» » महन्थ ठाकुरले त्यो काम गर्न सक्नुभएन (अन्तरवार्ता)


–महेन्द्रराय यादव
अध्यक्षमण्डलको सदस्य, राष्ट्रिय जनता पार्टी नेपाल

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको मंसिर ४ गते बसेको अध्यक्षमण्डलको बैठकबाट महन्थ ठाकुरलाई संयोजकबाट हटाएर राजेन्द्र महतोलाई राखिएको छ । राजेन्द्र महतो अध्यक्षमण्डलको संयोजक भएपछि पार्टीमा विवाद तीब्र भएको छ । निर्वाचन आयोगमा बुझाएको कार्यसमितिको नामावली बाहेक जति नियुक्ति र मनोनय भएका छन् ती सबै हटाउनुपर्छ भनि निर्णय भएको छ । त्यसले पार्टीमा झन असन्तुष्टि बढेको छ । राजपा नेपालमा किन यस्तो भयो, यसको समाधान के हो लगायतका विषयमा प्रस्तुत छ, अध्यक्षमण्डलका सदस्य महेन्द्रराय यादवसँग सहारा टाइम्सका लागि गरिएको कुराकानी ः

हालै राजपा नेपालले गरेको एउटा निर्णयले तरङ्ग ल्याएको छ, के त्यो छ त्यो निर्णयमा ?
–हाम्रो पार्टी राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्षमण्डलीय चक्रप्रणालीमा चल्ने पार्टी हो । शुरुमा हामीले महन्थ ठाकुरलाई विश्वास गरेर अध्यक्षमण्डलको संयोजकमा छाडेका थियौं तर अहिले त्यो परस्थिति नरहेको कारण चक्रप्रणाली अनुसार राजेन्द्र महतोलाई संयोजक बनाएका हौं । दुई दुई महिनामा अध्यक्षमण्डलको संयोजक फेर्ने पार्टीको नीति थियो तर पछिल्लो समय महन्थ ठाकुरले पार्टी हित विपरित काम गर्न थालेपछि उहाँलाई हटाएर राजेन्द्र महतोलाई राखेका हौं ।

महाधिवेशनको मुखमा त्यस्तो सिनियर नेतालाई यसरी हटाउन मिल्छ त ?
–राजपा नेपालको अध्यक्षमण्डलका रहेका अध्यक्षमण्डलका छजना नेता नै बराबर हुन् । त्यसमा कोही पनि सिनियर वा जुनियर छैन । यसमा सबै बराबर छन् । हामीले एउटा परस्थितिवश संयोजकमा छोडदिएको हो । हिजोसम्म ठाकुरजीलाई पार्टी चलाउनुस्, सबैलाई मिलाएर लगनुस् भनेर नै छाडेको थिए तर महन्थ ठाकुरले त्यो काम गर्नै सक्नुभएन । नेता तथा कार्यकर्तालाई मिलाएर लग्न सक्नुभएन । धर्म र जिम्मेवारीलाई छाडेर पार्टीमा जानकारी नै नदिइकन केही व्यक्तिहरु नियुक्त गर्नुभयो । 

के के नियुक्ति गर्नुभयो उहाँले ?
–पहिलो नम्बरमा उहाँले आफ्नो सम्धी उमाकान्त झालाई प्रदेश ५ को प्रदेश प्रमुख (राज्यपाल) बनाउनुभयो । त्यो पार्टीमा कही कतै निर्णय भएको छैन । हामी कसैलाई थाह पनि थिएन । भइसकेपछि सञ्चारमाध्यममा आएपछि मात्र थाह भयो । नीति आयोगमा पनि नियुक्ति गर्नुभयो, त्यसको बारेमा पनि कसैलाई सोध्नुभएन । हामीलाई चुनावमा जसले हराउने काम गरे, पार्टीको विरुद्धमा काम गरे त्यस्ता व्यक्तिलाई पनि उहाँले पदाधिकारीहरुमा नियुक्ति गर्नुभयो । सप्तरी क्षेत्र २ का जयप्रकाश ठाकुरले चुनावमा पार्टीको हितविपरित काम गरेको भन्दै पार्टीले कार्यवाही गरेको थियो तर अहिले उहाँलाई महन्थ ठाकुरजीले पार्टीमा फर्काउनु भएको छ । र, महामन्त्री बनाउनु भएको छ । उहाँलाई महासचिव बनाउने निर्णय कहिले भएको हो ? उहाँले कसरी बनाउनु भयो ? संयोजकको काम बैठकलाई संयोजन गर्ने हो नकि भटाभट आफ्नै मनले निर्णय गर्ने हो । उहाँले यसरी धेरैजना महासचिव, सहमहासचिव नियुक्त गर्नुभयो । यी घटनाले गर्दा पार्टीको जुन लोकप्रियता थियो त्यो घटदै गइरहेको थियो । ठाकुरजी जुन कामहरु गर्नुभयो, त्यो पार्टीको हितमा थिएन । त्यही भएर हामीले पार्टीलाई विधान त चक्रिय प्रणालीमा लगौ भनेका हौं ।

त्यसो भए महन्थ ठाकुरले पार्टीको हित विपरित काम गर्नुभएको हो भनि तपाईहरुको निष्कर्ष हो ?
–हो, यो मैले मात्र भनेको होइन । यो कुरा दुनियाँलाई थाह छ । पार्टीभित्र सबैलाई थाह छ । जनतालाई थाह छ । जुन सहमतिका आधारमा उहाँलाई संयोजक बनाइएको थियो । त्यसको उल्लघंन गर्नुभयो । विधि विधान र नीति अनुसार उहाँले चल्नु भएन बाध्य भएर हामीले चक्रिय प्रणालीलाई कायम गर्दै अगाडि बढ्ने निष्कर्षमा पुगेका हौं ।

अपमान गरेर निकालेको कुराहरु पनि बाहिर आएको छ नि किन त्यस्तो ?
–यसलाई कसरी अपमान भन्ने हो मलाई थाह छैन । महन्थ ठाकुरले स्वयं यो निर्णय मान्नुभएको छ । निर्णयमा हस्ताक्षर गर्नुभएको छ । अनि कसरी भयो अपमान ? विधान अनुसार काम भएको हो । उहाँलाई सम्मानपूर्वक हटाइएको हो । उहाँ अहिले पनि पार्टीमा सम्मानित नेता हुनुहुन्छ । उहाँलाई हामीले सम्मान गरेर नै संयोजकमा राखेर नियमित गरेका थियौं तर उहाँले त्यो गरिमालाई बचाउन सक्नुभएन । त्यही भएर बाध्य भइ हामीले विधान अनुसार नै जाउँ भनेका हौं । त्यसमा कसैलाई कुनै अपमान गरिएको छैन ।  

राजपा नेपाल फुट्ने भो त होइन ?
–किन फुट्छ, फुट्दैन । झन बलियो भएको छ । सामूहिक नेतृत्वमा जाने कुरा भएको छ । विधानलाई फ्लो गरेका हौं । यदि यो निर्णयबाट कसैलाई चित्त बुझेन भने उसले निर्णय लिनमा स्वतन्त्र छ । तर, मलाई पूर्ण विश्वास छ राजपा नेपाल फुट्दैन । किनभने राजपा नेपाल निकै मेहनतबाट स्थापना भएको पार्टी हो । 

राजेन्द्र महतोको नेतृत्वलाई महन्थ ठाकुरले स्वीकार गर्नुहुन्छ ?
–महन्थ ठाकुरलाई राजेन्द्र महतोले स्वीकार गर्ने । अनि महन्थ ठाकुरले राजेन्द्र महतोलाई किन नस्वीकार गर्ने । महन्थ ठाकुरले राजेन्द्र महतोलाई पनि स्वीकार गर्नुपर्छ र राजकिशोर यादवलाई पनि स्वीकार गर्नुपर्छ किनभने पार्टी सामूहिक तथा चक्रिय प्रणालीमा चलाउने सहमति भएको छ । त्यो सहमति अनुसारले सबैले सबैलाई स्वीकार गर्ने भएको छ । राजेन्द्रले महन्थलाई स्वीकार गरे जस्तै महन्थले पनि राजेन्द्रलाई स्वीकार गर्नुपर्ने हुन्छ । 

राजपा नेपाल एकल नेतृत्वमा जानुपर्छ भन्ने कुरा पनि उठेका छन् त्यसमा के भइरहेको छ ?
–हामी चाहन्छौ कि राजपा नेपाल उकल नेतृत्वमा जाओस् । सामूहिक निर्णय र एकल नेतृत्वबाट पार्टी सञ्चालन हुनुपर्छ भनि सबभन्दा पहिले पार्टीमा कुरा उठाउने मै हुँ । एकल नेतृत्वबाट जानका लागि सबैजना चुनावबाट आउनुपर्छ । कोही पनि टिका लगाएर आउनु हुँदैन । चुनावबाट जो हुन्छ, त्यसलाई मान्ने हो । टिका प्रथा हुँदैन । अब शतप्रतिशत चुनाव हुन्छ । केन्द्रदेखि स्थानीय तहसम्म सबै संगठनमा चुनाव हुन्छ । 

मधेशवादी दलमा यसरी नेतृत्वलाई लिएर पटक पटक किन विवाद हुने गरेको छ ?
–व्यक्ति व्यक्तिबीच जब टकराव हुन्छ, जब स्वार्थ मिल्दैन । स्वार्थ मिलेसम्म सबै कुरा मिलिरहेको हुन्छ नमिलेपछि टकराव शुरु हुन्छ । महन्थ ठाकुरलाई संसदीय दलको नेता बनाउनुपर्छ भनि सबभन्दा बढी प्रयास मैले नै गरेको हुँ । पार्टीमा मैले नै त्यसको प्रस्ताव ल्याएको थिए । त्यसमा मेरो कुनै स्वार्थ थिएन तर त्यसको गरिमालाई उहाँले बचाउन सक्नुभएन । उहाँमा एउटा बानी छ, कुनै विषयमा कसैसँग सल्लाह गर्नुहुन्न । कसरी चल्छ पार्टी ? पार्टी भनेको सामूहिक निर्णयबाट चलाउनुपर्छ । महन्थ ठाकुर आफ्नै लागि काम गर्ने, आफ्नै जातीका लागि काम गर्ने, आफ्नै समूहका लागि काम गर्ने त्यसभन्दा माथी उठ्नै सक्नुभएन । तमलोपा गठन गर्दा महन्थजीलाई हात समातेर ल्याएका थियौं । अहिले पनि राजपा नेपाल गठन गर्नका लागि महन्थजीलाई तानेर ल्याएका हौं । राजपा नेपाल बनाउने मिसन महन्थजीको थिएन । राजपा नेपाल बनाउने मिसन मेरो थियो, त्यसपछि राजकिशोर, अनि शरतसिंह भण्डारी त्यसपछि राजेन्द्र महतोको थियो । 

त्यसो भए तपाईको विचारमा महन्थ ठाकुर राष्ट्रिय नेता बन्नसक्नु भएन ?
–राष्ट्रिय नेता बन्नका लागि राष्ट्रिय सोच बन्नुपर्छ । राष्ट्रिय चरित्र हुनुपर्छ । यो देशमा जनजाति, दलित, मुस्लिम, थारु पनि छन् भने कुराको अनुभूति दिनुपर्छ । त्यो उहाँले चाहनु भएको छैन । उहाँ एकल जाती र एकल सोचबाट पार्टी चलाउनु खोज्नुभएको हो । सविधानले दिएको अधिकारलाई पनि उहाँ लागु गर्न चाहनु हुन्न । 

पार्टीका अध्यक्षमण्डलमा रहेका छजना नेताले जे भन्नुहुन्छ त्यही हुन्छ नि भन्छन् किन त्यस्तो ?
–पार्टीमा अध्यक्षमण्डलीय प्रणालीबाट चलाउने विधानमा उल्लेख छ । विधान अनुसार अध्यक्षमण्डलले निर्णय लिने गरेका हुन्छ । तर, अध्यक्षमण्डलले निर्णय लिनुभन्दा पहिले त्यसको लागि अन्यसँग पनि सल्लाह लिने गरेका हुन्छन् । राजनीतिक समिति, सचिवालयलगायतका बैठक बसेर छलफल हुन्छ अनि अध्यक्षमण्डलको बैठकबाट निर्णय हुन्छ । हाम्रो प्रयास हुन्छ कि सबै कुरा विधानसम्मत होस् । 

अनिल झा जहिले पनि नोट अफ डिसेन्ट लेख्नुहुन्छ, उहाँले किन त्यस्तो गर्नुहुन्छ ?
–लेख्न दिनुस् न । त्यस्तो लेखाईले केही हुँदैन । पार्टीको मूल्यमान्यतालाई उहाँले पनि बुझ्नुपर्छ । त्यो उहाँले बुझ्नु भएन भने पार्टीलाई नोक्सान हुन्छ । त्यसैले हामीले पार्टीलाई मूल्यमान्यता, विधि विधानको आधारमा हिडाउन खोजेका छौं । त्यसमा अनिल झाले पनि साथ दिनुहुन्छ हामीलाई विश्वास छ । 

अन्त्यमा, राजपा नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समर्थन कहिले फिर्ता लिन्छ ?
–प्रधानमन्त्री ओलीले छठसम्मको समय दिनुभएको थियो । त्यो अवधिमा उहाँले काम गर्नुभएन । किन गर्नुभएन, त्यस विषयमा हामीले उहाँसँग छलफल गर्छौ । छिट्टै उहाँसँग छलफल हुन्छ । त्यसपछि हाम्रो पार्टीले आवश्यक निर्णय लिनेछ । हामीले काम गर्नका लागि उहाँलाई समर्थन दिएका थियौं । हामीले सत्ताका लागि दिएका थिएनौ । सविधान संशोधनका लागि दुई तिहाई पुर्याउनका लागि हामीले समर्थन गरेका थियौं । त्यो अनुसार काम गरेन भने हामी समर्थन फिर्ता लिन बाध्य हुन्छौ । अब अन्तिमपटक वार्ता गर्दैछौ । समर्थन कायम रहने नरहने कुरा प्रधानमन्त्री ओलीको विवेकमा भरपर्छ । 

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..