» » मुस्लिमप्रति आकर्षण हो कि विकर्षण ?

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मदरसा शिक्षा बोर्ड सम्बन्धी विधेयक संसदमा ल्याएसँगै हिन्दु–मुस्लिमबीच शृङ्खलाबद्ध घटनाहरु भइरहेको छ ।

प्रदेशको नेतृत्व मुस्लिम समुदायको हातमा रहेको छ ।

 तैपनि यसको विषयमा हालसम्म कुनै प्रतिकृया दिएको छैन । सानो सानो कुरामा प्रतिकृया जनाइरहनु हुने मुख्यमन्त्री राउतले हिन्दु–मुस्लिमबीच यस्तो मनमुटाव भएपनि हालसम्म कुनै प्रतिकृया नजनाउनुलाई सरोकारवालाहरुले गम्भीर रुपमा लिएको छ ।

मदरसा शिक्षा बोर्ड सम्बन्धी विधेयक प्रदेशसभामा असोज २२ गते छलफलका लागि प्रस्तुत भएको थियो । संसदमा त्यसको त्यसको खुलेर विरोध भयो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश २ का सांसद जगत यादव र मञ्जु यादवले खुलेर विरोध गर्नुभयो भने राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसद डा.रिना यादव र ले पनि विरोध गर्नुभएको थियो ।

 राजपा नेपालका दुईजना उहाँहरुले प्रदेशसभाको बैठकमा विरोध नगरेपनि मुख्यमन्त्री राउतले छलफलका लागि बोलाउनु भएको थियो । बैठकमा उहाँहरुले खुलेर विरोध गर्नुभएको थियो । उहाँहरुले मुख्यमन्त्री राउतलाई यहाँसम्म भन्नुभएको थियो कि प्रदेश २ लाई आतकंवादीको आखाडा बनाउनु लाग्नुभएको हो ।

त्यो विरोधपछि एकातिर मुस्लिमसँग सम्बन्धित संघ संगठनले प्रदेश सरकारलाई ज्ञापनपत्र बुझायो भने अर्कोतिर हिन्दुवादी संघ संगठनले पनि ज्ञापनपत्र बुझाउने काम गर्यो ।

हिन्दुवादी संघ संगठनले यतिसम्म चेतावनी दियो कि यो विधेयक रोकिएन भने जस्तोसुकै काडा आन्दोलन गर्नेछौं । त्यो चेतावनीको असर कतिसम्म पर्छ थाह छैन तर अहिलेलाई केही दिनका लागि विधेयक रोकिएको छ । विधेयक केहीदिनका लागि रोकिएपनि हिन्दु मुस्लिमबीचको विवाद रोकिएको छैन । एकपछि अर्को घटना भइरहेको छ ।


मुस्लिम समुदायको मस्जिद अगाडि भएर हिन्दु समुदायले असोज २४ गते दुर्गाभवानीको कलशयात्रा लिएर जाने क्रममा दुई समुहबीच रौतहटमा झडप भएको थियो ।

हिन्दु समुदाय र मुसलिम समुदाय बीच भएको सो झडपमा दुवै पक्ष घाइते भएका छन् । यो घटना सेलाउन नपाउँदै कात्तिक ३ गते दुर्गाको मुर्ती सेलाउन गएको बेला कपिलवस्तुमा मुस्लिम र हिन्दु समुदायको युवा बीच झडप भएको थियो । ।

 मुस्लिम समुदायका युवाले मोवाइलबाट तस्वीर खिच्न खोज्दा हिन्दु सामुदायका युवाले रोक्न खोज्दा झडप भएको थियो । झडपका कारण स्थानीय प्रशासनले कफ्र्यु लगाउन बाध्य भएको थियो ।

त्यसैकै भोलीपल्ट अर्थात कात्तिक ४ गते त्यही घटनामा रहेका मुस्लिम युवा भारतको सीमावर्ती वजारमा गभएको बेला त्यहाँका हिन्दु युवा वाहिनीका युवाहरुले उनीहरुलाई कुटपिट गरेको थियो । भनिन्छ, हिन्दु युवा वाहिनी उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथका युवा संगठन हो ।

त्यसैगरि, त्यो झडप भएको तीन दिनपछि अर्थात कात्तिक ६ गते संघीय समाजवादी फोरम नेपालका सांसद सरिता गिरीले मुस्लिम समुदायले आफ्नो आजान (प्रार्थना) को समयमा बजाएको ठूलो स्वरको लाउडीस्पीकरको विरोध गर्दै त्यसलाई बन्द गराउन प्रशासनलाई फेसबुकमार्फत आग्रह गर्नुभयो ।

 नेतृ गिरीको यस्तो अभिव्यक्ति आएपछि मुस्लिम समुदायले त्यसको खुलेर विरोध गरिरहेका छन् ।

त्यसको ठीक दुई दिनपछि अर्थात कात्तिक ८ गते जमायते उलेमा नेपालले नेपाल शैक्षिक जागरण सम्मेलनको आयोजना रौतहटमा गरेको थियो । सो सम्मेलनमा प्रदेश २ का आठवटै जिल्लाका मुस्लिम समुदायको सहभागीता थियो । सो कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत लगायत विभिन्न दलका नेताहरुको उपस्थिति थियो र उहाँहरुले मञ्चबाट मुस्लिमकै पक्षमा सबैले कुरा राखेका थिए ।

आआफ्नो दलप्रति मुस्लिमलाई आकर्षण गर्नका लागि काडा भाषण गरेका थिए तर रौतहट, कपिलवस्तुमा भएको घटनाको बारेमा कसैले केही ठोस कुरा राख्नुभएन । सरिता गिरीको अभिव्यक्ति प्रति पनि उहाँहरुले केही टिप्पणी गर्नुभएन । बरु मुस्लिमको मतलाई कसरी आकर्षण गर्न सकिन्छ त्यतातिर सबैको ध्यान थियो ।


दुई हप्ताभित्रमा यस्ता घटनाहरु भइरहँदा न प्रदेश सरकारले यसमा केही बोलेको छ न केन्द्र सरकारले । अहिले सबै चुपचाप छन् । कपिलवस्तुमा कफ्र्यु हटाए पनि त्यहाँको समस्या समाधान गरिएको छैन । मुस्लिम समुदायले सत्यतथ्य छानविन गरी दोषीलाई कारवाही गर्न माग गरेको छ तर प्रशासनले त्यतातिर ध्यान दिएको छैन ।

त्यसैले त्यहाँ कुनै पनि बेला झडप हुनसक्छ । लक्ष्मीपुजा र छठ पर्व हुन गइरहेको छ । यी दुईटा पर्व हिन्दुहरुका लागि ठूलो पर्व हो । यदि यो पर्वमा मुस्लिम समुदायले केही यताउती गर्दियो भने फेरि दंगा हुने सम्भावना नटरेको त्यहाँका स्थानीयहरु बताउँछन् । रौतहटको अवस्था पनि त्यस्तै छ । त्यहाँ पनि दुई समुदायबीच विवाद समाधान भएको छैन ।

घाइतेहरु उपचार गराई रहेका छन् । तिहार र छठमा दुई समुदाय बीच समन्वयता अपनाएन भने पुनः झडप हुने सम्भावना रहेको छ । अर्कोतिर मदरसा बोर्डको समस्या पनि समाधान भएको छैन ।

भारतको नजर पनि यतै
 त्यसैपनि भारतले तराई मधेशको मदरसामाथि नजर जमाएर बसेको छ । यस अवस्थामा कुनै अध्ययन नै नगरिकन विधेयक ल्याएको भनि प्रदेशसभामा त्यसको विरोध भएको छ ।


 प्रदेश २ का सरकारले ल्याएको यो विधेयकप्रति भारत पनि नाखुस रहेको छ । खुल्ला सीमाका कारण पाकिस्तानी आतकंवादी भारतमा छिरेर आतकंवादी गतिविधि गरेर नोक्सान पुर्याइरहेको बारेमा भारत सरकारले नेपाल सरकारलाई पटक पटक अवगत गराउँदै आएको छ ।

नेपाली सीमामा खोलिएका मदरसाका कारण भारत त्यतिकै शुरुदेखि नाखुश थियो । केही दिन पहिले मात्र सुनसरीको हरिनगरा गाउँपालिकास्थित भुटाहा बजारमा रहेको रोहियान नेश्नल पब्लिक स्कुलको व्यवस्थापन समितिका अध्यक्ष मौलाना खुर्सिद अन्सारीको हत्या भएको छ । हत्यामा भारतको हात रहेको बुझिएको छ ।

भारतमा भएको बम हमलामा संलग्नलाई खुसिंदले नेपालमा आफ्नो घरमा राखेर नागकिरता समेत बनाई दिएको कुराहरु बाहिर आएको छ । रोहियान नेश्नल पब्लिक स्कूलमा मुस्लिमहरुको स्कूल हो ।

त्यो स्कूलमा ती पाकिस्तानीहरु पढाउँथे जसले भारतमा शृङ्खलावद्ध बम हमला गराएको थियो । भारतीय बन्धुकधारीद्धारा खुर्सिदको हत्या भएको पुष्टि नभएपनि अशंकाहरु धेरै नै नजिक पुगेको छ । 

असुरक्षित मुस्लिम
सप्तरीमा पूर्वसभासद सदरुलको हत्या लेनदेन वा  आर्थिक कारणबाट भएको हो कि राजनीतिक एवं साम्प्रदायिक उद्देश्यसँग सम्बन्धित छ भन्ने खुलिसकेको छैन ।



 मिर्जा दिलसाद बेगबाट शुरु भएको नेपालमा मुस्लिमहरुको हत्याले यहाँका मुस्लिमहरु आफूलाई असुरक्षित ठानिरहेका थिए । त्यसपछि सञ्चार उद्यमी जमिम शाहको हत्याले त झन मुस्लिम सुमदायलाई झस्काई दियो ।

यी दुवै हत्यामा नेपाली नागरिकलाई पाकिस्तानी आइएसआइसँग जोडिएर भारतीय पक्षबाट हत्या गरिएको प्रतिवेदनहरु पनि आएको छ । काठमाडौंको केन्द्रीय कारागारमा रहेका युनुस अन्सारीमाथि त्यहीभित्र पसेर भारतीय नागरिकले गोली हानी हत्या गर्ने प्रयास गरेको थियो ।

मिर्जा र जमिमको हत्यापछि जेलभित्रै पसेर भारतीय नागरिकले युनुस अन्सारीको हत्या गर्ने प्रयास गरे भने त्यसपछि दुईवर्ष अघिमात्रै नेपाल इस्लामिक एशोसिएसनका नेता फैजान अहमदको काठमाडौंमा हत्या गरिएको थियो । त्यसमा पनि भारतकै हात रहेको सरकारी प्रतिवेदनले देखाएको थियो । यसरी नेपालमा चलनचल्तीका तथा नाम चलेका कुनै पनि मुसलमान बाँकी रहेको देखिदैन ।

अलिकति शंकाको घेरामा आउँदैमा उनीहरुलाइ भारतको तर्फबाट सफाया हुन्छ । यस अवस्थामा नेपाल भारत बोर्डर मदरसा बोर्ड गठन गर्नका लागि प्रदेश सरकार लागि परेको जसलाई भारतले रुचाइएको छैन ।

मुस्लिमका राजनीतिक गणित 
प्रदेश २ मा सबैभन्दा बढी जनसंख्या दलितको छ भने मुस्लिमको जनसँख्या तेस्रो स्थानमा रहेको छ । त्यही भएर सबै दलको नजर मुस्लिम मतमा रहेको छ । मुस्लिम समुदायको मत एकत्रित रुपमा कतै जाँदैन । सो समुदायको मत छरिएर रहेका छन् ।

 दुई नम्बर प्रदेशमा रहेका मुस्लिम समुदायलाई आकर्षण गर्न सकियो भने बलियो दल हुनसक्ने बुझाई राजपा र फोरम नेपालको रहेको छ तर मुस्लिमलाई आकर्षण गर्न सबभन्दा अगाडि फोरम नेपाल देखिएको छ ।

फोरम नेपालले मुख्यमन्त्री नै मुसलिम समुदायबाट दिएको छ भने केन्द्रमा पनि एकजनालाई मन्त्री बनाएको छ । हुँदा हुँदै प्रदेश २ सरकारको तर्फबाट मदरसा शिक्षा बोर्ड गठन गर्ने तयारी गरिरहेको छ ।

जसमा बाधा उत्पन्न हुने सम्भावना देखिएको छ । यद्यपी फोरम र राजपाको बीचमा एक रुपता रहेको छ । एकआध जना सांसदले विरोध गरेपनि पार्टीको धारणा मदरसा शिक्षा बोर्ड ल्याउने नै हो ।

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..