» » मैले गजेन्द्रनारायण सिंहलाई छाडेको छैन


–अनिलकुमार झा

अध्यक्षमण्डलका सदस्य, राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल
गजेन्द्रनारायण सिंहको मृत्यु भएको १७ वर्ष भइसक्यो । उहाँले स्थापना गर्नुभएको पार्टी अहिले कही कुनै रुपमा जिवित छैनन् । सद्भावना पार्टीको नामबाट खुलेका सबै पार्टी अहिले विलिन भएका छन् । यहाँसम्म कि उहाँको स्मृति दिवस मनाउने पार्टी वा संगठन पनि जिवित छैन । उहाँले स्थापना गर्नुभएको विचार, सिद्धान्तका आधारमा नेताहरुले राजनीतिक गरिरहनु भएको छ । नेताहरुले भाषण गर्दा गजेन्द्रनारायणको नाम लिनुहुन्छ तर उहाँको पार्टीलाई समाप्त पार्नुभएको छ । बरु उहाँको नाममा एनजियो सञ्चालन भइरहेको छ । 

गजेन्द्रनारायण सिंहसँग काम गर्नुभएका राजेन्द्र महतो र अनिलकुमार झाले छुट्टा छुट्टै उहाँको नामबाट एनजियो खोल्नु भएको छ । अनिल झाले त्यही गजेन्द्रनारायण सिंह स्मृति प्रतिष्ठानबाट उहाँको स्मृतिमा कार्यक्रमको आयोजना गर्नुभएको थियो । राजेन्द्र महतोले त त्यति पनि गर्नुभएन । गजेन्द्रनारायण सिंहको पार्टी, उहाँको विचार, सिद्धान्त र आन्दोलनको बारेमा राष्ट्रिय जनता पार्टी अध्यक्षमण्डलका सदस्य समेत रहनु भएका गजेन्द्रनारायण सिंह स्मृति प्रतिष्ठानका अध्यक्ष अनिलकुमार झासँग सहारा टाइम्सका लागि गरिएको कुराकानीको मुख्य अंशः



तपाईले माघ १० गते गजेन्द्रनारायण सिंहको १७औँ पुण्यतिथि मनाउनु भयो, उहाँको योगदान, विचार र सिद्धान्तलाई कसरी सम्झनु भयो <

–२०४४ सालमा उहाँसँग मेरो पहिलो पटक भेट भएको थियो । त्यही बेलादेखि म सद्भावना परिषद्मा आबद्ध भएर उहाँको साथमा काम गर्न थालेको थिएँ । २०४६ सालको आन्दोलनपछि २०४७ वैशाख २ र ३ गते सद्भावना परिषद्लाई नेपाल ससद्भावना पार्टीमा परिवर्तन गरिएको थियो  । म सो पार्टीमा नेपाल विद्यार्थी मञ्चको संस्थाक अध्यक्ष भएर काम गर्न थालेको थिएँ । पहिला पनि उहाँसँग भेट हुन्थ्यो तर ०४४ देखि ०४६ सम्म सशक्त ढङ्गबाट सङ्गठन बनाएर काम गर्ने स्थिति थिएन । 
०४७ देखि २०५८ सम्म उहाँसँग काम गर्दा मैले दुई तीनवटा कुरा पाएँ । त्यही कारणले उहाँको स्वर्गवास भएको १७ वर्ष वितिसक्दा पनि सम्झने गरेको छु । उहाँ जहिले पनि कार्यकर्ताको बीचमा रहन चाहनुहुन्थ्यो । उहाँले जहिले पनि मधेस र मधेसीको कमी कमजोरी घरभित्र बसेर केलाउने गर्नुहुन्थ्यो । जुन दिन स्व. सिंहले नेपाल सद्भावना पार्टीको अध्यक्षका रूपमा काम गर्न सुरु गर्नुभयो, उहाँमा थकाइ कहिले देखिएन । उहाँले जहिले पनि स्पष्ट कुरा राख्नुहुन्थ्यो । कसैसँग कुनै कुरा लुकाउने छिपाउन गर्नुहुँदैनथ्यो । हरेक कुरामा उहाँ आफै ध्यान दिनुहुन्थ्यो । यदि आफैबाट कुनै कमी कमजोरी हुन्थ्यो भने त्यसलाई रिअलाइज गर्नुहुन्थ्यो । उहाँ पार्टीमा सानो ठूलो नेताको रूपमा कसैलाई हेर्नुहुन्न थियो । सबैलाई बराबर किसिमले हेर्नुहुुन्थ्यो । बजार जानुभयो सबै तरकारीको मूल्य सोध्नुहुन्थ्यो । कुनै होटलमा जाँदा सबै खाने कुराको मूल्य सोध्नुहुन्थ्यो र त्यसले जनताको जीवनशैली र आर्थिक स्रोतसँग दाज्नुहुन्थ्यो । काठमाडौँमा पनि तरकारी बेच्नेहरूसँग उहाँले दाम सोध्नुहुन्थ्यो । फरक पर्यो भने ‘ए, फालानो ठाउँमा मैले सोध्दा त यस्तो भन्थ्यो, तिमीले यस्तो दाम कसरी भन्यौँ’ जस्ता कुरा भन्नुहुन्थ्यो । उहाँ समाजिक स्तरमा पनि ससाना कुराको ख्याल गर्नुहुन्थ्यो । उहाँ सरल पनि हुनुहुन्थ्यो र कठोर पनि हुनुहुन्थ्यो । कुनै निर्णय एकछिनमै लिन सक्ने क्षमताका व्यक्ति हुनुहुन्थ्यो ।



राजपा नेपालमा गजेन्द्रनारायण सिंहको स्थान सुरक्षित राख्न तपाईले निकै प्रयास गर्नुभएको थियो, तर सक्नु भएन, एकपटक तपाईले राजपा नेपाल छाड्नसक्छु तर गजेन्द्रनारायणलाई छाड्न सक्दिन भन्नुभएको थियो, तपाईले भनेको कुरा लागु भएन त <

–म अहिले पनि त्यही अडानमा कायम छु, अहिले पनि गजेन्द्रनारायण सिंहलाई छोड्न सक्दिनँ र छोडेको पनि छैन । मैले माघ १० गते जुन कार्यक्रम गरे, त्यो उहाँको जन्मस्थल कोइलारालीमा गर्ने योजना थियो । पूर्वराष्ट्रपति डा. रामवरण यादवलाई राखेर कार्यक्रम गर्ने योजना थियो तर केही प्राविधक कारणले सम्भव नभएपछि आज काठमाडौँमै कार्यक्रमको आयोजना गरेको छु । गजेन्द्रनारायण मेमोरियल फान्डेसनको तर्फबाट रौतहटाको आफ्नो क्षेत्रमा जिल्ला स्तरीय टुर्नामेन्ट परायोजन गराएको छु । त्यही गजेन्द्रनारायण मोमोरियल तीन सय शय्याको अस्पताल बनाउने योजना पनि बनिरहेको छ । स्वास्थ्य मन्त्रालयबाट त्यसको अनुमति पनि पाइसकेको छु । त्यसका लागि ६ बिघा जमिन पनि खरिद गरेको छु । मधेसमा कुनै नेताको नाममा १५ वर्षपछि यसरी अस्पताल खोल्ने काम गरिरहेको छु । त्यसैले म गजेन्द्रनारायण सिंहलाई म छाड्न सक्दिनँ भनेको हुँ । मैले बोलेको कुरा  गरेर पनि देखाएको छु र उहाँको लागि अझै केही गर्छु । रह्यो राजपा नेपालको कुरा । राजपा नेपाल बनिरहेको बेला मैले त्यसमा उहाँको नाम राख्न भनेकै हो । विधानको प्रास्तावनामा नै उहाँको नाम लेख्न भनेको थिएँ तर साथीहरूले त्यसको विरोध गर्नुभयो, म एक्लै सकिनँ । तर मेरो यो मुद्दा सकिएको छैन । पार्टीको महाधिवेशनबाट भए पनि गजेन्द्रनारायाण सिंहको नाम, विचारलाई राजपा नेपालमा समावेश गराउने प्रयास गर्छु ।



गजेन्द्रनारायण सिंहको यत्रो योगदान हुँदा हुँदै त्यसको विचार किन स्थापित हुनसकेन <

–त्यस्तो किन भयो भने गजेन्द्रबाबुको साथमा काम गर्ने नेताहरू, सहयोगी, साथी, समकालीनहरूले उहाँलाई छाडेकाले त्यस्तो भएको हो । यसमा अरूलाई दोष दिन मिल्दैन । जुन मान्छेले गजेन्द्रनारायणसँग काम नै गर्नुभएन, त्यो मान्छेलाई दोष दिन मिल्दैन । जो गजेन्द्रबाबुसँगै काम गर्नुभयो । गजेन्द्रबाबुसँगै पद र प्रतिष्ठा प्राप्त गरे । ती नेताहरूले गजेन्द्रनारायण सिंहलाई छोडिदिँदा बीपी, मनमोहन, मदनको जस्तै उहाँका नाम परहेज (छाड्छन्) गर्छ । म गजेन्द्रनारायण सिंहकै पथमा हिँडिरहेको छु । उहाँकै सिद्धान्त र विचार मानिरहेको छु भनी अहिले पनि भनिरहेका हुन्छन् तर उहाँको नाम लिन चाहनु हुन्न । उहाँको नाम कतै उल्लेख गर्न चाहनु हुन्न । त्यस्तो गर्न नसक्नु भनेको उहाँहरू आफै गजेन्द्रनारायण सिंह बन्न खोज्नुभएको छ । गजेन्द्रनारायण सिंहको नाम लियो भने तल परिन्छ कि भन्ने उहाँहरूमा भय छ ।



तपाई पनि सद्भावना पार्टी छाडेर उहाँको नामबाट एनजियो चलाई रहनु भएको छ नि <

–स्वाभाविक रूपमा गजेन्द्रनारायण सिंह स्मृति प्रतिष्ठान जिल्ला प्रशासन कार्यालयमा ननगभर्नर संस्थाका रूपमा दर्ता भएको छ । त्यसैले यसलाई एनजीओ भन्न सकिन्छ तर एनजीयोले गर्ने कुनै पनि गतिविधि यसले गरिरहेको छैन । यसले प्रोपोजल लेखेर कसैसँग कुनै काम मागेको छैन । यसलाई मैले एनजीयो किन मान्दिन भने प्रोपोजल लेखेर कुनै विदेशी संस्थासँग पैसा मागेर बाख«ा पालन, बङ्गुर पालन यो वा त्यो काम गरिरहेको छैन । उहाँको निधन भएपछि त्यही साल मैले यो प्रतिष्ठान बनाएको हुँ । त्यो दिनदेखि कसैसँग कुनै चन्दा लिएको छैन, कसैसँग कुनै सहयोग पनि मागेको छैन । नेपाल सरकारले र हामी सदस्यहरूले दिने सहयोग र दानादातव्यबाहेक कहीँ कतैबाट कुनै प्रकारको सहयोग लिएको छैन । रह्यो कुरा राजेन्द्रजीको उहाँले कहिले संस्था गठन गर्नुभयो । के–के गर्नुहुन्छ के–के गर्नुभयो ? त्यो मलाई केही पनि थाह छैन । मेरो अध्यक्षतामा गठन भएको गजेन्द्रनारायण सिंहको नाममा गठन भएको प्रतिष्ठानले काम गरिरहेको छ ।



उहाँको नाममा अस्पताल नै किन राजविराजमा एउटा अस्पताल छदैछ अनि अर्को फेरि किन <

–राजविराजमा गजेन्द्रनारायण सिंहको नाममा अस्पताल खुलेको होइन । सगरमाथ अञ्चल स्पतालमा उहाँको नाम जोडि दिएको मात्र हो । पञ्चायतकालमा अञ्चल अस्पताल स्थापना भएको थियो । प्रजातन्त्र आइसकेपछि पनि त्यो अस्पताल नाम रहने नै भयो । त्यसमा उहाँको नाम मात्र राखि दिएको हो । त्यसको नाममा जग्गा लिएर, अस्पताल बनाएर त्यसैको व्यवस्थापनमा चलेको अस्पताल होइन । हामीले प्रतिष्ठानकै नाममा जग्गा लिएर अस्पताल खोल्ने, व्यवस्थापन पनि त्यही रहनेछ । हरेक कुरा गजेन्द्रनारायण सिंह स्मृति प्रतिष्ठानको व्यवस्थापनमा हुन्छ । स्वास्थ्य र शिक्षा क्षेत्रमा रौतहट पछाडि परेको कारणले मैले त्यो अस्पताल बनाउन चाहेको हुँ । त्यसको तयारी भइरहेको छ ।



गजेन्द्रनारायण सिंहको नाम भजाएर धेरैले खाए तर उहाँको परिवार, उहाँको धारोहरको बारेमा कसैले सोधखोज गर्दैनन् किन <

–गजेन्द्रबाबुको जीवनमा सप्तरी आश्रममा उहाँलाई आनन्दीदेवीसँग आक्लझुक्लबाहेक मैले कोहीसँगै देखेको छैन । उहाँहरूको आफ्नो सन्तान छैन । परिवारमा अरू कोही होला । उहाँ दुईजना हुनुहुन्थ्यो । उहाँहरूको बीचमा के सम्बन्ध थियो, त्यो भन्ने स्थितिमा म छैन । उहाँ दुईजना बित्नुभयो । गजेन्द्रनारायण सिंहको निधन भएपछि सप्तरी सेवा आश्रमकै कम्पाउन्डमा उहाँको अन्त्येष्टि गरिएको थियो । त्यहाँ एउटा स्मारक पनि बनाइएको थियो । आनन्दीदेवलाई सक्रिय राजनीतिमा ल्याउने प्रयास गर्यौं । गजेन्द्रनारायण सिंहकी श्रीमती भए पनि निरन्तर सम्पर्क कम थियो । उहाँमा राजनीति अनुभव त्यति थिएन । उहाँले बडो मुस्किलले आफ्नो नाम लेखेर हस्ताक्षर गर्नुहुन्थ्यो । उहाँको शैक्षिक योग्यता पनि थिएन । श्रीमान ठूलो नेता भएको कारणले उहाँको कुनै रेपोन्सेबलिटी पनि थिएन । एक्लो र एकलकाँटे भएर बस्नुभयो । हामी उहाँलाई राजनीतिमा ल्याउँदा पनि व्यावहारिक ज्ञान पनि फरक प्रकारको थियो । जमिनदारकी श्रीमती, जमिनदारकी बुहारी, जमिनदारकी छोरी भएर त्यस्तो हुनसक्छ । त्यो कुरा मलाई थाह छैन तर उहाँ नभएको जस्तो एक्लोपनमा बाँचेको जस्तो देखिनु हुन्थ्यो । त्यही भएर उहाँलाई व्यावहारिक हिसाबले अगाडि बढाउने स्थिति थिएन । उहाँ जीवित हुँदा सप्तरी सेवा आश्रम उहाँकै नाममा थियो । आनन्दी देवी वितिसकेपछि नेपालको कानुनअनुसार गजेन्द्रबाबुका भाइभरदार र उत्तराधिकारी जो हुनुहुन्थ्यो । त्यसको नाममा सरेको हुनुपर्छ भन्ने लाग्छ मलाई । त्यसमा मैले गजेन्द्रनारायण सिंह स्मृति प्रतिष्ठान वा अरू केहीको नाममा त्यसलाई चलाउँदा उचित हुँदैनथ्यो । त्यसको संरक्षणका लागि कतिपय व्यक्तिले मलाई भन्न पनि आउनुभयो । तर मैले गजेन्द्रबाबुले जोडेको सम्पत्तिको उत्तराधिकारी जो हुन्छ, त्यसको नाममा जाओस् । त्यसमा हामीले हस्तक्षेप गर्न मिल्दैन । गजेन्द्रनारायण सिंहको नाममा संस्था खोल्दा त यहाँ नाम भँजाएर, एनजीयो बनाएर खायो भन्छन् । आश्रम उहाँको निजी सम्पत्ति हो, त्यसलाई हडपेर चलाउन थालेको भए के अवस्था हुन्थ्यो ? आफै बुझ्नुस् । त्यसैले त्यतातिर ध्यान नदिएको हुँ ।



गजेन्द्रनारायण सिंह सत्तामुखी नेता हुनुहुन्थ्यो भनि अरोप छ त्यसमा तपाईंके भन्नुहुन्छ <

–गजेन्द्रबाबुले कति दिन मधेसको राजनीतिक गर्नुभयो ? उहाँको कालमा मधेसलाई के क्षति भयो ? लगानी कति भयो, उपलब्धि कति भयो ? त्यो हेरेर उहाँको सत्ता यात्राको कुरा गर्नुपर्छ । आजको शताब्दी भनेको गिभ एन्ड टेकको कुरा हो । समाजले कति लगानी गरे, त्यसका उपलब्धि कति भयो । अहिलेको नेतामा समाजको कति लगानी भयो र त्यसबाट कति उपलब्धि भयो भनेर हिसाब गर्दा सबै कुरा आफै छर्लङ्ग हुन्छ । दुई सयभन्दा बढी मान्छे मार्न लगाएर उपेन्द्र यादव आज कहाँ हुनुहुन्छ ? उहाँ कति वर्षदेखि मधेसको राजनीतिमा आउनुभयो र कति समय सत्ता भोग्नुभयो ? गजेन्द्रबाबु कति वर्ष मधेसका राजनीतिमा रहनुभयो र कति समय सत्तामा रहनुभयो, त्यो कुराकोे हिसाब गर्नुस् । सबै कुरा आफै स्पष्ट हुन्छ । गजेन्द्रबाबुको पालामा रक्तपातविहीन मधेस आन्दोलन थियो । तर मधेसी शब्द नै उहाँको कालमा स्थापित भयो । मधेसी भाषा, मधेसी पोसाक, भाषा संस्कृति उहाँको पालामा स्थापित भयो । दुई सय पाँच सिटमा गजेन्द्रनारायण सिंहको पार्टी ६ सिट, सात सिटमा सीमित हुन्थ्यो । अहिलेको स्थिति के छ, त्यो कुराको तुलना गर्दा । कुन नेता मधेसको राजनीतिकमा गजेन्द्रनारायणभन्दा कम दिन सरकारमा रहे, खोज्दा स्पष्ट हुन्छ । मधेस राजनीतिमा आएर फाइदा नलिने एकजना व्यक्ति महन्थ ठाकुर हुनुहुन्छ । त्यसबाहेकका मान्छेले सकेसम्म फाइदा लिएका छन् । पछिल्लो समय राजपा नेपाल गठन भइसकेपछि सरकारमा जान बल गरेको छैन । तर फोरम नेपाल अझै सरकारमा छ । प्रदेशमा राजपा नेपाल सहभागी छँदैछ । गजेन्द्रबाबु सत्तामुखी अरू सबै जनमुखी, गजेन्द्रबाबु प्रतिगामी, अरू सबै मण्डेला  ? त्यस्तो नेता मधेसमा छँदैछैन । तर नेताहरू सत्तामा जानु हुँदैन भन्ने होइन । सत्ताका लागि नै नेता हुने हुन् ।



गजेन्द्रबाबुले उठाउनु भएको मुद्दा अहिलेसम्म पूरा भएको छैनन् । उहाँले उठाएको मुद्दा गलत थियो कि <
–जुन समयमा गजेन्द्रबाबुले मुद्दा उठाउनुभएको थियो, त्यो घनघोर पञ्चायत थियो । नेपाल सद्भावना पार्टीका रूपमा काम प्रारम्भ भएका समयमा काँग्रेसको दबदबा थियो । काँग्रेसको प्रभाव कम भएपछि कम्युनिस्टको दबदबा सुरु भयो । दुईवटैको दबदबा चल्दै गर्दा उहाँको निधन भयो । अर्थात उहाँले जति समय बाँच्नुभयो, त्यतिबेला गरेको काम सह्रानीय छ । अहिलेसम्म बाँचेको भए के हुन्थ्यो ? त्यो पनि सोचनीय कुरा हो । ३५ वर्षको हिसाब गर्नुहुन्छ भने उहाँ आधा समय मात्र काम गर्नुभयो । त्यो अवधिमा उहाँले जति काम गर्नुभयो मधेसका मुद्दालाई स्थापित गर्नुभयो । एजेन्डालाई सेटल गर्नुभयो । देश विदेशमा त्यसलाई चिनाउन सफल हुनुभयो । नेपालमा मधेस रहेछ भने कुरा उहाँले चिनाउनुभयो । उहाँले उठाएको एजेन्डा सबै सफल हुँदै गएका छन् । तर उहाँले भनेजस्तै रूपमा भएन । दुईटा प्रदेशको परिकल्पना उहाँले गर्नुभएको थियो तर अहिले पाँच टुक्रामा विभाजन भएको छ । यदि मधेसवादी दलले त्यतिबेला दुई प्रदेश मागेको भए आज मधेसमा दुई प्रदेश रहन्थ्यो । गजेन्द्रबाबुले आरक्षणको कुरा गर्नुभयो, आरक्षण लागू भएको छ । उहाँले भाषा, पोसाकको कुरा उठाउनुभयो, त्यो पनि कुनै न कुनै रूपमा लागू भएको छ । तर जुन रूपमा माग गरेको थियो, त्यो रूपमा भएन । त्यो छुट्टै कुरा हो । गजेन्द्रबाबुले जुन ओजको साथ मधेसको कुरा उठाउनुहुन्थ्यो त्यो ओजका साथ अहिलेका नेताहरूले उठाउनु हुन्न । गजेन्द्रनारायण सिंहले कुरा उठाउँदा त्यसलाई सपोर्ट गर्ने त्यो स्तरको जनता थिएनन । अहिले जनताले साथ दिएका छन् तर त्यो स्तरका नेता भएनन् ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..