» » राजपा नेपाल सरकारमा जानका लागि जन्मेको पार्टी होइन

–राजकिशोर यादव
अध्यक्षमण्डलका सदस्य, राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल

राजपा नेपाल अहिले विवादको घेरामा परेको छ । पार्टीका विधान अनुसार नै अध्यक्षमण्डलका संयोजक फेरिएको छ तर त्यसलाई विवादको विषय बनाइएको छ । सो पार्टीका नेताहरु आरो प्रत्यारोपमा उत्रिनु भएको छ । एक पक्षले विधान विपरित संयोजक फेरिएको भनिरहनु भएको छ भने अर्को पक्षले पार्टीको विधान अनुसार नै हटाएको दावी गरिहनु भएको छ । यस्तै विवादका कारण पार्टीको बैठक समेत बसिरहेको छैन । किन यस्तो भइरहेको छ, राजपा नेपालको अगामी रणनीति के हो, यसलाई कसरी समाधान गर्न सकिन्छ लगायतका विषयमा प्रस्तुत छ सहारा टाइम्सले राजपा नेपालका अध्यक्षमण्डलका सदस्य राजकिशोर यादवसँग गरिएको कुराकानीः

राजपा नेपाल अध्यक्षमण्डलको संयोजक फेरिएपछि पार्टीका किन विवाद देखियो ?
–महन्थ ठाकुरलाई अध्यक्षमण्डलको संयोजकबाट हटाएको होइन । यसको बारेमा गलत प्रचार भइरहेको छ । महन्थ ठाकुर अहिले पनि राजपा नेपालको श्रद्धय नेता हुनुहुन्छ । छवटा दल मिलाएर राजपा नेपाल गठन गर्दा छवटै दलका अध्यक्षहरुलाई राखेर अध्यक्षमण्डल बनाउने र दुई–दुई महिनामा संयोजक फेरिने चक्रिय प्रणाली शुरु गरेका थियौं हामी । पार्टीको आकार अनुसार शुरुमा महन्थ ठाकुर त्यसको संयोजक बन्नुभयो । उहाँ सम्मानित र अनुभवी व्यक्तित्व भएका कारणले हामीले उहाँलाई संयोजकमा कन्टिन्यु गरिरह्यौं । पार्टी महाधिवेशनको तयारीमा जुटि सकेको छ । महाधिवेशनमा गएको हुनाले पार्टीले निर्धारण गरेको नीति लागु गराउनका लागि उहाँले आफ्नै अध्यक्षतामा बसाउनु भएको बैठकमा संयोजक फेर्ने काम गर्नुभयो । विधानलाई लागु गराउने काम गरेका हौं । माथीबाट विधानलाई कार्यान्वयन गराउँदा तलसम्म त्यसको प्रभाव पर्छ भनेर नै माथी त्यो निर्णय गर्यौं । तर संयोजकबाट हटाएको जुन प्रचार भयो त्यो गलत हो ।

संयोजक फेर्नका लागि बहुमतबाट किन निर्णय गर्नुपर्यो त ?
–यसलाई निर्णय भएको मान्न सकिदैन । विधानमा उल्लेख भएको कुरालाई लागु गराइएको मात्र हो । कुनै नयाँ विषयको बारेमा निर्णय गर्नुपर्दा सहमतीय आधारमा गर्ने हो । विधानमा भएको व्यवस्थालाई आपसी सम्झदारीमा एउटा अन्डरस्ट्याण्डिङ्गको आधारमा हामीले त्यसलाई रोकेका थियौं । रोक्न जसरी निर्णयको आवश्यकता परेको थिएन, त्यसरी नै त्यसलाई चालु गराउँदा या निर्णय गर्ने आवश्यकता पर्दैन । त्यो प्रकृया शुरु गरिदिएको मात्र हो । अल्पमत वा बहुमतको आधारमा कसैलाई हटाएको कसैलाई राखेको कुरा हुँदै होइन । विधानलाई लागु गराईएको मात्र हो ।

विधान लागु गराउँदा सर्वसम्मतिमा किन गर्नुभएन त ?
–अल्पमत, बहुमत भएकै होइन । सर्वसम्मतीले नै भएको हो । विधान लागु गराउने प्रकृया शुरु गरेको मात्र हो । महन्थजीले नै भन्नुभयो कि बैशाखमा महाधिवेशन छ, समय छोटो छ, सबैले एक एकपटक संयोजक पाउने गरि एक–एक महिनाको चक्रिय प्रणाली लागु गरौं ।’ त्यही कुरामा फरक परेर मत बाझिएको हो । महाधिवेशनको समय नजिक आइसकेका हुनाले अब विधान संशोधन गर्नेतिर नलागौं जे छ त्यसैलाई लागु गरौं भन्दा अलि फरक जस्तो देखिएको मात्र हो ।

महन्थ ठाकुरलाई हटाउनका लागि गोप्य रुपमा होटलबासै किन बस्नु पर्यो त ?
–महन्थ ठाकुरले आफ्नै अध्यक्षतामा अध्यक्षमण्डलको बैठक बसाउनुभयो । त्यसैले यसलाई गोप्य भन्न मिल्दैन । यदि निर्णयमा कुनै बदमासी भएको भए उहाँले बैठक स्थगित गर्न सक्नुहुन्थ्यो । तर, उहाँकै सहमतिमा निर्णयहरु भएका हुनाले यसलाई बदमाशी भन्न मिल्दैन । अर्कोदिनको बैठकमा उहाँले आफै ममा कुनै प्रकारको असन्तुष्टि छैन, बजारमा आएका हल्लाहरु सबै निराधार हुन् त्यसमा कुनै सत्यता छैन भनि उहाँले आफै भन्नुभएको हो । यो केही होइन, हाम्रा विपक्षिहरुले अनावश्यक कुरा उचालेर खुशीयाली मनाएका मात्र हुन् । राजपा नेपाल एउटा जिवन्त लोकतान्त्रिक पार्टी हो । यसले अब चाँडै नै बैठक बसेर राष्ट्रिय राजनीतिक विषय र पार्टीको विषयमा चाँडो निर्णय लिइनेछ । लेटरप्याडको जहाँसम्म कुरा उठाउनु भो । त्यो केही होइन, लेटरप्याड कस्तो छ, त्यो महत्वपूर्ण कुरा होइन । महन्थ ठाकुरले त्यसमा हस्ताक्षर गरिसकेपछि त्यो सदर नै मानिन्छ ।

महन्थ ठाकुरले पार्टीमा मनमानी गर्नुभएको छ, जथाभावी नियुक्ति गर्नुभएको छ भनि तपाईकै पार्टीका नेताहरुले आरोप लगाउनु भएको छ यसमा के भन्नुहुन्छ ?
–कसले के आरोप लगायो त्यतातिर म जान्न चाहन्न । सबैको आआफ्नो स्वतन्त्रता हुन्छ । तपाईले हेर्ने पार्टी हो । पार्टीको आधिकारीक लाइन के हो । यस विषयमा महन्थ ठाकुरले के भनिरहनु भएको छ त्यो कुरा हेर्नुपर्छ । ठूलो पार्टी छ कुन नेताले के भन्नुभयो त्यसको पछाडि जानु हुँदैन । कसैले केही बोलेको छ भने त्यो उहाँको व्यक्तिगत धारणा होला । त्यो पार्टीको आधिकारीक लाइन हो । एक्सनमा रिएक्सन दिनुभएको होला । साथीहरुको बुझाईमा केही फरक भएको होला तर अब सबै कुरा व्यवस्थापन भइसकेको छ । राजपा नेपाल एउटा मिसनका लागि बनेको पार्टी हो । यो पार्टीप्रति लाखौ जनताको आशा भरोसा र बलिदानी छ । त्यसैले को के बोल्यो भन्दा पनि राजपा नेपालले गरेको निर्णयलाई सबैले मान्छ कि मान्दैन त्यो महत्वपूर्ण कुरा हो ।

सरकारबाट समर्थन फिर्ता लिने अल्टिमेटम सकिएकै दिन संयोजक फेरिनु भयो त्यो संयोग हो कि त्यसमा पनि कुनै रहस्य छ ?
–होइन, यो विषय नै होइन । संयोजक फेरिने विषयसँग यो विषयको कुनै सरोकार छैन । अध्यक्षले बैठकको अध्यक्षतमा मात्र गर्ने हो । कुनै निर्णयमा उहाँको रायको महत्वपूर्ण हुँदैन । उहाँको निर्णायक मत हुँदैन । सबैको राय बराबर हुन्छ । सामूहिक निर्णयलाई सर्वसम्मति निर्णय मान्ने गरिन्छ । त्यसलै तपाईले जे कुराहरु भन्नुभयो त्योसँग संयोजक फेरिनुमा कुनै रहस्य छैन । संयोजकले आफै कुनै निर्णय गर्न सक्दैन । संयोजक फेरिदैमा राजपा नेपालको नीति, उद्देश्य, राजनीतिक कार्यक्रममा कुनै फरक पार्दैन ।

सरकारमा जानकै लागि यी सब खेला भएको हो भनिन्छ । सरकारमा जाने कतिको सम्भावना छ ?
–सरकारमा जाने नजाने विषयसँग संयोजक फेरिनुको कुनै सम्बन्ध छैन । विधानको अधिनमा रहेर संयोजक प्रकृया अनुसार नै परिवर्तन भएको हो । यदि कसैले यसलाई सरकारमा जानेसँग जोड्छ भने त्यो त्यसको मूर्खता होला । राजपा नेपाल सरकारमा जानका लागि बनेको पार्टी होइन । यदि सरकारमा जान चाहेको भए देशको तेस्रो ठूलो पार्टी हो । उहिले सम्मानपूर्वक सरकारमा गइसकेको हुन्थ्यो । राजपा नेपालका लागि सरकार महत्वपूर्ण होइन । यथास्थितिमा सरकारमा जाँदैन । र, अहिले त्यसको सम्भावना पनि छैन ।

महाधिवेशनपछि पनि राजपा नेपाल अध्यक्षमण्डलीय प्रणालीमा जान्छ त ?
–महाधिवेशनपछि एकल नेतृत्वमा जान्छ तर निर्णय सामूहिक हुन्छ । राजपा नेपाल एउटा वैकल्पिक शक्तिको रुपमा अगाडि बढेको छ त्यसैले हामी एउटा संगठनात्मक सिद्धान्त तय गर्छौ र त्यसैको आधारमा आगाडि बढ्छौं । पार्टीलाई कुन प्रणालीमा लैजाने विषयमा अहिले छलफल जारी छ । राजपा नेपाललाई एउटा वैकल्पिक शक्तिको रुपमा अगाडि बढाउनका लागि केही कठोर निर्णयहरु लिनुपर्छ जसको तयारीमा राजपा नेपाल लागि सकेको छ । 

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..