलाल बादल, विवेक, दशरथ, डम्बर, गोविन्द, रमेश, आइडी लगायतका सहयोद्धाहरुको अभाव आफूले महशुस गर्ने गरेको बताउँनु हुन्छ ।

संविधानसभा सदस्यमा आफूलाई सप्तरीवासीले दिएको अभिमतको कदर गर्दै जनताकै लागि काम गर्ने उहाँको प्रतिवद्धता थियो । ‘ग्रेट सप्तरी बेस्ट सप्तरी, ग्रीन राजविराज क्लिन राजविराज, अपन गाम सुन्दर ठाम’ भन्ने नाराका साथ विकास निर्माण सम्वन्धी कामलाई अगाडी बढाउनुभयो ।

संविधानसभा सदस्यमा निर्वाचित भए पनि जनताकै माझमा रहेर जनताका लागि काम गर्ने उहाँको संकल्प दिनुभएको थियो । उहाँले सप्तरी जिल्लामा विकास निर्माण सम्वन्धि कामलाई प्राथमिकताका साथ अगाडि बढाउनु भएको थियो । संविधानसभा भवनमा उहाँको आक्रोशले उग्र रुप लिएको थियो । संविधानसभा भवनमा कुर्सी तोडफोडमा संलग्न भएपछि उहाँ थप चर्चामा आउनु भएको थियो । अहिले पनि उमेश यादव भन्ने वित्तिकै मान्छेले त्यो दिनको सविधानसभा सम्झन्छन् ।

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..