» » ‘जितिया पवनी बड भारी’

‘जितिया पवनी बड भारी धिया पुतनके ठोइक सुतावी अपने खाई भइर थारी’ अर्थात जितिया पर्व धेरै ठूलो पर्व हो, यसमा बालबच्चालाई सुताएर आफै एक थाल खाने । जितिया पर्व आएपछि मैथिली भाषामा भन्ने यो निकै परचलित उखान हो ।

आफ्नो सन्तानको सुख, आनन्द र प्रगतिका निमित्त मनाइने एउटा उत्साहजनक चाडका रूपमा जितिया पर्वलाई लिइन्छ । औला भाचेर चौरचन विसे जितिया भन्दै जितियाको पर्खाइमा बसेका केटाकेटीहरु पनि यो पर्वमा निकै उत्साहित हुन्छ । विहानै विहानै च्युरा दही खान पाइन्छ भनि यो पर्वका पर्खाइमा हुन्छ ।


हाम्रोपात्रका अनुसार यसलाई जिवित पुत्र पर्वको रूपमा पनि मनाइन्छ । यो पर्व अश्विनको (अष्ठमी तिथीको कृष्ण पक्ष) को दिन मनाइन्छ । यो पर्व खासगरि आमाहरूले आफ्नो जिवित पुत्रहरूका लागि व्रत बस्ने गर्नुहुन्छ । महिलाहरु ‘निर्जला’ अर्थात पानी समेत सेवन नगरिकन २४ घण्टासम्म भगवान ‘जीतमहान’ को पूजाआजा गरी कठोर व्रत बस्ने परम्परा रहिआएको छ ।

व्रतकथा
एकादेशमा नर्मदा खोलाको किनारमा कञ्चनवती नाम गरेको एउटा गाउँ थियो र उक्त ठाउँमा राजा मलायकेतुले राज्य गर्दथे । खोलाको पश्चिमी किनारामा वलुहटा नाम गरेको एउटा मरुभुमी पनि थियो, त्यहि किनारमा एउटा पाखरको रुख थियो जसमा पोथी चील चरा बस्थि जसको रुखमुनी पोथी स्यालको वास थियो ।

उनिहरु दुवै साथीसाथी भए र एकदिन गाउँका अरु महिलाहरुले जस्तै उनिहरुले पनि भगवान जीतमहान गोँसाईको निर्जल व्रत बस्ने निर्णय गरे तर संयोगवश त्यसै दिन उनिहरु बस्ने मरुभुमीको छेउस्थित शहरको धनी ब्यापारीको छोरालाई ल्याएर गाडिन्छ, चीलले अरु महिलाहरुझैं ब्रत कायम राखेपनि स्याल भने गाडेको लाशको मासु सेवन गर्ने तीब्र इच्छालाई दबाउन नसकेर व्रत तोड्न पुग्छे ।

 अर्को जन्ममा यी दुवै चील र स्याल एउटै घरमा अनि व्राह्मण परिवारमा दिदि बहिनीका रुपमा जन्मिन्छिन् ।
चील अब शिलवती नामकी व्राह्मण कन्याको रुपमा र उनकी वहिनी अर्थात स्यालको यस जन्ममा कपुरवती हुन्छे ।

 शिलवतीको बुद्धिसेन भन्ने व्यक्तिसँग अनि वहिनी कपुरवतीको विवाह राजा मलायकेतुसँग हुन्छ । शिलवतीको सातजना सुन्दर पुत्रहरु हुन्छन् भने कपुरवतीको पुत्रको मृत्यु भएकाले उनी एकदमै दुखि र निरास हुन्छिन् । शिलवतीका छोराहरुले राजा मलायाकेतुकोमा काम गर्न थाल्दछन् र ती केटाहरु आफ्नी दिदिका पुत्रहरु भएको थाहा पाएपछि पूर्वजन्मकी स्याल अनि यो जन्मकि शिलवतीकी बहिनी कपुरवति रिसले चुरचुर हुन्छिन् । राजालाई भनेर ति सातैजना शिलवतीका पुत्रहरुको हत्या गर्न लगाई तिनको टाउकालाई रातो कपडामा बेरेर दिदिकोमा पठाउने षडयन्त्र गर्दछिन् ।

तर यो कुरा भगवान जीतमहान गोँसाईले थाहा पाएपछि सातै छोरालाई बचाउनुहुन्छ र ति सातैजना पुत्रहरुलाई अमृत दिएर अमर बनाउँदै उनिहरुको टाउकोको साटो माटोको टाउको रातो कपडामा बेरिन्छ ।


यसरी रातो कपडाले बेरीएको भाँडो शिलवतीको घरमा पुग्दा टाउकाको साटो फलफुलले भरिपूर्ण उपहारको रूपमा परिरणत हुन्छ । यता हत्याको योजना बुन्ने बहिनी कपुरवती आफ्नी दिदिको घरमा अब छोराहरुको मृत्यु र टाउको मात्रको आगमनले त्रसित, भयवित अनि रुवावासी भइरहेको होला भनि एकजना सेविकालाई बुझ्न पठाउँछिन तर शिलवतीको घरमा हर्ष उल्लास र खुशियाली छाएको सन्देशयूक्त खबर उनीहरूले ल्याएपछि राजा मलायकेतु अर्थात कपुरवतीका पतिले पक्कैपनि त्यो घरमा भगवानको कृपा छ भन्ने सोंच्दछन् ।

दिदिको खुशी सहन नसकि अव कपुरवती दिदिको घर पुग्दछिन् र आफूले सम्पूर्ण कुरा भन्दिन्छिन् । यसो भन्दैगर्दा शिलवतीलाई पूर्वजन्मको कुरा याद आँउछ जहाँ उनले चीलको रुपमा भएपनि भगवान जीतमहान गोँसाईको व्रत बसेकि थिइन् यो प्रसंग शिलवतीले बहिनीलाई भन्दछिन् र यो सुनेर बहिनी कपुरवति बेहोस हुन्छिन् जसलगत्तै उनको मृत्यु हुन्छ । यसै बेलादेखि भगवान जीतमहान गोँसाईको श्रद्दापूर्वक ढंगले आमाहरुले छोराछोरीको रक्षकालागि जितिया पर्वमा व्रतको परम्परा थालेको मान्यता रहिआएको छ ।

व्रतको विधि
विशेषत तराई र अन्य स्थान लगायत भारत अनि संसारका धेरै देशमा वैदिक सनातन हिन्दु रित अनुसार आज जितियाको व्रत लिइन्छ । यो व्रत कुनै धनधान्य अनि ऐश्वर्यकालागि नभई नितान्त मातृस्नेह र मातृवात्सल्यको एउटा अद्भूत उदाहरण हो । अश्विन कृष्ण पक्षको सप्तमी देखि नवमीसम्म गरी तिनदिनसम्म मनाइने यो पर्वको प्रथम दिनलाई नहाई खाई अर्थात् एकाविहानै उठी नजिकको जलाधार अथवा नदीमा गएर स्नान गरी तोरीको तेल र ‘खैर’ चढाउने परम्परा रहिआएको छ । आमाहरुले स्नान गरेर मात्र यस दिन चोखो खानेकुरा सेवन गर्दछन् ।

दोश्रो दिन जिवितपुत्रीकाको दिन ’अष्टमी’ र यसदिनलाई ‘खर दिन’ पनि भनिन्छ । खर भनेको एक प्रकारको घाँस हो र यो तराईका शितल नदीका किनारहरूमा बाक्लै भेटिन्छ । यसलाई विभिन्न धार्मिक सामाजिक कार्य लगायत गाउँतिर घरको छाना छाउन पनि प्रयोग गरिन्छ । तेश्रो दिनलाई पारण भनिन्छ र यस दिन खाना खाइन्छ, तिथि मितीमा तलमाथी परे अथवा एउटै तिथी दुइदिन परेमा कहिलेकाँही आमाहरुले तिनदिनसम्म निर्जल व्रत बस्नुपर्ने पनि हुन्छ ।

त्यसै गरि थारु समूदायमा जितियालाई उत्तिकै महत्वका साथ लिइन्छ । प्रकृतीको अर्चना पनि थारु समूदायको जितियाको एउटा महत्वपूर्ण पाटो हो । थारु समूदायले जितियामा नाच्ने नाचलाई ‘झ्याम्टा’ भनिन्छ । थारु समूदायमा पिपलको हाङ्गा काटेर अनि धानका बिरुवाहरु उखेलेर गाउँको बिचमा गाईको गोबरले लिपेर राखिन्छ, यसरी लिपेर तयार पारीएको ठाँउलाई ‘थाट’ भनिन्छ । बहुभाषीक अनि बहुसंस्कृतीयूक्त हाम्रो देश नेपालमा जितिया पर्वले धेरै समूदाय, भाषा अनि संस्कृती मान्नेहरुलाई एकैथलोमा भेला पार्दछ ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..