» » मधेशी दलको राजनीतिमा विचार र सिद्धान्तको अभाव छ (अन्तरवार्ता)

–विश्वनाथ साह
पोलिटब्युरो सदस्य एवं प्रदेश २ का इन्चार्ज, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)

एमाले र माओवादी केन्द्रको एकीकरण मुल कमिटीमा भएपनि तल्लो कमिटीमा हुन सकिरहेको छैन । पार्टीको सचिवालयको बैठकले टुग्यांउन नसकेपछि अध्यक्षद्धयलाई जिम्मेवारी दिएको छ । 
दुईटै अध्यक्षले तल्लो कमिटीको एकीकरण चाँडै टुग्याउँला भन्ने कुरामा अहिले पनि आशंका भइरहेको छ । यिनै विषयमा नेकपाका पोलिटब्युरो सदस्य एवं प्रदेश २ का इन्चार्ज विश्वनाथ साहसँग सहारा टाइम्सका लागि गरिएको कुराकानीको मुख्य अंशः

एमाले र माओवादी केन्द्रको मुल कमिटीबीच एकीकरण भएपनि हालसम्म जनवर्गीय संगठन, प्रदेश, जिल्ला, नगर, गाउँ समिति, मोर्चा तथा विभिन्न विभागबीच एकीकरण हुन सकिरहेको छैन किन त्यस्तो ?
–एकीकरणको लगभग टुगों लागि सकेको छ । कार्यदलहरुले बुझाएको प्रतिवेदनमाथि सैद्धान्तिक छलफल भयो । अब यसको टुगों लगाउन पार्टीका दुवैजना अध्यक्षलाई जिम्मेवारी दिएको छ । अब केही दिनमै यसको टुगों लाग्छ । दुई ठूला पार्टीबीच एकीकरण भएको छ । तलदेखि माथीसम्म मिलाउन केही समय लाग्नु स्वभाविक हो । दुई ठूला पार्टीको एकीकरण सानोतिनो कुरा होइन । तलदेखि माथिसम्म मिल्न केही समय लाग्न सक्छ । यसमा आत्तिने कुरा छैन ।

प्रदेश २ ले को नेकपाका कार्यदलले अझै प्रतिवेदन बुझाएको छैन किन होला ?
–माथी एकीकरण भइसकेको छ । तल्लो कमिटीहरुमा हुन बाँकी छ । माथिभन्दा तलको कमिटीहरुमा एककिरण गर्न पक्कै पनि केही जटिलताहरु देखिन्छ । अरु प्रदेशले प्रतिवेदन बुझाई सकेका छन् । हाम्रो दुई नम्बरको बाँकी छ । प्रतिवेदन बनाउने अन्तिम चरणमा पुगेको छ । अब एक दुई दिनमै टुग्यांएर हामी पार्टी नेतृत्वलाई प्रतिवेदन बुझाइ दिन्छौ ।

प्रदेश २ मा एकीकरणका लागि बनेको कार्यदलका सदस्य तपाई पनि हुनुहुन्छ । यो प्रतिवेदन तयार गर्ने क्रममा एकीकरणप्रति पार्टीका नेता तथा आमजनताको धारणा कस्तो पाउनु भएको छ ?
–हामीले सोचेको भन्दा सकारात्मक परिणाम जनताबाट आएको छ । देशैभरिका नेपाली जनता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रति निकै सकारात्मक देखिएको छ । एमाले र माओवादी केन्द्र एकीकरण गरि बनेको नेकपाप्रति नेपाली जनता निकै आशावादी पनि छन् । देशलाई आर्थिक समृद्धितर्फ यही पार्टीले मात्र लग्न सक्छ भने बुझाई मुलुकभरिका आमजनतामा रहेको छ । जनताले नेकपामाथि विश्वास गरेको छ । यद्यपी सरकार गठन भएको ६ महिना भन्दा बढी हुन लागेको छ । जनताले गरेको अपेक्षा अनुसार काम हुन सकिरहेको छैन । त्यसरी काम नदेखिनुमा नयाँ सिस्टमले गर्दा हो । देशमा नयाँ सविधान आएको छ । त्यो अनुसार नियम कानुन बनेको छ । र, त्यसलाई कार्यान्वयनमा ल्याएर काम गर्न केही समय लाग्ने भएकाले जनताले अपेक्षा गरेको पुरा भइरहेको छैन भनि देखिन्छ र त्यो स्वभाविक पनि हो । देखिने गरि काम हुन केही समय लाग्छ । तर, जनताको चाहना अनुसार र हामीले गरेको प्रतिवद्धता अनुसार नै काम हुन्छ । 

तपाई देशभरिको कुरा गर्नुभएको छ तर देशका अरु ठाउँ र प्रदेश २ को राजनीतिक अवस्थामा फरक छ, त्यहाँका जनताले एकीकरणको विषयलाई कसरी लिएको छ ?
–पक्कै पनि अरु प्रदेशको तुलनामा प्रदेश २ मा केही जटिलताहरु छन् । मधेशवादी दलको दवदवा र खुल्ला बोर्डरका कारण केही चुनौतिहरु पक्कै पनि छन् । तर नेकपाले त्यसको सामना गर्न तयार भइसकेको छ । मधेशवादी दल पुरै दुई नम्बर प्रदेशमा मात्र केन्द्रीत भएका छन् । उनीहरुको जेजति गतिविधि हुन्छन् प्रदेश २ को आठवटा जिल्लामा मात्र सिमित रहन्छन् । यहाँसम्म कि ती दलहरुमध्ये राजपा नेपालले स्थानीय, प्रदेश तथा प्रतिनिधिसभाको चुनाव पनि आठवटा जिल्लामा मात्र लडेको थियो । त्यसैले अलिकति प्रभाव हुनु स्वभाविक हो तर त्यसरी धेरै दिनसम्म चल्दैन । कुनै पनि पार्टी राजनैतिक विचार, दर्शन र सिद्धान्तबाट चलेको हुन्छ । जनतालाई विना विचार, विना सिद्धान्त, विना दर्शन केही दिन झुक्याउन सकिन्छ तर सधैका लागि सम्भव हुँदैन । र, मधेशवादी दलमा त्यस्तै देखिएको छ । अहिले उनीहरु नयाँ नयाँ छन् केही दिन जनतालाई भ्रममा राखेर आफ्नो पक्कड बनाउँन सक्छ । जब जनताले वास्तविकता थाह पाउँछन् अनि त्यतिबेला भाग्ने ठाउँ पनि रहँदैन । मधेशी दलका नेताहरुको चरित्र र व्यवहार पनि जनताले थाह पाइसकेका छन् । उनीहरु विचारमा आधारित राजनीतिक गरिरहेका छैन । क्षणिक फाइदाका लागि मात्र राजनीतिकमा आएका छन् । त्यसैले नेकपा र मधेशवादी दलको तुलना नै गर्न सकिदैन । केही दिन जनतालाई भ्रममा राखेर दवदवा बनाउन सक्छ तर धेरै दिन टिक्दैन । मधेश केन्द्रीत दलहरु प्रदेशमा सरकार बनाएका छन् तर जनता सन्तुष्ट छैन । अहिले पनि नेताहरु मधेशवादी दल छाडेर हाम्रो पार्टीमा आइरहेका छन् । तर, नेकपाबाट कुनै पनि उता गएको छैन । अहिले नेकपा एकीकरणकै प्रकृयामा रहेका हुनाले परिणाम देखिएको छैन । पाँच छ महिनापछि हेर्नुहोला मधेशमा नेकपाको अवस्था सबभन्दा राम्रो हुन्छ । अहिले पनि नेकपा प्रदेश २ मा सबभन्दा ठूलो पार्टी रहेको छ । र, यो भन्दा अझै राम्रो अवस्था नेकपाको आउँदैछ ।

मधेशवादी दलले जसरी मधेशी जनताको सेन्टीमेन्ट तान्न सकेको छ, जसरी मनोभावना जित्न सकेको छ त्यसरी नेकपाले किन जित्न सकिरहेको छैन त ?
–पहिलो कुरा त मधेशको अहिलेको जुन अवस्था छ त्यो माओवादीको कारण भएको हो भनि विर्सनु हुँदैन । मधेशी जनतालाई अधिकारप्रति जागरुक गराउनुको साथै बोल्न सक्ने अवस्थामा पुर्याएको हो माओवादीले नै हो । लड्न सिकाएको माओवादीले नै हो । मधेशका पूँजीपति तथा जमिन्दारहरुले निमुखा, सोझा सिधा, गरिब र पिछडिएका जनताको आवाजलाई दवाएर राखेका थिए । माओवादीले नै त्यसलाई बाहिर ल्याएको हो । यद्यपी पछिल्लो समय हामीले जनताको बीचमा जसरी आफ्नो कुरा लैजानु पथ्र्यो त्यसरी लग्न सकिरहेको छैन । एउटा फरक प्रकृतिबाट खुल्ला राजनीतिकमा आएको र आउने वित्तिकै शान्ति प्रकृयाको कामसँगै सविधान निर्माणको कार्य पनि शुरु भयो । त्यसैले चाहेर पनि समय दिन सकिरहेको थिएन । एमालेसँग माओवादी केन्द्रले एकीकरण गरेको छ । यी दुई पार्टीले लिएको विचार र सिद्धान्त लिएर जनतामा गयो भने जनताको आकर्षण आफै बढ्छ । अहिले एकीकृत पार्टी नेकपाले तल्लो तहसम्म पार्टी एकीकरणको काम गरिरहेको छ । केही दिनमा त्यसको परिणाम देखिन्छ । अर्को कुरा एमालेप्रति मधेशको सोच अहिले पनि सकारात्मक भइरहेको छैन त्यसले गर्दा पनि केही समस्या भएको छ । तर, तत्कालिन एमाले पनि मधेशमा राम्रै सीट ल्याएको छ । हामी दुईटा दल मिलेपछि दुई नम्बर प्रदेशमा सबभन्दा ठूलो पार्टी बनेको छ ।

मधेशमा एउटा कुरा गजबको देखिएको छ । आन्दोलनमा जुन जनताले मधेशवादी दललाई साथ दिएको हुन्छ, त्यही जनताले चुनावमा उसलाई मतदान गरेको हुँदैन, किन त्यस्तो ?
–आन्दोलन र चुनाव दुई अलग अलग कुरा हो । आन्दोलन साझा मुद्दामा भएको हुन्छ । जुन जायज मुद्दामा सबैको सरोकार हुन्छन् । चुनाव भन्ने कुरा पार्टीगत हुन्छ । जो सैद्धान्तिक र वैचारिक हिसाबले पार्टीसँग जोडिएका हुन्छन् । मधेशवादी दलले उठाएका एजेण्डा मधेशसँग मेल खाने हुने भएकाले मधेशी जनता सेन्टीमेन्टली त्योसँग जोडिएर आन्दोलन गरेका हुन्छन् । जुन जनताले काँग्रेसमा मतदान गरिरहेका हुन्छन्, नेकपामा मतदान गरिरहेका हुन्छन् त्यो जनता पनि मधेशवादी दलले गरेको आन्दोलनमा सहभागी भएको हुन्छ । झण्डा नबोके पनि आन्दोलनप्रति ऐक्यवद्धता जनाएको हुन्छ । मधेश आन्दोलनमा हामीले नै हेरेका थियौं कि हाम्रो पार्टीलाई सधै मतदान गर्ने जनता पनि सडकमा ओर्लिएका थिए । त्यसैले आन्दोलनमा उनीहरुसँग भएपनि अधिकाँशले अरु दललाई मतदान गरेका हुन्छन् । 

राष्ट्रिय दलका नेता भएपनि तपाईको कार्यक्षेत्र मधेशमा छ, मधेशवादी दलले सविधान संशोधनको मुद्दा उठाएको छ, सविधान सशोधन गर्न आश्यक छ जस्तो लाग्छ तपाईलाई ?
–सविधान संशोधन आवश्यकता अनुसार हुने कुरा सविधानमा पनि उल्लेख गरिएको छ । र, जनताहरुले पनि बारम्बार यो कुरा दोहोर्याई रहेका छन् । त्यसले सविधान संशोधन हुन्छ भन्ने कुरामा म ढुक्क छु । तर कुन परिणाममा के के संशोधन हुन्छ त्यो भन्न सकिदैन तर सविधान संशोधनप्रति सबै सकारात्मक छन् भने कुरा स्पष्ट छ । जस्तै, नागरिकताको विषयमा सविधान संशोधन गर्न आवश्यक छ । तराई मधेशका कतिपय ठाउँमा आमा बुवाले नागरिकता पाएका हुन्छन् तर उसको सन्तानले पाइरहेका हुँदैन । यस्तो अवस्था हुनु दुखद कुरा हो । यस्ता विषयमा सविधान संशोधन गर्न आवश्यक छ ।

सविधान संशोधनको विषयमा तपाईहरुले पार्टीमा कुरा राख्नुहुन्छ कि राख्नु हुन्न ?
–आवश्यकता अनुसार हामीले कुरा राख्दै आइरहेका छौं । कतिपय अवस्थामा हाम्रा कुरा कार्यान्वयनमा आएको छ । पार्टीभित्र तत्कालिन मधेशी मुक्ति मोर्चाको तर्फबाट लिखित नै दिएका थियौं हामीले । सविधान संशोधन लगायतका विषयमा हामीले ध्यानाकर्षण गराएका थियौं । पछिल्लो समय पार्टी पनि सविधान संशोधनप्रति सकारात्मक भएको थियो । तत्कालिन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सविधान संशोधनका प्रस्ताव सदनमा लग्नु भएको थियो ।

त्यसो भए मधेशवादी दलले चाहेको सविधान संशोधनमा तपाईहरुको पनि समर्थन छ होइन ?
–सविधान संशोधन हुनुपर्छ भने पक्षमा हामी पनि छौं तर के के विषयमा हुनुपर्छ त्यसमा अलिकति छलफल गर्नुपर्ने अवस्था छ । कन्टेन्टलाई अध्ययन गरेपछि मात्र केही भन्न सकिन्छ । तर सविधान संशोधन लागि हामीले पार्टीलाई भन्दै आएका छौं ।

मधेशवादी दलको प्रमुख मागमध्ये भाषा र सिमांकन पनि हो, यसमा तपाईको पार्टीको धारणा के छ ?
–भाषाको विषयमा हामीले स्थानीय अथवा मातृभाषामा कामकाज हुनुपर्ने पहिलादेखि उठाउँदै आएका छौ । जहाँको मातृभाषा जस्तो छ त्यहाँ त्यसरी आफ्नै मातृभाषामा बोल्नुपर्ने मेरो मान्यता हो । शिक्षा दिक्षा सबै त्यसैमा हुनुपर्छ । तर हिन्दीलाई राष्ट्रिय भाषा बनाउने खेल भइरहेको छ । जुन कुरा हामीलाई मान्य छैन । दुई नम्बर प्रदेशमा तथ्यांकै कुरा गर्ने हो भने हिन्दीभन्दा बढी नेपाल भाषा बोल्ने गरिन्छ ।

एक मधेश एक प्रदेशको कुरा उठिरहेको छ, यसमा के भन्नुहुन्छ ?
–एक मधेश एक प्रदेशको नारा लगाउनु भनेको संघीयता विरोध हो । यसमा थप अरु केही भन्नुछैन ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..