» » धानको मूल्य नतोकिदा किसान मर्कामा

किसानले खेतबाट धान काटेर घर भित्र्याइरहेका छन् तर हालसम्म सरकारलले धानको समर्थन मूल्य तोकेको छैन । यत्रो लगानी गरेर भित्र्याएको धानले मूल्य नपाएपछि किसानहरु चिन्तित बनेका छन् । हरेक वर्ष झैं यस वर्ष पनि सरकारले समर्थन मूल्य तोक्ने भनिरह्यो तर त्यो कार्य नभएपछि किसान चिन्तामा परेका छन् । समर्थन मूल्य नतोकिँदा धान विक्रीमा समस्या भइरहेको पश्चिम मधेशका किसानहरुले बताएका छन् ।


समर्थन मूल्य नतोकिँदा धानको अन्न भण्डार मानिने बाँके र बर्दियाका धान उत्पादक किसानले बाध्य भएर सस्तोमा धान विक्रि बाध्य भएका छन् । बाँकेको सबैभन्दा बढी धान उत्पादन हुने नौबस्ता, महादेवपुरी र राप्तीसोनारी लगायतका क्षेत्रमा ४० प्रतिशतभन्दा बढी र बर्दियाको सबैभन्दा बढी धान उत्पादन हुने राजापुरमा करिब ४० प्रतिशत किसानले धान भित्र्याइसकेका छन् । तर, सरकारले हालसम्म पनि समर्थन मूल्य नतोक्दा उनिहरुबाट व्यापारीले निकै कम दरमा धान खरिद गरिरहेका छन् ।

नेपाल खाद्य संस्थानले मूल्य कायम नगरेकाले सस्तोमा बेच्न बाध्य भएको जनाउँदै बाँके नौबस्ताका किसान  दिलराम थारुले तत्काल समर्थन मूल्य घोषणा गर्न माग गर्नुभयो । हरेक वर्ष असोज अन्तिम सातामा मूल्य तोक्नुपर्नेमा हालसम्म पनि मूल्य कायम गर्न नसक्दा किसानले बाध्य भई सस्तोमा व्यवसायीलाई धान बेचबिखन गर्दै आएको थारुले बताउनु भयो ।

यस्तै बर्दियाको राजापुर नगरपालिका २ का किसान भुवनेश्वर थारुले पनि मूल्य नतोकिँदा धेरै किसानले
सस्तोमा विक्रि गरिरहेको बताउनु भयो ।

राजापुरमा रहेको खाद्य संस्थान अन्तर्गतको आधुनिक धान चामल कारखानाले धान खरिद गर्दै आएको छ । तर तीन वर्षयता सरकारले धानको समर्थन मूल्य समयमा कायम नगरेका कारण सो क्षेत्रका किसान मर्कामा परिरहेको थारुले बताउनु भयो ।

बर्दियाको राजापुर, पाताभार, मानपुर टपरालगायत बजारमा मकवानपुरे जातको धान प्रति क्विन्टल दुई हजारदेखि दुई हजार एक सय रुपियाँसम्म खरिदबिक्री भइरहेको उद्योग वाणिज्य संघ बर्दियाका पूर्व अध्यक्ष रामकुमार वैश्यले जनाउनु भयो । मोटो धान एक हजार ९५० रुपियाँ प्रति क्विन्टलमा खरिद बिक्री भइरहेको उहाँले बताउनु भयो ।

गत वर्ष मोटो प्रति क्विन्टल दुई हजार, मकवानपुर (मध्यम) दुई हजार दुई सय र मसिनो दुई हजार तीन सय रुपियाँ खरिद बिक्री भएको थियो । मकवानपुर जातको धान किसानले दाउने काम भइरहेको छ । तिहारअघि नै बाँके र बर्दियामा धान भित्रयाइसक्ने स्थानीय किसानको भनाई छ ।

छिमेकी मुलुक भारतमा असारमा धानको प्रस्तावित मूल्य कायम गरेजस्तै नेपालमा पनि गर्नुपर्ने बाँके कोहलपुरका किसान अगुवा भानुभक्त ढकालले बताउनु भयो । केन्द्रीय कार्यालयले नै धानको मूल्य तोक्नुपर्ने भएकाले स्थानीय स्तरबाट आफूहरूले केही गर्न नसक्ने खाद्य संस्थान राजापुरका प्रमुख अनिल श्रेष्ठले बताउनु भयो ।

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..