» » प्रेमको अवैध गर्भबाट जन्मिएका जयगोविन्द साह जो सबै ढुकढुकी बने

(सिरहाका जयगोविन्द साह (जन्मः १९७६ मंसिर र मृत्युः २०४६ पुस २५ गते) किसान संघर्षका पर्याय थिए । त्यसका क्षेत्रका श्रमजीवी वर्गका ढुकढुकी थिए । उनी आफ्नो विचार र व्यवहारमा अविभाजित र अविचलित व्यक्ति थिए । जेलमा जन्मिएका, समाजिक उत्पीडनमा परेका, अभाव र गरिबीले थिचिएका, स्कूल र कलेजको मुख देख्न नपाएका तर आफ्नै प्रयत्नले भैसी गोठालेदेखि किसान कार्यकर्ता, नेता हुँदै राजनीतिक पार्टीको पोलिटब्युरो सदस्यको रुपमा समेत स्थापित हुन पुगेका जयगोविन्द साह एक संघर्षशील र बहुआयामिक व्यक्तित्व थिए । एक प्रेरणादायी र उदाहरणीय व्यक्ति थिए । यस्ता व्यक्तित्वको बारेमा साहित्यकार डी.आर. पोखरेलले ‘जयगोविन्द साहः एक संघर्षशील व्यक्तित्व’ नामको पुस्तक प्रकाशन गर्नुभएको छ । सोही पुस्तकबाट जयगोविन्द साहको जन्मको बारेमा लेखिएका केही रोचक प्रसंग यहाँ साभार गरिएको छ ।) 

मिश्रि साह पच्चीस–तीस वर्षका युवक थिए । जगतकुमारीसँग प्रणय–प्रसगं चल्दा । सायद जगतकुमारी पनि त्यति नै वर्षकी हुनुपर्छ । किनभने उनले दुई अलग श्रीमान्हरुबाट अलग अलग दुई बच्चा हुर्काइसकेकी थिइन् र तर जगतकुमारी र मिश्री साहको प्रेम प्रसङ भने निर्विघ्न रहेन । जगतकुमारीको पुटुक्क बढेको पेट गाउँभरिको कुरा काट्ने मेसो बन्यो । हावा नलागी पात हल्लिदैन भने झै जगतकुमारीको बढेको पेटले मिश्री साहसँगको अवैध सम्ब्न्धलाई औल्यारहेको थियो ।

जगतकुमारीको दोस्रो पति हरिप्रसाद पोखरेलको मृत्यु भइसकेको र उनबाट पनि एउटा सन्तान भइसकेको स्थितिमा एउटी पहाडी मूलकी युवतीको मधेशका तल्लो जाति मानिने तेलीसँगको हिमचिमलाई समाजले सहज रुपमा के लिन्थ्यो र ? त्यसमाथि मिश्री साहकी जेठी श्रीमती छपरा (सारन जिल्ला, विहार भारत) मा थिइन् । तर दुनियाले जे भने पनि युवायुवतीको प्रणय जीवनलाई कुनै जातभात, उमेर, भाषा–भेष र कुनै राष्ट्रको सीमाले छेक्न सक्तैन भने जस्तै मिश्री साह र जगतकुमारीको प्रणय जीवनलाई यी कुनै कुराले पनि छेक्न सकेनन् तर प्रेमजीवन निर्विघ्न पनि बनेन ।

मिश्री साहका जातभाइहरुले नै अड्डामा उजुरी हाले । त्यतिखेरको ऐन कानुन पनि रुढिवादी परम्परामा खडा भएको थियो । दुई युवायुवती खुशीराजीसँग प्रेम सम्बन्धमा बाँधिन समेत ऐन काुनन बाधक थियो । साना जातको मिश्री साहले ठूला जातकी जगतकुमारी क्षेत्रिनीसँग विवाह गर्नु अपराध ठहरिन्थ्यो ।

यसै भएर त्यतिखेरको अदालतले यी दुवैलाई दण्ड गरी जेल सजाय तोक्यो । मिश्री साहले १२ वर्ष जेल सजाय बारबरको दुई हजार रुपियाँ विगो दण्ड तिरी जेलमुक्त भए तर जगतकुमारीले विगो तिर्न सकिनन् र ४ वर्ष जेल सजाय भोगिन् । मिश्री साहले पनि उनलाई सहयोग गर्न सकेनन् । यता दोस्रो पतिका परिवारले झन हेर्ने कुरा भएन । कतैबाट पनि सहयोग नपाएपछि जगतकुमारी एकदमै एक्लिइन्।

सबैतिरबाट एक्लिनु पर्दाको र चारवर्षे जेल सजाय भोग्नुपर्दाको मर्मान्त भावले एकातिर उनलाई भाव विह्वल बनाउँथ्यो भने अर्कोतर्फ मावन जीवनमा उमङग छाइदिने प्रेमको निशानी र भविष्यको सहारा आफ्नो पेटमा हुर्किरहेको सन्तानको मीठो अनुभूतिले उनलाई उद्धेलित हुन प्रेरित गरिरहन्थ्ययो । यी दुई विपरित धर्मी भावहरु एक गुजुल्टो भएर अनुहारभरि छरिँदा महान चित्र मोनालिसाकै अनुहारको जस्तो अनुपम भाव उनमा पनि पैदा भएको महसुस गर्थिन् ।

पक्कै पनि उनले आफ्नो विगतलाई पटक पटक फर्केर हेरिन् । कहिले पहिलो श्रीमान् र पहाडको मनोहर प्राकृतिक सम्झिहोलिन्, कहिले दोस्रो श्रीमानको मृत्युको मर्मान्त क्षण र मिश्री साहसितको रोमान्टिक क्षण एकैसाथ गुजुल्टिएर आए होलान् । कहिले माइतीतर्फको इज्जत, मान, मार्यादाको कुरा सम्झिइन् र कहिले सिरहाको एकान्तिक ठाउँमा रहेको जेल र त्यसभित्रको महिला कैदीहरुको अँधेरो कोठा र त्यसमध्येको आफ्नो विवश जीवनको बोध गरिन् होला ।

तर उनलाई आफ्नो बढ्दो पेट र आसन्न सुत्केरी अवस्थाको चिन्ताले नव दुल्हनलाई जस्तो छोएन । किनभने उनलाई सुत्केरी जीवनको राम्रै अनुभव भइसकेको थियो । बरु सुत्केरी हुँदा आवश्यक कुराहरु– खानपिन, सरसफाई, तेल मालिस, बच्चाको नाल–साल काट्ने औजारदेखि लत्ताकपडाको जोहो गरिन् होला । जेल परेको चौथो महिना उनका लागि केही कष्टकर पनि बन्यो ।

पेटभित्रको शिशु बाहिरी संसार आउने क्रममा थियो । प्रतीक्षाको घडी पर्खिन गाह्रो मात्र हो, नजिक आएपछि त्यो त्यति पट्यार लाग्दो बन्दैन, झिलिक्क एकछिन जस्तो बन्छ । जगतकुमारीलाई सुत्केरी व्याथाले च्याप्यो । मंसिर १९७६ को त्यो दिन उनलाई शारीरिक कष्टले भन्दा पनि मनको खुशीले उमङ्गित बनायो । जेलका केही कैदी महिलाहरुले सालनाल काट्न र बच्चालाई सरसफाई, पुछपाछ गरी आमाको छेउमा सुताई दिए । जगतकुमारीले अलिकति कोल्टो फर्केर नवजात शीशुलाई हेरिन् र मुसुक्क मुस्कुराइन् ।


उनलाई शीशुको नाक आफ्नै जस्तो केही फुकेको लाग्यो ।

यस शीशुको न्वारन त हुन सकेन तर जेलमा जन्मिएकाले सबैले जेलिया भन्न लागे र पछि जेलिया भन्दाभन्दै ‘जय’ भएर वैश्यहरुका गुरु ‘गोविन्द’ साथै भगवान भनिएका ‘कृष्ण’ पनि जेलमै जन्मिएकाले र तेली (वैश्य) का सन्तान भएकाले यस नवजात शीशुको नाम ‘जहेल गोविन्द’ हुँदै ‘जयगोविन्द’ राखियो । न्वारविना नै राखिएको यस नामका पछि ‘तेली’ थर थपियो र ‘जयगोविन्द तेली’ भन्ने नामकरण गरियो । यही शिशु नै पछि आफ्नै पराक्रमले वामपन्थी व्यक्तित्वको रुपमा समाजमा स्थापित भयो जयगोविन्द साहका नामले ।

जेल परेको चार महिनासम्म जगतकुमारीले जयगोविन्दलाई पेटमा हुर्काइन् । यसको अर्थ हो उनी जेल पुर्न अघि गर्भिणी भएकी थिइन् । जयगोविन्द साह मंसिरमा जन्भिएका थिए । मंसिरको गते बार खुलेको त छैन तर उनको देहावसान पुस २५ गते मंगलवार भएकाले उनको जन्म पनि मंसिरको तेस्रो वा चौथो हप्ताको मंगलवार भएको हुनसक्छ । जन्म गते बार र तिथि खुलाउने अर्को उपाय जेलमा गएर वि.सं. १९७६ सालको ढड्डा हेर्नु हो । यसले जन्ममिति, जेल परेको तिथि मिति र जेलबाट छुटेको तिथिमिति खुल्न सक्थ्यो तर जेल गएर बुझ्दा ढड्डा फेला पर्न सकेन ।

 त्यसकारण जयगोविन्दको जन्म तिथिमिति र जेलबाट छुट्दाको तिथिमितको एउटा सम्भाव्य अनुमान गरिएको हो । जगतकुमारी र मिश्री साह १९७६ को साउनको तेस्रो हप्तातिर जेल परेका थिए । यसैले चार महिनापछि जयगोविन्द जन्मिएका थिए । जन्मेको ३ वर्ष ८ महिनासम्म जयगोविन्दले विनाकसुर जेल जीवन विताउनु पर्यो । आमाको कैदमा छोरा पनि कैदी बने । ठेकिएको ४ वर्षे कैद भुक्तान गरेर वि.सं. १९८० साउन २५ गते मात्र आमाछोरा जेलबाट बाहिर निस्किए ।

जन्म भएर ४ वर्षसम्म जयगोविन्द साह कसरी हुर्किए ? कहिलेदेखि घस्रेर हिड्न थाले ? कहिलेदेखि उनको बोली फुट्यो ? शिशु अवस्थामा उनी कति रुने गर्थे ? जगतकुमारीले कुन उपायले बच्चा हुर्काइन् ? जेलमा जन्मिएको बच्चाको खान्की खुराक जेलबाट प्राप्त हुन्थ्यो कि हुन्नथ्यो ? जेलमा रहुन्जेल आमाछोरा कतिचोटी विमारी परे ? कसरी औषधी उपचार भयो ? यी सारा कुराहरुको प्रसंङगमा यसै हो भनेर भन्न सकिने कुनै उपाय रहेको छैन । सबुत प्रमाणको अभावमा यी कुराहरु बारे केही भन्न सकिने स्थिति त छैन तर जगतकुमारीले जसरी जयगोविन्दलाई हुर्काइन्, त्यो चानचुने कुरो थिएन । यसबाट जगत कुमारीको कर्मठता संघर्षशिलता र धैर्यताको परिचय पाइन्छ ।

उनी कतिसम्म कर्मठ र क्रियाशिल थिइन् भने जेलको सामान्य खर्चले बच्चा हुर्काउन मुस्किल भए पनि उनले जेलभित्रै पान सुपारीको पसल खोली राम्रो आयस्ता गरेकी थिइन् । त्यसैबाट हँसुली जोडेकी थिइन् भन्नेसम्मको भनाई पाइन्छ । जेहोस् उनी हिम्मतिली नारी देखिन्छिन् । उनको यही कर्मठता, साहस, हिम्मत र क्रियाशिलताको प्रभाव शिशु जयगोविन्दमा पनि पर्न गएको सहजै अन्दाज गर्न सकिन्छ ।

जेलबाट निस्केपछि
जेलबाट निस्किएर कहाँ जाने भन्ने कुरामा जगतकुमारीमा कुनै द्धिविधा थिएन । जेलबाहिर जाने दिन आउनुअघि नै उनले बडहारा मिर्चैयाकी एकदमै मिल्ने आफ्नी संगिनीमार्फत बस्ने ठाउँको अस्थायी प्रबन्ध गरिसकेकी थिइन् । अर्कोतिर मिश्री साहले पनि कहिलेकाँही गाउँलेहरुको आँखा छलेर आमाछोरालाई भेट्ने गरेका थिए ।

अप्रत्यक्ष रुपमा मिश्री साहको पनि सहयोग जगतकुमारीलाई प्राप्त थियो । त्यसो भएकाले जेलको कैद भुक्तान भएर जेलमुक्त भएपछि टुकटुक हिँड्ने जयगोविन्दलाई अघि लगाएर जगतकुमारी सरासर बडहारा मिर्चैया आइन् र आफ्नी मिल्दी सँगिनीले व्यवस्था गरिदिएको बासस्थान (एउटा मुसहरको खोली कटेरा) मा बस्न थालिन् ।

जेलियालाई हेर्ने मुसहर टोल नै खनियो । सुखी लगायत केही गरिब परिवारका महिला र केटाकेटी पनि हेर्न आए तर तेली परिवारका हुने खानेहरु भने कोही पनि आएनन् । मिश्री साह पनि आएनन् । आएकामध्ये केही बुढी आमाहरुले जयगोविन्दलाई हेरेर गहभरि आँसु पारे ।

मनमनै सोचे होलिन विचरो बाउआमा, हजुरआमा लगायत घरपरिवारको माया हुर्किनु पर्ने बच्चो, के गर्ने जेलको चिसो सिँढीमा हुर्कियो, बाउको माया पनि पाएन । उसकै समाजका मानिसले यसरी उपेक्षा गरिरहेका छन् भन्दै जयगोविन्दलाई टिठ्याए । कसै कसैले जगतकुमारीप्रति पनि सहानुभूतिका आँखा फाले तर जतिले जयगोविन्दलाई हेरे सबैले एक सोझो, गम्भीर र धेरै कुरा जान्न खोज्ने एउटा होनहार बालकको रुपमा पाए ।

जगतकुमारी जेलमा नै पकाउने भाँडाकुँडा जोडेकी थिइन् ।

एकसरो ओढ्ने ओछेयाउने पनि व्यवस्था गरेकी थिइन् । जेलबाट आउँदा केही रुपैयाँ पनि कमाएर ल्याएकी थिइन् र एकजोर हुँसुली समेत जोडेकी थिइन् ।

घरपरिवार चलाउन व्यवहारिक ज्ञान भएकी र आफ्ना दुख दर्दको कुनै प्रवाह नगर्ने, कसैसित गुनासो नगर्ने, सबैसँग हाँसिखुशी, मिजासिलो पाराले कुरा गर्ने अत्यन्त क्रियाशिल र चुस्त प्रकारको व्यक्तित्वकी धनी भएकाले उनले त्यही कटेरालाई आफ्नो सुन्दर बसेर बनाइन् तर उनको जीवन कष्टपूर्ण थियो । हुर्किरहेको छोरो र आफ्नो प्राण धान्ने क्रमममा उनले साथीसँगिनीहरुको काममा अर्मपर्म मात्र होइन ज्यालादरी काममा समेत खटिइन् । खेत खलियानको काममा पनि खटिइन् । विस्तारै उनले पान सुपारी र विडीको पसल खोलिन् र पैसाको अभावलाई केही मात्रामा हटाइन् ।

 आमाको असीम स्नेहमा हुर्किरहेका र जेलको एकनासे वातावरणमा हुर्किएका जयगोविन्दलाई यो बाहिरी संसार अच्चमको लाग्ने गथ्र्यो । यहाँको वातवारणमा हुर्किएका भिन्न भएकाले र यहाँ थरीथरीका मानिस, सबैको आआफ्ना बसेरा, आआफ्ना बचेरा, आआफ्ना लहनतहन, आआफ्नो सुरसार देखेर जयगोविन्द तीन छक्क परेका थिए । उनको बाल मनले यसको भेद छुट्याउन सक्दैन्थ्यो । उनको मनभरि कति हो कति प्रश्नहरु खडा हुन्थे कहिले काँही आमालाई यी प्रश्नहरु सोध्ने गर्थै । आमाले पनि जानेसम्मको बताउने गर्थिन् । तर कतिपय कुरा आमाको पनि बुझाइभन्द बाहिरका हुन्थे ।

जयगोविन्दको बालमनमा नाना तर्कहरु खेल्थे । उनलाई सबैभन्दा बिझाउने कुरा साथीहरुको ओइ जेलिया भन्ने हुन्थ्यो । साथीहरुले तेरो बाउ को हो ? पनि भन्थे । साथीहरुसँग खेल्दा पनि कसैले पनि आफूप्रति ध्यान नदिएको र ससाना कुरा गर्न र भन्न नजान्दा पनि जिस्काउने र हेलाहोचो गरी गाली गर्ने गरेको देखेर जयगोविन्द जिल्लिन्थे । के गर्दा साथीहरुको ध्यान आफूप्रति जाला र के गर्दा आफू पनि अरु समान भइएला भन्ने कुराले उनी पिरोलिन्थे यही पिरलो उनको जिज्ञासाको रुपमा प्रकट हुने गथ्र्यो ।


साथीहरुसँग मिलेर दोकान गरी खेल्ने गर्दा एक दिन उनले आफ्नै छुट्टै पसल बनाए । सधै ख्यालख्यालको समान राखेर खेल्ने गरेकोमा यसपटक उनले घरबाट अलिकति सख्खर ल्याए र ख्यालख्यालको दुकानमा सँच्चैको सख्खर राखे र सबै केटाकेटीको ध्यान आफूतिर खिचे ।

 त्यो दिन उनको पसल मात्र चल्यो अरु केछाकोटीको पसल चलेन । धेरै जसको केटाकेटी उनको पसलमा आए र साँच्चैको सख्खर ख्यालख्यालको पैसामा किनेर खाए । यसरी पहिलो चोटी जयगोविन्दले आफ्नो बुद्धि लगाएर सबैको ध्यान खिचे । त्यो कुरो एककान दुईकान मैदान हुँदै बडहरा मिचैयाभरि फैििलयो । जगतकुमारीको कानमा पनि यो कुरा पर्यो । जगतकुमारीले छोराको यो बठ्याई देखेर दंग परिन् । भावविभोर बनिन् ।

आँखाबाट आँश्रुका धारा पनि बहाइन् । मेलाबाट फर्किएर कटेरामा आएपछि जयगोविन्दलाई उचालेर सयौचोटी म्वाई खाइन् । खुशीले अर्धपागल जस्तै भएर सयौचोटी बाहिरभित्र गरिन् ।

 छोरालाई के चाहि मिठो कुरा खान दिने होला भनेर छटपटिइन् । जेनतेन आफूले दुई गास टिपिन् र ओच्छयानमा पल्टिइन् । आफ्नो विगत जीवनको एकएक चित्रहरु सिनेमामा रिलजस्तो बनेर आए । पटक पटक वितग चियाइन, भविष्यको कल्पना गरिन् र वर्तमानको सुखद कल्पनामा रङमङिदै आँखाभरि जयगोविन्द नै जयगोविन्द चलचित्र बनेर आएको देखिन् । रातभरि ओल्टोकोल्टो गर्दै छर्लङ्गै रात काटिन् । उता जयगोविन्द भने विहानसम्म भुसुभुसु निदाइरहेका थिए ।

भोलीपल्टदेखि जयगोविन्द साथीहरुका केन्द्र बन्न थाले । हिज्जोसम्म नखेलाउने साथीहरुले पनि आज खेलाउने र सँगै खेल्ने निम्ता दिन थाले । गाउँका बुढाबुढीहरुले पनि जयगोविन्दको बुद्धि प्रशंसा गर्न थालेका थिए । मिश्री साह पनि छोरालाई भेट्ने निहुँमा आउन थालेका थिए ।

 यता आमा छोराको अािर्थक अवस्था निकै जर्जर थियो । गाउँहरुले पीठ पछाडि कुरा काट्न थालिसकेका थिए । मिश्री साहको निष्ठुरीपना र स्वार्थीपनाको आलोचना हुन लागेको थियो । ‘श्रीमती चाहिनेले  खान लाउन पनि दिनुपर्छ, अन्याय गर्न पाइन्न’ भन्ने भावना फैलिन लागेको थियो । यो काुरा कानकानै मिश्री साहको बाबा अनमोल साहको कानमा पुगेको हुनुपर्छ र व्यापारिक मानिसमा बदनामीको डर हुन्छ ।

 धेरै बदनाम भएपछि व्यापार फैलिन सक्दैन भन्ने बुझेको तेली परिवारले आखिर जगतकुमारीलाई केही जग्गा दिएर एउटा कटेरो (सानो घर) बनाएर राखि दिने निर्णय गरेयो । एउटा सानो कटेरोमा आमाछोरा बस्न थाले । सँगै एउटा भैसीको थोरे पनि मिश्री साहले जगतकुमारीको गोठमा बाँधिदिए । चन्द्रशम्सेर सतीप्रथा उन्मुलन गर्ने कानुन ल्याएका थिए ।

यसै गरी दासप्रथा उन्मुलन गरेका थिए । यसको पनि केही डर तेली परिवारलाई परेको हुनुपर्छ । अर्कोतिर गाउँगाउँमा कबीरपन्थीहरु कबीरका दोहा गाउँदै निराकार ईश्वरत्वको प्रचार गर्थे । सांसरिक दुखसुखलाई तृण बराबर ठान्थे । गाउँमा जातपात, छोइछिट्टो, धनी गरिबको भेद नरहोस् भन्ने आशयका दोहारु गाउने गर्थे ।

घरमा भैसी आएपछि जयगोविन्द विहान बेलुका अरु साथीहरुसँगै भैसी चराउन जान थालेका थिए । उनी त्यही थोरेमाथि घोडा चढेझै र विहान घाम नछिप्पिउन्जेल र बेलुका अँध्यारो नहुँन्जेल भैंसी चराउने गर्थे । भैसी चराउने क्रममा साथी भाइहरुसँग खेल्ने, रमाउने गर्थे । विस्तारै जयगोविन्द साह भजन किर्तन र बाजा गाजा बजाउन पनि थाले । एउटा कुटीमा गएर साधुसँग कबीरका श्लोकहरु पनि सिक्न थाले ।

ख्यालख्यालको पसलमा साँच्चैको सख्खर राखेर सारा बालसखाहरुलाई आफूतिर तान्ने बुद्धि लगाएका जयगोविन्द भजन मण्डलीको कीर्तन सुनेर कसरी गाउन र बजाउन सकिन्छ भन्ने जिज्ञासा पैदा भयो र बाजागाजा बनाउन अनि दोहाहरु गाउन सिके । अरुले हेपेकाले किन हेप्छन् भन्ने प्रश्न उठेकाले शारीरिक रुपमा तन्दुरुस्त हुन पहलमानी सिके ।

रामलिला टोलीको गायन, नृत्य र अभिनय देखेर यस्तो आफूले पनि जान्न पाए हुन्थ्यो भन्ने भावना उठ्यो र तुलसीकृत रामायण पढी श्लोकहरु कण्ठ पारे । यसैगरि अरुले अक्षर पढेको देखी त्यसरी पढ्न पाए हुन्थ्यो भन्ने प्रश्न मनमा पैदा भयो र फस्टबुक पढी पार्टीमा लेख्न सिकी त्यो क्षमता आर्जन गरे । गाउँमा अन्याय भएको, जातभात र छुवाछुत जस्ता भेदभाव भएको महसुस गरी त्यसबाट कासरी छुटकारा पाइएला भन्ने भावना जागृत भएको र अनेक संगठन मार्फत त्यसलाई हटाउन कठिन संघर्षमा होमिए र ग्रामिण जनसघर्षलाई मुलमन्त्र बनाए ।

नेताहरुको जनता ढाँट्ने, छलछाम गर्ने र जनतालाई गुमराहमा राख्ने अनेक दाउपेच बुझी त्यसको विरुद्ध पनि संघर्ष गर्दै रहे । यसरी जयगोविन्दको मनमा जुन प्रश्नहरु उठे त्यसको उत्तर खोजीमा उनले आफ्नो जीवन तत्तत् उत्तर प्राप्तिको निम्ति कठिन साधनामा लगाए ।

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..