» » दिल्लीमा बनेको योजनाले बोर्डरमा हुँदैछ यस्तो ‘संवाद’

खुल्ला सीमाना प्रयोग गरेर हुने अपराधिक गतिविधिलाई रोक्नका लागि भारतले नेपाल–भारत सीमा क्षेत्रमा कडाई गर्ने योजना बनाएको थाह पाएर राष्ट्रिय जनता पार्टी नेपालका केही नेताहरुले सीमा क्षेत्रमा बहस चलाउनु भएको छ ।

नेपाल भारत खुला सीमा संवाद समूह नै गठन गरेर सीमा क्षेत्रमा अन्तरक्रिया कार्यक्रमहरु शुरु गरेको छ । यो समाचार तयार पार्दासम्म सो समूहले नेपाल र भारत गरि ६ वटा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिसकेको छ । राजपा नेपालका केन्द्रीय सदस्य अनिल महासेठले यसको अगुवाई गर्दै कार्यक्रम शुरु गर्नुभएको छ ।

उहाँ राजपा नेपालका अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोका स्वकीय सचिव पनि हुनुहुन्छ । राजेन्द्र महतोकै सल्लाह र सुझावमा महासेठले चालेको यो कदमले दुई देशको खुल्ला बोर्डरको अवस्था कस्तो हुने हो त्यो पछि हुने परिणामले देखाउनेछ । यद्यपी यो अन्तरक्रिया कार्यक्रमले गर्दा नेपालस्थित भारतीय दुतावास खुश नरहेको स्रोतको दावी छ ।

तर, सीमावर्ती क्षेत्रमा यस्तो कार्यक्रम गर्ने विषयमा भारतको नयाँ दिल्लीमा नै योजना बनेको हो । दिल्लीमा योजना बनेको शृङ्खला यसरी शुरु भएको थियो । काठमाडौंमा साउन १५ गते नेपाल भारतका थिंक ट्यांकहरुको सम्मेलन भएको थियो ।

सम्मेलनमा विभिन्न सत्रहरु भएका थियो । त्यसमध्ये एउटा सत्रमा इपीजीका सदस्य राजन भट्टराईले पनि भाग लिनुभएको थियो । भट्टराई नेकपाका सदस्य हुनुको साथै नेपाल भारत प्रमुद्ध समूहको सदस्य पनि हुनुहुन्छ । उहाँले सो कार्यक्रममा नेपाल भारतको सीमा क्षेत्रमा परिचयप वा पासपोर्टको लागु गर्नुपर्ने धारण राख्नु भएको थियो । त्यति मात्र होइन, उहाँले भन्नुभयो, हवाई जहाजबाट भारत जाँदा पासपोर्ट देखाएर जानुपर्छ तर गाडी वा हिडेर जाँदा पासपोर्ट किन नलागु हुने । स्थलमार्ग भएर जानका लागि पनि परिचयपत्र वा पासपोर्ट लागु हुनेपर्छ ।’

त्यसलाई त्यहाँ कतिपयले समर्थन गर्नुभयो भने कतिपयले विरोध पनि गर्नुभयो । कार्यक्रममा सहभागीका रुपमा आएका अनिल महासेठले यसलाई गम्भीर रुपमा लिएर यसको बारेमा नेपाल भारतमा बहस चलाउनु पर्ने सोच बनाउनुभयो । र, राजनीतिकमा चर्चामा आउने यो भन्दा अरु कुनै बाट हुनै सक्दैन भनि यसको तयारीमा लाग्नुभयो । त्यही दिन याक एण्ड होटलमा भएको कार्यक्रममा भारतबाट आएका केही बुद्धिजिवी तथा नेपालका केही थिंकट्यांकसँग उहाँले कुराकानी गर्नुभयो ।

त्यसलगत्तै सोही विषयमा सरसल्लाहका लागि भदौं ४ गते दिल्लीसम्म पुग्नुभयो । राजपा नेपालका महासचिव राजिव झाका साथ दिल्ली पुग्नु भएका उहाँ भारतीय जनता पार्टीको हेडक्वाटरसम्म पनि पुग्नुभयो । त्यहाँ उहाँहरुले भाजपा केन्द्रीय कार्यालयका सचिव महेन्द्र कुमारलाई भेटेर अटल विहारी वाजपेयको विषयमा राजपा नेपालले दिएको शोक सन्देश पनि बुझाउनुभयो ।

त्यहाँ उहाँहरुले नेपाल–भारत सीमाको विषमया पनि कुराकानी गर्नुभएको थियो । यस्तै उहाँहरु भारत सरकारका सहयोगी संस्था अन्तराष्ट्रिय मामिला तथा सुरक्षासम्बन्धी अध्ययन गर्ने थिंक टयांक संस्था ‘आइडीएस’ सम्म पुग्नुभयो ।

त्यहाँ उहाँहरुले त्यसका रिसर्च फेलो निहार नायकसँग भेट्नुभयो । जो साउन १५ गते नेपालमा भएको थिंकट्यांक सम्मेलनमा भाग लिन काठमाडौ आउनु भएको थियो । नायकसँग उहाँहरुले नेपाल–भारतको सीमा बारेमा छलफल गर्नुभएको थियो । नेपाल–भारतको सुरक्षा तथा राजनीतिका जानकार मानिएका नायकले सीमा सुरक्षामा संवेदनशिल हुन सुझाव दिनु भएको थियो ।

 सीमामा कडा पार्ने, काँडेतार लगाउने वा परिचयपत्र लागू गर्ने कि गर्ने त्यस विषयमा सीमा क्षेत्रका सरोकारवालासँग छलफल गरेर अघि बढ्न उहाँले सुझाव दिनुभएको स्रोतले जनाएको छ ।  आइडीएस संस्थाले विभिन्न देशको सुरक्षा र राजनीतिक अवस्था बारे अध्ययन गरेर सरकारलाई सल्लाह दिने गरेको छ । नेपालको सुरक्षा अवस्था र राजनीति बारे सो संस्थाले गहिरो अध्ययन गरेको छ ।

त्यसपछि उहाँहरु भारतको पटना (विहार), झारखण्ड हुँदै नेपाल फर्किनुभयो । यसो त  झारखण्ड र पटनामा  रहँदा पनि उहाँहरुले नेपाल भारत सीमाको विषयमा पनि छलफल गर्नुभयो । पटना हुँदै भदौ १५ गते जनकपुर पुग्नु भएका उहाँहरुले भारतमा भएको विभिन्न भेटघाटको समीक्षा गर्नुभयो । समिक्षाबाट एउटा समूह गठन गर्ने निष्कर्षमा उहाँहरु पुग्नुभयो । जसअनुसार भदौं २० गते समूह गठन भएको हो ।

भदौ २० गते जनकपुरमा एक बैठक बसी नेपाल र भारतबीच सुमधुर सम्बन्ध निर्माण गर्ने उद्देश्यले राजपा नेपालका महासचिव राजिव झाको संयोजकत्वमा सो समुह गठन गरिएको थियो । सो समूहमा राजेश चौधरी, मनोज चौधरी, पंकज मण्डल, दीपक कर्ण, अजय अनुरागी, कुन्दन झा, रामकृपाल साह, किरण झा, बजरंग यादव र अनिल महासेठ रहनु भएको छ । सो समूहको सल्लाहकारमा पूर्व प्रमुख जिल्ला अधिकारी जिवछ मिश्र र ब्रम्हदेव झालाई राखिएको छ ।

समूहमा सबै क्षेत्रका व्यक्तित्वहरु राखिएपनि  राजपा नेपालका नेताहरुकै बाहूल्यता रहेका छन् । नेपाल र भारतबीच १९५० को सन्धिलगायत सबै विषयमाथि अध्ययन गर्न २०७३ मा गठित प्रबुद्ध व्यक्ति समूह (इपिजी) ले आफ्नो प्रतिवेदन बुझाउन ठिक पारेको अवस्थामा नेपालको सीमामा यस्तो शृङ्खलावद्ध रुपमा कार्यक्रमहरु आयोजना हुन थालेपछि यसलाई नेपाल स्थित भारतीय दूतावासले पनि चासोका रुपमा लिएको स्रोतले जनाएको छ ।

नेपाल भारतको सीमा विवादकै कारण इपिजीको प्रतिवेदन बुझ्न ढिलो भइरहेको यस अवस्थामा संसदमा रहेको एउटा दलका नेताहरुको अगुवाईमा सो कार्यक्रम हुनुलाई चासोका रुपमा हेरिएको बुझिएको छ ।

समूह गठन भएसँगै भदौं २४ गते जनकपुरमा  र भदौ २६ गते भारत विहारको पिपरौन गाउँमा खुला सीमा कायम राख्ने वा कडाई गर्ने भन्नेबारेमा छलफल भएको थियो । त्यसपछि भदौं ५ गते राजविराज र त्यसको भोलीपल्ट भारतको सीमावर्ती एक गाउँ कुनौलीमा कार्यक्रम गरिएको थियो । त्यसपछि असोज नौ गते वीरगञ्ज र त्यसको भोलीपल्ट रौतहटमा कार्यक्रमको आयोजना गरिएको थियो ।

वीरगञ्जमा भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो सहभागी हुनुहुन्थ्यो । महतोले सिमामा हुने तस्करी, अपराधिक गतिवधि खुल्ला सिमाको कारण नभई गैरजिम्मेवार पदाधिकारीहरुको कारण भएको बताउनु भयो ।

महतोले सिमामा बस्ने दुवै देशका जनताको लागि खुला सिमा अभिसाप होईन वरदान हो भन्दै खुला सिमा नभएको देशबाट पनि तस्करी भइरहेको बताउनु भयो ।

भाजपा मोतिहारी जिल्ला उपाध्यक्ष एवं इन्डोनेपाल च्याम्बर ओफ कमर्सका अध्यक्ष राजकुमार गुप्ताले भारत सरकारको सिमा क्षेत्रको सम्बन्ध अझ बलियो र प्रगाढ बनाउनका लागि प्रधानमन्त्री नरेन्द्र मोदी सामु कुरा राख्ने बताउनु भयो । कार्यक्रमा नेपाली काग्रेसका केन्द्रिय सदस्य अजय कुमार चौरसिया, प्रदेश सांसदहरु रमेश कुर्मी, ओमप्रकाश शर्मा, मंजुर अंसारी, वीरगंज महानगरपालिकाका मेयर बिजय सरावगी, वीरगंज उद्योग वाणिज्य संघका उपाध्यक्ष सुबोध गुप्ता, पूर्व अध्यक्ष अशोक बैद्य, बरिष्ठ पत्रकार चन्द्रकिशोर झा, अधिवक्ता पानालाल गुप्ता, उद्योगपति जगदिश अग्रवाल, गणेश लाठ, राजपाका नेता निजामुदिन समानी, कृष्ण पटेल लगायतका वक्ताको सहभागीता थियो । कार्यक्रममा संस्थाका वरिष्ठ सदस्य अनिल महासेठले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

असोज ५ गते सो समूहले सप्तरीको राजविराजमा कार्यक्रमको आयोजना गरेको थियो । त्यसका प्रमुख अतिथि राजपा नेपालका वरिष्ठ उपाध्यक्ष एवं प्रदेश २ का समाजिक विकास मन्त्री नवलकिशोर साह हुनुहुन्थ्यो । सो कार्यक्रममा भारत निर्मली गाउँका पूर्व प्रमुखको सहभागीता थियो ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..