» » राजपाका मन्त्रीहरुलाई सरकारबाट फिर्ता बोलाउन माग


काठमाडौ मंसिर २७ गते । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सह महामन्त्री गजेन्द्र मण्डलले प्रदेश २ सरकारमा पार्टीबाट सहभागी मन्त्रीलाई फिर्ता बोलाएर नयाँ सदस्यहरुलाई पठाउनुपर्ने माग गर्नुभएको छ ।

मन्त्री नियुक्तिदेखि लिएर पदाधिकारी चयन विषयमा पार्टीभित्र विवाद चलिरहेको बेला सचिव गजेन्द्र मण्डलले आज त्यो माग गर्नुभएको हो ।

उहाँले आज विहानै आफ्नो फेसबुकमा सो कुरा उल्लेख गरि माग गर्नुभएको हो । राजपा नेपालका तत्कालिन अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरले मन्त्री चयनमा आफ्ना व्यक्तिलाई राखेको आरोप लाग्ने गरेको छ । मन्त्रीमा आफ्ना मान्छे राखेको, पार्टीको पदाधिकारीमा आफ्नो मान्छे राखेको आरोप ठाकुरमाथि लाग्दै आएको छ

सोही आरोप लगाउँदै उहाँलाई अध्यक्षमण्डलबाट हटाएको पनि अध्यक्षमण्डलका सदस्यहरुले भन्दै आउनुभएको छ ।

सह महामन्त्री गजेन्द्र मण्डलले सहारा टाइम्ससँग कुरा गर्दै भन्नुभयो, मैले यो फेसबुकमा हावीदारी ढंगबाट लेखेको होइन, यो विषयलाई म पार्टीमा पनि उठाउँछु । निकै सोचबुझका साथ मैले यो लेखेको हुँ । केही दिनदेखि प्रदेश २ को राजधानी जनकपुरमा छु, मैले आफै प्रत्यक्ष भोगेको छु । म जस्ता थुप्रैले मन्त्रीहरुको व्यवहारबाट आजित हुनुभएको छ । त्यसैले यसलाई पार्टीको एजेण्डा नै बनाउनुपर्छ ।

जनकपुरमा रहनु भएका मण्डलले आजै अध्यक्षमण्डलका सदस्यहरुलाई भेटेर पनि यो विषयमा कुराकानी गर्नुहुन्छ । उहाँले भन्नुभयो, अहिलेका मन्त्रीहरु रहनुभयो भने राजपा नेपाल बन्न सक्दैन, उहाँहरु राजपाको हितभन्दा पनि व्यक्तिगत स्वार्थ र गुटका लागि मात्र काम गरिरहनु भएको छ । कोही पुरानो सद्भावनाका लागि काम गरिहनुभएको छ भने कोही पुरानो तमलोपाका लागि गरिरहनु भएको छ अर्थात आफ्ना आफ्ना गुटमा रमाइरहनु भएको छ । राजपा नेपालका लागि साझा रुपमा कसैले पनि काम गरिरहनु भएको छैन त्यसैले उहाँहरु हट्नुपर्छ भनि हाम्रो माग हो । यो कुरालाई पार्टीको बैठकमा जोडदार रुपमा उठाउनेछौं ।

विवाह पञ्चमीको अवसरमा प्रदेश सरकारले गरेको कार्यक्रममा पनि राजपा नेपालका मन्त्रीहरुले सो दलका नेता तथा कार्यकर्तालाई राम्रो व्यवहार नगरेको आरोप लाग्दै आएको छ । कार्यक्रममा गएका राजपा नेपालका नेताहरुलाई विशेष पास दिनमा पनि राजपा नेपालका मन्त्रीहरुले भेदभाव गरेको आरोप लागेको छ ।

राजपा नेपालका कुनै पनि कार्यकर्ताको पास नपाएको गुनासो सुन्न थालिएको छ जब कि फोरम नेपालले आफ्ना नेता तथा कार्यकर्तालाई समेत पास वितरण गरिएको थियो । प्रदेश सांसद सुरिता साहले भन्नुभयो, पासमा निकै अनियमितता भएको छ म राजपा नेपालका मन्त्री भन्दा मुख्यमन्त्रीको कार्यालयलाई दोषी देख्छु । फोरम नेपालका मन्त्रीहरुले आफ्ना पार्टीका सबैलाई चाहिने जति पास दिनुभएको थियो तर हामीले माग्न जाँदा दुई तीनटा मात्र दिनुभयो ।

यद्यपी राजपा नेपालका मन्त्रीहरुले यसमा ध्यान दिनुपर्ने थियो, उहाँले भन्नुभयो ।

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..