» » गायिका तनुजा चौरसिया काठमाडौ नआएकी भए.....

‘मसँग गला र कला छ । गीत गाउने क्षमता पनि छ तर मेरो क्षमता बाहिर नआउँदा बजारले मलाई पत्याई रहेको छैन । किनभने मिडियामा न मेरो दाजु छन्, न काका, न भाइ न भतिजो न छोरा जसले मेरो बारेमा प्रचार गर्दियोस्, मरो बारेमा लेखदियोस् ।’

यो गुनासो हो एकजना कलाकार तनुजा चौरसियाको । गीत, संगितको क्षेत्रमा झण्डै २० वर्ष भन्दा पहिलेदेखि सक्रिय रुपमा लाग्नु भएका तनुजा चौरसियाको गायन कलाको तारिफ सबैले गर्छन् तर गीत संगितको मार्केटमा ठाउँ पाउनु भएको छैन । सहारा टाइम्ससँग कुरा गर्दै तनुजाले भन्नुभयो, अहिलेको जमाना मार्केटीङ्गको हो, जसले बेच्न सक्यो, उसैको बजार हो र बजारमा बेचिनका लागि मेडियाको सहयोग चाहिन्छ ।’

गीत संगितमा भारतबाट बीए (प्रभाकर) सम्म अध्ययन गर्नुभएका तनुजा चौरसिया सानै उमेरदेखि यो क्षेत्रमा लाग्नु भएको हो । उहाँका दुई दाजुभाइ र एक वहिनी हुनुहुन्छ । सबैजना कुनै नकुनै रुपमा गायन क्षेत्रसँग जोडिनु भएको छ ।

घरपरिवारमा सबैजना गीत संगितका सौखिन हुनुहुन्छ । उहाँका बुवा युगल किशोर चौरसिया, दाजु भुषन चौरसिया, वहिनी मालाकुमारी चौरसिया र भाइ श्रीनिवास चौरसियाले पनि गीत गाउनु हुन्छ तर यीमध्ये कोही पनि व्यवासायीक गायक होइन । कुनै विशेष उत्सव तथा धार्मिक अनुष्ठानमा भजन किर्तन मात्र गर्नुहुन्छ ।


सानो भाइ युगलले वरिष्ठ गायक हुनुहुन्छ तर उहाँ पनि भजन तथा ठूला मञ्च प्रवचन र रामायण तथा महाभारत वाचन गर्नुहुन्छ । बुवा युगल किशोर वरिष्ठ तबलाबादक हुनुहुन्छ । बहिनी माला पनि संगितमा बीए गर्नुभएको छ तर उहाँ जागिरे भएको कारण गीत संगितमा त्यति ध्यान दिनुहुन्न ।


अर्थात उहाँको घरको माहोल गीत संगितमै भएको हुनाले सानैदेखि त्यसमा लाग्नुभएको हो । घरमा तबला, हरमुनिम हुन्थ्यो । तनुजा सानैमा त्यसलाई बजाउने प्रयास गर्नुहुन्थ्यो । त्यो देखेर उहाँका बुवा खुशी हुनुभयो । छोरी तनुजामा पनि गीत संगितको सम्भावना रहेको भन्दै उहाँले आफै सिकाउन थाल्नुभयो । तर केही दिनपछि उहाँका लागि घरमै गुरु ल्याई दिनुभयो ।

त्यो गुरुसँग तनुजाले दुई वर्षसम्म घरमै संगित गीत सिक्नुभयो । सिक्दै गएपछि उहाँको बुवाले तनुजाको नाम संगित पाठशालामा पनि पनि लेखाई दिनुभयो । नौ कक्षादेखि संगित विद्यालयमा पढ्न थाल्नु भएका चौरसिया इलहावाद प्रयाग सदनबाट बीएसम्म अध्ययन गर्नुभयो ।

घरपरिवारको बन्धन
१० कक्षामा अध्ययन गरिरहेकै अवस्थामा अर्थात उहाँ १४ वर्षको उहाँको विवाह नेपालमा भयो । उहाँ इच्छा विहे गर्ने थिएन । उहाँको वुवाले पनि छोरीलाई त्यति सानै उमेरमा विहे गर्ने सोचमा हुनुहुन्थेन तर उहाँका आमा सविता चौरसियाले छोरीको विहे गर्न जिद्द गर्नुभयो । तनुजाको आमा अस्वस्थ्य हुनुहुन्थ्यो । उहाँको इच्छा थिया कि आफू जिउँदैमा छोरीको विहे गरि हालौं । त्यसपछि आमाको इच्छा पुुरा गर्नका लागि मात्र तनुजा विहे गर्न राजि हुनुभएको थियो ।

विहेपछि ससुराला गएपछि उहाँको गायन क्षेत्रमा ब्रेक नै लाग्यो । तनुजाले आशा नै मारिसक्नु भएको थियो । अब म गीत गाउन सक्दिैन भनि तनुजा निराश भइसक्नु भएको थियो । तर जसो तसो आफ्नो ससुराको घरमा भएर पनि कलेजमा परीक्षा दिन त जानु हुन्थ्यो तर न पढाई गर्न पाउनु हुन्थ्यो न रियाज । उहाँ गीत गाउन तथा अध्ययन गर्नका लागि तड्पिनु हुन्थ्यो ।

संगितको स्कूल भएका कारणले कक्षा भन्दा बढी रियाज (प्राइक्टिस) गर्नु पर्ने भएकाले कलेज जानै पर्ने झण्झट त थिएन । हप्तामा एक चोटी गएपनि हुन्थ्यो तर घरमा निकै रियाज गर्नु पथ्र्यो, निकै मेहनत गर्नुपथ्र्यो तर सासुरको घरमा त्यतिबेला त्यो सम्भव थिएन । किनभने त्यहाँ संगितको कुनै वतावरण नै थिएन ।

यद्यपी उहाँका बुवाले समस्तीपुर (भारत) बाट हरमुनियम, तबला पनि किनेर ल्याई दिनुभएको थियो । उहाँको बुवालाई थाह थियो कि तनुजाको ससुरालमा यी सब हुँदैन । त्यति ल्याई दिएपछि तनुजालाई बेलाबेलामा रियाज गर्न सजिलो भयो तर बुवाको घर जस्तो कहाँ सजिलो थियो त्यहाँ ।

बुहारी भएर घुँघटमा बस्नु पर्ने बाध्यता त छँदै थियो त्यसमा पनि बाहिर गएर गीत गाउने सपना नै भइसकेको थियो । टोल छिमेकमा कतै भजन किर्तन वा नाचगान हुँदा तनुजाको मन छटपटिन्थ्यो तर घरबाट इजाजत नभएको कारणले निस्कनु हुन्नथ्यो । कहिले काही घरमै भजन हुँदा उहाँले सासु आमालाई निकै मिलाउनु हुन्थ्यो ।

सासुआमालाई खुसामद गर्नुहुन्थ्यो तर आमाले होइन घरको बुहारीले यसरी गीत गाउनु हुँदैन, बाहिरको मान्छेले राम्रो भन्दैन भन्नुहुन्थ्यो । तैपनि आमालाई मनाउन छाड्नु हुन्थेन तनुजा । उहाँले आफ्ना सासु आमालाई भन्नुहुन्थ्यो, आमा एकपटक प्लिज ।

खासगरि दशैंमा उहाँकै घरमै भजन हुन्थ्यो । तर त्यहाँ पनि उहाँलाई गाउन इजाजत थिएन ।

पछि त गाउँका मान्छेले पनि भन्न थाल्यो कि सुनेको छु कि बुहारी (तनुजा) ले राम्रो गीत गाउँछे रे । यसो गीत गाउन लगायो भने हामी पनि सुन्थ्यौं भनेपछि उहाँको सासु आमाका मन बदलियो । तनुजाले भन्नुभयो, ददिया ससुर (ससुरको बुवा) गीतको सौखिन हुनुहुन्थ्यो । मेरो घरमा विहेको कुरा गर्न आउँदा उहाँले मलाई गीत गाउन लगाउनु भएको थियो । मैले गीत गाएर सुनाउँदा उहाँ निकै खुशी हुनुभएको थियो र उहाँले नै गाउँमा मेरो बारेमा भन्नुभएको थियो ।’


गाउँका मान्छेहरुले भन्न थालेपछि मात्र उहाँलाई गीत गाउन छुट दिएको थियो तर त्यो पनि आफ्नै घरमा । त्यो दिन तनुजाको खुशीको सिमा थिएन । उहाँले भजन गाउन थालेपछि सारा गाउँका मान्छे भेला भयो । सबैले उहाँको गालाको र भजनको तारिफ गरे तर उहाँका सासु आमालाई मनमा डर थियो कि कुनै डायनले बुहारीलाई केही नगर्दियोस् ।

त्यसपछि बेलाबेलामा गाउनु हुन्थ्यो तर उहाँको आफ्नो घर जस्तो खुल्ला थिएन । उहाँ पूर्ण गृहणी र आज्ञाकारी बुहारीको जस्तो बस्न थाल्नु भएको थियो । छोरीसँग यस्तो कला छ क्षमता छ तैपनि गीत गाउन पाएको छैन भनि उहाँको बुवा युगल किशोरलाई लागि रहेको थियो तर उहाँले अब अर्काको घरमा गइसकेपछि हस्तक्षेप गर्न मिल्दैन भनि चुपचाप छोरीको घुटनलाई हेरि रहनुभयो ।


श्रीमान रामकुमार चौरसिया जागिरका लागि काठमाडौ आए पनि तनुजा आउनु भएन । अहिलेको जस्तो त्यतिबेला चलन थिएन कि श्रीमान जहाँ जहाँ जान्छन्, त्यहाँ त्यहाँ श्रीमती पनि जानु पर्छ । त्यतिबेला श्रीमान जहाँ गएपनि बुहारी घरमै बस्नुपर्ने चलन थियो । गाउँघरमा त्यस्तै हुन्थ्यो । उहाँका श्रीमानले सँगै जाउँ भन्दा पनि तनुजा सासु र सासुरालाई छाडेर नजाने पनि जवाफ दिनुभएको थियो । सासु सासुराको सेवा गरेर बस्छु भनि जवाफ श्रीमानलाई दिनु भएको थियो । पछि उहाँका सासुले नै काठमाडौ जा भनेपछि मात्र तनुजा काठमाडौ आउन तयार हुनुभएको थियो ।

काठमाडौ प्रवेश
चार वर्षसम्म सासु सासुरासँग घरमै बस्नु भएको तनुजा काठमाडौ आएपछि उहाँलाई बेग्लै संसार जस्तो लाग्यो । खुल्ला महसुस भयो । यहाँ केही गर्न सक्छु भनि उहाँलाई लागेको थियो । तर कहाँ जाने के गर्ने केही पनि थाह थिएन । एकदिन जन्मअष्टमीका दिन पुजा गर्नका लागि कुपण्डोलको कृष्ण मन्दिरमा जानु भएको थियो । त्यहाँ माइक लागेको थियो ।

हरमुनियम, ढोलक तथा तबला थियो । त्यस्तो देखेपछि तनुजामा एक प्रकारको जोश आयो । माइक समातेर भजन गाइ हालौ जस्तो भएको थियो । तर आफूलाई सम्हाल्नु भयो । त्यहाँ भजन किर्तन हुन्छ भनि थाह पाउनुभयो । म गाउन सक्छु, तनुजाले त्यहाँ ढोलक बजाउनेसँग सोध्नु भएको थियो । ढोलकियाले किन हुँदैन मज्जाले गाउनुस् भन्नुभयो । ढोलकियाले ढोलक बजाउन थालेपनि तनुजाले भजन गाउन शुरु गर्नुभएको थियो ।

भजनमा यसरी डुब्नु भयो कि अरुले पनि गाउछन् भनि उहाँलाई याद भएन पाँच छवटा गीत गाईसकेपछि मात्र थाह पाउनु भयो कि अरु गायक पनि यहाँ छन् । त्यहाँ उपस्थित सबै तनुजाको आवाजबाट मुग्ध हुनुभएको थियो । यसरी नयाँ व्यक्ति आएर यति राम्रो गीत गाउन थालेपछि सबै छक्क परेका थिए ।

 त्यसपछि त्यस वरिपरी हुने कुनै पनि गीत संगित तथा भजनहरुमा उहाँलाई निमन्त्रणा आउनु थाल्यो । उहाँ बोलाएको ठाउँमा जान थाल्नुभयो । चार वर्षदेखि उहाँको मनमा काला गुम्सिएर बसेको थियो । उहाँले खुलेर निकाल्ने ठाउँ पाउनु भएको थिएन । त्यसमा उहाँका श्रीमानले पनि साथ दिनुभएको थियो । तनुजासँग यति राम्रो स्वर छ, तैपनि घरमा गुम्सिएर त्यत्रो दिन बस्नुभयो । अब यसरी बसाउनु हुँदैन भनि बुझेर नै तनुजालाई गीत संगितमा रमाउन छाडिएको थियो ।


त्यसपछि अहिलेसम्म उहाँ फर्केर हेर्नु परेन । घर (सप्तरी) सासुर जाँदा त्यति खुल्नु हुन्न । बाहिर गीत गाउन जानु हुन्न तर घरमा दशैं तिहारमा भजन अवश्य गाउनु हुन्थ्यो । माइती (भारत) जाँदा उहाँ खुलेर बाहिर गीत गाउनु हुन्छ । उहाँ त्यहाँ गएपछि कसैले नकसैले कार्यक्रमको आयोजना गरि तनुजालाई बोलाएर गीत गाउन लगाउँछन् । तर काठमाडौ जस्तो अजादी उहाँलाई माइतीमा पनि छैन ।

गुरु बन्ने अवसर
जुन स्कुलमा उहाँले गीत संगितको पढाई पढ्नु भयो । त्यहाँ शिक्षिकाको रुपमा उहाँलाई काम गर्न अफर पनि गरिएको थियो । त्यो बेला उहाँको विहे भइसकेको थियो । उहाँ आफ्नो माइती घर नेपालमा बस्नु हुन्थ्यो । तैपनि तनुजालाई त्यहाँ त्यहाँ पढाउने इच्छा भएको थियो तर सासु सासुराले इजाजत दिनुभएको थिएन । नेपालमा भएको भए सोच्न सकिन्थ्यो तर भारतमा भएको कारणले आउ जाउ गर्न गाह्रो हुन्छ भनि उहाँलाई सासुआमाले रोक नै लगाउनु भएको थियो ।

त्यतिबेला तनुजाको मन खिन्न भएको थियो । चित्त दुखेको थियो । त्यत्रो ठूलो अवसरबाट बन्चित हुनु परेको भन्दैै त्यतिबेला उहाँ निकै रुनु पनि भयो । तर समाज र घरपरिवारको अगाडि कसैको केही चलेन । तनुजा भन्नुहुन्छ, सायद म त्यतिबेला त्यो स्कुलमा पढाउन शुरु गरेको भए, यो भन्दा राम्रो अवस्थामा हुन्थ्यो कि । तर अपसोच गरेर केही हुँदैन, आफ्नो जे छ त्यसैमा रमाउनु पर्छ ।’

स्रोतको रोजाईमा तनुजा
कुनै कार्यक्रममा जाँदा श्रोता अथवा दर्शकको रोजाईमा तनुजा पर्नुहुन्छ । त्यसको कारण हो, उहाँले दर्शकको डिमाण्ड पुरा गर्नुहुन्छ । दर्शकले जुन भाषामा गीत गाउन भन्छन् ती सबै भाषामा गीत गाएर सुनाउनु हुन्छ तनुजाले । तनुजा भन्नुहुन्छ, म मैथिली, हिन्दी, भोजपुरी र नेपालीमा पनि गीत गाउँछु । कार्यक्रममा जाँदा दर्शकले जे डिमान्ड गर्छन् म त्यही गाइ दिन्छु । त्यही भएर मलाई दर्शकले मन परानुहुन्छ ।’

 एकपटक जनकपुरको एउटा कार्यक्रममा जाँदा त्यहाँ मैथिली भाषाको गीतबाहेक अरु गाउन नपाउने भनिएको थियो । तनुजाले पनि मैथिली भाषाको गीत गाउन शुरुभयो तर त्यही दर्शक माझबाट डिमाण्ड भयो कि कुनै भोजपुरी गीत सुनाउनुस् । अनि तनुजाले तपाई कतिजना भोजपुरी गीत सुन्न चाहन्नु हुन्छ हात उठाउनुस् त भन्दा ९५ प्रतिशत दर्शकले हात उठाएका थिए ।

त्यसपछि तनुजाले आयोजकको कुरा नमानी भोजपुरी गीत गाउन शुरु गर्नुभएको थियो । यस्तो त्यहाँ मात्र होइन, धेरै ठाउँमा भएको छ । कतिपय ठाउँमा हिन्दी गीतको डिमाण्ड आउँदा मज्जाले गाइ दिनुहुन्छ । तनुजा भन्नुहुन्छ, मेरो लागि स्रोता र दर्शक नै सबै थोक हो । उहाँहरुलाई खुशी राख्नु मेरो कर्तव्य हो ।’ 

तनुजााको कमाइ
३०–३५ वटा आफ्नो गीत गाउनु भएका तनुजाले हजारौ स्टेज शो गर्नुभएको छ । सानतिना भजन किर्तन र कार्यक्रमको त्यति याद पनि छैन उहाँलाई । उहाँको एउटा आफ्नै एउटा एल्बम छ ‘मोरी मैयाके महिमा निराली’ । त्यसमा विभिन्न भाषाका १० वटा भजनहरु समावेश गरिका छन् ।

त्यसबाहेक पनि उहाँले अरु अरुसँग मिलेर पनि एलबम निकाल्नु भएको छ । उहाँ गीत गाउनमा यति व्यस्त हुनुहुन्छ कि फूर्सद नै हुँदैन । उहाँ भन्नुहुन्छ, महिनामा साना ठूला गरि २० वटा भन्दा बढी प्रोग्राम गर्छु ।’ अहिले त झन दशैं शुरु भएको छ । चारैतिरबाट अफर आइरहेको छ । तर, कहाँ कहाँ जाने तय गर्नुभएको छैन । उहाँका आफ्नो कुनै टीम छैन तर कतै जानु पर्यो भने टीम बनाएर नै जानु हुन्छ ।

कमाईको बारेमा उहाँ त्यति खुल्नु हुन्न । तर उहाँ यति भन्नुभयो कि गीत संगितबाट पेट पाल्न गाह्रो छ । अन्य क्षेत्रभन्दा यसमा निकै स्ट्रगल गर्नुपर्छ । कालाकारको कमाई भनेको स्रोता र दर्शक हो । उहाँहरु खुशी भयो भने हामी पनि खुशी हुन्छौ र सारा दुख विर्सन्छौ, तनुजाले भन्नुभयो, महिनाको कति कमाउँछु त्यसको कुनै लेखाजोखा छैन बरु अझै पनि घरबाटै लगानी लगाई रहेको छु तर दर्शक र स्रोताको माया भन्दा मेरो लागि रकम ठूलो होइन, म उहाँहरुको माया पाएर खुशी छु । म अरु जबमा दुई लाखको महिना कमाउँदा त्यति खुशी हुने थिएन, जति खुशी अहिले छु ।’


यद्यपी यति मेहनत गर्दा पनि ठूला ठूला म्युजिक कम्पनी तथा फिल्मबाट अफर नआएकोमा तनुजाको चित्त दुखेको छ । नेपालमा यति फिल्महरु बन्छन्, यति ठूला ठूला म्युजिक भिडियोहरु तयार हुन्छ तर आजसम्म कसैले पनि गाउनका लागि भनेको छैन त्यसमा अलि अलि मन दुखेको छ, उहाँ भन्नुहुन्छ, सायद त्यो क्षेत्रमा मेरो पनि कोही आफन्त भएको भए म पनि त्यहाँसम्म पुग्थे होला । तर म हिम्मत हारेको छैन । म यसैमा आफ्नो जीवन सर्मित गरेको छु भने एकदिन न एकदिन अवश्य आफ्नो मन्जिल प्राप्त गर्छु ।’


उहाँको अर्को पनि दुखेसो छ । उहाँ भन्नुहुन्छ, यति मेहनत गरेर, आफ्नो लगानी लगाएर एलबम निकाल्छु तर त्यो विक्रि हुँदैन । आफ्ना चिनजानका पनि एउटा एउटा किनि दियो भने ठूलो राहत हुन्थ्यो तर कसैले किन्दैन बरु फ्रिमा दियो भने लिन्छन् तर एउटा किनेर लिदैन । लाखौ लगानीमा एलबम निकालिएको हुन्छ तर गीत सुनेर सबैले वाह भनेको हुन्छ तर खरिद गर्न मान्दैन ।’   

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

2 comments:

..