» » संजय ‘टकला’ का सहयोगी नविन यादवलगायत नेताहरु फोरम नेपालमा प्रवेश

जनकपुर, पुस २७ गते । मधेश क्रान्ति फोरम र नेपाल विद्यार्थी संघका सयौ नेता कार्यकर्ताहरु आज संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् ।

संघीय समाजवादी फोरम नेपाल धनुषाले आज जनकपुरमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा नव प्रवेशीहरुलाई संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले फुलमाला लगाई स्वागत गर्नु भएको हो ।

मधेश क्रान्ति फोरम नेपालका संयोजक नविन कुमार यादवको नेतृत्वमा करिब २ सय जना र नेविसंघका गौतम यादवको नेतृत्वमा समेत करिब २ सय जना युवा विद्यार्थीहरु फोरम नेपाल प्रवेश गरेका हुन् ।

नव प्रवेशीहरुलाई स्वागत गर्दै संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवं उपप्रधान तथा स्वास्थ्य एवं जनसंख्या मन्त्री उपेन्द्र यादवले मुलुकको वैकल्पिक शक्तिको रुपमा स्थापित हुँदै गएको फोरम नेपालमा युवाहरुको प्रवेशले थप उर्जा प्रदान गर्ने उल्लेख गर्नुभयो ।

उहाँले आन्दोलनको जगमा स्थापित फोरम नेपालको काँधमा अहिले संघीयता कार्यान्वयनको मुख्य अभिभारा रहेकोले पार्टी सो जिम्मेवारीको लागि सडक सदन र सरकार तीनै स्थान बाट संघर्ष गरि रहेको बताउनु भयो ।

वर्तमान संविधानका कतिपय धारामा आफ्नो पार्टीको विमति कायमै रहेको उल्लेख गर्नु हुँदै अध्यक्ष यादवले संविधानमा रहेका संघीयता गणतन्त्र र मौलिक हक जस्ता विषयवस्तुहरुलाई संस्थागत गराउदै जनसँख्याको आधारमा प्रतिनिधित्व, प्रदेशको अधिकार, राज्य पुनःसंरचना जस्ता विषयहरुको लागि संघर्ष गर्दै जानुनै अहिले मुख्य आवश्यकता रहेको उल्लेख गर्नु भयो ।

आर्थिक क्रान्ति विना राजनीतिक क्रान्ति सफल हुन नसक्ने ठोकुवा गर्नु हुँदै उहाँले पार्टी अहिले राजनीतिक उपलब्धिहरुलाई संस्थागत गर्न समेत आर्थिक क्रान्तिको बाटोमा लागेको बताउनु भयो ।

कार्यक्रममा राष्ट्रिय उपाध्यक्ष एवं प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले युवाहरुको बलिदानीले स्थापित प्रदेश नं २को सरकार युवाहरुकै भावना अनुसार अघि बढि रहेको उल्लेख गर्नु भयो । उहाँले प्रदेश सरकारको हरेक कदम मधेश आन्दोलनको मर्म अघि बढि रहेकाले नै अहिले प्रदेश सरकार अप्पन शासन अप्पन प्रशासनको मुल मन्त्रलाई साकार पार्न प्रहरी ऐन ल्याइ सकेको र लोक सेवा ऐन ल्याउने क्रममा रहेको बताउनु भयो ।

जिल्ला अध्यक्ष चन्देश्वर महतोको अध्यक्षतामा भएको कार्यक्रममा राजनीति समिति सदस्य हरिनारायण यादव, केन्द्रिय सदस्य एवं जिल्ला इन्चार्ज उर्मिला साह सहितका वक्ताहरुले सम्बोधन गर्नु भएको थियो ।

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..