» » सहिद परिवारको बिचल्ली भएसँगै मधेशको पनि बिच्चली


–रञ्जनकुमार मेहता
भाइ सञ्जन मेहतालाई लिएर हामी पुरै परिवार सपना देखेका थियौं । उसलाई पढाई लेखाई गराएर ठूलो मान्छे बनाउने सपना थियो हाम्रो तर सबै सपना चकनाचुर भयो । हामीले उहाँका पढाईका लागि घरमा केही गर्न सकेनौ ।

हामी जति कमाउथ्यौं सबै सञ्जनको पढाईमा लगाएका थियां । उनी पढाई सकाएर जागिर गर्ने भएपछि हाम्रो घर सुध्रिन्छ भनि लागेको थियो तर मधेशकै लागि उनले आफ्नो ज्यान दिए । मधेशमा आन्दोलन चलिरहेको बेला केपी शर्मा ओलीले मलेठमा जवर्जस्ती कार्यक्रम आयोजना गर्नुभयो । त्यसको विरोधमा जनता ओर्लेको थियो । त्यसमा मेरो भाइ पनि गएका थिए । त्यही बेला प्रहरीले उसको ज्यान लियो । २०७३ फागुन २३ गते हाम्रो पुरै घरको सपना चकनाचुर भयो ।

देशकै अहिले त मेरो भाइको ज्यान अनाहकमा गएको जस्तो लाग्छ । मेरो भाइले यो मधेशका लागि बेकारमा ज्यान दिएको जस्तो लाग्न थालेको छ । त्यो दिन र आजको दिन सम्झिदा तनाव हुन्छ । हामी परिवारका लागि उनको मृत्युले सर्वस्वहरण भएको जस्तो लाग्छ । सञ्जनको विहे भएको पनि थोरै दिन भएको थियो । नब दुलहीको हालत कस्तो भएको होला ।

मेरो त भाइको ज्यान गयो तर बुहारीको सारा जीवन नै गयो । जसका लागि मेरो भाइ सन्जन मेहताले ज्यान दिए, आज उसैले हामीलाई घरबार विहिन बनाएका छन् । घर भत्काएर सडकमा ल्याइ दिएको छ । मेरो २६ वर्षको कलिलो भाइ सन्जन मेहताले मधेशको अधिकारका लागि ज्यान दिएका थिए । मधेशको पहिचानका लागि ज्यान दिएका थिए । मधेशी मुक्तिका लागि ज्यान दिएका थिए । न की कसैलाई राजा बनाउनका लागि ज्यान दिएका थिए ।

मेरो घर भत्कयो 
मेरा भाइ जस्ता सैयोले ज्यान दिएपछि आज नेताहरु मन्त्री बन्न पाएका छन् । सांसद बन्न पाएका छन् । मुख्यमन्त्री बन्न पाएका छन् । मेयर, उपमेयर, अध्यक्ष बन्न पाएका छन् । र आज तिनै नेताहरुले सहिदको घर डोजरले लगाएर भत्काइ रहनु भएको छ । यो जतिको बिडम्बना अरु के हुनसक्छ सहिदका लागि । मेरो घरको छेउबाट सडक गएको छ । त्यो सडक बनाउँदा वडा अध्यक्ष शम्भु यादवले जो राजपा नेपालबाट जित्नु भएको छ । उहाँले मेरो घर भत्काएर सडक बनाउनुभयो ।

 मैले भत्काउन नदिएपछि उहाँले डोजर मगाएर भत्काउनुभयो ।

मेरो रजिष्टरी जमिन थियो । सडकमा नै जाने खालको अवस्था थिएन तर मलाई थाह छैन, वडा अध्यक्ष शम्भु यादवको मसँग के दुश्मनी थियो, जो मैले जति विलौना गर्दा पनि उहाँले मान्नुभएन र घर भत्काई दिनुभयो । मेरो घरका अन्य सदस्यहरुले रोयो, करायो, बिलौना गर्यो, नेताको खुट्टा समायो तर वडा अध्यक्ष शम्भु यादवलाई अलिकति पनि दयाँ जागेन ।

मैले उहाँलाई भनेका थिए, मलाई एक हप्ताको समय दिनुस् । म आफ्नो बासको व्यवस्था गरेपछि मेरो घर भत्काउनु होला तर उहाँले मान्नुभएन । पुरै हुकुमी शैलीमा, तानाशाही शैलीमा डोजर लगाएर भत्काई दिनुभयो । एक त मेरो घर पहिलादेखि नै टुटे फुटेको थियो ।

छिमेकीमा शरण 
घर भत्काएपछि हाम्रो पुरै परिवार घरविहिन भयो । हामीसँग बस्ने घर पनि थिएन । तत्कालका लागि छिमेकी कमलेश साहको घरमा शरण लियौं । छिमेकी कुन बेला काम लाग्छ भने कुरा मैले त्यही दिन महसुस गरे । असल छिमेकीको दायित्व उहाँले पुरा गर्नुभयो । हाम्रो आठजनाको परिवार छन् । हामी सबैजना उहाँको घरमा शरण लियौं तर त्यहाँका नेता तथा मन्त्रीहरुलाई अलिकति पनि सहिद परिवारमाथि दाया जागेन ।

मैले वडा अध्यक्ष शम्भु यादवलाई भेटेर नै घर बनाउनका लागि सहयोग माग गरेका थिए । मलाई २५ हजार सहयोग गर्नुहोस् म घर बनाउँछु भन्दा उहाँले सहयोग त के मेरो कुरा पनि राम्रोसँग सुन्न मान्नु भएन । उहाँले पनि एमालेमा हुनुहुन्थ्यो । चुनावको केही दिन पहिले मात्र राजपा नेपालमा प्रवेश गरेर वडा अध्यक्षको टिकट लिएर जित्नु भएको हो । उहाँ मधेशवादी दलमा आएपनि अझै उहाँमा एमालेको ब्लड बाँकी नै छ जस्ता लाग्छ मलाई ।

नेतालाई हारगुहार
मैले वडा अध्यक्षलाई मात्र होइन, त्यहाँ भए भरका सबै नेता गुहारे । कतिलाई फोन गरे । कतिसँग प्रत्यक्ष भेटेर नै सहयोगका लागि अनुनय विनय गरे तर कसैले सहयोग गर्न तयार भएन । मैले हाम्रै क्षेत्रबाट जित्नु भएका प्रदेश सांसद मनिष सुमनलाई पनि फोन गरेर घर बनाउनुपर्छ भनि सहयोग मागेको थिए तर उहाँले पनि हुन्छ हुन्छ भन्नुभयो तर अहिलेसम्म एक रुपियाँ पनि सहयोग गर्नुभएको छैन ।

 अरुको त के कुरा चुनावको समयमा उपेन्द्र यादव जो अहिले संघीय सरकारका उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसँख्या मन्त्री हुनुहुन्छ । उहाँले चुनावको समयमा भोट माग्नका लागि मेरो घरमा आउनु भएको थियो ।
सहिद परिवारको घर हो भनि थाह पाएर एकछिन त्यहाँ बस्नु पनि भयो । र, मेरो घर टुटेको र भत्केको देखेर उहाँले नयाँ घर बनाई दिने आश्वासन पनि दिनुभएको थियो । तर उहाँकै सरकारले मेरो घर भत्काई दियो । मेरो घर भत्काएको कुरा पक्कै पनि उहाँलाई थाह भएको होला किनभने उहाँ यही क्षेत्रबाट चुनाव लड्नु भएको छ । यहाँका सबैजनताको बारेमा जानकारी राख्नुहुन्छ होला ।

 उहाँले घर बनाई दिने आश्वासन दिनु भएको थियो तर घर बनाउनु कहाँ हो कहाँ अहिलेसम्म उहाँ फर्केर भेट्नका लागि पनि आउनु भएको छैन । मेरो घर भत्काएपछि उहाँका पार्टीका नेताहरुलाई पनि मैले सम्पर्क गरेका थिए तर उहाँहरुले पनि कुनै वास्ता गर्नुभएन । मैले उपेन्द्र यादवलाई पनि सम्पर्क गर्ने प्रयास पनि गरेको थिए तर जति गर्दा पनि सम्पर्क भएन ।

घरका लागि ऋण 
अन्त्यमा गएर दुई कठ्ठा जमिन जनज्योती सहकारीमा राखेर दुई लाख १० हजार रुपियाँ ऋण लिए । त्यही ऋणबाट मैले आफ्नो घर बनाई रहेको छु । घर अझै तयार भएको छैन । हाम्रा घरका केही सदस्यहरु अझै पनि अर्काको घरमा शरण लिएर बसिरहेका छन् । खेतीयोग्य चारकठ्ठा जमिन मात्र छन् । त्यसबाट तीन चार महिनाका लागि पनि खान पुग्दैन ।

एउटा पान पसल छ, त्यसले नै घरपरिवार चलेको छ । म र बुवा पसलमा हुन्छु । हामीले सारा कमाई सन्जनको पढाईमा लगाएका थियौं । उसको पढाईमा सारा सम्पत्ती लगाएपछि हामीले घरमा केही गर्न सकेनौ । भाइ रन्जनलाई डिग्रीसम्म पढायौं । उनी जनकपुरको एउटा स्कुलमा पढाउँथे हाम्रो घरपरिवारका लागि आशाका केन्द्र उनी थिए तर मधेशका लागि आफ्नो ज्यान दिएर हामीलाई बेघर बनाएर गए ।

लाशको राजनीतिक
तर, उसको नामबाट राजनीतिक गरेका, सांसद र मन्त्री भएकाहरु एकपटक पनि खोजविन नगर्दा नियास्रो लाग्छ । मेरो भाइले किन यो मधेशका लागि सहादत दिए, त्यो सोचेर अहिले पिडा हुन्छ । उनले जेका लागि सहादत दिए, त्यो अझै प्राप्त भएको छैन । नेताहरु आआफ्ना नाता गोतालाई काखी च्यापेर हिड्नु भएको छ । प्रदेश सरकार गठन हुने वित्तिकै प्रत्येक सहिद परिवारबाट एकएक जनालाई रोजगार दिने निर्णय गरेको थियो तर सरकार गठन भएको पनि आठ महिना भन्दा बढी भइसक्यो तर हालसम्म त्यो निर्णय कता हरायो थाह छैन । हामी सहिद परिवारका सदस्यहरु आशा लिएर बसेका छौं कि कुन दिन यो प्रदेश सरकारले हामीलाई बोलाएर जागिर दिन्छ । तर अब आशा मर्न थालेको छ ।
मेरो भाइको निधन भएपछि केही दिनसम्म नेताहरु दिन दिनै घरमा आउनुहुन्थ्यो । सोधखोज गर्नुहुन्थ्यो । विभिन्न आश्वासन दिनुहुन्थ्यो । तर अहिले मेरो घरको बाटो समेत हिड्न छाडिसक्नु भएको छ । कसैले कुनै प्रकारको सोधखोज गरेको छैन ।

 त्यतिबेला आएर दिएको आश्वासन बारे सम्झदा ती नेताहरु माथि दाया जागेर आउँछ । कसरी मधेशी जनताको लाशसँग खेलबाड गरिरहनु भएको छ बल्ल थाह पाए । चुनावको समयमा आएर त झन के के भन्यो त्यसको कथा त बेग्लै छ । मधेशी जनतालाई आन्दोलन गर्न उक्साएर, मान्छे मार्न लगाएर मधेशी नेताहरु राजनीतिक गरिरहेका छन् । यदि मधेश आन्दोलन नभएको भए, सहिद नभएको भए यी नेताहरु मध्ये कोही जित्ने बाला थिएनन् ।

मधेश आन्दोलनमा सहिद भएकाहरुको लाश देखाएर नेताहरु भोट माग्नुभएको थियो । गोली लागेर रगतबाट लतपत भएकाहरुको भिडियो गाउँगाउँ गएर जनतालाई देखाएर भोट मागेर जित्नु भएको हो तर आज ती रगतबाट लतपतिएका परिवारको हालत के छ, त्यसको बारेमा सोधखोज गर्ने फुर्सद कसैलाई छैन । आज एक दिन ती नेताहरुले मधेशका सहिदहरुलाई सम्झिने नाटक गर्नुहुन्छ र फेरि बर्सिनुहुन्छ ।

मधेशको बलिदानी दिवसको दिन पनि कुनै सहिदको घरमा गएर वा कुनै घाइते अशक्तको घरमा गएर उसको बारेमा सोधखोज गर्छन् जस्तो मलाई लाग्दैन । कुनै ठाउँमा भेला भएर ठूला ठूला भाषण गर्नेछ र सहिदको नाममा ताली मात्र बजाउनेछ । र सहिदको सपना चकनाचुर हुनेछ ।

 माघ ५ गते मात्र सहिदलाई सम्झिने गरेको छ । माघपछि कसैले एकदिन सम्झिने छैन । सहिदको सपना त्यो बेला मात्र सकार हुन्छ, जब उसको सपना पुरा हुन्छ । मधेशको अधिकार पहिचानका लागि मेरो भाइ लगायतका मधेशी युवाहरुले ज्यान दिएका थिए । तर उसको परिवारलाई कुनै वास्ता नगरेपनि मधेशको अधिकार र पहिचान प्राप्त हुनुपथ्र्यो त्यो पनि भइरहेको छैन । सहिद परिवारको बिचल्ली भएसँगै मधेशको पनि बिच्चली भएको छ ।
(सहिद सञ्जन (सप्तरी) का दाजु रन्जन मेहतसँग गरिएको कुराकानीमा आधारित)

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..