» » पत्रकारितामा भ्रष्टिकरण (सम्पादकीय)

पत्रकारिता जहिले पनि सत्ताको प्रतिपक्षि भूमिकामा हुन्छन् । सरकारलाई जहिले पनि दवावमा राखि रहने र जनताको पक्षमा काम गराउन उक्साई रहने संयन्त्र भनेकै पत्रकारिता हो । पत्रकारिता जनताको आँखा हो ।

 सरकारले राम्रो काम गरेको छ भने त्यसको प्रचार गरेर जनतासम्म पुर्याउने र गलत काम गरेको छ भने त्यसको विरोध गर्ने काम पत्रकारितामा हुन्छ । पत्रकार र पत्रकारिता कहिले पनि सत्ताको नजिक रहनु हुँदैन । समदुरी बनाएर बस्नुपर्छ । किनभने सत्ता भनेकै लेनदेन हुने कुरा हो । त्यहाँ विभिन्न चलखेल हुन्छ ।

जनताको सबैभन्दा भरोसयुक्त संयन्त्र भनेकै सत्ता हो, जहाँ जनतासँग सिधै सम्पर्क जोडिएको हुन्छ । केही तलमाथि पर्यो भने सिधै जनतामाथि असर पर्छ त्यस अवस्थामा पत्रकारिता जगत निकै सजग हुनुपर्छ तर अहिले त्यस्तो देखिएको छैन ।

देशमा तीन तहमा सरकार सञ्चालित छन् । संघीयताको नयाँ जगमा उभिएको तीनटै तहको सरकारले आआफ्नो तरिकाले काम शुरु गरेका छन् । तीनटै तहले काम र अधिकार बाँडफाँड गरि आआफ्नो तरिकाले काम गरिरहेका छन् ।

त्यस अवस्थामा पत्रकार र पत्रकारिता जगत वाच डगको भूमिकामा रहेर जनताको कामलाई सहज बनाई दिनुपर्ने ठाउँमा अहिले अधिकाँश पत्रकार र मिडिया हाउस सरकारको निकट भएका छन् । सरकारको गुणगान गाउने र त्यसबाट झार्न सकिने जति झार्ने काम अहिले पत्रकारहरुले गरिरहेका छन् । खास गरि यो समस्या स्थानीय तहमा बढी देखिएको छ । स्थानीय तहमा अहिले विभिन्न शीर्षकमा बजेटहरु निकै गएका छन् । स्थानीय तहका मेयर, अध्यक्षहरुले आफ्ना मनले खर्च गर्न पाइरहेका छन् । अहिले त्यसमा आफ्ना निकटका पत्रकारलाई निकै प्रयोग गरिरहेका छन् ।

जिल्लाहरुमा पत्रकारहरुलाई विभिन्न नाममा लाखौं रुपियाँ वितरण गरिरहेका छन् उनीहरुले । कुनै ठाउँमा विज्ञापनको नाममा गरिरहेका छन् भने कुनै ठाउँमा विभिन्न संगठन तथा संस्थाको नाममा गरिरहेका छन् । तर त्यसको अहिले कुनै उपयोगिता देखिएको छैन । गाडी चढ्नुदेखि लिएर प्लेन चढ्ने सम्मको रकम स्थानीय तहका मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्षहरुको गोजीबाट लिइरहेका छन् । एक जिल्लाबाट अर्को जिल्ला जानु पर्यो भने एउटा कुनै अध्यक्ष वा मेयरलाई भन्दिन्छन् उसलाई गाडीदेखि लिएर हरेक कुराको व्यवस्था गर्दिन्छन् ।

 कुनै होटलमा रक्सी खाएका हुन्छन्, त्यसको बील पनि उसैलाई तीर्न लगाएका हुन्छन् । जिल्लामा कुनै कार्यक्रम गर्नु पर्यो भने उनीहरुले सिधै पत्रकारको पकेटमै पैसा हालि दिन्छन् । यसरी सत्तामा रहेका व्यक्तिले पत्रकारिता जगतलाई प्रयोग गरेको अहिले प्रशस्तै पाइन्छ ।
त्यसको आडमा ती सत्ताधारी मन्त्री, मुख्यमन्त्री, सांसद, मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्षहरुले करौडोको भ्रष्टाचार गर्छन् । ती पत्रकारलाई देखाएर भ्रष्टाचार गरेका हुन्छन् जसले उसको टिकटमा हवाई जहाज चढेका हुन्छन्, उसको पैसाले मोटर साइकल चढेका हुन्छन्, उसको पैसाले रक्सी र मासु खाएका हुन्छन् । ती पत्रकारले सबै थाह पाएका हुन्छन्, सबै हेरिरहेका हुन्छन् तर केही बोल्दैनन् किनभने ती सबै त्यतिबेलासम्म ऋणी भइसकेका हुन्छन् ।
\
 त्यसैले उनीहरुले गर्ने भ्रष्टाचार र अनियमितताको विरुद्धमा लेख्नुको सट्टा ढाकछोप गरिरहेका हुन्छन् । र, यो कुराहरु थाह पाउन मोसफलमा निस्किने पत्रिकाहरु पल्टाउँदा, अनलाइनहरु खोलेर हेर्दा, टीभी एफएम सुन्दा प्रष्ट हुन्छ । सबै पत्रिका र पत्रकार त्यस्तै हुन्छ भनि भन्न खोजिएको होइन तर अधिकाँशमा त्यस्तो समस्या देखिएको छ ।

मोफसलका कतिपय पत्रकारहरुले केन्द्रमा सञ्चालित ठूला मिडियामा विना तलब काम गरिरहेका हुन्छन् । एउटा कार्डको भरमा काम गरिरहेका हुन्छन् तर उनीहरुको लाइफ स्टाइल हेर्दा लाख रुपियाँको महिनाको तलबमा काम गर्ने भन्दा कम हुँदैन । उसले पत्रिकामा विना तलब काम गरेका हुन्छन् भने उसले खर्च गर्ने पैसा कहाँबाट आइरहेका हुन्छन् सहजै बुझ्न सकिन्छ । पत्रकारले पनि नूनको सोझो गरेको देखिन्छन् ।


यसबाट पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ पनि अछुतो छैन । अहिले जिल्लाहरुमा हुने अधिकाँश कार्यक्रमहरुको डोनर (दाता) स्थानीय तह नै बनेका छन् । उनीहरुबाट रकम लिएर कार्यक्रम गर्ने तर त्यसको हिसाब किताब कतैपनि नदेखाउने प्रवृति महासंघमा पनि देखिएको छ ।

कुनै मेयर एउटा कुनै जिल्ला अध्यक्ष वा त्यहाँका कार्यसमितिलाई सहयोग गर्दिए भने त्यो ऋणी हुन जान्छ र त्यसलाई संस्थात सहयोग भइरहेको हुन्छ । अहिले त्यस्तै रकम उठाउनका लागि विभिन्न संस्थाहरु पनि खुलिसकेको छ ।

सरकारबाट सहयोग लिनुहुँदैन भने होइन, लिनुपर्छ तर त्यसको आधिकारिकता हुनुपर्छ । त्यसको बील, भर्पाई र हिसाब किताब पारदर्शी हुनुपर्छ । केका लागि सहयोग दिने हो, केका लागि सहयोग लिने हो । त्यसको प्रस्ताव सार्वजनिक रुपमा माग गर्नुपर्छ ।

आएका प्रस्तावमध्ये छनौट गरेर आर्थिक सहयोग दिनुपर्छ । फेरि दिएका सहयोगको अडिट रिर्पोर्ट लिएर जनतासमक्ष सार्वजनिक गर्नुपर्छ अनि मात्र त्यो सबैको हितमा हुन्छ । तर यहाँ त पत्रकारको गोजीमा टेबलमुनीबाट सिधै रकम जान्छन् जसको कुनै हिसाब किताब कतै छैन । जो अरुलाई थाह पनि हुँदैन । कति आयो कति खर्च भयो कसैलाई थाह हुँदैन ।

 र, यसले गर्दा भ्रष्टाचार मौलाउँदै गइरहेका हुन्छन् । लेख्नुपर्ने विषयमा पनि ती पत्रकारको कलम चलेको हुँदैन । यो समस्या मौफसलमा मात्र होइन कि केन्द्रमा पनि देखिन्छन् । यसमा ठूला ठूला पत्रकारहरु संलग्न हुन्छन् । कुनै मन्त्री वा कुनै सरकारी तथा गैर सरकारीका ठूला कर्मचारीले ठूल्ठूला होटलमा पत्रकारहरुलाई लगेर मौजमस्ती गराएका हुन्छन् ।

यहाँसम्म कि विभिन्न नाममा विदेश पनि घुमाएका हुन्छन् । अर्काको खाएर पत्रकारले नाङ्गै नाचेको देखिन्छन् । त्यत्रो खाइसकेका पत्रकारले भोली आएर त्यसैको विरुद्धमा समाचार लेख्ला भनि कसरी विश्वास गर्न सकिन्छन् ? अनि ती ठूला ठूला अधिकारी तथा मन्त्री र नेताहरु पत्रकारकै आँखा अगाडि अनियमितता गरिरहेका हुन्छन् तर केही लेख्न सकिरहेका हुँदैन किनभने उसको पैसा, रक्सीबाट ती पत्रकारहरु थिचिएका हुन्छन् ।

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..