» » गाउँघरका चर्को व्याज रोकौं (सम्पादकीय)

गाउँघरमा चक्रिय प्रणालीमा चर्को व्याजमा रुपियाँ लगाउने कार्य अहिले व्यावसायी नै बनेको छ । ठूलाबडा धनीमानी, सुकिला मुकिलाहरुले बैंक तथा सहकारीबाट सस्तोमा रकम लिएर गाउँघरका सोझा सिधा गरिब निमुखा तथा कम आय भएकाहरुलाई चर्को व्याजमा रकम दिने लिने गरेको पाइन्छ र यो अहिले व्यावसायको रुपमा नै फष्टाएको छ । सैयकडा तीन रुपियाँ ।

अर्थात एक महिनामा एकसय रुपियाँको तीन रुपियाँ व्याज तिर्नुपर्छ । गाउँघरमा तीन रुपियाँ सयकडाको व्याज अहिले समान्य भइसकेका छ । प्रायः सयकडा तीन रुपियाँ व्याजमा रकम लगाउने चलन छ । कही कही सयकडाको दुई रुपियाँ र अढाई रुपियाँमा पनि लगाउने देखिन्छ । कतै कतै सयकडा पाँच रुपियाँ पनि लिएको पाइन्छ ।

यसप्रति सरकारको कुनै नियन्त्रण छैन । त्यसमा न स्थानीय सरकारको नियन्त्रण छ न प्रदेश सरकारको नियन्त्रण छ । बरु रकम लेनदेनमा समस्या भयो भने स्थानीय सरकारको रोहवरमा पञ्चायती बसेर त्यसलाई मिलाउने काम गरेको भेटिन्छ ।

 प्रहरी प्रशासनले पनि त्यो झगडा मिलाएको भेटिन्छ तर त्यसलाई नियन्त्रण गर्ने, चर्को व्याजको करोबार गर्न नदिने, त्यसलाई निरुत्साहित गर्ने काम न प्रहरी प्रशासनबाट भएको हुन्छ स्थानीय सरकारबाट भएको हुन्छ । खासगरि गाउँघरका गरिब वर्गका व्यक्ति जसलले घर परिवार चलाउनका लागि एक हजारदेखि १० हजारसम्म लिएका हुन्छन् भने उपचारका लागि पाँच हजारदेखि २० हजारसम्म लिएका हुन्छन् ।

 वैदेशिक रोजगारमा जानका लागि ७० हजारदेखि एक लाख रुपियाँसम्म पनि व्याजमा रकम लिएका हुन्छन् । र, यी सबै चर्को व्याजमा लिएका हुन्छन् । यी रकम लिएवापत उनीहरुबाट तेब्बरको कागज बनाएर औठाछाप लगाएका हुन्छन् ।

र, यो चर्को व्याजको एउटा अच्चमको प्रावधान के छ भने एक वर्ष वितेपछि व्याजको व्याज पनि शुरु हुन्छ । मानौ कसैले एकहजार रुपियाँ सैयकडा तीन रुपियाँको दरले व्याजमा रकम लिएका हुन्छन् । ३० रुपियाँ महिना ब्याज मात्र चलिरहेको हुन्छ । एक वर्षमा ३६० रुपियाँ व्याज मात्र हुन्छ । यदि ऋणीले एक वर्षभित्र साहुलाई तिर्नु पर्ने व्याजसहितको रकम तिर्न सकेन भने एक वर्षपछि १३६५ रुपियाँको सैयकडा तीन रुपियाँ व्याज शुरु हुन्छ ।

जसरी जसरी वर्ष थपिदै जान्छ, त्यसरी त्यसरी व्याजको व्याज थपिदै जान्छ र त्यसले ऋणी थिचिदै गइरहेका हुन्छन् । एक हजार रुपियाँको व्याजसहितको रकम पनि तिर्न नसकेर कतिपय ऋणीले घर घडेरी समेत बेच्नुपरेको कथा गाउँघरमा धेरै पाइन्छ । एक पुस्ताले तिर्न नसकेको ऋण अर्को पुस्ताले पनि तिरिरहेको घटना पनि गाउँघरमा प्रशस्त पाइन्छ ।

कतिपयले एक लाख रुपियाँ चर्को व्याजमा लिएर वैदेशिक रोजगारमा गएका हुन्छन् । त्यहाँ कमाउँदा साहुलाई ऋण तिर्दैमा उनको दिन बितिरहेका हुन्छन् । तीन चार वर्षसम्म कमाउँदै ऋण तिर्दै गएपनि सकेको हुँदैन ।

अन्त्यमा खाली हात घर फर्किनु पर्छ र घरमा भएका खेत, घडेरी बेचेर साहुको ऋण तिरेको थुप्रै घटना गाउँघरमा पाइन्छ । सयकडा तीन रुपियाँ ब्याजमा एक लाख रुपियाँ लिएको छ भने महिनाको ३००० व्याज मात्र तिर्नुपर्छ । यदि त्यो एक लाख रुपियाँ व्याजसहित तिर्न सकेन भने अर्को महिना एकलाख ३६०००को व्याज शुरु हुन्छ । वर्ष कटिने बित्तिकै गरिब अर्थात कम आय भएका व्यक्तिले ऋणको व्याजले यसरी थिचिन्छ कि उठ्ने साहस नै हुँदैन । र, साहुहरु त्यसबाट मोटाइ रहेका हुन्छन् ।

गरिब र कम आय भएका व्यक्ति मुख्य तीन कारणले यो चर्को व्याजमा रकम लिन बाध्य हुन्छन् । कम पढे लेखेका कारण बैंक तथा सहकारीबाट सस्तो व्याजमा रकम पाइन्छ भन्ने कुराको जानकारी हुँदैन । उनीहरुको पहुँच बैंक तथा सहकारीसम्म हुँदैन । अर्को कुरा, बैंक तथा सहकारीमा जानका लागि नागरिकता चाहिन्छ । तर कतिपय गरिब तथा कम आय भएका व्यक्तिसँग नागरिकता हुँदैन । त्यसैले त्यहाँसम्म पुग्न सकिरहेको हुँदैन ।

तेस्रो कुरा, बैंक तथा सहकारीमा धितो राख्नुपर्ने हुन्छ तर गाउँघरमा विना धितोमा र सजिलो तरिकाले रकम पाइरहेका हुन्छन् । त्यहाँ न नागरिकता चाहिन्छ, न कुनै धितो राख्नुपर्छ । जति चाहियो त्यति रकम विना झन्झट साहुहरुले उपलब्ध गराई रहेका हुन्छन् ।

यो चर्को व्याजमा रकम लेनदेन रोक्ने काम सरकारी स्तरबाट गर्नुपर्ने आवश्यकता देखिन्छ । अहिले स्थानीय सरकार पनि छ । त्यसले चाहियो भन्ने रोक्न सक्छ । अर्को कुरा, बैंक तथा सहकारीबाट पाउने सहुलियताको ऋण प्राप्त गर्ने प्रावधानलाई खुकुलो बनाउने आवश्यक छ । हरेक तप्काका जनताको पहुँचमा बैंक तथा सहकारीहरु हुनुपर्छ । र, सबभन्दा महत्वपूर्ण कुरा शिक्षा र चेतनामा सरकारले विशेष जोड दिनुपर्छ ।       

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..