» » कसले ल्यायो वन मासेर बगैचा बनाउने योजना


सरकारले बाराको नीजगढमा दोस्रो अन्तराष्ट्रिय विमान स्थल बनाउने निर्णय गरेसँग त्यसको विरोध चौतर्फी शुरु भएको छ । सरकारले बाराको कोहल्बी नगरपालिका–८ र जितपुर सिमरा उपमहानगरपालिका–१ मा पर्ने ८ हजार ४५.७९ हेक्टर क्षेत्रमा दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माण गर्ने प्रकृया शुरु गरेसँगै त्यसको विरोध भएको हो । तर भ्रम नरहोस्, विमानस्थल बनाउन लागेको भनेर विरोध भएको होइन, विमानस्थल निर्माण गर्नका लागि चाहिने जमिनमा रहेका रुख काट्ने निर्णयको विरोध भएको हो ।

विमान स्थल निर्माणका लागि करिब २४ लाख रुख काटिने प्रतिवेदन आएपछि तराई मधेशमा मात्र होइन, राजधानीमा समेत त्यसको विरोध शुरु भएको छ । असोज १० गते प्रतिनिधिसभामा पनि सरकारको त्यो कदमको विरोध भएको हो । विमानस्थल निर्माण हुने क्षेत्रमा प्रतिहेक्टर ३ हजार ९ सय प्राकृतिक बोटबिरुवा रहेका छन् । रुख काटेवापत विमानस्थल निर्माणकर्ताले एक रुख बराबर २५ बिरुवा रोप्नुपर्ने प्रतिवेदनमा उल्लेख छ । २०५२ मा दोस्रो अन्तराष्ट्रिय विमानस्थलका लागि गरिएको सम्भाव्यता अध्ययनले निजगढसहित ८ वटा अन्य वैकल्पिक स्थान प्रवितेदनमा प्रस्ताव गरिएको थियो ।

लाखौ रुख कटान हुने कुरा बाहिर आएपछि चुरे बचाऔं अभियानमा लागेका संघ संस्था विशेष गरि यसको विरोध तराई मधेशमा शुरु भएको छ । चुरे वन विनाशका कारण तराई मधेशमा परेको असर डर लाग्दो छ । चुरे क्षेत्रका वन विनाश हुन थालेपछि पानीको मुहान सुक्दै गएको छ । र, त्यसको प्रत्यक्ष असर तराई मधेशमा परेको छ । त्यसको कारणले इनारहरु सुक्दै जानुको साथै पाइमहरुमा पानी आउन छाडेको छ ।

नदीहरु सुकि सकेको छ त्यसले गर्दा सिंचाईमा समस्या भएको छ । त्यति मात्र होइन, चुरे विनाशका कारण भूक्षय बढ्नुको कारण बढीको समयमा सबभन्दा बढी क्षति तराई मधेशमा हुने गरेको छ । त्यो विनाशले गर्दा तराई मधेशमा अत्याधिक गर्मी पनि बढेको छ । यसैबीचमा एकैपटक २४ लाख रुख काटेपछि त्यसको ठूलो असर त्यहाँको जनजिविकामा पर्ने निश्चित रहेको बताउँछन् अभियानकर्ताहरु ।

“चूरे वन जंगल तथा वातावरण जोगाऔं’ अभियान शुरु गरेको चुरे मधेश विकास मञ्चले असोज ८ गते बारा निजगढ़ बजारको बुद्धचोकमा एक कार्यक्रमको आयोजना गरि त्यसको विरोध गरेको थियो । सो कार्यक्रममा प्रस्तावित अन्तरराष्ट्रिय विमानस्थलले ल्याउन सक्ने वातावरणीय प्रभावको न्युनिकरणको बारेमा बहस भएको थियो ।

पर्सा जिल्लाका सामाजिक कार्यकर्ता प्रकाश थारूले चारकोसे जंगलको दक्षिणी भेगका थरुहट क्षेत्रमा कृषकले अहिले वर्षको तीन बाली भित्रियाइरहेका छन्, यदि विमानस्थलको नाममा अनियन्त्रित जंगल फडानी भयो भने पानीका मुहानहरू सुक्छ र त्यसले किसानहरु मर्कामा पर्ने धारणा राख्नुभयो ।

त्यतिकै पनि पानीको सतह तल गइसकेकोले विमानस्थल निर्माणको लागि न्युनतम चाहिने जग्गामात्र अधिग्रहण गर्नुपर्ने उहाँको सुझाव थियो । अहिले प्रचारित विश्वको तेस्रो सबभन्दा ठूलो विमानस्थल बनाए त्यसले निकै क्षति गर्ने भएकाले त्यतातिर ध्यान दिन पनि उहाँले आग्रह गर्नुभयो ।

थारूले यति ठूलो भूभागमा हुन लागेको वन विनाशले आउने दिनमा कोलभी, गढीमाई, सिम्रौनगढ, घोरहा बजार जस्ता दक्षिण भेगमा रहेका भूभाग बढी प्रभावित हुने धारणा उहाँले राख्नुभयो । समाजशास्त्री भरत साहले चुरेको अनियन्त्रित दोहनले नदीको उँचाई खतरनाक गतिले बढ़ीरहेको र वर्षैपिछे बाढ़ी आउने त्रास जनमानसमा फैलिदैं गएको बताउनुभयो । विमानस्थलको नाममा लाखौ रुख कटान गरेपछि त्यसको असर सिधै वतावरणमा पर्ने भएकाले निजगढ़ एयरपोर्टको लागि माटो पुर्ने बेला फेरी चुरे कटान गरे समस्या झन बल्झिने उहाँले तर्क थियो ।

उहाँले विश्वका साना तर धेरै यात्रीलाई सेवा पुर्याइरहेका लण्डनको ग्याट्विक, मुम्बईको क्षत्रपति शिवाजी, चीनको जियामेन इत्यादि जस्ता कुशल र प्रभावकारी एयरपोर्टबाट सिक्न समेत सरकारलाई आग्रह गर्नुभयो । ६७४ हेक्टेयर बाट ५ करोड़ यात्रीलाई सेवा दिनसक्ने ग्याट्विक विमानस्थलबाट नेपालले सिक्नुपर्ने उहाँले धारणा राख्नुभयो ।
टांगिया बस्ती सरोकार समितिका अध्यक्ष रमेश सापकोटाले सरकारले बस्ती सार्न मुआब्जा वितरणमा ढिला सुस्ती गरेको तथा विमानस्थललाई बारा भन्दा बाहिर लग्ने चलखेल शुरूभएको प्रति खबरदारी समेत गर्नुभयो ।

सरकारले चुरे छेउछाउ बसेका जनतालाई समतल भूभागमा नसारुन्जेल चुरेमा उत्खनन तथा सड़क निर्माण भइरहने हुनाले मधेशका उर्वर खेतीयोग्य जमीन बचाउन चुरेभावरका जनतालाई समथल भूभागमा पुनर्वास गराउन समेत उहाँले माग गर्नुभयो ।

निजगढ़का स्थानीय समाजसेवी कुमार लामाले निजगढ़ विमानस्थल निर्माण गर्दा वतावरणमा पर्ने प्रभावमा ख्याल गर्न सुझाव दिनुभयो । उहाँले भन्नुभयो, विमानस्थल ठूलो सानो जस्तोसुकै बनाएपनि निजगढ़ भन्दा बाहिर लग्नु हुँदैन ।’ त्यस्तै कार्यक्रममा सामाजिक अभियन्ता सरोज रायले जंगल कटानीको सोधभर्ना स्वरूप जति सुकै रुख रोपे पनि त्यो जंगल बन्न नसक्ने दावी गर्नुभयो ।

उहाँले भन्नुभयो, रुख काटेपछि विरुवा रोप्दा जंगल बन्दैन, बरू बगैचा जस्तो हुन्छ, रुख रोप्न सकिए पनि दुर्लभ जंगली जनावरको वासस्थल कुनै बगैचा हुन सक्दैन ।’

सरकारले यस परियोजनाका कुनै दस्तावेज सार्वजनिक नगरि रुख काट्ने सरकारको नियत माथि शंका गर्न प्रशस्त ठाँउ रहेको उहाँले धारणा थियो । विमानस्थलको सम्भाव्यता अध्ययन भएको २५ वर्ष अघि र आजको परिस्थिति र प्रविधि धेरै फरक भइसकेको बताउँदै उहाँले निजगढ़ र सिमरा सानो गाउँ छँदा भएको अध्ययन अहिले काम नलाग्ने दावी गर्नुभयो ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..