» » नेपालमै हुन्थ्यो वैदेशिक इशारामा कठपुतली सरकार (अन्तरवार्ता)

–शिवराम यादव
नेता, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)

विद्यार्थीकाल देखि वामपन्थी राजनीतिकमा लाग्नु भएका शिवराम यादव स्वभावले विद्रोही मानिन्छ । पंचायतकालमा माले, त्यसपछि एमाले र २०५८ सालमा माओवादी बन्नु भएका सप्तरीका शिवराम यादव जनयुद्धको समयमा ९ महिना जेल पर्नुभएको थियो । काठमाडौको भित्तामा ‘गर्व से कहुँ हम मधेशी छी, हम भगौडा नई अही देशके धर्तीपुत्र छि’ भनि नारा लेख्नमा मुख्य भूमिका खेल्नु भएका उहाँ माओवादी विभाजन हुँदा मोहन वैद्यको पक्षमा लाग्नु भएको थियो । पछिल्लो प्रतिनिधिसभाको चुनावको समय पुनः माओवादी केन्द्रमा फर्किनु भएका शिवराम यादवको राजनीतिक जीवनमा किन यति उतार चढाव हुन्छ भनि जिज्ञासा सहित उहाँसँग सहारा टाइम्सले गरेको कुराकानीको मुख्य अंशः

मुलधारको राजनीतिक गर्दै आउनु भएको तपाईको पछिल्लो पोल्टिक्स निकै जिकज्याक जस्तो देखिएको छ किन त्यस्तो ?
–पक्कै पनि म अलिकति मुलधारको राजनीतिक भन्दा अलि अलग भएको छु । तर मेरो पोल्टिक्स ठिक ट्रयाकमा गइरहेको छ । ट्रयाकमा हिड्दा कहिले काँही घुमाउरो बाटो पनि आउँछ । असजिलो बोटो पनि आउँछ तर त्यसलाई गन्तव्यमा पुग्नुपर्छ र पुर्याउनु पर्छ । सायद त्यसलाई नै तपाईले जिकज्याक भन्नुभएको होला जस्तो लाग्छ । समाजमा आमूल क्रान्तकारी परिवर्तनका लागि हामीले जनयुद्ध लडेका थियौं । धेरै हदसम्म हाम्रो लक्ष्य पुरा पनि भयो । केही काम बाँकी थियो त्यसलाई शान्ति प्रकृयाको माध्यमबाट पुरा गर्ने भनि हामी शान्तिपूर्ण संसदीय राजनीति रोज्यौं । त्यो संसदीय राजनीति पनि अग्रगामी हुनुपर्ने हाम्रो सोच थियो । जनयुद्धको बेला लिएका कार्यदिशा अनुसार नै संसदीय व्यवस्थामा पार्टीले भूमिका खेल्ने पार्टीको आन्तरिक सहमति थियो तर त्यसो नभई संसदीय व्यवस्थामा आत्मसम्र्पण गरेको जस्तो अवस्था आयो । अनि हामी मोहन वैद्य किरणको नेतृत्वमा माओवादी केन्द्रबाट अलग भयौ । समावेशी लोकतन्त्र, धर्मनिरपेक्षता क्रान्तकारी जनवादी विचारलाई स्थायीत्व दिनका लागि हामी अलग भएका थियौं । केही दिन त्यो अनुसारको काम पनि भयो तर पछि वैद्यजीमा पनि त्यो स्प्रीट हरायो । त्यसका लागि पार्टीमा पनि बहस गर्यौं । तर उहाँ आफ्नो अडानबाट टसमस हुनुभएन । त्यसपछि मलाई लाग्यो प्रचण्ड नेतृत्वको माओवादी केन्द्रले संसदीय व्यवस्थामा आर्थिक समृद्धिका लागि अलि नयाँ ढंगबाट अग्रगामी विचारका साथ आगाडी बढ्नु भएको जस्तो लाग्यो । र मलाई त्यो मन परेर पुनः म त्यही पार्टीमा फर्के । अर्थात देश, समाजको परिवर्तनका लागि जहाँ पार्टीले काम गर्छ त्यहाँ म पुगेको हुन्छु । र, मेरो लाइन नै यही हो ।

मूल्य लक्ष्य आर्थिक समृद्धि तथा विकास लिएर हिडेका पार्टीमा पुनः फर्किनु भयो । तपाईलाई के लाग्छ त्यो लक्ष्यसम्म पुग्न पार्टी सफल हुन्छ ?
–सहज छैन तर त्यो दिशा समातेको छ । देशमा अहिले पनि सक्रमणकाल अन्त्य भएको छैन । विभिन्न द्धन्दका अवषेशहरु अझै पनि बाँकी छ । दुई दुई पटक गठन भएको सविधानसभाबाट सविधान निर्माण भएको छ । सविधान कार्यान्वयनको प्रकृयामा गइसकेको छ । तर, त्यसमाथि असन्तुष्टि जनाउँदै केही दलहरुले आन्दोलन पनि गरिरहेको छ । त्यो असन्तुष्टिका बीचमा कहिले के भइ दिने हो ठेगान छैन । त्यही असन्तुष्टिहरु सम्बोधन गर्नका लागि सरकारले एक वार्ता टोली पनि गठन गरेको छ । टोलीले आफ्नो कार्य अगाडी पनि बढाई सकेको छ । सरकारले पनि आवश्यकता अनुसार सविधान संशोधन गर्ने प्रतिवद्धता जनाउँदै आएको छ । यस हिसाबले हेर्दा अहिले पनि संक्रमणकालको अन्त्य भएको छैन । त्यसपछि सरकारले समृद्धि र आर्थिक परिवर्तनको एजेण्डाले लिएर पार्टी अगाडि बढेको छ । असन्तुष्टिहरुलाई सम्बोधन गर्दै अब आर्थिक समृद्धिका लागि काम गर्नुपर्ने अवस्था छ । प्राप्त उपलब्धीलाई रक्षा गर्दै भएका परिवर्तनलाई बलियो र समृद्ध बनाउन आर्थिक परिवर्तन हुनु अति आवश्यक छ । र, मलाई विश्वास लाग्छ कि पार्टीले आफ्नो लक्ष्य प्राप्त गर्न सफल हुन्छ । तर जुन महान उद्देश्यका साथ अगाडि बढी रहेको छ । त्यो जादुको छडी जस्तै छुमन्तर गरेर प्राप्त गर्ने चिज होइन । केही समय लाग्न सक्छ तर एक दिन अवश्य सफल हुन्छ ।       

तपाईले के त्रुटी देख्दा मोहन वैद्यतिर जानु भयो, फेरि त्यहाँ के त्रुटी देखेर पुनः माओवादीमा फर्किनुभयो ?
–हामी जुन आदर्श चरित्र बोकेर पार्टीमा लागेका थियौं, त्यसमा धेरै स्खलन देखेपछि नयाँ ढंगबाट अगाडि बढ्नुपर्छ भनि मोहन वैद्यतिर लागेको थिए । त्यो कुरा मैले अघि पनि भनि सकेको छु । यसले प्रतिक्रान्तिलाई नै सेवा गर्छ भनि क्रान्तिका लागि हामी विद्रोह गरि वैद्यको पक्षमा लागेका थियौं । नेपालमा जनवादी क्रान्ति सफल होस् । नेपाल स्वाधिन होस्  भनेर हामी त्यसमा लागेका थियौं । पछि एमाले र माओवादी केन्द्र एक भएर चुनाव लड्ने भएपछि देशमा अब राजनीतिक स्थिरता हुने भयो । देश अब अगाडि बढ्ने भयो भनि मलाई लाग्यो । देश स्थिर नभएसम्म अगाडि बढ्न सकिदैन । नेपाल प्रत्यक्ष रुपमा उपनिवेश नभएपनि अप्रत्यक्ष रुपमा उपनिवेश नै हो । यहाँ धेरै कामहरु वैदेशिक इशारामा भइरहेको छ । राजतन्त्र अन्त्य भएपनि गणतन्त्र स्थापना हुँदा एउटा कार्यभार पुरा भएको जस्तो लाग्यो । अबको कार्यभार सम्राज्यवादको अन्त्य गर्ने लडाई नै हो । र, यो अन्त्य गर्नका लागि राजनीतिक स्थिरता नै चाहिन्छ । पहिला पहिला वैदेशिक इशारामा कठपुतली शासन नेपालमा हुन्थ्यो । र यो एकीकरण भएपछि ती सबैको इशारा समाप्त भएको छ । मलाई त्यही लागेर यतातिर लागेको हुँ । 

तपाई जुन (मधेश) समुदाय तथा भौगोलिक कल्चरबाट आउनु भएको छ र तपाईको जुन राजनीतिक पृष्ठभूमी छ यी दुवैलाई कसरी व्यवस्थापन गर्नुहुन्छ ?
–के कम्युनिष्ट आन्दोलनले मधेशको समस्या समाधान गर्दैनन् ? के मधेशमा कम्युनिष्टहरु छैनन् ? कम्युनिष्ट पार्टीले संसारभरिका समस्यालाई समाधान गर्न खोजेको छ भने मधेशको समस्या किन समाधान गर्दैनन् । त्यहाँ भावनात्मक रुपमा अर्कैको प्रभाव छ त्यो बेग्लै कुरा हो तर मधेशमा कम्युनिष्ट कमजोर छैन । जवर्जस्त रुपमा आफ्नो उपस्थिति देखाएको छ । अहिले पनि नेकपा मधेशमा सबभन्दा ठूलो पार्टी बनेको छ । अर्को कुरा मधेशमा अहिले जुन अधिकारको कुरा उठेको छ । संघर्षका लागि जनता अगाडि आएको छ ती सबै गराउने काम माओवादीले न गराएको हो । मधेशका जनता यी शासकका सामु बोल्न डराउँथ्यो । दास मानसिकतामा नै बस्न रुचाउँथे जब माओवादीको आन्दोलन शुरु भयो अनि मधेशी जनतामा एकाएक जागरुकता आयो । मधेशको अधिकार के हो, मधेशको पहिचान के हो ? सबैको कुराको चेतना माओवादी आन्दोलनले नै दिएको हो । जुन बेला काठमाडौमा मधेशीलाई हिड्न गाह्रो भइरहेको थियो । बोल्न गाह्रो भइरहेको थियो त्यो बेला पहिचान दिलाउने काम माओवादीले नै गरेको हो । माओवादीकै नेतृत्वमा काठमाडौका गलीगलीको भित्ताहरुमा मधेश पहिचानको नारा लेखिएको थियो । अर्थात अहिले पनि मधेशका लागि कम्युनिष्टले जति गर्न सक्छ त्यति अरु दलले गर्न सक्दैन भने कुरा निश्चित छ । क्षणभरका लागि केही दलले जनतालाई भ्रममा राखेको हुनसक्छ । तर, त्यो विस्तारै आफै हट्दै जान्छ । म मधेशी भएकोमा गर्व छ र त्यतिकै गर्व छ कम्युनिष्ट भएकोमा ।

तपाई त्यस्तो भन्नुहुन्छ तर कम्युनिष्ट पार्टीमा रहेका मधेशी नेताहरु पनि असन्तुष्ट देखिन्छन् नि किन ?
–समाजमा जे छ त्यसको प्रभाव जहाँ पनि परेको छ । पार्टीमाथि त्यसको प्रभाव नपर्ने कुरा हुँदैन । तत्कालै छुमन्तर गरेर समाधान हुँदैन । मधेशमा समस्या छैन भने होइन । त्यसलाई कम्युनिष्ट पार्टीले समाधान गर्न नखोजेको पनि होइन तर भन्दैमा समाधान हुने कुरा पनि होइन । मधेशका विभिन्न मुद्दाका बारेमा कम्युनिष्ट पार्टीमा रहेका मधेशी नेताहरुले पार्टीमा कुरा उठाइरहेका छन् । मधेशको समस्या समाधान हुनुपर्छ भनि दवाव पनि दिइरहेका हुन्छन् । त्यसले गर्दाले पनि कम्युनिष्ट पार्टी मधेशमा सफल हुन सकेको हो । असन्तुष्टि त कहाँ छैन । हरेक पार्टीमा असन्तुष्टि हुन्छ । असन्तुष्टिको कुनै ओषधी हुँदैन । कम्युनिष्टहरुको धेरै कुरा साम्यवादमा गएर धेरै कुरा हल हुन्छ ।

मधेशमा अहिले उठिरहेका मुद्दाहरुलाई नेकपाले आत्मसात गरेको छ कि छैन ? 
–अवश्य गरेको छ । तर सबै होइन । एमाले र माअ‍ोवादी केन्द्रबीच भर्खर एकीकरण भएको छ । पहिला दुवै पार्टीको आआफ्नो धारणा थियो । आआफ्नो कार्यनिति र कार्यदिशा अनुसार अगाडि बढी रहेको थियो । त्यसमा धेरै कुरामा दुई दलको बीचमा फरक धारणा हुन्थ्यो । मधेशकै मामलामा हेर्ने हो भने एमाले र माओवादी केन्द्रको बुझाईमा फरक थियो । अलग अलग पार्टी हुँदा माओवादी केन्द्रले मधेशको समस्या सविधान संशोधन गरेर समाधान गर्न चाहेको थियो । त्यो अनुसार प्रयास पनि गरेको थियो । तर एमालेले सविधान संशोधनमा त्यतिबेला साथ दिएको थिएन । अहिले एकीकरण भएपछि सविधान संशोधनको विषयमा एउटा धारणा आइरहेको छ । सविधान संशोधन गर्ने कुरामा एक मत रहेको छ तर के के विषयमा गर्ने त्यो विषयमा छलफल हुन बाँकी छ । सविधान संशोधनका अन्तरवस्तुको विषयमा छलफल हुनुपर्छ र त्यसलाई टुगोंमा पुर्याउनुपर्छ ।

तपाईको विचारमा सविधान संशोधना हुनुपर्छ कि पर्दैन ?
–सविधान संशोधन हुनुपर्छ । यो मेरो विचार मात्र होइन पार्टीको पनि त्यही धारणा हो । तर मैले अघि भनेका थिए नि मधेश केन्द्रीत दलले माग गर्दै आएका सबै कुरा स्वीकार गर्ने अवस्था छैन । हामी पनि सविधान संशोधन गर्ने भनेर नै चुनावमा गएका थियौं । चुनावका एजेण्डा हामी पनि बनाएका थियौं तर कुन कुन विषयमा गर्ने भनि टुगों लागेको थिएन । सामाज परिवर्तनशिल जस्तै त्यसलाई सञ्चालन गर्ने सविधान पनि परिवर्तन (संशोधन) गरिरहनु पर्छ । आवश्यकता अनुसार सविधान संशोधन हुनुपर्छ भनि हाम्रो पनि माग हो । सविधान निर्माण भएपछि अहिले त्यसको कार्यान्वयनका लागि काम भइरहेको छ । विभिन्न ऐन कानुन निर्माणको क्रममा छ । कतिपय निर्माण पनि भइसकेको छ । सबै ऐन कानुन निर्माण भइसकेपछि त्यसपछि कहाँ के  अप्ठ्यारो हुन्छ त्यसका आधारमा सधिवान संशोधन गर्दा राम्रो हुन्छ ।

संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सविधान संशोधनको जुन विषय (अन्तरवस्तु) हरु उठाएका छन् त्यसमा नेकपाको समर्थन छ त ?  
–नेकपा सविधान संशोधनका लागि तयार छ तर उनीहरुले उठाएको विषय जस्ताको त्यस्तै संशोधन गर्ने कुरा हुँदैन । छलफल र सहमतिका आधारमा सधिवान संशोधन गर्ने कुरा नेकपाले पहिलादेखि नै भन्दै आएको छ । यदि उहाँहरुले उठाएको सबै कुरामा सहमत भइ दियो भने एउटै पार्टी बनाउँदा पनि हुन्थ्यो । सबै कुरा नमिलेको कारणले त अलग अलग पार्टी रहेको छ ।

नेकपाले हालै प्रदेश समिति बनाएको छ । सातवटै प्रदेशभन्दा दुई नम्बर प्रदेशको राजनीतिक अलि फरक छ नेकपाले त्यहाँका लागि केही छुट्टै रणनीति बनाएको छ जस्तो लाग्छ तपाईलाई ?
–एमाले र माअ‍ोवादी केन्द्र अहिले पनि एकताकै प्रकृयामा छ । मुल समितिमा मात्र एकता भएको छ । केही दिन पहिले प्रदेशमा अध्यक्ष, इन्चार्ज, सहइन्चार्ज मात्र चयन भएको छ । अर्थात तल्लो कमिटीको बीचमा एकता भएको छैन । जबसम्म सबै मोर्चा, भातृसंगठन, विभाग तथा गाउँपालिका, नगर र वडासम्म एकीकरण हुँदैन तबसम्म कुनै ठाउँका लागि केही धारणा बनाउन सक्दैन । अहिले आआफ्नो पार्टीको पुरानै धारणा र शैलीबाट चलिरहेको छ । पक्कै पनि दुई नम्बर प्रदेशका लागि पार्टीले अलग फरक ढंगबाट सोच्नु पर्ने हुन्छ तर अहिले एकीकरण प्रकृया चलिरहेको हुनाले तत्कालै केही गर्ने कुरा हुँदैन । यद्यपी दुई नम्बर प्रदेशमा पनि नेकपा बलियो छ र अझै बलियो बनाउने कुरातिर ध्यान दिनुपर्छ । अहिले प्रदेशमा अध्यक्ष, इन्चार्जलगायतका पदाधिकारी चयन भएको छ । ती पदाधिकारीहरुले एकीकरणका अन्य कुराहरु टुगों लगाउनेछ । 

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..