» » मन्त्रीले नै छोराको जागिर खोस्नुभयो


–चन्द्रकाला देवी कापड 
मैले जन्माएको छोराको हत्या भएको छ । राज्यले नै मेरो छोराको हत्या गरेको छ । नौ महिनामा आफ्नो गर्भमा हुर्काएर जन्माएको छोरालाई राज्यले हत्या गरेपछि मेरो मुटु नै निकालेको जस्तो भयो । २०७४ भदौ २३ गते मेरो सर्वस्व नै हरन भएको थियो ।

हाम्रो घरपरिवारको एकमात्र सहारा भनेको छोरा अमित थियो । सरकारले त्यसको ज्यान लिएपछि अहिले हामी बेसाहारा भएका छौं । बुढेसकालको साहरा छोरा छोरी नै हुन्छ । त्यसका लागि नै हुर्काउँछन्, लालनपालन गर्छन तर राज्यले त्यसलाई पनि खोसेर लग्यो । मधेशका लागि मेरो छोरा अमितले आन्दोलन गरेको थियो । मधेशको अधिकार र पहिचानका लागि आफ्नो ज्यान दिएको थियो तर न मधेशले अधिकार पायो, न पहिचान पायो, उल्टै मेरो काख पनि उजाड भयो । छोराको मृत्युका कारण आमालाई के पिडा हुन्छ त्यो आमालाई मात्र थाह हुन्छ ।

अरुका लागि त अमितको मृत्यु भएको होला तर हाम्रो लागि छोराको मृत्यु भएको छ । कसैको श्रीमानको मृत्यु भएको छ । कसैको भाइको मृत्यु भएको छ, कसैको दाइको मृत्य भएको छ । त्यो भन्दा महत्वपूर्ण एउटा परिवारको खम्बा ढलेको छ ।

मृत्यु भएपछि आश्वासन दिनका लागि थुप्रै नेताहरु घरमा आउनुभको थियो । उहाँहरु घरमा आएर दिनुभएको आश्वासन अहिले सम्झदा विरक्त लाग्छ । ठूला ठूला सपना देखाउनु भएको थियो । मधेशको अधिकारका प्राप्तिका लागि यो गर्ने, त्यो गर्ने भनि ठूला ठूला कुरा गर्नुभएको थियो उहाँहरु । तर ती सबै अहिले सपना जस्तो लाग्छ । आन्दोलनमा सहादत दिएका परिवार तथा घाइतेहरुले अब कुनै दुख पाउने छैन । अब मधेश सुखी सम्पन्न हुन्छ भनि उहाँहरुले भन्नुभएको कुरा यही हो ।

 त्यतिबेला लाग्थ्यो मेरो छोराले यो देशका लागि सहादत दिएर राम्रै गरेका छन् । छोराले सहादत दिएपछि यी सबै कुरा हुँदो रहेछ भने अमितले सहादत दिएर राम्रै गर्यो जस्तो लागेको थियो त्यतिबेला । तर अहिले त दिनु हो कता हो कता बरु दिएको कुरा पनि खोस्न थालेका छन् ।

अहिले आएर ती कुराहरु सम्झन्छु भने पीडा हुन्छ । सहिदको नाममा कोही सांसद हुनुभयो । कोही मन्त्री बन्नुभयो । तर देशले के पायो, मधेशले के पायो ? मैले र मेरो परिवारले के पायो के पाएन त्यो बेग्लै कुरा हो । मेरो छोराले आफ्नो परिवारका लागि सहादत दिएको होइन । देशका लागि दिएका हुन्, यो मधेशी समाजका लागि दिएका हुन् । तर देशले केही पायो नमधेशले न उनको परिवारले । कमसे कम मधेशले अधिकार पाएको भए हुन्थ्यो । मधेशमा विकास भएको भए हुन्थ्यो तर त्यो पनि देखिएको छैन । सबै आआफ्नो स्वार्थमा लागेका छन् । सबै लुट्नमा लागेका छन् ।

 कहाँ छ मधेश । कहाँ छ सहिद । कहाँ छ आन्दोलनका घाइते । त्यसको बारेमा अहिले सोच्ने फुर्सद कसैलाई छैन ।

अमितले सहादत दिएपछिको केही दिन हाम्रो घरमा खुट्टा राख्ने ठाउँ हुँदैन्थ्यो । नेताहरु आइरहनु हुन्थ्यो । आश्वासन त कस्ता कस्ता हुन्थ्यो त्यो अहिले भन्न साध्य छैन । कसैले तपाई आफ्नो छोरीको विहेको लागि चिन्ता नगर्नुहोस्, हामी छौ नि भन्नुहुन्थ्यो । कसैले तपाईको छोरालाई मैले पढाई दिन्छु, पढाईको चिन्ता नलिनुस् । कसैले घर नै बनाइ दिन्छु भनि आश्वासन दिनुहुन्थ्यो तर अहिले ती सबै कुरा सपना जस्तो लाग्छ । ऋण लिएर छोरीको विहे गरेको दुई वर्ष भयो अहिलेसम्म साहुको ऋण तिर्न सकेको छैन । छोरीलाई नै विहे गरिदिने भन्नेहरु विवाहको दिन हेर्न पनि आउनु भएन ।

 विहे गराई दिने कुरा धेरै टाढाको कुरा हो ।
छोरीको विवाहका लागि एक लाख रुपियाँ ऋण लिएको थिए । दुई वर्ष भयो । सयकडा तीन रुपियाँको दरले लिएको छु । दुई वर्षमा त्यो ऋण कति भएको होला, हिसाब गरेर हेर्नुस् । ऋण कसरी तिर्ने चिन्ताले बौलाउने बेला भएको छ । जमिनको नाममा पाँचधुर जमिन मात्र छ । त्यसमा घर बाँधेको छु । गुजारा गर्ने कुनै उपाय छैन । गाउँमा छोराले गाडी चलाउथ्यो ।

त्यसले हाम्रो घरको गुजारा चल्थ्यो । हामी गरिब परिवारका भएका कारणले छोरा अमितलाई धेरै पढाउन पनि सकेका थिएनौं । तीन कक्षासम्म मात्र पढाउन सकेका थियौं । छोरा अमितले पढाई छाडेर ड्राइभरको काम सिक्यो र गाउँमै एकजनाको ट्याक्टर चलाउथ्यो । आन्दोलनको क्रममा त्यो ट्याक्टर पनि चल्न बन्द भयो र छोरा आन्दोनलतिर लाग्यो । र, आन्दोलनकै क्रममा उनले सहादत दिए ।

प्रदेश २ का समाजिक विकास राज्यमन्त्री अभिराम शर्माले दुईटा छोरालाई जागिर लगाई दिने भनेर घरबाट बोलाएर लग्नुभएको थियो । दुईटै छोरालाई ९–९ हजार रुपियाँ तलब दिने उहाँले भन्नुभएको थियो । एकजना जलेश्वरस्थित घरमा काम गर्ने र अर्को एकजना जनकपुरमा मन्त्रीको क्वाटरमा काम गर्ने भनेर लग्नु भएको थियो । तर केही दिन एउटै तलबमा दुवैजनालाई काम गराउनु भएको थियो मन्त्री शर्माले । जब त्यो कुरा बाहिर आयो अनि उहाँले एकजनालाई घर फर्काई दिनुभयो ।

सुमित कापड मन्त्रीज्युकै निवासमा काम गरिरहेको थियो । सुमितको नागरिकता थिएन । नागरिकता नहुँदा पछि जागिर खान पनि समस्या हुने भनेर छोरा सुमित नागरिकता बनाउनका लागि घर (महोत्तरी) आयो । नागरिकता बनाउन चारदिन लाग्यो । चार दिनपछि नागरिकता बनाएर छोरा सुमित जनकपुरस्थित मन्त्रीको घरमा जाँदा मन्त्री शर्माले ‘तिमी आयौं, अब आफ्नो झोला–सोला लिएर यहाँबाट गइहाल, अब यहाँ तिम्रो काम छैन’ भनेर पठाई दिनुभएको थियो । उहाँको घरमा साउनदेखि काम शुरु गरेको थियो तर ६ महिना नपुग्दै पुस १५ गते छोरा अमितलाई जागिरबाट निकाल्नु भयो । 

मेरो छोरा रुँदै घर फर्केको थियो । नागरिकता बनाउन आएका छोरालाई दुई चार दिन समय लाग्दैमा यसरी जागिरबाट निकाल्नु हुँदैन्थ्यो । मधेश सरकारले प्रत्येक सहिद परिवारका एकजनालाई जागिर दिने निर्णय नै गरेको छ । तर, जागिर दिएकालाई मन्त्रीले नै यसरी फर्काई दिएपछि हाम्रो निकै चित्त दुख्यो । हाम्रो पुरै परिवार दुखि भएको थियो । परिवारका लागि केही नकेही सहयोग त्यहाँबाट भइरहेको थियो । तर मन्त्रीले नै कामबाट निकालि दिएपछि अब हामी फेरि जागिर माग्न कहाँ जाने । मेरो पाँचजना छोरा र तीनजना छोरी छन् । त्यसमध्ये एउटा जेठो छोरा अमित कापडको निधन नै भइसक्यो ।

बाँकी रहेका चार छोरामध्ये सुजितलाई हिरा शर्मा भन्ने एकजना आफन्तले वन विभागमा जागिर लगाई दिनुभएको छ । उसको कमाईबाट अलि अलि गुजारा भइरहेको छ । तर, एकजनाको कमाईले घरपरिवार धान्न निकै गाह्रो भइरहेको छ । अन्य तीनजना छोरा त्यतिकै घरमा बसेर दिन काटि रहेका छन् । तीनजना छोरीमध्ये एकजनाको मात्र विवाह भएको छ । अब दुईजनाको विवाह गर्न बाँकी छ । अहिलेदेखि नै छोरीको विवाहको चिन्ता लागि रहेका छ । मेरो श्रीमान पनि अपाङ्ग हुनुहुन्छ ।

खुट्टाले अपाङ्ग भएको कारणले त्यति हिडडुल गर्न सक्नुहुन्न । उहाँ घरमै बस्नु हुन्छ । जेठो छोराको मृत्यु भएपछि पुरै घर नै अपाङ्ग जस्तो भएको छ ।

अहिले त हाम्रो घरतिर कसैले हेर्दा पनि हेर्दैन । यो सहिद परिवारको घर हो भने सायद धेरैले विर्सि पनि सकेको होला । चुनावको समयमा पनि थुप्रै आश्वासनहरु आयो तर आश्वासन दिएर गएकाहरु अहिलेसम्म फर्केर आएका छैनन् । शुरुमा सरकारबाट पाएको १० लाख रुपियाँ अमितको श्रीमतीले पाएकी थिइन् । त्यो घरपरिवारमा खर्च भएको छैन । अमितका बालबच्चाका लागि राखिएको छ ।

त्यसबाहेक अरु कुनै सहयोग कही कतैबाट प्राप्त भएको छैन । मधेश सरकार गठन भएपछि सहिदको लागि यो गर्ने, त्यो गर्ने विभिन्न नाराहरु लगायो । चुनावको समयमा नेताहरुले विभिन्न आश्वासनहरु बाँड्यो तर अहिलेसम्म सहिदको नाममा केही भएको छैन । त्यसले हामीलाई निकै दुख लागेको छ ।

सायद छोरा आन्दोलनका लागि नगएर घरमै बसेको भए अहिले यो हाम्रो हालत यस्तो हुने थिएन । घर परिवारको चिन्ता मात्र होइन, छोरीको चिन्ताले पनि हामीलाई पिडित बनाएको छ । हाम्रो समाजमा छोरीको विवाहलाई अभिषापको रुपमा लिन थालेको छ । जसको घरमा एउटा छोरी हुन्छ, उसको टाउको जहिले निहुरिएको हुन्छ । जो धनीमनी हुन्छ उसको पनि त्यही हालत, जो गरिब हुन्छ त्यसको हालत त झन खराब हुन्छ । सायद मेरो जेठो छोरा अमित भएको भए छोरीको विवाहका लागि यति चिन्ता हुने थिएन होला ।   
(अमित कापडका आमा चन्द्रकालासँग गरिएको कुराकानीमा आधारित)

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..